ओलीले नटेरेपछि दाहालले फेरि समय थपे
२६ कार्तिक २०७७
•
४ मिनेट पाठ
ओलीले नटेरेपछि दाहालले फेरि समय थपे
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विवाद उत्कर्षमा पुगेपछि अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल दुवैले सचिवालय बैठकलाई प्रतिष्ठाको विषय बनाएका छन्। कार्यकारी अध्यक्ष दाहालसहित सचिवालयका पाँच सदस्यले शनिबार ओलीलाई भेटर दुई दिनभित्र सचिवालय बैठक बोलाउन प्रस्ताव गरेका थिए। तर ओलीले उक्त समयसीमाभित्र बैठक नबोलाएपछि दाहालले मंगलबार फेरि ओलीलाई भेटेर बिहीबारका लागि सचिवालय बैठक राख्न प्रस्ताव गरेका छन्।




नेकपा स्थायी कमिटीका एक सदस्यका अनुसार दुवै अध्यक्षले बैठक राख्ने र त्यहाँ प्रस्ताव गर्ने अजेन्डालाई प्रतिष्ठाको विषय बनाउँदै गए झन् अप्ठेरो हुनेछ। अहिले ओली र दाहाल दुवै एकअर्काको रणनीति ‘पर्ख र हेर’ को अवस्थामा पुगेका छन्। दाहालसहित सचिवालयका बहुमत सदस्यले बैठक माग गर्दा पनि ओलीले आलटाल गर्ने र बैठक माग गर्ने पक्षले पनि समयसीमा बढाउँदै जाँदा यस्तो स्थिति सिर्जना भएको हो। पछिल्लो समय ओली सचिवालय बैठक बोलाउन लचिलो भए पनि उनले मिति तोक्न सकेका छैनन्। ‘ओलीले सचिवालय बैठकका लागि महासचिव विष्णु पौडेललाई तयारी थाल्न भन्नुभएको छ, तर बैठक बिहीबारै बस्छ भन्नेचाहिँ छैन, अर्को दिन पनि हुन सक्छ,’ स्थायी कमिटीका ती सदस्यको दाबी छ, ‘दाहालले भनेकै मितिमा बैठक बस्नुपर्छ भन्ने छैन। बैठक बोलाउन छलफल भइरहेका छन्।’ महासचिव पौडेलले पनि परामर्शमा बैठक बस्नुपर्ने भन्दै सबै शीर्ष नेताहरूसँग छलफल अघि बढाएका छन्। तर यो विषयमा नेताहरू खुलेर बोल्न चाहँदैनन्।

दाहालसहित सचिवालयका बहुमत सदस्यले बैठक माग गर्दा पनि ओलीले आलटाल गर्ने र बैठक माग गर्ने पक्षले पनि समयसीमा बढाउँदै जाँदा दुवै पक्ष एकअर्काको रणनीति ‘पर्ख र हेर’ को अवस्थामा छन्।
दाहालले शनिबार दिएको समयसीमाभित्र ओलीले सचिवालय बैठक नबोलाएपछि मंगलबार फेरि भेटेर बिहीबार बैठक बोलाउन प्रस्ताव गरेका हुन्। ओली भने दाहालको प्रस्तावमा सहमत हुन सकेका छैनन्। त्यसैलै दुवै पक्ष बिहीबार बैठक बस्छ भन्नेमा निश्चित छैनन्। ओलीले बैठकका लागि सल्लाह गर्नुपर्ने बताएपछि दाहाल दोधारमा परेका छन्। ओली पनि दाहाल एक्लैले बैठक डाक्न सक्छन् कि सक्दैनन् भनेर अनुमान गरिहाल्न सक्ने अवस्थामा छैनन्। ‘दुवैजना एकले अर्काको हैसियत हेरेर बस्न खोजेजस्तो अवस्थामा पुग्नुभएको छ। सचिवालय सदस्यहरूले निर्णय गर्न सक्ने अवस्था रहे पनि ओलीलाई नै कुरेर बस्नुभएको छ। ओलीले बैठक बोलाउन सहमति दिन आलटाल गरिरहनुभएको छ। यसले गर्दा सचिवालयका नौ सदस्यकै कार्यक्षमतामाथि प्रश्न उठेको छ,’ नेकपा स्रोतले भन्यो।

प्रधानमन्त्री ओलीको सन्देश बोकेर महासचिव विष्णु पौडेल र लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले सोमबार र मंगलबार दाहालसँग भेटी स्थायी कमिटीको निर्णय कार्यान्वयन गर्ने र दुई अध्यक्षले सहमतिमा सचिवालय बैठकका अजेन्डा तय गर्ने विषयमा कुराकानी गरेका थिए। तर दाहालले तत्कालै सचिवालय बैठक राख्नुपर्नेमा जोड दिएका थिए। उनले पोखरेलसँग सचिवालय बैठक राख्न ओलीलाई मनाउन भनेका थिए। यसबाट ओली केही लचक भएका हुन् कि भन्ने अनुमान दाहाल खेमाको छ। महासचिव पौडेलले केही दिनपछि बैठक बोलाउन सकिने जनाउ दिएका थिए। सोहीअनुसार दाहालले मंगलबार ओलीलाई भेटेर बिहीबारसम्म कुर्न सकिने बताएको स्रोतको दाबी छ। तर ओलीले बिहीबार नै किन बैठक बस्नुप¥यो र पहिला दुई अध्यक्ष बसेर अजेन्डामा सहमति गरौं अनि बैठक बसौं भनेका थिए। ‘ओली दाहालसँग बसेर सहमति गर्न चाहन्छन्, दाहाल भने सबै विषय सचिवालय बैठकमै गर्न चाहन्छन्, त्यसकारण पनि उहाँहरूबीच कुरा मिलिरहेको छैन,’ स्रोतले भन्यो।

दाहालले मंगलबार पार्टी कार्यालय धुम्बाराहीमा वरिष्ठ नेताद्वय माधवकुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम तथा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठसँग छलफल गर्नुअघि प्रधानमन्त्री निवास बालुवाटारमा गएर ओलीसँग बिहीबारका लागि सचिवालय बैठक बोलाउन प्रस्ताव गरेका थिए। त्यसपछि पार्टी कार्यालय पुगेर दाहालले नेताहरूलाई ओलीसँग भएको छलफलबारे जानकारी गराएका थिए। पार्टी कार्यालयमा बसेको सचिवालयका बहुमत सदस्यको अनौपचारिक बैठकले बिहीबारसम्म पर्खने निर्णय गरेको छ। पार्टी प्रवक्ता श्रेष्ठले मंगलबार सचिवालयका पाँच सदस्यको अनौपचारिक बैठक बसेको बताए। उनले सहमतिको प्रयास भइरहेको र बिहीबार सहमतिमै सचिवालय बैठक बस्न सक्ने बताए। ‘सहमतिमै बैठक राख्न प्रयत्न गरिरहेका छौं। तर यसो गर्नु भनेको कमजोरी होइन। पर्सि (बिहीबार) सहमतिमै बैठक बसौं भनेका छौं। सहमतिमा बैठक बसेन भने त्यसपछि के गर्ने भन्नेबारे सोच्न पनि चाहँदैनौं। बिहीबारसम्म बैठक बस्नेछ भन्ने अपेक्षा गरेका छौं। उहाँ (ओली) ले पनि सहमति जनाउनुहुन्छ भन्ने सोचेका छौं,’ श्रेष्ठले भने। उनका अनुसार कार्यकारी अध्यक्ष दाहालको बिहीबार बैठक राख्ने प्रस्तावमा ओलीले सहमति जनाएका छैनन्। ‘कार्यकारी अध्यक्ष प्रचण्ड (दाहाल) ले कात्तिक २७ गते बैठक बोलाउन माग गर्नुभएको छ तर उहाँले अहिलेसम्म सहमति जनाइसक्नुभएको छैन,’ श्रेष्ठले भने, ‘भोलि (बुधबार) उहाँ (ओली) उपत्यकाबाहिर जानुपर्ने भएकाले बिहीबारका लागि बैठक बोलाउन माग गरेका हौं, हामी बैठक बस्छ भन्नेमा आशावादी छौं।’ प्रवक्ता श्रेष्ठका अनुसार सचिवालय बैठकमा स्थायी कमिटीको निर्णय कार्यान्वयन नभएको, कर्णाली प्रदेशमा देखिएको पार्टीको आन्तरिक समस्या, पर्सामा पार्टीकै कार्यकर्ताको हत्या, भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुख सामन्तकुमार गोयलसँगको भेटघाट तथा कोरोना संक्रमणमा सरकारले गरेका कामकारबाहीबारे छलफल हुनेछ।
अर्को समाचार
नेकपाका दुवै समूह आन्तरिक छलफलमा
१३ माघ २०७७
•
३ मिनेट पाठ
नेकपाका दुवै समूह आन्तरिक छलफलमा
क्याप्शन
निर्वाचन आयोगले राजनीतिक रूपमा विभाजित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कानुनी रूपमा एउटै दल भएको निर्णय दिएपछि दुवै समूह आन्तरिक छलफलमा जुटेका छन्। केपी शर्मा ओली समूह र पुष्पकमल दाहाल–माधवकुमार नेपाल समूहबीच को आधिकारिक भन्ने विवादमा आयोगले दुवै पक्षको दाबी अस्वीकार गरी साबिकको एउटै दल भएको निर्णय आइतबार दिएको थियो। आयोग प्रवक्ता राजकुमार श्रेष्ठले सोमबार दुवै समूहलाई पत्र पठाई निर्णयबारे जानकारी दिएको बताए।  




प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ गते प्रतिनिधिसभा भंग गरी आगामी बैशाख १७ र २७ गते निर्वाचन हुने मिति घोषणा गरेपछि विवाद चुलिएर नेकपा विभाजन भएको थियो। आयोगको निर्णय आएसँगै दुवै समूह आन्तरिक तयारीमा लागेका छन्। दाहाल–नेपाल पक्षीय स्थायी समिति सदस्य लीलामणि पोखरेलले आयोगबाट निर्णयबारे जानकारी प्राप्त भएको बताए।

‘आयोगबाट जानकारी आएपछि हामी छलफलमा छौं,’ पोखरेलले भने, ‘छिटै धारणा सार्वजनिक गर्छौं।’ ओली समूहले पनि छलफल सुरु गरेको छ। प्रधानमन्त्रीका कानुनविज्ञ सल्लाहकार बाबुराम दाहालले अब कसरी अघि बढ्ने भन्ने विषयमा छलफल भइरहेको बताए। ‘आयोगले दुवै पक्षको विवरणलाई अभिलेखीकरण गरेन, हामी पार्टी जोगाउन लागिरहेका छौं, उहाँहरू आन्दोलन गरिरहनुभएको छ,’ दाहालले नागरिकसँग भने, ‘अब के गर्ने भनी हामी छलफलमा छौं ।’

ओली पक्षीय नेता एवं उपप्रधानमन्त्री ईश्वर पोखरेलले सोमबार धुम्बाराहीमा आयोजित पत्रकार सम्मेलनमा आयोगको निर्णयलाई सकारात्मक रूपमा लिएको बताएका छन्। ‘आयोगको निर्णयले ओलीको अडानलाई बल पुगेको छ, आयोगको निर्णयलाई हामीले सकारात्मक रूपमा लिएका छौं,’ पोखरेलले भने, ‘हामी फुटेका छैनौं, नेकपा फुटेको छैन, कसैले चाहेर नेकपा फुट्दैन ।’

यसअघि आइतबार आयोगले नेकपाका दुवै पक्षका निर्णय एवं आयोगमा पेस भएका निर्णय विधानसम्मत नभएको भन्दै विवाद सुरु हुनुअघिकै अवस्थालाई मान्यता दिने निर्णय गरेको थियो। आयोगले दुवै पक्षलाई लेखेको पत्रमा पार्टीको विवरण परिवर्तन, संशोधन वा हेरफेरका लागि अनिवार्य रूपमा दुवै अध्यक्षको हस्ताक्षर आवश्यक पर्ने, पेस भएका दाबी पार्टीको विधानविपरीत रहेका र प्रस्तुत विवरणबाट सन्तुष्ट हुन नसकेको उल्लेख गरेको छ। आयोगले दुई अध्यक्षको हस्ताक्षरमा भएको निर्णयलाई मात्रै मान्यता दिने निर्णय गरेसँगै माधवकुमार नेपाललाई अध्यक्षको रूपमा अस्वीकार गरेको छ। यसअघि दाहाल–नेपाल समूहले ओलीलाई अध्यक्षबाट हटाएर नेपाललाई अध्यक्ष बनाएको थियो ।

‘नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को अन्तरिम विधान २०७५ को धारा १८ (छ) ८ मा आधिकारिक निर्देशन र पत्राचारमा दुवै अध्यक्षको हस्ताक्षर रहने व्यवस्था, धारा ४३ (ङ) मा केन्द्रीय कमिटीमा कुल सदस्य संख्याको १० प्रतिशत नबढाई सदस्यहरू मनोनयन गर्न सक्ने व्यवस्था, धारा ६१ मा भएको अनुशासनको कारबाहीसम्बन्धी व्यवस्था, धारा ७१ मा भएको विधान संशोधन गर्नुपरेमा केन्द्रीय कमिटीको दुईतिहाइले गर्न सक्ने व्यवस्था छ,’ आयोगले दुवै पक्षलाई लेखेको पत्रमा भनेको छ, ‘राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ५१, राजनीतिक दलसम्बन्धी नियमावली नियम २५ र अनुसूची १८ बमोजिम दुवै अध्यक्षबाट उल्लिखित कानुनी व्यवस्थाको विधि तथा प्रक्रिया पुर्‍याई विवरण परिवर्तन, संशोधन वा हेरफेरका लागि लेखिआएको नदेखिएको र नियमावलीको नियम २५ को उपनियम ५ बमोजिम त्यस्तो विवरणबाट आयोग सन्तुष्ट हुन नसकेकाले नेकपाको कुनै विवरण संशोधन, परिवर्तन तथा हेरफेर हुन सक्ने नदेखिएकाले नियमावलीको नियम २५ को उपनियम ६ बमोजिम सो दलको साविकको विवरण नै कायम रहेको निर्णय गरिएको छ।’
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस