सत्ताको तराजु भट्टराईको विपक्षमा-
गोविन्द परियार, काठमाडौं, मंसिर २०- कांग्रेस नेतृत्वको विपक्षी गठबन्धनले प्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वमा सहमतिको राष्ट्रिय सरकारमा सहभागी नहुने दृढता व्यक्त गरेपछि आज साढे ११ बजे बस्ने कांग्रेस केन्द्रीय समिति बैठकले प्रधानमन्त्रीमा सभापति सुशील कोइरालाको नाम प्रस्ताव गर्ने जानकारी कांग्रेस नेताहरुले दिएका छन्।
मंगलबार प्रमुख तीन दलको बैठकमा एकीकृत माओवादी र एमालेले प्रधानमन्त्री उम्मेदवार अघि सार्न कांग्रेससँग आग्रह गरेका थिए।
एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री भट्टराईको नेतृत्वमा नै सहमतिको सरकार निर्माण गर्ने प्रस्ताव गरे पनि प्रमुख दलहरु त्यसमा सहमत नभएपछि नयाँ सहमतिका लागि बैठकमा कांग्रेससँग प्रधानमन्त्रीको उम्मेदवार मागेका थिए।
कांग्रेसले राष्ट्रिय सहमतीय सरकारका लागि सभापति सुशील कोइरालालाई अघि सार्ने भएको छ।
विपक्षी गठबन्धन र माओवादीले समेत प्रधानमन्त्रीको नाम मागेपछि कांग्रेसले बुधबार बिहान केन्द्रीय समिति बैठक बसेर सभापतिलाई उम्मेदबार बनाउने भएको छ। 'बुधबार केन्द्रीय समिति बैठक बसेर प्रधानमन्त्रीको नाम तय गछौ' महामन्त्री सिटौलाले भने।
कांग्रेसमा प्रधानमन्त्रीका आकांक्षी वरिष्ठ नेता शेरबहादुर देउवाले कोइरालालाई सहयोग गर्ने भएपछि प्रधानमन्त्री चयन सहज हुने भएको हो। अर्का आकांक्षी उपसभापति रामचन्द्र पौडेलले भने अझै प्रधानमन्त्रीको दाबी छाडेका छैनन्।
कोइराला निकट स्रोतका अनुसार बैठकमा वरिष्ठ नेता देउवाको प्रस्तावमा केन्द्रीय समितिले कोइरालालाई प्रधानमन्त्रीको उम्मेदबार बनाउने तयारी छ। कोइरालाले पार्टीका तर्फबाट आफू प्रधानमन्त्री हुने विषयमा यसअघि नै देउवालगायत नेतासँग भेट गरी सहमति जुटाइसकेका छन्। 'राष्ट्रिय सहमतीय सरकारको नेतृत्व सभापतिले गर्ने भन्ने पार्टीभित्र सहमति भइसकेको छ,' कोइराला निकट एक नेताले नागरिकसँग भने, 'औपचारिक निर्णय बुधबारको बैठकले गर्नेछ।'
राष्ट्रपति रामवरण यादवले सहमतिको सरकार निर्माणका लागि दिएको दोस्रोपटकको समयसीमाभित्रै नयाँ सरकारको विवाद टुंग्याउन माओवादी अध्यक्ष दृढ देखिएका छन्। तीनै दलका नेता यसपटकको म्याद खेर जान नदिन प्रयत्नशील छन्।
प्रधानमन्त्री भट्टराईले केही मिडियामार्फत राष्ट्रपति समेतलाई गलत ढंगले उद्धृत गरेर आफ्नो पक्षमा सहमति जुट्ने आशाको सञ्चार गराए पनि राजनीतिक वृत्तमा उनको नाममा सहमति जुट्न सकेको छैन। संविधानसभाको अवसानसँगै घोषित मंसिर ७ मा चुनाव गराउने सरकारको प्रस्ताव विफल भएपछि उनको नेतृत्वको कामचलाउ सरकारको वैधानिक हैसियतसमेत खुम्चिएको छ।
तीन दलको भेटघाट
मंगलबार लडाकु समायोजन विशेष समिति सचिवालय नयाँ बानेश्वरमा बसेको तीन दलका शीर्ष नेताको बैठकमा दुई दिनभित्र सहमतिको सरकार गठन गर्ने विषय सहमतिको नजिक पुगेको हो। 'हिजो र आजको छलफलबाट अबका दुई दिनभित्र कुनै निष्कर्षमा पुग्ने देखिएको छ,' बैठकमा सहभागी कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौलाले संवाददातासँग भने, 'माओवादी र एमालेले कांग्रेसका तर्फबाट प्रधानमन्त्रीको नाम माग्नुभएको छ। हामी भोलि नै केन्द्रीय समिति बैठक बसेर नाम प्रस्ताव गर्नेछौं।'
तीन दलको बैठकमा माओवादी अध्यक्ष दाहालले कांग्रेसको प्रधानमन्त्रीको उम्मेदवार को हो, औपचारिक रुपमा आएपछि मात्रै छलफल गर्न सजिलो हुने धारणा राखेका थिए। लगत्तै कांग्रेस सभापति सुशील कोइरालाले बुधबार केन्द्रीय समिति बैठक राखेर तीन दलको बैठकमा कांग्रेसले प्रधानमन्त्रीको नाम दिने जनाएका थिए।
यसअघिका बैठकमा भट्टराईकै नेतृत्वमा सहमतिको सरकार बनाउनुपर्ने अडान राख्दै आएको माओवादी मंगलबारको बैठकमा लचिलो देखिएको हो। माओवादीले कांग्रेसले दिने प्रधानमन्त्रीको नाम हेरेर चुनाव गराउन सक्ने/नसक्ने, संघीयतामा प्रतिबद्धता भए/नभएको जस्ता आधारमा सहमति गर्ने जनाएको छ।
तीन दलका नेताहरुले दुई दिनयताका छलफल सकारात्मक रहेको जनाउँदै लामो समयदेखि थाती राजनीतिक गतिरोध अब हट्ने संकेत देखिएको बताएका छन्। 'अझै पनि कुरा मिल्न सकेको छैन र पनि हामी प्रयास गरिरहेका छौं,' बैठकमा सहभागी एमाले नेता केपी ओलीले भने, 'सहमतिमा नपुगी अर्को बाटो छैन। पुग्ने तयारीमा छौं। सहमतिको प्रयास अघि बढेको छ, भोलि ( बुधबार) विषयले अलि कति उल्लेखीय प्रगति गर्ला भन्ने लागेको छ।'
मंगलबार तीन दलको बैठक बस्नुअघि राष्ट्रपति रामवरण यादवले तीनै दलका शीर्ष नेतासँग छलफल गरी तोकिएको मितिभित्र नयाँ सरकार गठनमा सहमति गर्न आग्रह गरेका थिए। राष्ट्रपतिसँग छलफल गरे लगत्तै दिउँसो तीन दलका शीर्ष नेता बैठक बसेको हो। 'सबै विषयमा प्याकेजमै छलफल गरी पर्सिसम्म समाधान गरिसक्नुपर्छ भन्ने छलफल भएको छ,' बैठकमा सहभागी माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भने, 'बुधबार अन्तरपार्टी छलफल गर्ने र पुनः तीन दलको बैठकले सहमतिमा पुग्ने स्पिरिटमा उठेका छौं।'
माओवादीले प्रधानमन्त्रीको नाम मागेपछि कांग्रेस नेताहरुले आफ्नो पार्टीको नेतृत्वमा नयाँ सरकार बन्ने सम्भावना देखिएको बताएका छन्। 'हामीले दिएको नाम सबैलाई स्विकार्य हुन्छ भन्ने विश्वास छ,' सिटौलाले भने, 'राष्ट्रपतिले दिएको समयभित्र अब प्रगति हुन्छ।'
बैठकमा माओवादीले आफ्नो पार्टीको तर्फबाट प्रधानमन्त्रीका लागि चार विकल्प पेस गर्दै कांग्रेस-एमालेसँग प्रधानमन्त्रीको नाम मागेको हो। माओवादीले पहिलो विकल्प वर्तमान सरकारकै नेतृत्वमा सहमतिको सरकार, दोस्रो विकल्प माओवादीकै अरु नेताको नेतृत्वमा सरकार, तेस्रो विकल्प वर्तमान सत्ता गठबन्धनका अरु दलको नेतृत्वमा सहमीतय सरकार र चौथो विकल्पको रुपमा संघीयता, संविधान निर्माण र संविधानसभा चुनाव गराउन सक्ने सक्षम व्यक्तिको नेतृत्वमा सहमतिको सरकारको प्रस्ताव राखेको छ। 'हामीले पार्टीका तर्फबाट चार विकल्प सहितको प्रस्ताव पेस गरेका छौं,' माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भने, 'कांग्रेस-एमालेले पनि प्रधानमन्त्री को हो औपचारिक रुपमा पेस गरेर छलफल गरौं भन्ने भनाइ हामीले बैठकमा राखेका छौं।'
बैठकमा कांग्रेसले तय गर्ने प्रधानमन्त्रीको उम्मेदवारको नाम, संविधानसभा चुनावको मिति, संवैधानिक संकट समाधानलगायत सबै विषयमा औपचारिक प्रस्ताव पेस गर्न माओवादीले आग्रह गरेको छ। बैठकमा माओवादी अध्यक्ष दाहाल, प्रधानमन्त्री भट्टराई, उपाध्यक्ष श्रेष्ठ र नेता अमिक शेरचन थिए। कांग्रेसबाट सभापति कोइराला, उपसभापति रामचन्द्र पौडेल, महामन्त्रीद्वय सिटौला र प्रकाशमान सिंह थिए। एमालेबाट अध्यक्ष झलनाथ खनाल, वरिष्ठ नेता माधवकुमार नेपाल, नेता केपी ओलीलगायत थिए।
१९ मंसिर २०६९
•
१० मिनेट पाठ