दिनभरको सहमति प्रयासपछि प्रमुख तीन दल र मधेसी मोर्चा मध्यरातमा ५ बुँदे सहमतिमा पुगेका छन्। चार शीर्ष नेताहरुले हस्ताक्षर गरी २४ दिनभित्रै दुई सरकार गठन गर्ने सहमति गरेको नागरिकन्युजकर्मी माधव ढुङ्गेलले बताएका छन्। सहमति अनुसार सबै मन्त्रीहरुले राजीनामा दिइसकेको अवस्थामा दुई दिनभित्र प्रधानमन्त्री बाबुराम भट्टराईको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाइनेछ। जेठ १४ अगावै प्रधानमन्त्री बाबुराम भट्टराईले संविधान जारी हुनुअघि राजीनामा दिनेछन् र त्यसपछि कङ्ग्रेसको नेतृत्वमा एक वर्षभित्र चुनाव हुने गरी अर्को सरकार बन्नेछ। त्यसैगरी संविधान निर्माणमा बाँकी रहेका विवादहरु तीन दिनभित्र सहमति गरी टुङ्गोमा पुर्याउने र त्यो नभए प्रक्रियामा गई टुङ्गोमा पुर्याइने सहमति भएको छ। सहमतिको अर्को बुँदामा शान्ति प्रक्रिया टुङ्गोमा पुर्याउने संविधान निर्माणको कामलाई तीव्रता दिन शीर्ष नेताहरुको बैठक नियमित बस्ने भनिएको छ।
पाँच बुँदे सहमतिमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल, एमाले अध्यक्ष झलनाथ खनाल, कङ्ग्रेस सभापति सुशील कोइराला र मधेसी मोर्चाको तर्फबाट विजयकुमार गच्छदारले हस्ताक्षर गरेका छन्।
हेर्नुस् सहमति जस्ताको तस्तै
राजनीतिक दलहरुका बिच भएको सहमति
२०६८ साल कार्तिक १५ गते भएको सात बुंदे सहमति बमोजिम संविधान निर्माण कार्यलाई सम्पन्न गर्न तथा राष्ट्रिय सहमतिको सरकार गठन गर्न राजनीतिक दलहरुका बिचमा निम्नलिखित सहमति भएको छ :
१) बर्तमान मन्त्रिपरिषद्का सवै सदस्यहरुले राजीनामा गरिसकेको वर्तमान स्थितिमा दुई दिन भित्र विगतमा भएको सात बुँदे सहमति बमोजिम प्रधानमन्त्री डा. बावुराम भट्टराईको नेतृत्वमा सहमतिको नयाँ सरकार गठन गरिने छ।
२) संविधान निर्माणका क्रममा देखिएका राज्यको पुनःसंरचना, शासकीय स्वरुप लगायतका सवै विषयहरुलाई तीन दिन भित्र सहमतिमा टुंग्याईने छ। सहमति हुन नसकेका विषयहरुलाई प्रक्रियाबाट निर्णयमा लगिने छ।
३) २०६९ साल जेष्ठ १४ गते अगावै नयां संविधान घोषणा गरिने छ। संविधान घोषणा गर्नु अघि बर्तमान प्रधानमन्त्रीले राजीनामा गरी नेपाली कांग्रेसको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन गरिने छ। यो सरकारले एक बर्ष भित्र राष्ट्रिय आम निर्वाचन सम्पन्न गराउने छ।
४) शान्ति प्रक्रियाका बाँकी कामहरु बिगतका सहमति बमोजिम अविलम्व सम्पन्न गरिने छ।
५) संविधान निर्माणको कामलाई तीब्रता दिन राजनीतिक दलका शीर्ष नेताहरुको नियमित रुपमा बैठक गरिने छ।
पुष्पकमल दाहाल 'प्रचण्ड', सुशील कोइराला, झलनाथ खनाल, विजयकुमार गच्छदार
मिति- २०६९।१।२१
६ बुँदे सहमति गर्ने तयारी (2012-05-03 23:45:54)
माओवादी र मधेसी मोर्चाका तर्फबाट सरकारमा सहभागी सबै मन्त्रीहरुले प्रधानमन्त्री बाबुराम भट्टराई समक्ष सामूहिक राजीनामा बुझाएका छन्। दलहरुबीच ६ बुँदे सहमति गर्ने तयारी भएको वार्तास्थल नयाँ बानेश्वरबाट नागरिकन्युजकर्मी माधव ढुङ्गेलले जनाएका छन्। यसअघि ३ बुँदे सहमति गर्ने तयारी भइरहेको जानकारी अर्थमन्त्री वर्षमान पुनले दिएका थिए। थपिएका बुँदामध्ये एकमा वैशाख २५ गते व्यवस्थापिका संसदको अधिवेशन आह्वान गर्ने रहेको स्रोतले जनाएको छ।
मन्त्रीहरुद्वारा सामूहिक राजीनामा 2012-05-03 22:36:54
माओवादीका तर्फबाट मन्त्री बनेकाहरुको राजीनामाको खबर माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र मधेसी मोर्चाका मन्त्रीहरुको राजीनामाको खबर ह्रदयेश त्रिपाठीले वार्तास्थल बाहिर सञ्चारकर्मीहरुलाई यसबारे जानकारी दिएको नागरिकन्युजकर्मी माधव ढुङ्गेलले जनाए। 'राजनैतिक सहमतिको आधारमा बाबुराम भट्टराईकै नेतृत्वको सरकारमा सहभागी हुन' राजीनामा दिएको मन्त्री त्रिपाठीले बताए। मन्त्री श्रेष्ठले बाबुराम भट्टराई कै नेतृत्वको सरकार बन्ने शर्तमा राजीनामा दिएको बताए।

प्रमुख तीन दल र मधेसी मोर्चाबीच तीन बुँदे सहमति गर्ने तयारी, मस्यौदा बन्दै (2012-05-03 22:26:54)
प्रमुख तीन दल र मधेसी मोर्चाबीच तीन बूँदे सहमति गर्ने तयारी भइरहेको वार्तामा सहभागी अर्थमन्त्री वर्षमान पुनले बताएका छन्। वार्तास्थल नयाँ बानेश्वरमा रहेका नागरिकन्युजकर्मी माधव ढुङ्गेलका अनुसार अर्थमन्त्री पुनले सहमतिको मस्यौदा तयारी भइरहेको जानकारी दिए। उनका अनुसार तीन दिन भित्र संविधानका विवाद टुङ्ग्याउने, शान्ति प्रक्रिया टुङ्गोमा पुर्याउने र राष्ट्रिय सहमतिको सरकार अविलम्ब बनाउने बुँदाको सेरोफेरोमा रहेर सहमतिको मस्यौदा बन्दैछ।
माओवादी र मधेसी मोर्चा अलग्गै बैठकमा, मोर्चाका मन्त्रीले राजीनामा दिन मानेनन् (2012-05-03 22:12:54)
नयाँ बानेश्वरमा अहिले माओवादी र मधेसी मोर्चाबीच द्विपक्षीय वार्ता भइरहेको नागरिकन्युजकर्मी माधव ढुङ्गेलले जनाएका छन्। भोलिका दिनमा पनि गठबन्धन जारी राख्ने विषयमा दुई पक्षको वार्ता केन्द्रित रहेको स्रोतले जनाएको छ। स्रोतका अनुसार मधेसी मोर्चाका मन्त्रीहरुले राजीनामा दिन अस्वीकार गरेपछि वार्ता जटिल मोडमा पुगेको छ। काङ्ग्रेस र एमालेले भने आजै सहमति नहुने हो भने भोलिदेखि वार्तामा नबस्ने चेतावनी दिएको बताइएको छ।
यसअघि हिजो दलहरुबीच आज लिखित सहमति गर्ने गरी कुरा मिलेको र प्रधानमन्त्री बाबुराम भट्टराईले आजै मन्त्रिपरिषद् भंग गरी राष्ट्रिय सरकार बनाउन आह्वान गर्ने बताइएको थियो।
बैठक जारी, सहमतिको मस्यौदा बन्दै (अपडेट 2012-05-03 21:04:54)
नयाँ बानेश्वरको विशेष समिति सचिवालयमा प्रमुख तीन दल र मधेसी मोर्चाको बैठक राति नौ बजेसम्म जारी रहेको नागरिकन्युजकर्मी माधव ढुङ्गेलले बताएका छन्। बैठकमा सहमतिको मस्यौदा तयार हुँदै गरेको बताइएको छ। माओवादी अध्यक्ष पुष्पकमल दाहाल, एमाले नेता माधवकुमार नेपाल, कङ्ग्रेस महामन्त्री कृष्ण सिटौला र मधेसी मोर्चाबाट विजयकुमार गच्छदार सम्मिलित टोलीले सहमतिको मस्यौदा बनाउँदै छन्।
नेताहरु बैठकबाट बाहिरिए (अपडेट 2012-05-03 16:54:54)
लिखित सहमति गर्ने भनिएको आजको प्रमुख तीन दल र मधेसी मोर्चाको बैठकको बीचैमा शीर्ष नेताहरु बैठक स्थलबाट बाहिरिएका छन्। उपप्रधानमन्त्री विजयकुमार गच्छदारले भने भोलिसम्ममा सहमति हुने संभावना रहेको बताए। सिंहदरबारमा बस्ने संवैधानिक परिषद्को बैठकमा सहभागी हुन उनीहरु निस्किएका हुन्। उनीहरु फेरि वार्ताका लागि फर्कने भनिएको छ।
एमाले वार्तामा कडा रुपमा प्रस्तुत हुन्छ : केपी ओली
तीन प्रमुख दल र मधेसी मोर्चाबीच भइरहेको वार्ता स्थलमा प्रवेश गर्नुअघि एमाले नेता केपी ओलीले वार्तामा एमाले कडा रुपमा प्रस्तुत हुने निर्णय स्थायी समितिको बैठकले गरेको बताएका छन्। नयाँ बानेश्वरमा रहेका नागरिकन्युजकर्मी माधव ढुङ्गेलका अनुसार ओलीले बहुमतीय प्रक्रिया अनुसार बन्ने सरकारमा एमाले सहभागी नहुने बताएका छन्।
___________________________
तीन प्रमुख दल र मधेसी मोर्चाबीच सहमतिका लागि वार्ता सुरु (2012-05-03 16:24:54)
नयाँ बानेश्वरस्थित संविधान सचिवालय भवनमा प्रमुख तीन दल र मधेसी मोर्चाबीच सहमति खोज्नका लागि वार्ता सुरु भएको छ। नागरिकन्युजकर्मी माधव ढुङ्गेलका अनुसार वार्तास्थलमा भर्खरै पार्टीको स्थायी समिति बैठक सकाएर एमाले अध्यक्ष झलनाथ खनाल, वरिष्ठ नेता माधवकुमार नेपाल र भीम रावल प्रवेश गरेका छन्।