नेपाली कांग्रेस 'बीपी' ले डा. जगमान गुरुङ नेतृत्वको राजसंस्था पुनर्स्थापना संयुक्त जनआन्दोलन समितिले गर्ने राजावादी आन्दोलनमा ऐक्यबद्धता र समर्थन जनाएको छ।
बीपी कोइरालाले राजसंस्था बिनाको प्रजातन्त्रको परिकल्पना नगरेको उल्लेख गर्दै नेपाली कांग्रेस बीपीका उपसभापति कर्ण मल्लले समितिले गर्ने राजावादी आन्दोलनमा आफूहरूको ऐक्यबद्धता र समर्थन रहेको बताए।
"कुनै बेला बीपी कोइरालाले 'राजसंस्था बिना प्रजातन्त्र मात्रै रह्यो भने देश रहँदैन' भनेर भन्नुभएको थियो। नेपाली कांग्रेस बीपी त्यसमा अडिग छ। अहिले विभिन्न नाउँमा जे-जे आन्दोलनहरू भइरहेका छन्, त्यसबाट नेपाल र नेपालीलाई मुक्त गर्नुपर्छ भन्ने हामीलाई लाग्दछ। त्यसैले यो आन्दोलनका प्रति हाम्रो समर्थन र ऐक्यबद्धता छ," उपसभापति मल्लले नागरिकसँग भने।
उपसभापति मल्ल बुधबार (आज) समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा पनि सहभागी भएका थिए। डा. जगमान गुरुङले बोलाएपछि र पार्टी सभापति सुशीलमान शेरचनले पठाएपछि आफू सम्मेलनमा उपस्थित भएको उनले सुनाए। 'डा. जगमान गुरुङले बोलाउनुभएपछि म गएको हुँ,' उनले भने, 'अब अर्को मुक्तिको क्रान्ति सफल पार्नुपर्छ।'
उनले इतिहासमा पनि राजाकै नेतृत्व र संयोजनमा विभिन्न क्रान्तिहरू सफल हुँदै आएको दाबी गरे। 'राजा पृथ्वीनारायण शाहको नेतृत्वमा एउटा क्रान्ति सफल भएको थियो। पछि त्रिभुवनको नेतृत्वमा २००७ सालमा अर्को क्रान्ति सफल भयो। त्यहाँ नेपाली कांग्रेसका नेताहरूले पनि योगदान गर्नुभयो। २०४६ सालमा राजा वीरेन्द्रको संयोजनामा गणेशमान सिंहहरूको योगदानमा अर्को क्रान्ति सफल भयो। र, गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा शान्ति प्रक्रिया भयो, त्यसबेला अहिलेकै राजा पनि हुनुहुन्थ्यो,' उनले भने।
डा. जगमान गुरुङ।यी ऐतिहासिक कुरालाई आधार मानेर अब डा. जगमान गुरुङको नेतृत्वमा अर्को क्रान्ति सफल पार्नुपर्ने उनी बताउँछन्। 'अत्यन्तै धार्मिक व्यक्तित्व, उमेरले झन्डै ८० पुग्नुभएका डा. जगमान गुरुङको संयोजनमा नेपाल र नेपालीले जुन पीडा भोगिरहेका छन्, त्यसबाट मुक्ति पाउँ भन्ने नेपाली कांग्रेस बीपी ठान्दछ,' उपसभापति मल्लले भने।
गंगा चौधरी पनि मिसिइन्
पूर्वसांसद गंगा चौधरी पनि राजावादी आन्दोलनमा मिसिएकी छन्। उनी पनि आजको पत्रकार सम्मेलनमा सहभागी भएकी थिइन्।
उनले आफू शिवसेना नेपालको तर्फबाट सम्मेलनमा सहभागी भएको नागरिकसँग बताइन्। उनले आफूहरूको पनि समर्थन रहेको बताइन्। यो आन्दोलन देश बचाउने आन्दोलन भएको उल्लेख गर्दै भनिन्, 'यो देश बचाउने र बेच्नेबीचको लडाइँ हो, यसमा हाम्रो समर्थन रहेको छ।'
नेपालको झण्डामुनि हुने कुनै पनि आन्दोलनमा शिवसेना नेपाल र आफ्नो समर्थन रहने उनले बताइन्। 'यो आन्दोलन नेपालको झण्डामुनि हुने आन्दोलन हो। नेपालको झण्डामुनि हुने कुनै पनि आन्दोलनमा हाम्रो समर्थन रहन्छ,' उनले भनिन्।
चौधरी पूर्वसांसद हुन्। २०७४ को आम निर्वाचनको मुखमा नेकपा (एमाले) प्रवेश गरेकी चौधरी समानुपातिक सांसद बनिन्। त्यसबीचमा एमाले र माओवादी केन्द्रबीच एकता भयो। उनी झन् ठूलो पार्टीकी सांसद बनिन्। तर, बेला-बेला उनको अभिव्यक्ति विवादित बन्थ्यो। पछि उनी पार्टीबाट अलग्गिइन्, अहिले चौधरी शिवसेना नेपालमा आबद्ध छिन्। यो एक राजनीतिक दल हो।
राजसंस्था पुनर्स्थापना संयुक्त जनआन्दोलन समितिका कार्यवाहक संयोजक जगमान गुरुङले जेठको दोस्रो हप्तासम्म आफूहरूको आन्दोलन सफल हुने बताएका छन्।
बिहीबार (आज) काठमाडौंमा राजावादी युवाको प्रतिबद्धता सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
'श्रीमान् ज्ञानेन्द्रले जनताको नासो जनतालाई सुम्पेँ भनिबक्सेको हो। यो राज्य दलको रहेछ त ? यो त जनताको रहेछ। यो दलको होइन, जनताको नासो हो। जनतालाई नै सुम्पेको हो। राजा र जनताको बीचमा कुनै निकाय छैन, दल छैन। अब हाम्रो आन्दोलन धेरै टाढा जाँदैन। जेठको तेस्रो हप्तासम्म धैर्य गर्नुस्, हाम्रो आन्दोलन सफल हुन्छ,' उनले भने।
उनले थपे, 'मञ्चमा भाषण गरेर मात्रै हुँदैन। मुहुर्त आउनुपर्छ, जेठको दोस्रो हप्ता हाम्रो अभिष्ट सिद्धी हुन्छ। अभियान सफल हुन्छ। जनताको नासो जनतालाई सुम्पिबक्सेको छ। अब जनताले रक्षा गरेर बस महाराज भनेर फेरि सुम्पिने हो।'
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...