काठमाडौं, फागुन १० (नागरिक)- प्रधानमन्त्री बाबुराम भट्टराईले सेना समायोजन विशेष समितिको बैठक नबोलाउँदा लडाकु शिविर व्यवस्थापन गर्न गठन भएको कार्यदलले प्रतिवेदन बुझाउन सकेको छैन।
प्रतिवेदन बुझाउन सात दिनको म्याद दिएर गठन गरिएको कार्यदलले समयमै प्रतिवेदन तयार पारे पनि समितिको बैठक नबस्दा बुझाउन नसकेको हो।
'विशेष समितिका सदस्यको घर-घर गएर प्रतिवेदन बुझाउने कुरा आएन,' कार्यदलमा रहेका एक सदस्यले नागरिकसँग भने, 'प्रधानमन्त्री अध्यक्ष रहने विशेष समितिको बैठक बसेकै छैन।' समितिका अध्यक्ष प्रधानमन्त्रीले नबोलाई बैठक बस्न नसक्ने प्रावधान छ।
अन्तिमपटक माघ २९ गते बसेको बैठकले विशेष समिति सचिवालयका सदस्य रमानन्द मिश्रको अध्यक्षतामा पाँच सदस्यीय कार्यदल गठन गरेको थियो। कार्यदलका अन्य सदस्यमा विशेष सचिवालयका सदस्यहरू गोपालमान सिंह बोहोरा, सम्भुराम सिंखडा, तेजबहादुर वली र शान्ति मन्त्रालयका सहसचिव जयदेव श्रेष्ठ छन्।
माओवादीका ७ मुख्य र २१ सहायक गरी २८ वटा शिविरमा रहेका १७ हजार ७६ माओवादी लडाकुमध्ये स्वैच्छिक अवकाश रोज्ने ७ हजार ३ सय ६५ जनाको बिदाइ सकिएको छ। अहिले शिविरमा समायोजन रोज्ने ९ हजार ७ सय ५ र पुनर्स्थापना रोज्ने ६ गरी ९ हजार ७ सय ११ लडाकु छन्। झन्डै आधा लडाकुको बिदाइ गरिएकाले समितिले शिविर संख्या आधा घटाउने निर्णय गर्दै शिविर व्यवस्थापन प्रतिवेदन बुझाउन कार्यदल गठन गरेको थियो।
'हामीले छिटो बैठक बस्नुपर्यो भनेर प्रधानमन्त्रीलाई भनिरहेका छौं, तर बैठक डाकिएको छैन,' विशेष समितिमा नेकपा (एमाले) तर्फबाट सदस्य भीम रावलले भने, 'कार्यदललाई फागुन ७ गते शिविर व्यवस्थापन प्रतिवेदन बुझाउने म्याद दिइएको थियो, बैठक बस्न नसक्दा प्रतिवेदन बु‰न सकिएको छैन।'
रावलले बिहीबार बस्ने तीन दलका शीर्षनेताको बैठकमा यो विषय उठाउने जानकारी दिए। बैठक बस्न नसक्दा लडाकु समायोजन प्रक्रिया पछाडि धकेलिएको उनले बताए।
समितिले कुल २८ शिविरमध्ये १४ वटा बन्द गर्ने निर्णय गरेको भए पनि लडाकुसँगको छलफलपछि कार्यदलले १३ वटा मात्र शिविर बन्द गर्ने सुझाव प्रतिवेदनमा समेटेको छ। कार्यदलले प्रतिवेदनमा तत्काल शिविर बन्द नगर्ने सुझाव समितिलाई दिएको ती सदस्यले बताए।
१० फागुन २०६८
•
३ मिनेट पाठ