'पत्रु' बनाइए पदक
२४ असार २०७४
•
२६ मिनेट पाठ
'पत्रु' बनाइए पदक
काठमाडौं- माइती नेपालकी अध्यक्षसँगको भेटको तस्बिर सामाजिक सञ्जाल टि्वटरमा राख्दै नायिका मनिषा कोइरालाले असार १९ मा लेखिन्, 'पद्मश्री अनुराधा कोइरालाको साथमा।'

मानपदवीको सम्मानका लागि भारतमा पदवीधारक व्यक्तिको नामअगाडि पदवी जोडेर सम्बोधन गर्ने प्रचलनबारे जानकार मनिषाले भारतको पद्मश्री पदवीबाट सम्मानित अनुराधासँगै पद्मश्री जोडेर लेखिन्। अनुराधाको नामसँग पद्मश्री पदवी जोडिएको चार महिना भयो।

पुष्पकमल दाहाल प्रधानमन्त्री हुँदा उनका सहयोगी प्रकाश दाहाललाई समाजसेवीको हैसियतमा पदक दिने घोषणा भएपछि मानपदवी उपहासको विषय बन्यो।

भारतको प्रचलनझैं नेपालमा पनि राज्यले दिने उपल्लो तहको मानपदवी धारकको नामसँगै जोडेर सम्बोधन गर्ने हो भने मुख्यसचिव सोमलाल सुवेदीको पूर्ण सम्बोधन हुनेछ– सुप्रबल जनसेवाश्री, सुकीर्तिमय राष्ट्रदीप, प्रसिद्ध प्रबल जनसेवाश्री सोमलाल सुवेदी।

विभूषण ऐन २०६४ अनुसार विभूषण, पदवी र पदक 'राष्ट्रिय जीवनका राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, अन्वेषणलगायतका अन्य क्षेत्रमा वा अन्तर्राष्ट्रिय क्षेत्रमा विशिष्ट योगदान पुर्‍याउने नेपाली नागरिकलाई सम्मान' का लागि स्थापित गरिएको हो। सुवेदीले पाएको पदवी र पाउने योग्यता हेर्ने हो भने उनीजत्तिको राष्ट्रलाई योगदान गर्ने दोस्रो व्यक्ति भेट्न मुस्किलै छ।

राष्ट्रले दिने उपल्लो मानपदवीमा सुवेदीले ह्याटि्रक हानिसकेका छन्। प्रशासनिक वृत्तिविकाससँगै उनी मुख्यसचिव भइसकेका छन्। २०६७ यता मात्र उनले उपल्लो तहका तीन मानपदवी पाइसकेका छन्।

स्थानीय विकास मन्त्रालयको सहसचिवको हैसियतमा २०६७ मा उनले सुप्रबल जनसेवाश्री तेस्रो पाए। २०७३ मा मुख्यसचिवको रुपमा सुकीर्तिमय राष्ट्रदीप पदक पाए भने २०७४ मा पुनः मुख्यसचिवको रुपमा उनले प्रसिद्ध प्रबल जनसेवाश्री पदवी पाए।

वर्ष नबिराई सरकारबाट मानपदवी पाउने अर्का राष्ट्रसेवक हुन्– लोकदर्शन रेग्मी। अहिले गृहसचिव रहेका उनी जुन कार्यालय पुग्छन्, मानपदवी पक्का। २०७२ मा सरकारले पदवी वितरण नगर्दा छुट्यो नत्र उनी २०७० यताका कुनै वर्ष मानपदवीविहीन भएनन्।

२०७० मा अर्थ मन्त्रालयको सहसचिवका रुपमा उनले सुप्रबल जनसेवाश्री पदक पाएका थिए। जनसेवाश्री मानपदवीको वरियतामा यो तेस्रो हो। २०७३ मा उनी त्यही मन्त्रालयको सचिव भइसकेका थिए। उनले सुकीर्तिमय राष्ट्रदीप पाए। २०७४ मा प्रसिद्ध प्रबल जनसेवाश्री पाए।

मानपदवीबारे सर्वोच्च अदालतले गरेको व्याख्याअनुसार गृहसचिवको रुपमा पदक पाउन रेग्मी नैतिक रुपमा अयोग्य हुन्। सर्वोच्चले २०६७ मा तत्कालीन गृहसचिव गोविन्दप्रसाद कुसुमले पाएको सुकीर्तिमय राष्ट्रदीप मानपदवीमाथि प्रश्न उठाउँदै 'सिफारिस समितिको सदस्यसचिव रहेको व्यक्तिले पदक पाउँदा आफूले आफैंलाई सिफारिस गरेको देखिई यस्तो अवस्थालाई निष्पक्ष भन्न नसकिने र प्रशासकीय कानुनको सिद्धान्तविपरीत रहेको' भनेको थियो।

रेग्मीको हकमा सर्वोच्चको सो व्याख्याको कुनै प्रभाव परेन। सदस्यसचिवको रुपमा समितिबाट रेग्मीले आफ्नो नाम सिफारिसमा पारे र राष्ट्रपति विद्या भण्डारीले उनलाई 'राष्ट्रिय जीवनमा प्रशंसनीय काम गरेको' भन्दै मानपदवी दिने निर्णय सदर गरिन्।

उनले आफूले त पदवी लिए नै, आफू सदस्यसचिव रहेको समितिबाट आफ्ना बाबु लक्ष्मीकान्त रेग्मीको नामसमेत सदर गराएर सुप्रबल जनसेवाश्री पदवी दिलाइदिए।

गृहको विभूषण शाखासमेत हेर्ने यादवप्रसाद कोइराला पनि अर्का भाग्यमानी कर्मचारी हुन् जसलाई सरकारले हरेक वर्ष उच्च ओहदाका मानपदवीले सम्मान गर्दै आएको छ। गृहको सहसचिव रहेका उनी तीन वर्षको बीचमा दुईवटा मानपदवीले सम्मानित भइसकेका छन्। २०७१ मा कास्कीको प्रमुख जिल्ला अधिकारीका रुपमा उनले सुप्रबल जनसेवाश्री तेस्रो पाए। २०७४ मा गृह मन्त्रालयको सहसचिवको हैसियतमा उनले सुकीर्तिमय राष्ट्रदीप पाए।

स्थानीय विकास मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले २०७१ मा सुप्रबल जनसेवाश्री तृतीय पाए भने २०७४ मा सुप्रबल जनसेवाश्री पदक पाए। पहिलो पदक पाउँदा उनी सहसचिव थिए, दोस्रो पदक पाउँदा सचिव। नवीनकुमार घिमिरे, मनोहरप्रसाद भट्टराई यस्तै कर्मचारी हुन् जो प्रायः वर्ष नबिराई राज्यको उच्च मानपदवीबाट सम्मानित भइ नै रहे।

संवैधानिक निकायको अवस्था पनि उस्तै छ। पूर्व प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले २०७१ मा प्रसिद्ध प्रबल जनसेवाश्री दोस्रो पाएका थिए भने २०६८ मा कार्यवाहक प्रमुख निर्वाचन आयुक्तको हैसियतमा सुप्रबल जनसेवाश्री तेस्रो पाएका थिए।

प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले २०७१ मा आयोगको आयुक्तका रुपमा प्रसिद्ध प्रबल जनसेवाश्री दोस्रो पाएका थिए। २०७४ मा उनी प्रमुख आयुक्त भए र पदवीको पनि प्रमोसन भएर प्रसिद्ध प्रबल जनसेवाश्री पाए।

सेना, प्रहरी र सशस्त्रसहितका सुरक्षा निकायमा पनि अलंकार, मानपदवी र पदक वितरणको अवस्था उस्तै छ। भ्रष्ट प्रमाणित भएकादेखि अक्षम भन्दै कारबाहीमा परेकासम्मलाई राज्यले पदवी दिएर सम्मान गरिरहेको छ।

सुरक्षा संगठनमा पदैपिच्छे पदक पाउने भाग्यमानी पनि प्रशस्तै छन्। तिनैमध्येका हुन् शैलेन्द्र खनाल। डिआइजी हुँदा २०७१ मा सुप्रबल जनसेवाश्री तेस्रो पाएका उनले २०७४ मा एआइजीका रुपमा सुप्रबल जनसेवाश्री पाए।

प्रहरीतर्फ ठुले राई यस्तै भाग्यमानीमध्येका हुन्। २०७१ मा एसपीका रुपमा उनी प्रबल जनसेवाश्री चौथोबाट सम्मानित भएका थिए। २०७४ मा एसएसपीको रुपमा उनले सुप्रबल जनसेवाश्री पाए।

२०६७ मा रुक्मांगत कटवाल, कुवेरसिंह राना र दुर्जकुमार राइलाई पदवी दिने सरकारको निर्णयविरुद्ध सोही वर्ष परेको रिटको सुनुवाइमा अलंकार, मानपदवी र पदक पाउने कर्मचारी र सुरक्षाकर्मीको हकमा इमानदारीपूर्वक काम गरेकोलाई मुख्य आधार बनाउने गरेको खुलेपछि सर्वोच्चले भन्यो, 'कर्मचारीलगायत हरेक राष्ट्रसेवकले इमानदारीपूर्वक काम गर्नु कानुनी कर्तव्य भएको हुँदा इमानदारीपूर्वक काम गर्नु नै विभूषण पाउने आधार बन्न सक्दैन।'

सर्वोच्चले इमानदारी राष्ट्रसेवक कर्मचारीको आवश्यक र न्यूनतम योग्यता रहेको टिप्पणी गर्दै स्पष्ट पार्‍यो, 'राष्ट्रसेवक कर्मचारी इमानदार नभई बेइमान भए कारबाही गनुपर्छ। इमानदारीमात्र विभूषणका लागि योग्यता हुन सक्दैन।' माथि उल्लेख गरिएका जतिले पदवी पाएका छन् ती सबैको कारण 'तोकिएको काम इमानदारीपूर्वक निर्वाह गरेको' भन्ने नै हो।

प्रभावशालीका पोल्टामा पदवी

हरेक वर्ष गणतन्त्र दिवस (जेठ १५) मा सार्वजनिक हुने विभूषण र पदक पाउनेको सूचीमा सरकारी कर्मचारी र सुरक्षाकर्मीको संख्या बढी हुन्छ। माथिल्लो ओहदाका विभूषण पाउने अधिकांश प्रभावशाली पदमा रहेका कर्मचारी या सुरक्षाकर्मी हुन्छन्।

अधिकांशले कामका आधारमा भन्दा पनि पद र पहुँचको भरमा मानपदवी पाउने गरेको देखिन्छ। २०७४ मा संगठन प्रमुख भएको तीन महिना नकट्दै प्रहरी प्रमुख प्रकाश अर्याल र सशस्त्र प्रहरी प्रमुख सिंहबहादुर श्रेष्ठले सुकीर्तिमय राष्ट्रदीप पाउनुले पदवीको योग्यता कामभन्दा पद भएको पुष्टि गर्छ।

थोरैको नाममा मात्रै विभूषण र पदक सिफारिस भएको भन्दै २०६८ मा वितरण गरिएन। २०७२ मा भूकम्पका कारण सम्मान गर्ने काम रोकिएको थियो। यी दुई वर्षबाहेक २०६६ यता ६ पटक वितरण गरिएका अलंकार, विभूषण र पदक पाउनेको सूची हेर्दा पदमा रहेकाको दबदबा प्रस्टिन्छ।

यसबीचमा एक हजार सात सय नौजनाले अलंकार, विभूषण र पदक पाएका छन्, जसमा सरकारी कर्मचारीको संख्या ४ सय १५ छ। यसमा पनि गृहमा कार्यरतको संख्या सबैभन्दा धेरै छ। गृहको हरेक कोठामा पदकधारी भेटिन्छन्।

२०७४ मा ८१ सरकारी कर्मचारीले पदक पाउँदा गृहका १५ जना थिए। सचिव, उपसचिव, सहसचिव त हुने नै भए, गृहका कार्यालय सहयोगी र चालकको नाम पनि छुट्दैन।

पूर्व गृह सचिव खेमराज रेग्मी पहिला अलंकार, विभूषण र पदक पाएबापत बढुवाका लागि नम्बर बढ्ने हुँदा निजामती कर्मचारीमाझ अस्वस्थ प्रतिस्पर्धा हुने गरेको स्मरण गर्छन्। निजामती ऐन र नियमावली संशोधन गरेर सो प्रावधान हटाइए पनि पदक वितरणको क्रम भने उस्तै छ। किन? रेग्मी भन्छन्, 'लालच।'

समाजमा आफ्नो प्रभाव देखाउन समेत पदकका लागि मरिहत्ते गरिने उनले बताए। राम्रो काम गरेको मूल्यांकनका आधारमा भन्दा पहुँच, चाकरी, भनसुन र निगाहका आधारमा बाडिँदा पदक पाउँदा भन्दा नपाउँदा मान बढ्ने अवस्था आएको उनको विश्लेषण छ।

पदक पाउनेमा गृहका धेरै हुनुमा नाम संकलन र निर्णयमा त्यहींका अधिकारी संलग्न हुनु कारण रहेको उनको निष्कर्ष छ।

गृहअन्तर्गतको विभूषण शाखाले हरेक वर्ष मन्त्रालय, जिल्ला प्रशासन कार्यालय, संवैधानिक निकाय र अदालतमा राम्रो काम गर्नेको नाम अलंकार, विभूषण र पदकका लागि सिफारिस गर्न पत्र पठाउँछ। त्यही बेलादेखि नै पदक पाउने सूचीमा नाम पार्न खेल सुरु हुने रेग्मीले बताए।

शाखाले बनाएको सूची गृहमन्त्री अध्यक्षताको समिति हुँदै वरिष्ठ उपप्रधानमन्त्री रहेको समितिमा पुगेर टुंगो लाग्छ। सोही आधारमा निर्णय हुन्छ। 'पदमा बसेका कतिपयले आफ्नै नाम सिफारिसमा हाल्छन्, केही कर्मचारीले हाकिमलाई रिझाउन चाकरी गर्न पनि नाम हालिदिन्छन्,' रेग्मीले भने, 'कसलाई के योगदानका आधारमा पदक दिने हो भन्ने प्रस्ट मापदण्ड नबनाएसम्म लाजमर्दो अवस्था हट्दैन।'

सुरक्षा निकायमा चर्को दौड

नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागतिर पदकमोह झन् चर्को छ। यसपटक सेनाका दुई सय ७८, प्रहरीका दुई सय ४१, सशस्त्र प्रहरीका एक सय २६ र राष्ट्रिय अनुसन्धान विभागका २४ जनाले विभिन्न विभूषण, अलंकार र पदक पाए।

यसपटक पदक पाउनेमा न्याय क्षेत्रका ३७, राजनीतिज्ञ ४३ र खेलाडी ५४ जना छन्। अलंकार, विभूषण र पदक पाउनेमा सञ्चारकर्मी, उद्यमी, समाजसेवी र कलाकार पनि छन् तर उनीहरुको संख्या कम छ। लैंगिक आधारमा हेर्दा १ हजार ७ सय अलंकार, विभूषण पाउनेमा एक हजार पाँच सय ५४ जना पुरुष छन् भने एक सय ५५ मात्रै महिला।

सुरक्षा नियकाको बढुवामा पदकले सघाउँछ। नेपाली सेनामा बढुवाका लागि विभूषणबापत तीन नम्बर पाउने प्रावधान छ भने अन्य तीन निकायका अधिकारीले पदक पाए दुई नम्बर पाउँछन्। यही नम्बरका लागि प्रतिस्पर्धीलाई पछाडि पार्न सुरक्षा संगठनमा पदकका लागि चर्को दौड हुन्छ।

नेपाल प्रहरीका पूर्वडिआइजी हेमन्त मल्ल सुरक्षा निकायमा कार्यरतलाई पदक बाँड्न कामभन्दा पहुँच नै निर्णायक हुने गरेको बताए। संगठनले सिफारिस गरेकाले नपाउने बरु बाहिरैबाट सिफारिसमा नाम पारेर पदक लिने प्रवृत्ति रहेको अनुभव उनले सुनाए। गलत पद्धतिका कारण दण्डित हुनुपर्नेको छातीमा पदकको संख्या बढ्दै जाने, सम्मानित हुनुपर्नेको रित्तै रहने गरेको बताउँदै उनले भने, 'बढुवामा आउने नम्बरका लागि समेत प्रतिस्पर्धा हुन्छ। त्योसँगै छातीभरि मेडल झुन्ड्याउने लोभले पनि काम गर्छ।'

सम्बन्धित संगठनले सिफारिस गरेबाहेकलाई पदक नदिएमात्रै बढुवामा नम्बर दिने पद्धति उपयुक्त हुने टिप्पणी गर्दै उनले भने, 'भनसुनकै भरमा बाँड्ने पद्धति नहट्ने हो भने पदकबापतको नम्बर हटाउनु नै राम्रो।'

हरेक वर्ष पाँच करोड खर्च

गणतन्त्रको घोषणासँगै सरकारले राजाका नाममा रहेका सबै अलंकार, विभूषण र पदक खारेज गर्‍यो र नयाँ डिजाइन बनायो। गृहका अधिकारीका अनुसार नयाँ डिजाइन निकै खर्चिलो छ। गृहका एक अधिकारीका अनुसार मानपदवीमा मात्रै हरेक वर्ष पाँच करोडभन्दा बढी खर्च हुने गरेको छ। नाम उल्लेख गर्न नचाहने उनले भने, 'यो वर्ष संख्या बढी भएकाले खर्च पनि बढ्छ।'

गृहका अनुसार राष्ट्रबैंकको टक्सार कार्यालयले मानपदवीको डिजाइन बनाउँछ। घरेलु कार्यालयले त्यसैको आधारमा मानपदवी बनाउँछ।

गृहले नेपालरत्न, राष्ट्र गौरव, जनसेवाश्री र राष्ट्रदीप गरी चार किसिमका मानपदवी दिन्छ। नेपालरत्न बनाउन १५ लाख रुपैयाँ लाग्छ। राष्ट्र गौरव बनाउन १० लाख, राष्ट्रदीपको ५० हजारदेखि तीन लाख र जनसेवाश्रीको ५० हजारदेखि तीन लाख रुपैयाँसम्म लाग्ने गरेको मानपदवी बनाउन संलग्न एक अधिकारीले जानकारी दिए।

महाउज्ज्वल, उज्ज्वल कीर्तिमान, सुकीर्तिमय, कीर्तिमय, राष्ट्रदीप र सुप्रसिद्ध प्रबल, प्रसिद्ध प्रबल, सुप्रबल, प्रबल र जनसेवाश्री विभूषण बनाउन हरेकमा पाँच हजारभन्दा बढी खर्च हुन्छ। अन्य १३ किसिमका पदक बनाउन पाँच सय खर्च लाग्छ।

सुधारको प्रयासमा गृह

जनार्दन शर्माले गृहको नेतृत्व सम्हाल्दा मानपदवी पाउनेको नाममा ठट्टा भइरहेको थियो। पुष्पकमल दाहाल प्रधानमन्त्री हुँदा उनका सहयोगी प्रकाश दाहाललाई समाजसेवीको हैसियतमा पदक दिने घोषणा भएपछि मानपदवी उपहासको विषय बन्यो। केहीले मानपदवी नलिने घोषणा पनि गरे।

पदकले सम्मानको साटो अपमान बढाएको शर्मालाई बिझ्यो। उनले आफ्नो ८४ बुँदे मार्गचित्रमा मानपदवी वितरण पद्धति सुधार्ने बुँदा प्राथमिकतामा राखे। गृहप्रवक्ता दीपक काफ्लेका अनुसार गृहले मानपदवी वितरण प्रणाली थप व्यवस्थित बनाउन गृहकार्य अगाडि बढिसकेको बताए। 'हरेक विषयमा सुधारको पाटो हुन्छ नै,' उनले भने, 'मानपदवी वितरणमा पनि सुधार आवश्यक देखिएपछि गृहकार्य सुरु गरिसक्यौं।'

सर्वोच्चले स्थापित गरेको नजिर

उत्कृष्ट काम गर्ने नागरिकलाई राज्यबाट सम्मान गरी प्रोत्साहित र कामको कदर गर्न स्थापित अलंकार, मानपदवी र पदक वितरणलाई व्यवस्थित गर्न विभूषण ऐन २०६४ र नियमावली २०६५ बनाए पनि सरकारले गर्ने निर्णय सधैं विवादित हुँदै आएको छ।

२०६७ मा विभूषित हुनेको नाम सार्वजनिक भएलगत्तै विवादमा तानियो। जनआन्दोलन दमनकर्ताका रुपमा कृष्णजंग रायमाझी आयोगबाट दोषी ठहर पूर्व प्रधान सेनापति रुक्मांगत कटवाल, मानवअधिकार उल्लंघनको आरोप लागेका तत्कालीन एआइजी (नेपाल प्रहरी) कुेरसिंह राना र जनआन्दोलन दमनमा दोषी ठहर तत्कालीन डिआइजी (सशस्त्र प्रहरी) दुर्जकुमार राईलाई सरकारले पदवी दिने निर्णय गरेको भन्दै त्यसलाई बदर माग गरी सर्वोच्चमा रिट पर्‍यो।

रिट निवेदकको मागअनुसार निर्णय बदर त भएन तर न्यायाधीश बलराम केसी र मोहनप्रसाद सिटौलाको इजलासले राज्यले दिने अलंकार, पदवी र पदकको आधार र मापदण्डबारे सरकारको ध्यानाकर्षण गराउँदै २०६७ मंसिर १९ मा निम्न नजिर स्थापित गरेको थियो : 

१. विभूषण प्रदान गर्ने राज्यको अधिकार हो जब कि विभूषित गरिपाउने कसैको पनि अधिकार होइन। विभूषण दिने नेपाल सरकारको निर्णयको न्यायिक पुनरवलोकन गर्दा विभूषण पाउने व्यक्तिको सम्बन्धमा न्यायिक परीक्षणको विषय बन्न उचित नहोला। तर विभूषण प्रदान गर्ने निर्णय र प्रक्रियाको न्यायिक पुनरवलोकन भने गर्न सक्ने।

२. विभूषण पाउने न त मौलिक हक हो न त कानुनी हक नै। विभूषण प्रदान गर्ने निर्णय गरी प्रदान गरिसकेको विभूषण सरकारले फिर्ता लिन पनि सक्छ। विभूषित गर्ने निर्णय गरे पनि उक्त निर्णय सरकारले संशोधन गर्न वा नगर्न पनि सक्छ। यसमा सरकारलाई विबन्धन लागू नहुने।

३. विभूषण पाउने जुनसुकै व्यक्ति निष्कलंकित हुनुपर्छ र त्यस्ता व्यक्तिउपर कुनै अभियोग लागेको हुन नहुने।

४. निजामती कर्मचारीलगायत अन्य राष्ट्रसेवकको हकमा विभूषण पाउने सिफारिसका आधारमा इमानदार र कर्तव्यनिष्ठ भई जिम्मेवारी पूरा गरेको भन्ने उल्लेख गरेको देखिन्छ। कर्मचारीलगायत हरेक राष्ट्रसेवकले इमानदारीपूर्वक काम गर्नु उनीहरूको कानुनी कर्तव्य नै भएको हुँदा इमानदारीपूर्वक काम गर्नु नै विभूषण पाउने आधार बन्न सक्दैन। इमानदारी राष्ट्रसेवक कर्मचारीको आवश्यक र न्यूनतम योग्यता हो। राष्ट्रसेवक कर्मचारी इमानदार नभई बेइमान भए कारबाही गर्नुपर्छ। त्यसैले इमानदारीमात्र विभूषणका लागि योग्यता हुन सक्दैन।

५. विभूषण पाउने न्यायाधीशको हकमा प्रधानन्यायाधीशको सहमति वा सिफारिस नलिईकन विभूषण समितिले मात्र विभूषण सिफारिस गर्ने काम गरेको, यस्तो कार्यले न्यायपालिकाको स्वतन्त्रतामा असर पर्छ। भविष्यमा विभूषणले सम्मानित गर्दा बहालवाला न्यायाधीशको हकमा प्रधानन्यायाधीशको सहमति लिएर मात्र विभूषित गर्नू भनी विपक्षीको ध्यानाकर्षण गराइएको छ।

६. विभूषण ऐनमा विभूषण सिफारिस समितिमा गृहसचिव सदस्यसचिव रहने व्यवस्था देखिन्छ। गृहसचिवसमेत भई विभिन्न व्यक्तिलाई विभूषण प्रदान गर्ने निर्णयसँगै गृहसचिव स्वयंले विभूषण पाएको देखिन्छ। प्रशासकीय कानुनको मान्य सिद्धान्तअनुसार नातालगायतका विभिन्न कारणले निर्णयकर्ता वा सिफारिसकर्तामा निष्पक्षताको प्रश्न चिह्न आउने अवस्था उत्पन्न भयो भने त्यस्तो निर्णयमा त्यस्तो सदस्य उपस्थित हुने गरिँदैन। तर तत्कालीन गृहसचिव पनि विभूषित भएको देखिँदा आफूलाई आफैंले सिफारिस गरेको देखियो भन्नुपर्ने हुन आयो। यस्तो अवस्थालाई निष्पक्ष भन्न सकिने देखिँदैन।
अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
६ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस