५ वर्षमा १४ मुख्यमन्त्री: ७ ले जिते, २ पराजित
११ मंसिर २०७९
•
८ मिनेट पाठ
५ वर्षमा १४ मुख्यमन्त्री: ७ ले जिते, २ पराजित
नेपालको संविधान, २०७२ ले अंगीकार गरेको संघीयताले २०७४ सालमा मूर्तरूप पायो। २०७४ मा तीन तह (स्थानीय, प्रदेशसभा र प्रतिनिधिसभा) को निर्वाचन भएपछि संघीयता कार्यान्वयनमा आयो। स्थानीय तह, सातै प्रदेश र संघमा सरकार बने।  




प्रदेशसभाको पाँच वर्षको अवधिमा सातवटा प्रदेशमा गरी १४ जना मुख्यमन्त्री बने। प्रदेश १ र वाग्मती प्रदेशमा तीन/तीनजना, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा दुई/दुईजना र मधेस प्रदेश र सुदूरपश्चिम प्रदेसमा एक/एकजना मुख्यमन्त्री बने।  

संघीय मुलुकहरूमा मुख्यमन्त्री बन्ने अवसर पाएका नेताहरूलाई देशको भावी प्रधानमन्त्रीका रूपमा पनि हेरिन्छ। प्रदेश मुख्यमन्त्रीमा सफल नेताले मुलुककै प्रधानमन्त्री चलाउन सक्ने हैसियत राख्छन्। यसको एक उदाहरण भारतका प्रधानमन्त्री नरेन्द्र मोदी हुन्। उनी सन् २००१ देखि २०१४ सम्म लगातार गुजरात प्रान्तका मुख्यमन्त्री भएका थिए। उनको पार्टी भारतीय जनता पार्टी (भाजपा) ले मोदीको ‘गुजरात मोडल’ लाई चुनावी मुद्दा बनाउँदै सन् २०१४ को लोकसभा निर्वाचनमा गएको थियो। त्यतिबेला भाजपाले मोदीलाई प्रधानमन्त्रीका रूपमा अघि सारेर निर्वाचन लडेको थियो।  

नेपालमा पनि संघीयता कार्यान्वयनपछि पहिलोपटक निर्वाचनबाट गठन भएका प्रतिनिधिसभा र प्रदेशसभाका पाँच वर्ष बिते। यही मंसिर ४ गते नयाँ प्रतिनिधिसभा र प्रदेशसभाका लागि निर्वाचन भयो। विभिन्न प्रदेशमा मुख्यमन्त्री भएका सातजनाका लागि यो निर्वाचन सुखद रह्यो। बहालवाला तीन मुख्यमन्त्री उम्मेदवार हुनबाट वञ्चित भए। दुई पूर्वमुख्यमन्त्रीले उम्मेदवार बन्न चाहेनन् भने दुईजना निर्वाचनमा पराजित भए।  

तीन मुख्यमन्त्रीले टिकट पाएनन्

सुदूरपश्चिम प्रदेश सरकारको पाँच वर्षसम्म नेतृत्व गर्न पाएका भाग्यमानी मुख्यमन्त्री हुन्– त्रिलोचन भट्ट। नेकपा माओवादी केन्द्रका भट्टलाई उम्मेदवार भएर निर्वाचित हुँदासम्म पनि मुख्यमन्त्रीको आशा थिएन। पाँच वर्षअघिको निर्वाचनमा वाम गठबन्धनले बहुमत ल्याएपछि सुदूरपश्चिममा भट्टलाई मुख्यमन्त्री हुने सौभाग्य जुर्‍यो। उनको क्षमतामाथि प्रश्न उठाइयो। त्यसबाहेक यस अवधिमा व्यक्तिगत रूपमा उनीमाथि कुनै आरोप लागेन। बरु उनकै सचिवालयका सदस्य र प्रदेश सरकारका अन्य मन्त्रीमाथि योजना किनबेचमा संलग्न भएको आरोप लागिरह्यो। पाँच वर्षपछि मंसिर ४ मा भएको निर्वाचनमा मुख्यमन्त्री भट्टले डोटीबाट प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षततर्फ उम्मेदवार हुन चाहेका थिए। तर सत्ता गठबन्धन दलबीचको भागबन्डामा डोटी नेकपा एकीकृत समाजवादी (नेकपा एस) लाई परेपछि उनी उम्मेदवार बन्नबाट वञ्चित भए। माओवादी केन्द्रले प्रतिनिधिसभा समानुपातिकतर्फको प्रारम्भिक बन्दसूचीमा भट्टलाई दोस्रो नम्बरमा राख्यो। पछि अध्यक्ष पुष्पकमल दाहालले भट्टलाई डोटी प्रदेशसभा (ख) बाट चुनाव लड्न भनेको माओवादी स्रोत बताउँछ। त्यसपछि भट्ट त्यसकै तयारीमा थिए। तर उम्मेदवारी दर्ताको अघिल्लो रात डोटी (ख) को टिकट मुख्यमन्त्री भट्टकै स्वकीय सचिव शिवसिंह वलीले पाए। माओवादी सुदूरपश्चिम प्रदेश इन्चार्ज खगराज भट्ट र अध्यक्ष हरिराम चौधरी मिलेर मुख्यमन्त्री भट्टको सट्टा टिकट उनका स्वकीय सचिव वलीलाई दिलाएको आरोप छ।  

खगराज भावी मुख्यमन्त्रीका लागि डडेलधुरा (क) बाट उम्मेदवार बन्दै थिए। मुख्यमन्त्री भट्ट पुनः प्रदेशसभामा निर्वाचित भए आफू मुख्यमन्त्री बन्न नसक्ने भएकाले खगराजले यस्तो चाल चलेको माओवादी स्रोत बताउँछ। माओवादी केन्द्रबाट लुम्बिनी प्रदेशका बहालवाला मुख्यमन्त्री कुलप्रसाद केसीको कथा पनि झन्डै भट्टको जस्तै छ। उनी पनि निर्वाचनमा उम्मेदवार हुनबाट वञ्चित छन्। अघिल्लोपटक रोल्पा (क) बाट उम्मेदवार भएर जितेका केसी यसपटक रोल्पा (ख) बाट निर्वाचन लड्न चाहन्थे। उनको घर पनि रोल्पा (ख) को त्रिवेणी गाउँपालिकामा पर्छ।  

यसपटक रोल्पा (क) मा पार्टी अध्यक्ष दाहालका पूर्वस्वकीय सचिव जोगबहादुर महरा लड्ने पक्कापक्की भएपछि केसी गृहक्षेत्रमै फर्किएर लड्न चाहन्थे। तर उनलाई पार्टीभित्रको आन्तरिक शक्ति समीकरणले साथ दिएन। पहिला नेता रामबहादुर थापानिकट मानिने केसी पछिल्लो समय कृष्णबहादुर महरानिकट छन्। स्रोतका अनुसार अध्यक्ष दाहाल रोल्पा (ख) बाट आफूनिकट पोलिटब्युरो सदस्य दीपेन्द्रबहादुर पुनलाई उम्मेदवार बनाउन चाहन्थे। केसी र पुनबीच शक्तिको माथापच्ची हुन थालेपछि सत्ता गठबन्धन दलबीचको भागबन्डामा उक्त क्षेत्र नेपाली कांग्रेसको भागमा पारियो। त्यहाँ कांग्रेसबाट प्रदेश सभापति अमरसिंह पुन उम्मेदवार भए। मुख्यमन्त्री केसी यसरी टिकटविहीन बन्न पुगे। त्यहाँ पोलिटब्युरो सदस्य दीपेन्द्रबहादुरले बागी उम्मेदवारी दिए, चुनाव पनि जिते। त्यस्तै कांग्रेसबाट गण्डकी प्रदेशका बहालवाला मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पनि यसपटक पार्टीभित्रकै शक्ति समीकरणका कारण चुनाव लड्न पाएनन्। कांग्रेसको १४औं महाधिवेशनमा शेखर कोइराला समूहबाट केन्द्रीय सदस्य जितेका उनी नवलपरासी (बर्दघाट सुस्तापूर्व) १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार हुन चाहन्थे। उनी अघिल्लोपटक यसै क्षेत्रको (क) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए।  

यसपटक पनि नवलपरासी (बर्दघाट सुस्तापूर्व) १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइराला उम्मेदवार हुने निश्चित भएपछि मुख्यमन्त्री पोखरेलले प्रतिनिधिसभा सदस्यका लागि समानुपातिक सूचीमा नाम राखिदिन पार्टी नेतृत्वसमक्ष प्रस्ताव गरेका थिए। उनको प्रस्ताव स्वीकार्य भएन। उनलाई पुरानै क्षेत्रबाट पुनः प्रदेशसभा सदस्यमा चुनाव लड्न पार्टी नेतृत्वले प्रस्ताव राख्यो। सो प्रस्ताव उनले अस्वीकार गरेको निकट स्रोत बताउँछ।  

जसले उम्मेदवार बन्न चाहेनन्  

पार्टी विभाजनअघि एमालेबाट वाग्मती प्रदेशमा मुख्यमन्त्री भएका डोरमणि पौडेल र अष्टलक्ष्मी शाक्यले भने स्वयं यसपटक उम्मेदवार बन्न चाहेनन्। शाक्य २०७४ को निर्वाचनमा मुख्यमन्त्री बन्ने भन्दै काठमाडौं ८ (क) बाट निर्वाचित भएकी थिइन्। तर एमालेभित्रको गुटगत लडाइँमा उनी पछि परिन्। वाग्मती प्रदेशको पहिलो मुख्यमन्त्री पौडेल भए।  

त्यतिबेला शाक्य पार्टीभित्र माधवकुमार नेपाल गुटमा थिइन्। यसैकारण अध्यक्ष केपी शर्मा ओलीले मकवानपुर १ (ख) बाट निर्वाचित डोरमणि पौडेललाई मुख्यमन्त्री बनाए। उनले २०७८ भदौमा मुख्यमन्त्रीबाट राजीनामा दिए। त्यसपछि शाक्य मुख्यमन्त्रीमा नियुक्त भइन्। एमालेमा विभाजन आएका कारण विश्वासको मत पाउन नसक्ने भएपछि उनले राजीनामा दिइन्। यसपटक पूर्वमुख्यमन्त्री पौडेल मकवानपुर २ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बन्ने चर्चा थियो। तर उमेरले ७६ वर्ष पुगेका पौडेलले ‘नाति पुस्तासमेत देशको नेतृत्व हाँक्न तयार र सक्षम भएर बसेको’ भन्दै आफू उम्मेदवार नबन्ने घोषणा गरे।  

एमालेभित्रको गुटका कारण वाग्मती प्रदेशमा पहिलो मुख्यमन्त्री बन्न नपाएकी शाक्यलाई पछि नेकपा एसतिर जानबाट रोक्न अध्यक्ष ओलीले मुख्यमन्त्रीको प्रस्ताव राखे। मुख्यमन्त्रीबाट पौडेलले राजीनामा दिए, शाक्यलाई मुख्यमन्त्री बन्ने बाटो खुल्यो। २०७८ भदौ २ गते शाक्य मुख्यमन्त्रीमा नियुक्त भइन्। एमालेमा आएको विभाजनले विश्वासको मत पाउन नसक्ने भएपछि उनले कात्तिक १० गते राजीनामा दिएकी थिइन्। त्यसयता नेकपा एसका उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डे मुख्यमन्त्री छन्। यसपटक एमालेले शाक्यलाई काठमाडौं क्षेत्र ८ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाउन चाहेको थियो। तर उनले अस्वीकार गरिन्।  

पूर्वमुख्यमन्त्री पोखरेल र राई पराजित

लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री एवं एमाले महासचिव शंकर पोखरेल र प्रदेश १ का पूर्वमुख्यमन्त्री शेरधन राई भने प्रतिनिधिसभा सदस्य प्रत्यक्ष निर्वाचनमा पराजित भएका छन्।  

एमालेको भावी अध्यक्ष तथा प्रधानमन्त्री भनेर प्रचारप्रसार गरिएका पोखरेल दाङ २ बाट उम्मेदवार बनेका थिए। माओवादी केन्द्रकी रेखा शर्मासँग १९३ मतान्तरले पछि पर्दा पोखरेलको हार भयो। २०७४ फागुन ३ देखि २०७८ साउन २७ गतेसम्म पोखरेल लुम्बिनी प्रदेश सरकारको मुख्यमन्त्री भएका थिए। मुख्यमन्त्री जोगाउन गैरसंसदीय क्रियाकलाप गरेको आरोप उनीमाथि लाग्यो। भोजपुरबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनेका प्रदेश १ का पूर्वमुख्यमन्त्री राई माओवादी केन्द्रका सुदन किरातीसँग पराजित भएका हुन्। २०७४ फागुनमा मुख्यमन्त्री भएका राईले २०७८ भदौ १० मा राजीनामा दिएका थिए। तत्कालीन अवस्थामा माधव नेपाल समूहमा रहेका भीमप्रसाद आचार्यलाई नेकपा एसमा जानबाट रोक्न राईले मुख्यमन्त्रीबाट राजीनामा दिएका थिए। त्यसपछि मुख्यमन्त्री बनेका आचार्यले पनि पार्टी विभाजनका कारण विश्वासको मत जुटाउन नसकेर राजीनामा दिएका थिए।  

पूर्व र बहालावाला ७ मुख्यमन्त्रीले चुनाव जिते

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राई प्रदेशसभा सदस्य र वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। दुवै नेकपा एसका नेता हुन्।  

राई भोजपुर (क) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन्। उनले एमालेका हरिबहादुर राईलाई झन्डै ४ हजार मतले पराजित गरे। उनी अब बन्ने प्रदेश सरकारमा पनि मुख्यमन्त्रीको दौडमा छन्। वाग्मती प्रदेशका मुख्यमन्त्री पाण्डे धादिङ १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । उनले एमालेका भूमिप्रसाद त्रिपाठीलाई झन्डै ८ हजार मतान्तरले पराजित गरेका हुन्। 

मधेस प्रदेशका बहालवाला मुख्यमन्त्री लालबाबु राउत पनि प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन्। जनता समाजवादी पार्टीका नेता राउत पर्सा निर्वाचन क्षेत्र १ (ख) बाट निर्वाचित भएका हुन्।

त्यस्तै गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पुनः मुख्यमन्त्री हुनेगरी प्रदेशसभा सदस्यका लागि उम्मेदवार बन्न चाहेका थिए। तर प्रदेशमा एमाले अध्यक्ष ओलीको रोजाइमा नपर्दा उनी प्रतिनिधिसभा सदस्य निर्वाचन लड्न बाध्य भए। गण्डकी प्रदेशमा खगराज अधिकारीलाई मुख्यमन्त्री बनाउने ओली चाहनाका कारण गुरुङ प्रतिनिधिसभा सदस्य निर्वाचनमा लम्जुङबाट उम्मेदवार भए, निर्वाचन पनि जिते। उनले माओवादी केन्द्रका महासचिव देव गुरुङलाई पराजित गरेका हुन्।  

कर्णाली प्रदेशका बहालवाला मुख्यमन्त्री जीवनबहादुर शाहीलाई पुनः मुख्यमन्त्री बन्ने बाटो खुलेको छ। कांग्रेसका उनी फेरि पनि मुख्यमन्त्री बन्ने योजनासहित सत्ता गठबन्धनको सहयोगमा हुम्ला (ख) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन्। उनले एमालेका छक्कबहादुर लामालाई हराएका हुन्।  

मुख्यमन्त्री शाहीअगाडि झण्डै चार वर्ष कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री बनेका माओवादी केन्द्रका नेता महेन्द्रबहादुर शाही कालिकोटबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। उनले एमालेका नगिन्द्र शाहीलाई सात हजार बढी मतले पराजित गरेका हुन्।

प्रदेश १ का पूर्वमुख्यमन्त्री भीमप्रसाद आचार्य पनि सुनसरी २ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन्। 
अर्को समाचार
सरकार गठन प्रक्रियामा संवैधानिक अस्पष्टता
०१ पौष २०७९
•
७ मिनेट पाठ
सरकार गठन प्रक्रियामा संवैधानिक अस्पष्टता
निर्वाचन आयोगले मंसिर ४ गते भएको प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनको परिणाम राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएसँगै प्रमुख दलहरूको ध्यान नयाँ सरकार गठनमा केन्द्रित भएको छ। निर्वाचन आयोगले बिहीबार राष्ट्रपति भण्डारीलाई निर्वाचन प्रतिवेदन बुझाएको हो। संविधानले निर्वाचनपछि नयाँ सरकार गठन प्रक्रिया कसरी अघि बढाउने भन्ने स्पष्ट व्यवस्था गरेको छैन। २०७४ सालको निर्वाचनमा तत्कालीन वाम गठबन्धनको पक्षमा स्पष्ट बहुमत भएकाले गठबन्धनका नेताहरू प्रतिनिधिसभामा बहुमत पुग्ने आधारसहित प्रधानमन्त्रीको दाबी पेस गर्न राष्ट्रपतिसमक्ष गएका थिए। तर अहिले कुनै पनि दल प्रधानमन्त्रीको दाबी गर्न नगएको खण्डमा नयाँ सरकार गठन प्रक्रिया कहाँबाट र कसरी सुरु गर्ने भन्ने संविधानमा स्पष्ट व्यवस्था छैन।  




२०६३ सालको अन्तरिम संविधानमा राष्ट्रपतिलाई संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दललाई सहमतिको सरकार गठनका लागि पहिला आह्वान गर्ने र सहमतिको प्रधानमन्त्री दिन नसके बहुमतको प्रधानमन्त्री चयनका लागि संसद्लाई लेखेर पठाउने व्यवस्था थियो। तर संविधानसभाले बनाएको अहिलेको संविधानमा त्यस्तो व्यवस्था छैन। संविधानसभाले बनाएको संविधानअनुसार २०७४ सालमा भएको पहिलो निर्वाचनपछि प्रधानमन्त्रीको दाबी गर्न संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दललाई राष्ट्रपतिले आह्वान गर्ने परम्परा पनि बसेको छैन।  

राष्ट्रपति विद्यादेवी भण्डारीका प्रेसविज्ञ टीका ढकालले नयाँ जनादेशअनुसार राष्ट्रपतिले नयाँ सरकार गठनका लागि संविधानअनुसार सहजीकरण गर्ने बताए। नयाँ सरकार गठनका लागि सहजीकरण गर्ने राष्ट्रिपतिको दायित्व भएको बताउँदै ढकालले भने, ‘ताजा जनादेशअनुसार सरकार गठन नै अहिलेको प्राथमिकता हो। नयाँ सरकार गठन राष्ट्रपतिको उच्च प्राथमिकताको विषय हो। कुनै पनि दलको स्पष्ट बहुमत नभएकाले संविधानको धारा ७६ (२) अनुसार सरकार गठनका लागि उहाँले आह्वान गर्न सक्नुहुन्छ।’ नयाँ जनादेशअनुसारको सरकार गठन प्रक्रिया अघि बढाउने राष्ट्रपतिको अधिकार भएको दाबी गर्दै उनले भने, ‘संसद् बैठक आह्वान सरकारको विषय हो।’

कानुनविद् भीमार्जुन आचार्यले संविधानले राष्ट्रपतिलाई सरकार गठनको आह्वान गर्ने अधिकार कहींकतै नदिएको दाबी गरे। संविधानको व्यवस्थाअनुसार अब प्रतिनिधिसभा बैठक आह्वान हुनुपर्ने र त्यसले आवश्यक ऐनकानुन बनाएर सरकार गठनको प्रक्रिया अघि बढाउनुपर्ने जिकिर गर्दै उनले भने, ‘संविधानमा व्यवस्था पनि छैन र अभ्यास पनि होइन।’ राम्रो र सबैलाई सर्वस्वीकार्य विषय मात्र परम्परा र अभ्यास हुन सक्ने भन्दै उनले थपे, ‘विगतमा गलत परम्पराको सुरुवात भएको छ। त्यसलाई अहिले सच्याउनुपर्छ।’  

राष्ट्रपतिका प्रेसविज्ञ ढकालले २०७४ सालमा निर्वाचन आयोगले प्रतिवेदन बुझाएलगत्तै दलहरू निर्वाचनको जनादेशअनुसार सरकारको दाबी गर्न आएको बताए। अहिले पनि दलहरूले तत्कालै सरकारको दाबी गर्न आए संविधानको धारा ७६ (२) अनुसार प्रधानमन्त्री नियुक्त हुन सक्ने जिकिर गर्दै ढकालले भने, ‘प्रतिनिधिसभा सदस्य कोको हुन् भन्ने राष्ट्रपतिलाई जानकारी भइसकेको छ। १३८ जनाको बहुमत देखिएपछि प्रधानमन्त्री नियुक्त हुन सक्छ।’

कानुनविद् आर्चायले प्रतिनिधिसभा सदस्यको शपथ नभईकन राष्ट्रपतिले विगतमा प्रधानमन्त्रीको शपथ गराएर गलत परम्पराको सुरुवात गरेको बताए। संविधानको धारा ७७ को उपधारा १ (ग) मा प्रतिनिधिसभा सदस्य नरहेको व्यक्ति प्रधानमन्त्री पदमा बहाल रहन नसक्ने व्यवस्था रहेको भन्दै आचार्यले यसअघि संविधानको व्यवस्था मिचिएको बताए। प्रतिनिधिसभा सदस्यको शपथ नभएसम्म त्यसको जिम्मेवारी सम्हाल्न नसकिने धारणा राख्दै उनले भने, ‘प्रतिनिधिसभामा निर्वाचित सदस्य हो तर शपथबिना प्रधानमन्त्री र मन्त्री नियुक्त गर्नु संवैधानिक अराजकता हो, त्यसलाई रोक्नुपर्छ। पहिला प्रतिनिधिसभा सदस्यको शपथ हुनुपर्छ।’

मुलुकभित्रको अभ्यास र संसदीय शासन व्यवस्थाको पनि अभ्यास हेरेर अघि बढ्नुपर्ने बताउँदै राष्ट्रपतिका प्रेसविज्ञ ढकालले सांसदको शपथ प्राविधिक विषय भएको बताए। २०७४ सालको निर्वाचन परिणाम प्रतिवेदन बुझाएको भोलिपल्ट अर्थात् २०७४ फागुन ३ गते नै तत्कालीन वाम गठबन्धन (एमाले र माओवादी केन्द्र) ले केपी ओलीको नेतृत्वमा सरकार बनाउन दाबी पेस गरेका थिए। संविधानको धारा ७६ (२) बमोजिम त्यतिबेला दुई दलले सरकार बनाउने दाबी गरेकै दिन राष्ट्रपति भण्डारीले ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गर्दै पद तथा गोपनीयताको शपथ गराएकी थिइन्। ओली प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए पनि उनले २०७४ फागुन २० गते मात्र सांसद पदको शपथ लिएका थिए, त्यसको भोलिपल्ट २१ गते संसद् अधिवेशन सुरु भएको थियो। धारा ७६ (२) मा लेखिएको छ, ‘उपधारा (१) बमोजिम प्रतिनिधिसभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधिसभा सदस्यलाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्नेछन्।’  

संविधानको धारा ७६ (८) माा प्रतिनिधिसभाको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको वा प्रधानमन्त्रीको पद रिक्त भएको मितिले ३५ दिनभित्र प्रधानमन्त्री नियुक्तिसम्बन्धी प्रक्रिया सम्पन्न गर्नुपर्नेछ भन्ने व्यवस्था छ। सोही व्यवस्थाअनुसार राष्ट्रपतिले सरकार गठनका लागि आह्वान गर्न सक्ने तत्कालीन राष्ट्रपति रामवरण यादवका कानुनी सल्लाहकार सूर्य ढुंगेलको बुझाइ छ। २०७४ सालको निर्वाचनपछि एमाले र माओवादी केन्द्र दुई दल मिलेर सरकार बनाउन आवश्यक संख्या पुगेको र अहिले पनि त्यस्तो अवस्थामा दलहरूले प्रधानमन्त्री दाबी गर्न सक्ने बताउँदै ढुंगेलले थपे, ‘संविधानको धारा ७६ (१) अनुसार बहुमत प्राप्त संसदीय दलको नेतालाई प्रधानमन्त्री बन्ने अवस्था नभएकाले ७६ (२) अनुसारको प्रधानमन्त्रीका लागि राष्ट्रपतिले आह्वान गर्न सक्छन्।’

संविधानको धारा ७६ (२) अनुसार दुई वा दुईभन्दा बढी राजनीतिक दलले प्रधानमन्त्रीका लागि दाबी गर्न सक्नेछन्। संविधानको उक्त व्यवस्थाअनुसार संसद्मा प्रतिनिधित्व गर्ने दलहरूमध्येबाट एकभन्दा बढीले प्रधानमन्त्री दाबी गरेर सरकार गठनका क्रममा नयाँ विवाद उत्पन्न हुन सक्ने आशंका व्यक्त गर्न थालिएको छ। प्रतिनिधिसभाको एकभन्दा बढी सदस्यले ७६ (२) अनुसार प्रधानमन्त्री दाबी गरेको अवस्थामा राष्ट्रपतिको भूमिका निर्णायक हुनेछ। यसअघि संविधानको धारा ७६ को ५ अनुसारको प्रधानमन्त्री आह्वान गर्दा राष्ट्रपतिले प्रतिनिधिसभाको संख्या र समर्थनलाई भन्दा आफ्नो अनुकूलतालाई हेरेर निर्णय गरेको भन्दै एक कानुनविद्ले भने, ‘अब पनि राष्ट्रपतिले संसद्को संख्या एकातिर प्रधानमन्त्री अर्कोतिर नियुक्ति गर्ने अवस्था नआउला भन्न सकिँदैन।’

राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ (५) अनुसार प्रतिनिधिसभाका १४९ सदस्यको हस्ताक्षरसहित प्रधानमन्त्री दाबी गर्न पुगेका शेरबहादुर देउवालाई नियुक्त नगरेर एमाले अध्यक्षसमेत रहेका तत्कालीन प्रधानमन्त्री केपी ओलीसमेतको दाबीलाई आधार बनाउँदै नयाँ सरकार गठनका लागि अस्वीकार गरेकी थिइन्। त्यसलगत्तै तत्कालीन प्रधानमन्त्री ओली नेतृत्व सरकारको प्रतिनिधिसभा विघटन सिफारिसलाई राति नै सदर गरेकी थिइन्। र, सर्वोच्च अदालतले त्यसलाई सच्याउँदै देउवा नेतृत्वमा सरकार गठनको आदेश दिएको थियो।  

संविधानमा स्पष्ट व्यवस्था छैन भनेर जे पनि गर्न पाइन्छ भन्ने नभएको भन्दै ढुंगेलले संवैधानिक अराजकता निम्त्याउने अधिकार कसैलाई नभएको बताए। संविधानको धारा ७६ (२) अनुसार दुईभन्दा बढीको प्रधानमन्त्रीमा दाबी पर्न सक्ने बताउँदै उनले भने, ‘हस्ताक्षर वा समर्थन कसलाई हो वा होइन भने राष्ट्रपतिले ‘भेरिफाई’ गर्नुपर्छ। होइन भने राष्ट्रपति जसमा कन्भिन्स हुनुहुन्छ, उसैलाई प्रधानमन्त्री नियुक्त गर्नचाहिँ सक्नुहुन्छ।’

राष्ट्रपतिबाट नियुक्त भएका प्रधानमन्त्रीले ३० दिनभित्र संसद्बाट आफ्नो पक्षमा बहुमत रहेको प्रमाणित गर्नुपर्नेछ। अर्थात् ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त नगरे संविधानको धारा ७६ (३) अनुसारको नयाँ सरकार गठन प्रक्रिया राष्ट्रपतिले अघि बढाउनेछिन्। संविधानको स्पष्ट व्यवस्थाविपरीत राष्ट्रपति भण्डारीको नयाँ सरकार गठनमा देखाएको चासो शंकास्पद रहेको बताउँदै कांग्रेस एक पदाधिकारीले भने, ‘२०७४ सालमा प्रतिनिधिसभा सदस्यको शपथ नै नलिएका व्यक्तिलाई हतारहतार प्रधानमन्त्री नियुक्ति गर्नुभयो। अहिले पनि सरकार गठनको आह्वान गरेर फेरि उहाँलाई मन लागेको व्यक्तिलाई प्रधानमन्त्री बनाइहालौं अनि ३० दिनसम्ममा एउटा बाटो लाग्ला भन्नेजस्तो देखिन्छ।’

संविधानको धारा ९३ मा निर्वाचनको अन्तिम परिणाम घोषणा भएको ३० दिनभित्र संघीय संसदको अधिवेशन आह्वान गर्नुपर्ने व्यवस्था रहेको भन्दै कांग्रेसका ती नेताले भने सोहीअनुसार सरकारले अधिवेशन बोलाउन राष्ट्रपतिलाई सिफारिस गर्नुपर्ने बताउँछन्। संसद्ले नै प्रधानमन्त्री चयन गर्नुपर्ने उनको बुझाइ छ। कांग्रेस नेतृत्वमा रहेको वर्तमान गठबन्धनले नै अब पनि निरन्तरता पाउने आंकलन गरिएको छ। तर कसको नेतृत्वमा सरकार गठन हुन्छ भन्ने स्पष्ट संकेत अहिलेसम्म देखिएको छैन। मंसिर ४ मा सम्पन्न निर्वाचनमा प्रत्यक्षतर्फ नेपाली कांग्रेस ५७, एमाले ४४, माओवादी केन्द्र १८ र नेकपा एकीकृत समाजवादी (नेकपा एस) ले १० सिट जितेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र जनता समाजवादी पार्टी (जसपा) ले ७/७ सिट जितेका छन् भने लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले ४, नागरिक उन्मुक्ति पार्टीले ३, स्वतन्त्र उम्मेदवारले ५ तथा जनमत पार्टी, नेपाल मजदुर किसान पार्टी (नेमकिपा) र राष्ट्रिय जनमोर्चाले १/१ सिट जितेका छन। समानुपतिकतर्फ एमालेले ३४, कांग्रेसको ३२, माओवादी केन्द्रले १४, रास्वपाको १३, राप्रपाले ७, जसपा र जनमत पार्टीले ५/५ सिट पाएका छन्।
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock २ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock २७ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock १० घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस