काठमाडौँ महानगरपालिका–५ स्थित हाँडीगाउँ क्षेत्रमा प्रदर्शन गरिने चोक्काथुनारायणको जात्रा सुरु भएको छ। प्रत्येक वर्ष कोजाग्रत पूर्णिमापछि गरिने यो जात्रा यस क्षेत्रको प्राचीन मौलिक संस्कृतिका रूपमा मानिँदै आएको पूर्ववडाध्यक्ष रमेश डङ्गोलले जानकारी दिए।
तीननारायण एवं ‘कहीँ नभएको जात्रा हाँडीगाउँमा’ समेत भनिने यो जात्रा नगर्दा यस क्षेत्रमा प्राचीनकालदेखि चलिआएको संस्कृति नाश हुने भएकाले गत वर्ष स्वास्थ्य सुरक्षाका विधि अपनाएर सम्पन्न गरिएको उनले सुनाए। गत वर्षभन्दा कोरोना महामारी कम रहेकाले सहजरूपमा जात्रा गर्न लागिएको हो। देशका अन्य स्थानमा हुने जात्रा खटको गजुर उल्टो नपारी गरिने र यहाँको नारायण जात्रा भने उल्टो पारेर गरिने भएकाले कहीँ नभएको जात्रा भन्ने गरिएको हो।
चोकेटनारायण समेत भनिने चोक्काथुनारायणको नाममा गुठी जग्गासमेत राखी जात्रा चलाउने व्यवस्था गरिएको थियो। गुठी संस्थानको लगतमा चोक्काथुनारायण एवं तीननारायणका नाममा गुठी जग्गा राखिएको छ।
मन्दिरको ढोकामा रहेको नेवारी भाषाको अभिलेखअनुसार राजा नरेन्द्र मल्लको पालादेखि यो जात्रा शुरु भएको हो। चोक्काथुनारायणको मन्दिर बूढानीलकण्ठबाट ल्याई यहाँ स्थापना गरिएको ‘हाँडीगाउँ : एक परिक्रमा’ पुस्तकका लेखक एवं यस क्षेत्रको सांस्कृतिक परम्पराका बारेमा अध्ययन गरिरहेका यज्ञनाथ आचार्यले बताए।
जात्रा शुरु भएका सम्बन्धमा एउटा किंवदन्ती प्रचलित छ। जनश्रुतिअनुसार मध्यकालमा हाँडीगाउँमा दुई दिदीबहिनी थिए। दिदी भगवान्प्रति पूर्णरूपमा आस्था राख्थिन्। बहिनी घमण्डी हुनुका साथ भगवान्प्रति पनि उनको आस्था थिएन। विवाहपछि दुवै दिदीबहिनी गर्भवती भए। दिदीले समयमै बच्चा जन्माइन्। बहिनीको गर्भ रहेको बाह्र वर्षसम्म पनि बच्चा जन्मिएन। बहिनीले श्रीमान्सहित नारायणको आराधना गरिन्।
सपनामा बूढानीलकण्ठ नजिकको पहाडमा रहेको नारायणको मूर्ति ल्याई उल्टो छाताकारका तीन खटको जात्रा चलाउनु तब तिमीहरुको उद्धार हुनेछ भन्ने आज्ञा प्राप्त भयो। गर्भ रहेको बाह्र वर्षसम्म बच्चा नजन्मिएको दम्पतीले त्यसबेलाका राजा नरेन्द्र मल्लसँग गुहार मागे। राजआज्ञा बमोजिम तान्त्रिकहरु धिमे बाजा बजाई रङ्गीबिरङ्गी लुगा लगाएर बूढानीलकण्ठ नजिकको पहाडमा गए।
मैनको फूल चढाई नारायणको आराधना गरे। चोक्काथुनारायण (तीननारायण) जात्राको परम्परा चलाउने वचन दिए। नारायणलाई हाँडीगाउँ ल्याई यहाँका जनतालाई पर्ने दुःख तथा पीडालाई अन्त गर्न भनी चोक्काथुनारायण (तीननारायण) मन्दिर स्थापना गरे। यसै बेलादेखि जात्राको पनि शुरुआत भयो।
मन्दिर स्थापना भएपछि प्रसव वेदनाको समयमा नारायणको मूर्तिमा तेल लगाउँदा वा जात्राको समयमा प्रयोग हुने मैनको फूल सिरानीमा राख्नाले वेदना कम हुने गरेको स्थानीयवासीको अनुभव छ। नारायणको शिरमा तेल खन्याउँदा दायाँतर्फबाट तेल खसे छोरा र बायाँतर्फबाट तेल खसे छोरीको जन्म हुन्छ भन्ने धारणा अहिले पनि रहेको सांस्कृतिक अन्वेषक आचार्यले सुनाए।
नारायणको जात्रा कमलासनको तीन खट (बाबु, आमा, छोरा) बनाई खटको गजुरलाई उल्टो पारी घुसारेर तीन टोल घुमाई गजुर घुसारेको स्थानमा पुजा गरिन्छ। यो जात्रामा पाँच जनाले धिमेबाजा बजाउनुपर्ने र ३० जनाले खट बोक्नुपर्ने प्रचलन छ। जात्रा हेर्न हाँडीगाउँ क्षेत्रका सबै गुठियार जम्मा हुनुपर्ने नियम रहेको छ।
पूर्व लिच्छिविकालीन सहरका रूपमा स्थापित हाँडीगाउँका पुरातात्विक, ऐतिहासिक, सांस्कृतिक एवं धार्मिक महत्त्वका सम्पदाको संरक्षण गरिनुपर्नेमा जोड दिइएको छ ।
कैलाशकुट सामाजिक अभियानको प्रथम साधारणसभालाई शनिवार सम्बोधन गर्दै सम्पदाविद्हरूले हाँडीगाउँका १४ थरी प्राचीन बाजामध्ये तीन वटा लोप भइसकेकाले यहाँका मूर्त, अमूर्त सम्पदाको संरक्षण गरिनुपर्नेमा जोड दिएका हुन् ।
प्राज्ञ दिनेशराज पन्तले इतिहास पोखरी नभई नदीका रूपमा स्थापित हुनुपर्ने भनाइ राख्नुहुँदै हाँडीगाउँको इतिहासका बारेमा स्थानीयले नै बुझेर अघि बढाउनुपर्नेमा जोड दिए । बागमती प्रदेशसभा सदस्य राजेन्द्र प्रजापतिले धर्म, संस्कृतिमाथि निरन्तर आक्रमण भइरहेकाले यसको संरक्षणका लागि स्थानीयवासी नै सक्रिय भएर लाग्नुपर्नेमा जोड दिए । काठमाडौं महानगरपालिका ५ का अध्यक्ष वीरेन्द्र प्रजापतिले पूर्व लिच्छविकालीन हाँडीगाउँलाई विकास गर्न स्थानीय सरकार सक्रिय भई लागेको बताए ।
प्राध्यापक डा. सुदर्शनराज तिवारीले किराँत र लिच्छविकालका सम्पदा रहेको हाँडीगाउँको समावेशी रूपमा विकास गरिनुपर्नेमा जोड दिए । मानगृह, कैलाशकुट भवन, मध्यम गृहजस्ता भवन हाँडीगाउँमै रहेका धेरै प्रमाण रहेको उनले बताए । वरिष्ठ पत्रकार सुशील कोइरालाले भारतमा समेत नरहेको व्यास मन्दिर हाँडीगाउँमा रहेको र यस्ता अनगिन्ती सम्पदा हाँडीगाउँमा रहेकाले यसको संरक्षणमा नागरिकस्तरबाट काम हुनुपर्ने बताए ।
कार्यक्रममा हाँडीगाउँ क्षेत्रका सम्पदाको संरक्षणमा योगदान दिएका देवदास डङ्गोल र उनकी श्रीमती मनमाया डङ्गोल, हाँडीगाउँ क्षेत्रबाट गत वर्षको एसइई परीक्षामा उत्कृष्ट अङ्क ल्याएका एक छात्र र छात्रालाई सम्मान गरिएको थियो ।
कार्यक्रममा अभियानका अध्यक्ष महेशकुमार श्रेष्ठ, अधिवक्ता उद्धव केसी, निर्वाचन समिति संयोजक अनुपराज गौतम, सल्लाहकार सुखराम महर्जनलगायतले यस क्षेत्रका धनगणेश, पञ्चधारा, सत्यनारायणस्थललगायत सम्पदा क्षेत्र दूरवस्थामा पुगेको बताए ।
अभियानको पहिलो साधारणसभाले महेशकुमार श्रेष्ठको अध्यक्षतामा अर्को कार्यकालका लागि १५ सदस्यीय समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा कैलाशराम प्रधान, महासचिवमा मोहनकुमार पौडेल, सचिवमा प्रभुराज पौडेल, कोषाध्यक्षमा गणेशबहादुर पाण्डे निर्विरोध निर्वाचित भएका छन् ।
यसैगरी अभियानको सदस्यमा तीर्थबहादुर बज्राचार्य, गौरव केसी, राम प्रजापती, कमल नेपाल, धर्मनारायण श्रेष्ठ, मेघराज सापकोटा, निश्चल जोशी, श्यामहरि नापित, किशोरराज जोशी र ज्योतिका महर्जन रहेका छन् । उपाध्यक्ष प्रधानका अनुसार सुखराम महर्जन, उद्धव केसी, डा. विमला ओझा, डा. सुरेशराज चालिसे, डा. माधुरी राणालाई सल्लाहकारमा मनोनयन गरिएको छ । रासस
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...