गुजरात
२६ जनवरी २००१ मा भारतको गुजरात राज्यमा गएको ७.७ म्याग्निच्युडको भूकम्पले २० हजारभन्दा धेरैको ज्यान गयो। कुच जिल्लाको सहर भुजसहित आठ हजारभन्दा धेरै गाउँ क्षतिग्रस्त भए भने लाखौं घरविहीन बने।
त्यति बेलाको महाविनाशको साक्षी बनेकाहरू करिब डेढ दशकपछि त्यहाँ भएको विकासले अहिले दंग छन्। भूकम्प गएपछि गुजरातमा करिब १३ करोड अमेरिकी डलरको सहयोग आयो। भारत सरकारले पनि यो क्षेत्रमा पहिलेभन्दा धेरै लगानी गर्न थाल्यो। सेनालाई सहयोग गर्न पठाइएको थियो भने दुई अर्ब अमेरिकी डलर यो क्षेत्रका लागि छुट्याइयो।
यो रकमको दुरुपयोग हुनेमा धेरै शंका थियो। तर, त्यसको सदुपयोग भयो। भूकम्प गएको करिब दुई वर्षमा क्षतिग्रस्त लगभग सबै गाउँको पुनर्निर्माण भयो। भुज नजिकैको सानो गाउँ मिथापासभरिया पनि पूरै ध्वस्त भएको थियो। बेलायतबाट प्राप्त सहयोगबाट यो गाउँको पुनर्निर्माण भएको थियो।
त्यहाँका परिवारहरूले ध्वस्त दुईकोठे पुरानो घरको साटो चारकोठे घर पाए। ठूलो कोठा भएको यो घरमा पानी र शौचालयको पनि राम्रो प्रबन्ध छ। गाउँमा सुविधासम्पन्न स्वास्थ्य चौकी, मन्दिर र अन्य मानिस भेला हुने ठाउँ पनि बनेको छ, जुन पहिले थिएन।
भूकम्प प्रभावित मानिसहरू लामो समयसम्म अस्थायी आश्रयस्थलमा बसे। नयाँ सहर बन्ने योजना कार्यान्वयन हुनका लागि वर्षौं लाग्यो। फराकिलो सडक बनाउन घरहरू भत्काइए। करिब एक दशकमा कुच जिल्लाको सहरहरूको पुनर्जन्म भयो। अहिले त्यहाँ दुई वटा चक्रपथ, एउटा विमानस्थल, पार्क र ठूल्ठुला पसलहरू छन्।
तीन सयभन्दा धेरै कम्पनीले गुजारातकै कुचमा व्यापार सञ्चालन गरे। मुन्द्रा, भूकम्पअघि माछा मार्ने ठाउँ अहिले विकासको नमुना बनेको छ। अहिले यो औद्योगिक हब बनेको छ र दैनिक सयौं टन सामान ओसारपसार भइरहेका छन्। भारतको सबैभन्दा ठूलो पावर स्टेसन बनाउनका लागि अस्ट्रेलियाबाट कोइला किनिएको छ। मुन्द्रा चाँडै नै मुम्बईभन्दा ठूलो पोर्ट बन्ने अपेक्षासमेत गरिएको छ।
नजिकैको गाउँका मानिसहरू परम्परागत काम गर्थे। अहिले त्यहाँ हजारौं नयाँ कामका अवसर सिर्जना भइरहेका छन् र स्थानीयले रोजगार पाएका छन्। भूकम्पपछि कुचमा मात्र एक लाख १० हजारभन्दा धेरै रोजगारका अवसर सिर्जना भएका छन्। कामको अवसर सँगसँगै करिब चार सय किलोमिटर टाढाको नर्मदा नदीबाट पानीको पाइपलाइन सुरु भएपछि र राम्रो वर्षा हुन थालेपछि सहरको जनसंख्या बढ्दै गइरहेको छ।
गुजरातको यो जिल्लामा अहिले भवन निर्माण संहिता पनि कडाइका साथ लागू गरिएको छ। भुजमा अहिले साढे सात मिटर (एक तला) भन्दा अग्ला भवनको निर्माणका लागि अनुमति छैन। भूकम्प प्रतिरोधी नभएका भवन पनि बनाउन पाइँदैन। यी सबै भवन भविष्यमा आउन सक्ने ठूला भूकम्पलाई दृष्टिगत गरी बनाइएको अधिकारीहरू बताउँछन्।
चिली

पाँच वर्षअघि सन् २०१० को फेब्रुअरी २७ मा चिलीमा आएको ८.८ म्याग्निच्युडको भूकम्पपछि त्यहाँ पनि धेरै घर ध्वस्त भए। भूकम्प गएको आठ मिनेटपछि सुनामी आयो। प्रशान्त महासागरबाट आएको छ मिटर अग्लो छालले जनजीवन प्रभावित भयो। सन् १९६० मा गएको अहिलेसम्म रेकर्ड भएकोमध्ये सबैभन्दा ठूलो ९.५ म्याग्निच्युडको भूकम्प गएको भेल्डिभिया–भूकम्प बेहोरेको चिली सरकारले त्यसको ५० वर्षपछि गएको भूकम्पमा ठूलो मानवीय क्षति भने भएन। ८.८ म्याग्निच्युडको यो भूकम्प र त्यसपछि आएको सुनामीबाट पाँच सय २५ जनाले मात्र ज्यान गुमाए। ६० वर्षअघि यो संख्या एक हजार आठ सयको हाराहारीमा थियो।
१९६० को महाभूकम्पपछि चिलीले संरचना निर्माणमा कडाइ गर्योय। चिलीमा अहिले ठूला भवन र साना घर निर्माणका लागि विशिष्ट नियम छन्। नियममा केही तलमाथि हुनासाथ कडा सजाय हुने भएकाले स्थानीय सचेत छन्। उनीहरूलाई जुनसुकै बेला भूकम्प जान सक्ने थाहा छ। त्यसका लागि उनीहरू तयार पनि छन्। चिलीमा ठूला अग्ला भवनदेखि अन्य संरचना सुरक्षित छन्। भूकम्प प्रतिरोधी संरचना निर्माण केही महँगो भए पनि यसबाट हुन सक्ने नोक्सानीको तुलनामा सस्तै हुने कुरा त्यहाँका जनतालाई बुझाउन सरकारलाई हम्मेहम्मे पर्योन। अहिले भने उनीहरू सचेत भइसकेका छन्। बालबालिकाहरूलाई भूकम्पको डिल दिइएको छ भने हरेक विद्यालयमा अर्थक्वेक अलार्म पनि राखिएको छ।
सिचुआन, चीन

सन् २००८ मे १२ मा चीनको सिचुआन प्रान्तमा गएको ७.९ म्याग्निच्युडको भूकम्पमा परी ८५ हजारभन्दा धेरै मानिसले ज्यान गुमाए। करिब पाँच करोड जनसंख्या प्रभावित भयो भने एक करोड ५० लाख मानिस विस्थापित भए। दुई करोडभन्दा धेरै संरचनामा नोक्सानी पुग्यो। ८६ अर्ब अमेरिकी डलर बराबरको नोक्सानी भयो।
तुलनात्मक रूपमा सानो भए पनि सिचुआन भूकम्पले ठूलो क्षति भयो। मध्यदिनमा विद्यालय र विश्वविद्यालयका कक्षा चलिरहेको, कार्यालयमा काम भइरहेकोले त्यहाँ ठूलो क्षति पुग्यो। माटोले र कमजोर कंक्रिटले बनेका भवन भत्किए। तत्काल नष्ट भए। विद्यालयहरू पनि भूकम्प प्रतिरोधी थिएनन्। त्यसैले हजारौं बालबालिका कक्षाकोठा भत्किएसँगै थिचिएर मरे। यसले ठूलो नोक्सानी भयो र उद्धारका लागि ठूलो समूह चाहिने भयो। त्यसैले, सम्भवतः पछिल्लो समयमै चीनले अन्तर्राष्ट्रिय सहायता माग्यो।
तत्काल देशभरको स्रोत परिचालन गर्न, चिनियाँ सरकारले आर्थिक रूपमा विकसित भएका पूर्वी र केन्द्रीय चीनका १९ प्रान्तलाई सिचुआन प्रान्तमा सहयोग गर्न निर्देशन दियो। भूकम्पपछिको तीन वर्षमा चीन सरकारले तीन सय अर्ब चिनियाँ युआन बराबरको पुनर्निर्माण परियोजना सञ्चालन गर्योक। एक सयभन्दा धेरै सहर भग्नावशेषमाथि नै ठडिए भने प्रभावितहरूका लागि ६५ लाखभन्दा धेरै घर बने। पुनर्बास र पुनर्निर्माणका ४० हजारभन्दा धेरै परियोजना सिचुआनमा सञ्चालन गरिए, जसमध्ये ९९ प्रतिशत काम दुई वर्षको अवधिमा पूरा भयो। पुनर्निर्माणका क्रममा सिचुआनमा विद्यालय, अस्पताल र निजी घरको निर्माणलाई प्राथमिकता दिइयो। भूकम्पको तीन वर्षभित्र तीन हजारभन्दा धेरै र एक हजार एक सयभन्दा धेरै अस्पताल तथा स्वास्थ्य संस्थाहरू निर्माण गरिए।
सिचुआन भूकम्पपछि चीनले ठूला भूकम्पमा राहत र उद्धारको क्रम तथा भूकम्पपछिको पुनर्निर्माणका लागि आफ्नो संयन्त्रलाई अद्यावधिक गर्यो । यसले गर्दा सन् २०१३ को लुशान भूकम्पपछि उद्धार र पुनर्निर्माण प्रयासलाई थप प्रभावकारी बनायो।
हाइटी
क्यारेवियन मुलुक हाइटीमा सन् २०१० को जनवरी १२ मा गएको ७ म्याग्निच्युडको भूकम्पले दुई लाखभन्दा धेरै मानिसको ज्यान गयो भने एक करोडभन्दा धेरै मानिस घरविहीन भए। पश्चिमी गोलार्द्धको सबैभन्दा गरिब मुलुक हाइटीको भूकम्पमा राष्ट्रपति भवन पनि भत्कियो। धेरै दाताहरुको भिड त लाग्यो तर अझै पनि हाइटी पुनर्निर्माणका लागि संघर्ष गर्दै छ।
पछिल्लो पाँच वर्षमा धेरैजसो भग्नावशेष हटाइयो। हाइटीका बासिन्दाले नै हटाए र उनीहरूको घर बनाउनका लागि यसैलाई प्रयोग गरे। पुनर्निर्माणका लागि सामान्य सेवा र संरचना त्यहाँ भएनन्। भूकम्पअघि हाइटीको अवस्था कमजोर थियो, र अहिले पनि कमजोर नै छ। अस्थायी पाल भूकम्पको नोक्सानीले भएको सबैभन्दा देखिने संकेत बनेको थियो। त्यसैले, त्यो पालमा बस्ने मानिसको संख्या घटाउन दबाब भयो। अहिले पनि राजधानीसहित धेरै ठाउँका मानिस पालमै बसिरहेका भेटिन्छन्। विदेशी सहायताका नाममा ओइरिएको रकम संरचना निर्माणमा खास खर्च हुन सकेन।
अब फेरि त्यत्तिकै क्षमताको अर्को भूकम्प गयो भने नतिजा त्यस्तै हुने हाइटीका अधिकारीहरू बताउँछन्। धेरै मानिस भूकम्पअघि बस्ने गरेको नभत्किएका घरमा बस्न थालेका छन्। हाइटीमा भवन निर्माण संहिता भए पनि कडाइका साथ पालना गरिएको छैन। त्यसैले, अझै पनि बनाइएका नयाँ भवन जोखिमपूर्ण नै छन्। हाइटी सरकारले ठूला भवनको निर्माणमा समेत अनुगमन गर्न सकेको छैन।
—एजेन्सीहरू