सलकपुरको शान
१३ चैत्र २०७१
•
१५ मिनेट पाठ
सलकपुरको शान
‘आन्टी, जिब्रो पर्पर्‍याउने चटपटे दिनुस न,' पारिलो घामले निधारबाट झर्न लागेका पसिना पुछ्दै चाँदनी तिर्कीले मेचीखोला किनारमाथिको फाँटमा अस्थायी दोकान फिँजाएकी साहुनीलाई आग्रह गरिन्, ‘पिरो र अमिलोचाहिँ बढी है!' यति भनेर खुइय गर्दै उनी चिल्लो ढुंगामाथि बस्न पुगिन्, साथीहरू उभिएरै उँभोतिर हेर्न थाले।दार्जिलिङ जिल्लाको बागडुग्रा नजिकैको गाउँबाट पहिलोपल्ट मेचीखोला तरेर नेपाली गाउँ सलकपुर उक्लिँदै गरेकी चाँदनी उकालोमा थकाइ मार्दाको समय ‘रिमिक्स' टाइपको चटपटेको स्वादमा बिताउन चाहँदै थिइन्। कलेज पढ्ने चाँदनीको हुलमा सात जना अल्लारे थिए। चटपटे ‘रिमिक्स' खोजेजस्तै उनीहरूको पहिरन पनि ठिमाहा खालको मिसमासे थियो।

suntala khaneko larko  
 ‘लिनुस, जस्तो अर्डर गर्नुभाथ्यो, त्यस्तै टेस्टी बनाइद्याछु,' चटपटेयुक्त कागजको सोली चाँदनीको हुलतिर तेर्स्याउँदै साहुनी गोपीमाया तामाङले थप सोधिन्, ‘अरू केके लिनुहुन्छ? मोःमो, थुक्पा, चाउमिन, तरकारी, सेलरोटी, पुरी...?' मुख मिठ्याउँदै चटपटेमा रमाइरहेकाहरूले तत्काललाई त्यत्तिमै चित्त बुझाएको संकेत गरे। गोपीमायाले सहमतिमा मुन्टो हल्लाइन्।  
 पूर्वी सीमा रुँघेझैं सधैं अचल रहने अन्तु र ध्वजेडाँडामा मुटु कमाउने जाडो हराइसकेको छ। दार्जिलिङलाई भारततिर पार्ने सीमा नदी मेचीखोला किनारको सलकपुर भने वसन्त ऋतु सुरु हुँदै गर्दा पाउलो फेर्ने तरखरमा छ। केही दिनअघिको चिसो मौसममा मौसमी व्यापार गर्ने गोपीमाया जस्ता साहुनीहरूको ताहुरमाहुर हेर्नलायक देखिँदै छ।

sakpur ko suntala
 ‘इभ्री सन्डे हाम्रोतिर छुट्टी हुन्छ, त्यसैले घुम्न नेपाली जगा आएको,' बाटोको अर्को गोलाइमा भेटिएकी जिना इक्काले सुनाइन्, ‘मेचीखोला तरेर थोरै हिँड्दा आइपुगिने भएकाले सलकपुरलाई रोजेका हौं।' २४ वर्षे जिनाको समूहमा चार जना थिए, जो पहिलोपल्ट इलामको जिर्मले गाविसमा पर्ने सलकपुर उक्लिँदै थिए, जुन सुन्तला उत्पादन बढी भएकैले ‘ओरेन्ज भ्याली' नामले समेत परिचित छ।
 सलकपुर नमुना कृषि केन्द्र हो। उत्तिकै पर्यटकीय सम्भावना बोकेको गन्तव्य। सरकारी सहयोगभन्दा किसानकै लगनशीलताले कहलिँदै गरेको यस ठाउँमा सुन्तला, एभोकाडो, अलैंची, सुपारी, इस्कुस आदि नगदेबालीको राम्रो उत्पादन हुन्छ। जीवनशैली पनि भिन्नै खालको छ, झट्ट आउनेको मन छुने खालको।

salakpur ko alaichi
 ‘बोटबाट भर्खरै टिपेका सुन्तला खाँदै दुई/चार घन्टा घुम्न हप्तैपिच्छे सीमापारिबाट हुलका हुल भारतीयहरू आउँछन्,' आफ्नै बगैंचाका बोटमा फलेका सुन्तला टिपेर आँगनमा फिँजाएकी प्रमिला प्रधानले सुनाइन्, ‘नयाँ ठाउँ घुम्न आएका इन्डियनहरूले मुख मिठ्याउँदै सुन्तलाको केस्रो चपाएको हेर्न रमाइलो हुन्छ।' भारतीयहरू घुम्न आउँदा सलकपुर देखेर दंग पर्दै फर्किन्छन्।
 ‘घुम्न आउने भारतीयहरू रुँघेर बस्दा हप्ताको एकै दिनमा दुई हजारदेखि ३५ सयसम्मको व्यापार हुन्छ,' वर्षका दुई महिना चल्ने मौसमी दोकानमा फर्सी, कागती, कुचोदेखि इस्कुस, अदुवा र सागसम्म राख्ने सुजाता तामाङले सुनाइन्, ‘आफैंले रोपेर फलाएका वस्तु बेच्दा र किन्नेले मिठो मानेर खाँदा आनन्द लाग्छ।'

salakpur ko suntala
 भारतीयहरू हुल बाँधेर आउने दिन गनेर बसेका सलकपुरका मौसमी साहुनीहरू आइतबार सबेरैदेखि व्यस्त हुन्छन्। सुन्तला फिजाउँछन्, फर्सी भेल्याउँछन्, इस्कुस थुपार्छन् र साग मुठ्याउँछन्। कोदोको झोल बोत्तलमा भर्छन्, खाजा पकाउँछन् र दोकान फिजाउँछन्। कात्तिकदेखि सुरु यस्तो व्यापारले भारतीयहरू आउन्जेल अर्थात् अब दुई/तीन हप्ता निरन्तरता पाउनेछ।
 ‘सुन्तला सकिएपछि मेचीखोला तरेर घुम्न आउनेहरू घट्छन्, हामी पनि घरधन्दामै फर्किन्छौं,' भारतीयसँग भारुमै कारोबार हुने भएकाले ‘सत्यमेव जयते' लेखिएको नोट मिलाउँदै शर्मिला तामाङले भनिन्, ‘अब अर्को साल फेरि यस्तै व्यापार हुन्छ।' कतिपय घरका महिलाले आइतबारे व्यापारलाई ‘पेवा'का रूपमा लिँदै कमाएको पैसा उपलब्धिमूलक काममा खर्चिंदै छन्।
 सुन्तलाको साइनो
 नेपालभन्दा झन्डै २२ गुणा ठूलो छिमेकी राष्ट्र भारतमा के छैन? दाल, चामल, चिनीदेखि नुन, तेल र लुगाफाटोसम्मै भारतमै धेरै उत्पादन हुन्छ। हामी सियोदेखि फालीसम्म र बिस्कुटदेखि बलपेनसम्म भारतबाटै आयात गर्छौं। एक अर्ब २१ करोड हाराहारी जनसंख्या भएको भारतमा यस्ता पनि ठाउँ छन्, जहाँ सुन्तला फल्दैन तर त्यहाँका मानिस गुलियो रसले मुख मिठ्याउन मरिहत्ते गर्छन्।
 पश्चिम बंगालको सिलिगुडी नजिकको क्षेत्र त्यस्तै हो, जहाँबाट ठूलो संख्यामा भारतीयहरू सुन्तला खान सलकपुर आउँछन्। सिमाना मानिएको मेचीखोला तरेर वर्षका दुई महिना सुन्तलाको स्वाद लिन पैदलै आउने भारतीयहरू दिनभर घुमेर फर्किन्छन्। लोहागढ, मञ्जा, बागडुग्रा, नक्सल, बेलगाछी, पानीट्यांकी, गलगलिया आदि ठाउँका भारतीय अहिले सलकपुरमा भेटिन्छन्।
 विकासका आधारभूत सुविधाबाट अझै वञ्चित हुँदा स्थानीयले ‘इलामले नहेरेको, झापाले नदेखेको' भन्ने सलकपुर इलाम सदरमुकाममबाट दक्षिण–पूर्वमा पर्छ। जिर्मलेका १, २ र ३ नम्बर वडाको संगमथलोलाई सलकपुर भनिन्छ। तीनसय ३० घरधुरी रहेको सलकपुरमा एक सय पाँच घर व्यावसायिक सुन्तला खेतीमा संलग्न छन्। स्वदेशी ग्राहक फाट्टफुट्ट आउने यहाँ भारतीयहरू भने हुल बाँधेर ओइरिन्छन्।  
 ‘सुन्तला हाम्रोतिर फल्दैन, सिलिगुडीभन्दा नेपालमै सस्तो पाइनाले मेची तरेका हौं,' सिलिगुडी नजिकैको डिजेल कोलोनीबाट आएका रवि कुजुरले भने, ‘छुट्टीको दिन मज्जाले घुम्दै सुन्तला खाएर फर्किनुको आनन्द अर्कै हुन्छ।' हरेक आइतबार समूह–समूह बनाएर आउने भारतीयले न्युनतम तीन सयदेखि अधिकतम सात सय रुपैयाँ खर्च गरी फर्कन्छन्। त्यसमा सुन्तला किन्न हत्ते गर्ने धेरै हुन्छन्।
 सलकपुर आउने पूर्वयोजना बनाएका भारतीयहरू मेचीपारिको लोहागढसम्म सवारी साधनमा र त्यहाँदेखि पैदलै उक्लिन्छन्। लोहागढको मैदान हरेक आइतबार साइकल, मोटरसाइकल, रिक्सा र गाडीले भरिभराउ हुन्छ। मेचीवारिको नागबेली बाटोमा सुस्केरा हाल्दै र सुन्तलाको तिर्सनाले थुक निल्दै सलकपुर चढ्ने भारतीयको लर्को कमिलाको ताँतीजस्तै हेरिरहुँलाग्दो हुन्छ।
 ‘कति बेला भारतीयहरू आउलान् र सुन्तलासहित अरू सामग्री बेच्न पाइएला भन्ने कौतुहलता बोकेका गाउँले उनीहरूलाई देख्नासाथ खुसी हुन्छन्,' गोल्डेन भ्याली सामुदायिक अध्ययन केन्द्रका अध्यक्ष कुमार मोक्तानले भने, ‘उनीहरू आउँदा आफ्नो उत्पादन बिक्ने र गाउँको प्रचार पनि हुने ठान्दै सत्कार गर्ने धेरै हुन्छन्।' कात्तिक–मंसिरका आठ हप्तामा १५ हजार बढी भारतीय आउने अनुमान छ।
अलैंचीले आकाशिँदै  
 अचेल प्रतिकिलो एक हजार पाँचसय रुपैयाँसम्म सजिलै बिक्री हुने नगदेबाली अलैंचीको उद्गमथलो हो— इलाम। स्वदेशभित्र पूर्वका सबैजसो पहाडी जिल्ला र पश्चिममा पनि कतैकतै यो खेती विस्तार भइरहँदा उद्गमथलो भने उजाडिँदै छ। थुप्रैखाले रोगका कारण सबैतिर अलैंची मासिँदै गर्दा सलकपुरका किसानको जीवनस्तर भने यसको आम्दानीले आकाशिँदै छ।
 पूर्वी पहाडमा फस्टाएको अलैंची खेतीले सबैको ध्यान तानिरहँदा केही वर्षअघिसम्म सलकपुरवासी यो बहुमूल्य नगदेबालीप्रति अनभिज्ञ नै थिए। सलकपुरमा अलैंची खेती हुँदैनथ्यो। छिर्केफुर्के रोगले जब अरूतिर अलैंचीका बोट भटाभट मर्न थाले तब सलकपुरमा अलैंची फस्टाउन थाल्यो। अहिले अलैंचीको आम्दानी थाप्ने किसान तीन सय ३० घरधुरीमा छन्।
 ‘हपहपी गर्मी हुने सलकपुर जस्तो मधेससँग जोडिएको ठाउँमा अलैंची खेती सफल हुन्छ भन्ने सोचेकै थिएनौं,' सलकपुरको दूधे निवासी अलैंची किसान मुकुन्द अधिकारीले भने, ‘तै सरिहाल्छ कि भन्दै एउटाको बारीबाट अर्काको बारीमा सार्दै गर्दा राम्रो लक्षण देखियो र अहिले गाउँभरि अलैंची बगान भयो।' यहाँ धेरैको बारीमा अलैंची बगान छ। फल नबेच्नेले बिरुवा बेचेरै आम्दानी लिँदै छन्।
 सलकपुरका तीन सय ३० परिवारमध्ये सबै अलैंची खेतीमा दत्तचित्त छन्। ‘थोरबहुत जति होस्, सबैले अलैंची रोपेर बारी हरियो पारेकै छन्,' भर्खरै खेती थालेकाले यसपल्ट दुई मनमात्रै अलैंची सुकाएका मोक्तानले भने, ‘पाँच किलोदेखि ३० मनसम्म अलैंची उत्पादन गर्ने किसान गाउँमा छन्।' दुई वर्षदेखि नै फल्न थाल्ने नयाँ जातको अलैंची भिœयाएका सलकपुरवासी यसको आम्दानीले खुसी छन्।
 अगुवा किसान पासाङ वाइबाले सीमापारिको सिक्किमबाट परीक्षणका लागि ल्याएको १० बोट अलैंचीले अहिले सिंगो सलकपुर हराभरा हुँदै छ। घुम्न जानेक्रममा आफन्तको घरबाट ‘हाम्रोतिर पनि तै भइहाल्छ कि' भन्दै वाइबाले ल्याएको अलैंचीलाई सलकपुरवासीले ‘जिर्मले साइ' भन्ने नामाकरण नै गरिसकेका छन्।
 परम्परागत जातको अलैंचीलाई भन्दा ‘जिर्मले साइ'लाई सिँचाइको सुविधा बढी चाहिन्छ। पुरानो जातको अलैंची असोजबाट मात्रै टिप्ने हुन्छ भने यो साउनबाटै टिप्ने हुन्छ। अर्कोको फल्नेक्रम थोरै हुन्छ भने यो एउटै डाँक्लामा चार कोथासम्म फल्छ। एक बोट बराबर बढीमा २५ किलोसम्म उत्पादन दिने ‘जिर्मले साइ' अलैंची पाथी घोप्ट्याएजस्तै हेरिरहूँलाग्दो गरी फल्छ।
 झापाको बाहुनडाँगीदेखि उत्तरमा र मेचीखोलादेखि पश्चिमतर्फ पर्ने सलकपुरमा अलैंची फस्टाएपछि किसानले बिरुवा र बीउ पनि बिक्री गर्दैछन्। ‘बिरुवा र बीउ उत्पादन गरेर नयाँ ठाउँका किसानलाई बेच्दै मनग्गे कमाउने पनि थुप्रै छन्,' स्थानीय बुद्ध लामाले भने, ‘फल बेच्दा जस्तै बिरुवा र बीउ बेचेर पनि ठूलो सफलता मिल्नेगरी नगद आर्जन गर्ने थुप्रै छन्।'

कसरी पुग्ने  :  झापाको बिर्तामोडदेखि काँकरभिट्टा जाने। त्यहाँबाट बाहुनडाँगी हुँदै सलकपुरसम्म दैनिक बस चल्छ। खर्च धेरै लाग्दैन। इलामबाट फिक्कल हुँदै सलकपुर पुग्न सकिन्छ। पेइङ गेस्टका रूपमा एक दिन एक रात बिताएर फर्किंदा कृषि कर्ममा लाग्ने किसानको सफलता त देखिन्छ नै, घुमफिर रुचाउनको ज्यानमा ताजगी छाउँछ।
अर्को समाचार
एकाएक भाइरल भयो ‘अफिसर चितुवा’, हेर्न चिडियाखानामा लाग्यो भीड
०८ मंसिर २०८३
•
३ मिनेट पाठ
एकाएक भाइरल भयो ‘अफिसर चितुवा’, हेर्न चिडियाखानामा लाग्यो भीड
चीनको एक चिडियाखानामा रहेको मोटो चितुवा यतिबेला इन्टरनेटमा चर्चित बनेको छ। 

डिज्नीको चर्चित फिल्म ‘जुटोपिया’को गोलो अनुहार भएको चितुवा पात्र अफिसर बेन्जामिन क्लाउहाउजरसँग मिल्दोजुल्दो देखिएपछि यो चितुवा हेर्न मानिसहरूको भीड लाग्न थालेको हो।

दक्षिणपश्चिम चीनको सिचुआन प्रान्तस्थित पान्झिहुआ सहरको चिडियाखानामा रहेको यो चितुवालाई ‘पान बाओबाओ’ नामले चिनिन्छ। मोटो शरीरका कारण सामाजिक सञ्जाल प्रयोगकर्ताले उसलाई ‘अफिसर चितुवा’ उपनाम दिएका छन्।

चितुवा हेर्न चिडियाखाना पुगेका मानिसहरूले उसका तस्बिर र भिडियो सामाजिक सञ्जालमा सेयर गरिरहेका छन्। धेरैले उसको मोटो शरीर देखेर रमाइला टिप्पणी गरेका छन्।

एक आगन्तुकले ‘अफिसर चितुवा अझै पनि तौल घटाउन सफल भएनछ!’ भन्दै ठट्टा गरेका छन्। कतिपयले उसलाई केही समय खाना नदिन सुझाव दिएका छन् भने केहीले उसको शरीर मात्र होइन, शरीरका धब्बासमेत गोलाकार देखिएको भन्दै मजाक गरेका छन्। केहीले त अब उसलाई आफूहरूले सजिलै उछिन्न सक्ने टिप्पणीसमेत गरेका छन्।

तर, चिडियाखानाका कर्मचारीले भने चितुवाको उमेर र स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै उसको तौल घटाउने योजना नरहेको बताउँछन्।

‘ऊ बूढो हुँदै गएको छ। त्यसैले अहिले तौल घटाउनु उचित हुँदैन। उसको अहिलेको अवस्था कायम राख्दै स्वस्थ राख्नु हाम्रो प्राथमिकता हो,’ चिडियाखानाका एक कर्मचारीले जिउपाई न्युजलाई बताएका छन्।

उनले वृद्ध मानिसको छाला खुकुलो हुँदै गएजस्तै चितुवाको शरीरमा पनि उमेरसँगै परिवर्तन आएको बताए। ‘यो अवस्थामा उसले पर्याप्त खाना पाएको सुनिश्चित गर्नुपर्छ। खानाको गुणस्तरमा पनि कुनै सम्झौता गर्न चाहँदैनौँ,’ उनले भने।

कर्मचारीका अनुसार पान बाओबाओले दैनिक आधा किलोभन्दा बढी गाईको मासु खान्छ। सन्तुलित आहारका लागि उसको खानामा कुखुराको मासु पनि समावेश गरिएको छ।

केही समयअघि चितुवाको स्वास्थ्य परीक्षण गरिएको थियो। परीक्षणमा उसको स्वास्थ्य अवस्था राम्रो देखिएको र तौलमा पनि खासै परिवर्तन नभएको कर्मचारीले बताएका छन्।

अहिले उसको तौल नियमित रूपमा नाप्न केही कठिन हुने गरेको छ। तर, तौल स्थिर रहेको र उसको मुड राम्रो रहेको अवस्थामा चिन्ता गर्नुपर्ने अवस्था नरहेको कर्मचारीको भनाइ छ।

इन्टरनेटमा चर्चित बने पनि चितुवाको चिडियाखानाभित्रको दैनिकी भने निकै आरामदायी छ। ऊ खाने, सुत्ने र कहिलेकाहीँ आफ्नो खोरमा यताउता घुमेर शरीर तन्काउने गर्छ।

उसलाई अलि बढी सक्रिय बनाउन खोरभित्र खेल्ने बलसमेत राखिएको छ। ‘उसले खेल्न र केही शारीरिक गतिविधि गर्न सकोस् भनेर खोरभित्र एउटा बल राखेका छौँ,’ एक कर्मचारीले भने।

चितुवाको चर्चा बढेपछि चिडियाखानाले उसको बस्ने ठाउँसमेत विस्तार गरेको छ। छेउको अर्को बासस्थानसँग छुट्याउने बार र तारको जाली हटाएर उसको खोर ठूलो बनाइएको हो।

यससँगै उसको बस्ने क्षेत्रफल ४५ वर्गमिटर पुगेको छ। यो पहिलेको भन्दा दोब्बर हो। चिडियाखानाले गरेको सुधारपछि उसले फराकिलो ‘एक बेडरुमको अपार्टमेन्ट’ जस्तै ठाउँ पाएको जिउपाई न्युजले जनाएको छ।

चितुवाको उमेर र स्वास्थ्य अवस्थाबारे थाहा पाएपछि सामाजिक सञ्जाल प्रयोगकर्ताले पनि उसको तौल घटाउन दबाब दिन नहुने बताए। उनीहरूले बाँकी जीवन आरामसँग बिताउन दिनुपर्ने सुझाव दिएका छन्।

एक प्रयोगकर्ताले ‘ऊ बूढो हुँदै छ, त्यसैले प्रकृतिलाई आफ्नै गतिमा अघि बढ्न दिऔँ!’ भन्दै लेखेका छन्। अन्यले उसको चम्किलो र राम्रोसँग स्याहार गरिएको रौँको प्रशंसा गर्दै ‘मोटो भए पनि निकै जवान देखिन्छ!’ भनेर टिप्पणी गरेका छन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस