सेल्फी एडिक्सन
१३ चैत्र २०७१
•
२२ मिनेट पाठ
सेल्फी एडिक्सन
‘खासमा भन्दा म त सेल्फी एडिक्ट नै हो', मंगलबार काठमाडौंको वसन्तपुर दरबार स्क्वायरमा फरक–फरक ढंगले स्मार्टफोनबाट सेल्फी खिच्दै गर्दा भेटिएकी समीक्षा निरौलाले हाँस्दै सुनाइन्। समीक्षामात्र होइन, वसन्तपुर दरबार स्क्वायर वरपरका थुप्रै हात सेल्फी खिच्न व्यस्त देखिन्थे। किस्ट मेडिकल कलेजमा एमबिबिएस प्रथम वर्षमा अध्ययनरत निरौलाले त्यो दृश्य देखाउँदै भनिन्,  ‘हेर्नुस् न, सेल्फीले मलाई मात्र होइन अधिकांशलाई एडिक्ट बनाएको छ।'selfie 3

दिउँसो वा साँझपख मानिसहरूको चहलपहल हुने वसन्तपुर, पाटन दरबार स्क्वायर, बौद्धजस्ता ठाउँहरूकोे माहोल हेर्दा त्यस्तै देखिन्छ। कसैको हातमा स्मार्टफोन, कसैकोमा ट्याब, आइप्याड र कसैकोमा सेल्फी स्टिक। सबै आ–आफ्नो सुरमा सेल्फी खिचिरहेका देखिन्छन्। छेउमै साथीहरू भए पनि आफ्नै हातले सेल्फी खिच्न आतुर देखिन्छन्, उनीहरू।
निरौलाको परिभाषामा जुनसुकै बेला जस्तै परिस्थितिमा पनि सेल्फी खिचिहालौं न भनेर स्मार्टफोन वा ट्याब अन गरिहाल्ने जमात ‘सेल्फी एडिक्ट' हो। अहिले स्मार्टफोन बोक्ने सबैलाई सेल्फीले मोहनी लगाएको छ। त्यसमा पनि युवा पुस्ता झन् अगाडि देखिएका छन्। कलेजमा होस् वा यात्रामा, कसैको पार्टीमा या साथीभाइको जमघटमा; सबैमा सेल्फीको लहर चलेको छ।
काठमाडौंको बौद्धमा भेटिएकी चावहिलकी रिती दाहाल पनि बौद्ध स्तुपालाई ब्याकग्राउन्ड बनाउँदै साथीहरूसँग सेल्फी लिँदै थिइन्। ‘सेल्फीको सोख कत्तिको छ?' भन्ने प्रश्नमा उनको जवाफ थियो, ‘अब त सोखभन्दा धेरै एडिक्सन नै भइसक्यो।' आफ्नोमात्र अनुहार आउने फोटो भए त्यो सेल्फी हुने बताउँदै उनले प्रस्ट्याइन्, ‘एक्लै भएको सेल्फी। हामी साथीहरू भएपछि त ‘विफी' भन्दै पोस्ट गर्ने हो।' साथीसँगको रमाइलो पललाई यादगार बनाउन यसरी नै फोटो खिच्ने गरेको उनले सुनाइन्।
‘सेल्फ' अर्थात् आफंै। आफ्नो फोटो आफैं खिच्ने ‘सेल्फी' को ट्रेन्ड अहिलेको स्मार्टफोन र ट्याब्लेट पुस्ताको सबैभन्दा ग्ल्यामरस ट्रेन्ड हो। यो ट्रेन्डले पहिलेजस्तो आफ्नो फोटो खिच्न दोस्रो व्यक्ति चाहिने पुरानो चलन विस्थापित गरिदिएको छ। सेल्फी पुस्ता हत्केलामा अट्ने स्लिम स्मार्टफोनले सेल्फी खिचेर आफ्नो ‘कन्पि्कडेन्स' सामाजिक सञ्जालमार्फत बाँडिरहेको छ।
आफैं आफ्नो फोटो खिच्ने चलन अगाडिदेखि नै चलिरहेको हो। बाथरुमको ऐनामा आफ्नो तस्बिर खिच्न थालेदेखि सुरु भएको यो चलन स्मार्टफोनको प्रयोग व्यापक भएपछि ‘पपुलर' बन्दै गएको हो। ‘सेल्फी' शब्द नै सन् २००४ मा पहिलोपल्ट फ्िलकरमा प्रयोग भएको भए पनि सन् २०१२ देखि यो शब्दको प्रयोग १७ हजार प्रतिशतले बढेको सोनी कम्पनीले गरेको एक अध्ययनले देखाएको छ। सन् २०१२ मा यति धेरै चर्चित भएपछि टाइम म्यागाजिनले ‘सेल्फी' शब्दलाई शीर्ष १० ‘बजवर्ड्स अफ दी इयर' भनेर उल्लेख गरेको थियो। त्यस्तै, नोभेम्बर २०१३ मा अक्सफोर्ड इङ्लिस डिक्सनरीले ‘सेल्फी' शब्दलाई ‘वर्ड अफ दी इयर' बनाएको थियो।
सन् २०१० मा एप्पलको आइफोन फोर बजारमा सार्वजनिक भएपछि यो सेल्फी जेनरेसन ह्वात्तै बढेको हो। आइफोन फोरमा भएको फ्रन्ट क्यामेराले आफ्नो तस्बिर आफैं खिच्ने सुविधा दिएपछि अन्य स्मार्टफोन कम्पनीले पनि यो सुविधा ल्याए। यससँगै विभिन्न कम्पनीले उत्पादन गर्ने ट्याब्लेटमा पनि फ्रन्ट क्यामेरा राख्न थालियो।

सेलिब्रिटी सेल्फी


sauram2

गत वर्ष भएको ओस्कार प्रतियोगितामा खिचिएको एलेन डिगेनेरेसले ट्वीटरमा सेयर गरेको सेल्फी सम्भवतः अहिलेसम्मकै सबैभन्दा चर्चित सेल्फी बन्यो। विश्वविख्यात कलाकारको यो ‘विफी' ट्वीटरमा ३३ लाखभन्दा धेरैले सेयर गरेका छन्। यसपछि झन् सेल्फीको प्रयोग बढ्दै गएको सामाजिक सञ्जाल विज्ञहरू बताउँछन्।
फ्रन्ट क्यामेरा भएको स्मार्टफोन बोक्ने रिती र समीक्षाजस्ता थुप्रै युवालाई सेल्फीले तानेको छ।  सेलिब्रिटी, राजनीतिज्ञ, खेलाडीलगायत पनि सेल्फी र विफी सामाजिक सञ्जालमा बाँडिरहेका भेटिन्छन्। गत वर्ष ब्राजिलमा भएको विश्वकप फुटबलमा पनि सेल्फीको चर्चा व्यापक रह्यो। खेलाडी र प्रशंसकहरूले रंगशालामै सेल्फी खिचेर सामाजिक सञ्जालमा पोस्ट गरे। जर्मनीले विश्वकप जितेपछि टिमका फरवार्ड लुकास पोडोलोस्कीले खेल मैदानमै सेल्फी खिचेर विजय मनाएका थिए। त्यस्तै, यो सातामात्रै पनि भारतीय क्रिकेट खेलाडी सचिन तेन्दुलकरले संयुक्त अरब इमिरेट्सको आबुधावी र दुबईमा फ्यानहरूसँग लिएको सेल्फीले सामाजिक सञ्जालमा चर्चा बटुलेको थियो।

रुचि थरीथरीका


सामाजिक सञ्जालमा अभ्यस्त भएपछि सेल्फी शब्दको प्रयोग गर्न थाले पनि पहिलेदेखि नै आफ्नो फोटो आफैं खिच्ने गरेको अनुभव सुनाउँछन्, काठमाडौं गैरीधारा बस्ने अनुज घिमिरे। २५ वर्षीय यी ‘जूलोजिस्ट' को सम्झनामा लाङटाङ पदयात्रामा जाँदा क्यान्जिन रि चढेको बेला खिचेको सेल्फी नै पहिलो सेल्फी हो। ‘रमणीय दृश्य देखेँ, वरपर खिचिदिने मान्छे कोही नहुँदा आफैं फोटो खिचेको थिएँ,' उनी सम्भि्कन्छन्।
धेरैजसो सेल्फी घुम्न गएको बेला रमणीय दृश्यलाई पृष्ठभूमिमा पारेर खिचिएका हुन्छन्। सोनी कम्पनीले सेल्फीका लागि लक्षित गरी नयाँ स्मार्टफोन बजारमा ल्याउनुअघि गरेको अध्ययनले यस्तो देखाएको हो। त्यसपछि सेलिब्रिटीहरूले हाँसको मुखजस्तो आफ्नो मुख चुच्चो पारेर सेल्फी खिच्ने गरे। उनीहरूकै सिको गर्दै फ्यानहरूले पनि ‘डक फेस' सेल्फी खिचेर सामाजिक सञ्जालमा पोस्ट गर्ने गरेका छन्।
काठमाडौं कलंकीकी रेश्मा सिंहलाई पनि मुख चुच्चो पारेर सेल्फी खिच्न सबैभन्दा रमाइलो लाग्छ। ‘आफूलाई राम्री देखिएकी छु भन्ने लागेको बेला वा साथीहरू भेट हुँदा पनि मुख बिगारेर सेल्फी खिच्छौं,' उनी भन्छिन्। आफ्नो अनुहारको ‘एक्सप्रेसन' हेर्नका लागि सेल्फी खिच्ने गरेको उनी सुनाउँछिन्। अहिलेको युवा पुस्तामाझ सेल्फी निकै प्रचलित हुँदै गएको उनले देखेकी छन्। सेल्फी खिचे पनि धेरैजसो उनको आइफोन फोर एसकै ग्यालरीमा थन्किएको हुन्छ। ‘खासै धेरै सेयर गर्दिनँ,' सिंह भन्छिन्।
आफ्नो शारीरिक तन्दुरुस्ती देखाउने खालका जिम, फिटनेस क्लबमा खिचिएका सेल्फी राख्नेहरू पनि कम छैनन्। विशेष गरी पुरुषहरू यसखाले सेल्फी खिच्न रुचाउँछन् भने महिलाहरू आफ्नो लुगा, मेकअप देखाउने खालका सेल्फी खिच्ने धेरै छन्। ड्रेसिङ रूममा ड्रेसिङ टेबल वा ऐनाअगाडि खिचिएका सेल्फी पनि धेरै देखिन्छन्। ‘कहिलेकाहीँ दिनकै एक सयभन्दा धेरै सेल्फी खिच्छु। मूडले पनि प्रभाव पार्दो रहेछ,' दाहाल भन्छिन्, ‘पार्टीमा जानुपर्यो  भने तयार भएपछि सेल्फी खिच्ने गरेकी छु।'
खानेकुरा, रेस्टुरेन्टमा खिचिएको सेल्फी धेरै खिचिने सेल्फीमा पर्दछ। कुनै सेलिब्रिटी भेट भयो कि सँगै सेल्फी खिचिहाल्ने ट्रेन्ड नेपालमा मात्र होइन, संसारभर धेरै चल्ने सेल्फीमा पर्छ।
संसारभर धेरै खिचिने सेल्फीको प्रकारसँग नेपाली सेल्फी पुस्ताको रुचि पनि मिल्छ। धेरैले आफू घुम्न गएको बेला धेरै सेल्फी खिच्ने गरेको देखाउँछन्। समीक्षा निरौलाले पहिले ऐनाअगाडि सेल्फी खिचेकी थिइन्। ‘त्यो बेला आइपोड फोरबाट खिचेकी थिएँ,' उनी थप्छिन्, ‘अहिले त कति खिचिन्छ कति। याद नै हुँदैन।' आफू एक्लै हुँदा अरू कसैलाई फोटो खिचिदिन अनुरोध गर्नुपर्ने झन्झट त छँदै छ, परिवार वा साथीहरू सँगै हुँदा पनि फोटोमा कोही न कोही छुट्ने भएकाले सेल्फी उपयोगी हुने गरेको उनको तर्क छ। ‘साथी वा परिवार सँगै हुँदा कसैलाई खिच्न लगाउँदा ऊ फोटोमा छुट्ने भयो,' उनी हाँस्दै भन्छिन्, ‘सेल्फी खिच्यो, नो बडी मिसिङ।'

विफी र ग्रुपफी


selphi

नेपाली युवाहरू पनि सेल्फी खिच्नमा कम छैनन्। चाहे आफ्नो एकल ‘सेल्फी' होस् वा साथीसँगको ‘विफी', नजिकबाट खिचिएका अनुहार देखिने यस्ता तस्बिर अहिले सामाजिक सञ्जालमा दैनिक रूपमा प्रशस्त देखिन्छन्। अनुहारलाई विभिन्न लुक्स दिएर खिचिने यस्ता ‘सेल्फी', ‘विफी' वा ‘ग्रुपफी' ले युवाहरूको मोह बढाइरहेको छ।
काठमाडौं सामाखुसी बस्ने अमृत पुरी सेल्फीभन्दा ‘विफी' र ‘ग्रुपफी' खिच्न धेरै रुचाउँछन्। निरौलाले भनेजस्तै विफी खिच्दा अरू कोही नछुट्ने त भइहाल्यो, साथीहरूको अनुहार ‘क्लोज अप' हुने स्त्रि्कनभरिको फोटो झन् रोमाञ्चक हुने उनको अनुभव छ। ‘विफीमा छुट्टै नेचुरल एक्सप्रेसन देखिन्छ अनि साथीहरूबीचको कनेक्सन पनि,' उनी थप्छन्। एकपल्ट बौद्ध स्तुपाको फोटो खिच्दै गर्दा एक जनाले ‘सेल्फी खिच्दै हो?' भनेर सोधेको सुनेपछि सेल्फी धेरै ‘पपुलर' हुँदै गइरहेको महसुस गरेका उनी सुनाउँछन्।
सामाजिक सञ्जालमा हेर्दा महिलाहरूको सेल्फी धेरै देखिने गरेको छ। उनीहरू साँच्चै सेल्फीको धेरै सौखिन हुन् त? के सेल्फी धेरैजसो महिलाहरूले मात्रै खिच्छन्? सोनीको अध्ययनले पुरुषको तुलनामा महिलाले सेल्फी खिच्ने दर एक दशमलव तीन गुणा धेरै भएको देखाएको छ। पुरुषहरूले ‘एडभेन्चर' सेल्फी धेरै खिच्ने र महिलाले ‘ट्राभल' र ‘ब्युटी' सेल्फी धेरै खिच्ने गरेको पाइएको छ। सेल्फी धेरै खिच्नेहरूमा भने युवा पुस्ता नै अगाडि छ। १८ देखि ३४ वर्ष उमेर समूहका ४० प्रतिशत व्यक्तिले सातामा कम्तीमा एउटा सेल्फी खिच्ने गरेका छन्। धेरै सेल्फी खिचिसकेपछि मन परेको एउटा सेल्फी सामाजिक सञ्जालमा अपलोड गर्छन्। अन्य फोटोभन्दा सेल्फीले फेसबुकमा धेरै लाइक प्राप्त गर्नेसमेत अध्ययनले देखाउँछ।

सजिलो सेल्फी


केही युवाले अहिले हातमा मोबाइल लिएर मात्र होइन, स्मार्टफोनको स्टिक अर्थात् ‘सेल्फी स्टिक' को प्रयोग गरेर सेल्फी खिच्ने गरेका छन्। लठ्ठी आकारको लामो स्टिकको टुप्पोमा स्मार्टफोन अड्याएर खिचिने यस्ता सेल्फीले अनुहारमात्र नभई पृष्ठभूमि समेत खिच्न सक्ने क्षमता राख्छ। आफूसँग सेल्फी स्टिक नभए पनि साथीहरूको प्रयोग गरेर सेल्फी खिच्नेको जमात बढिरहेको छ।
‘एड्भेन्चर' फोटो र भिडियो खिच्नका लागि प्रयोग हुनेे ‘गो प्रो क्यामेरा' पनि अहिले सेल्फी खिच्नका लागि प्रयोग हुँदै आएको छ। स्मार्टफोनभन्दा अझ सानो आकारको जुनसुकै स्थानमा माउन्ट गर्न सकिने गो प्रो हिरो सिरिजका क्यामेराले ठूलो आकारका उच्च गुणस्तरीय फोटो र भिडियो खिच्न सक्छ। ‘जूलोजिस्ट' अनुज घिमिरे पनि सेल्फी स्टिक र गो प्रो क्यामेरा दुवैको प्रयोग गर्छन्। ‘अहिले गो प्रो लिएपछि सेल्फी स्टिक प्रयोग गर्न थालेको हुँ। यो स्टिक नभईकन गो प्रोबाट सेल्फी खिच्न गाह्रो हुने उनी बताउँछन्। स्मार्टफोनभन्दा अझ सानो आकारको गो प्रो क्यामेराबाट सेल्फी खिच्न रमाइलो मान्ने घिमिरेसँग वसन्तपुरमा यसैबाट सेल्फी खिच्दाको रमाइलो अनुभव छ। ‘वसन्तपुरको भिडमा बसेर गो प्रोले मेरो ग्रुपको फोटो खिच्दा अगाडि भएको भिडले उनीहरूको फोटो खिच्न लागेको भनेर पोज दिँदै थिए,' उनी सम्भि्कन्छन्।

अभियानमा सेल्फीको साथ


एसियाली मुलुकहरू सेल्फीको मामलामा अगाडि नै रहेको सोनीको प्रतिवेदन छ। फिलिपिन्स, मलेसिया, इजरायलजस्ता देशमा सेल्फी निकै चर्चित छ। यसबाहेक अमेरिका, इटाली र बेलायतमा पनि सेल्फीको चर्चा चुलिँदो देखिन्छ। यस्तै ‘पपुलर' भएका कारणले राजनीतिक दल र कर्पोरेट हाउसहरूले सेल्फी प्रतियोगिता र अभियान सञ्चालन गरेका उदाहरण प्रशस्त छन्।
गत वर्ष भारतमा भएको निर्वाचनमा मत हालिसकेपछि मसी लगाइएको औंलासहितको सेल्फी अपलोड गर्ने अभियान निकै चर्चित रह्यो। त्यस्तै, केही महिनाअघि दिल्लीमा भएको निर्वाचनमा सत्तारुढ भारतीय जनता पार्टीले निर्वाचन प्रचारका लागि ‘सेल्फी विथ मोदी' भनेर अभियान नै सञ्चालन गरेको थियो। यसका लागि बिजेपीले दुई हजार पाँच सय वटा सेल्फी बुथ दिल्लीका विभिन्न स्थानमा स्थापना गरेको थियो।
नेपालमा पनि विभिन्न कर्पोरेट हाउसले बेलाबेला आफ्ना उत्पादन प्रवर्द्धनका लागि सेल्फीको प्रयोग गर्र्दै आएका छन्। केही महिनाअघि होन्डा दुई पांग्रेको नेपाल विक्रेता स्याकार कम्पनीले ‘सेल्फी कन्टेस्ट' आयोजना गरेको थियो। भ्यालेन्टाइन्स डे लगायतका अवसरमा पनि यस्ता प्रतियोगिता आयोजना गरिएका छन्।

सेल्फी भिडियो


सेल्फी फोटोमात्र किन? अब सेल्फी भिडियोको पनि सुरुवात भएको छ। स्मार्टफोन वा गो प्रो क्यामेराबाट भिडियो खिच्न सकिने भएपछि सेल्फी भिडियो पनि सामाजिक सञ्जालमा अपलोड हुन थालेका छन्। एक भिडियो प्रोड्युसर एलेक्स चाचनले ६ सय दिन लगाएर ३६ देशमा मोटरसाइकलमा करिब एक लाख २६ हजार माइल यात्रा गरेर खिचेको सेल्फी भिडियो युट्युबमा भाइरल बनेको थियो। गो प्रो क्यामेरा र त्यसको स्टिक प्रयोग गरेर खिचेको तीन मिनेट लामो यो भिडियो युट्युबमा अहिलेसम्म करिब सवा एक करोडपटक हेरिएको छ। यसबाहेक ‘टाइमल्याप्स सेल्फी' र ‘स्लोमोसन सेल्फी' भिडियो पनि चर्चित बन्दै गएको छ। गो प्रो क्यामेरा, एप्पलको पछिल्लो अपरेसिङ सिस्टम र केही अन्य स्मार्टफोन एप्लिकेसनमा टाइमल्याप्स र स्लो मोसन भिडियो खिच्ने सुविधा भएपछि यस्ता सेल्फीहरू अहिले सामाजिक सञ्जालमा देख्न थालिएको छ।
‘जूलोजिस्ट घिमिरेले भोटेकोसीमा बन्जी गर्दा सेल्फी भिडियोसमेत बनाउन भ्याए। ‘डरले दिमाग पूरै शून्य भएको थियो तर पनि ठूलै आँट बटुलेर गर्न सक्ने ‘एड्भेन्चर'लाई यादगार बनाउन सेल्फी भिडियो बनाइदिन द लास्ट रिसोर्टलाई भनेँ,' उनले भने। द लास्ट रिसोर्टले सेल्फी भिडियो खिच्न क्यामेराजडित हेल्मेट उपलब्ध गराउने गरेको छ। घिमिरेले सोही हेल्मेट प्रयोग गरेर सेल्फी भिडियो बनाए।
एड्भेन्चर सेल्फी नै रुचाउने उनले पहिलो सेल्फी पनि ४ हजार ८ सय मिटरमाथि खिचेका थिए। धेरै घुमफिर गर्न रुचाउने उनले भने, ‘तिलिचो तालमा जाँदा पनि ५ हजार १२ मिटरमाथि ताललाई पृष्ठभूमि बनाएर सेल्फी लिएको थिएँ।'
कसैले पल यादगार बनाउन खिच्छन् त कसैले सामाजिक सञ्जालमा आफ्नो खुसी बाँड्न। कसैले सुटुक्क सेल्फी खिच्छन् तर सामाजिक सञ्जालमा सेयर गर्दैनन्। चाहे निजी प्रयोजनका लागि होस्, या व्यापारिक प्रयोजनका लागि। सेल्फी युवापुस्ता मात्र नभई कलाकार, खेलाडी, विज्ञलगायत सेलिब्रिटीका लागि आकर्षक विषय बनेको छ। रुचि वा रहरले सेल्फी खिच्ने कतिपय युवा यसको ‘एडिक्सन' भइसकेका छन्।
अर्को समाचार
एकाएक भाइरल भयो ‘अफिसर चितुवा’, हेर्न चिडियाखानामा लाग्यो भीड
०८ मंसिर २०८३
•
३ मिनेट पाठ
एकाएक भाइरल भयो ‘अफिसर चितुवा’, हेर्न चिडियाखानामा लाग्यो भीड
चीनको एक चिडियाखानामा रहेको मोटो चितुवा यतिबेला इन्टरनेटमा चर्चित बनेको छ। 

डिज्नीको चर्चित फिल्म ‘जुटोपिया’को गोलो अनुहार भएको चितुवा पात्र अफिसर बेन्जामिन क्लाउहाउजरसँग मिल्दोजुल्दो देखिएपछि यो चितुवा हेर्न मानिसहरूको भीड लाग्न थालेको हो।

दक्षिणपश्चिम चीनको सिचुआन प्रान्तस्थित पान्झिहुआ सहरको चिडियाखानामा रहेको यो चितुवालाई ‘पान बाओबाओ’ नामले चिनिन्छ। मोटो शरीरका कारण सामाजिक सञ्जाल प्रयोगकर्ताले उसलाई ‘अफिसर चितुवा’ उपनाम दिएका छन्।

चितुवा हेर्न चिडियाखाना पुगेका मानिसहरूले उसका तस्बिर र भिडियो सामाजिक सञ्जालमा सेयर गरिरहेका छन्। धेरैले उसको मोटो शरीर देखेर रमाइला टिप्पणी गरेका छन्।

एक आगन्तुकले ‘अफिसर चितुवा अझै पनि तौल घटाउन सफल भएनछ!’ भन्दै ठट्टा गरेका छन्। कतिपयले उसलाई केही समय खाना नदिन सुझाव दिएका छन् भने केहीले उसको शरीर मात्र होइन, शरीरका धब्बासमेत गोलाकार देखिएको भन्दै मजाक गरेका छन्। केहीले त अब उसलाई आफूहरूले सजिलै उछिन्न सक्ने टिप्पणीसमेत गरेका छन्।

तर, चिडियाखानाका कर्मचारीले भने चितुवाको उमेर र स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै उसको तौल घटाउने योजना नरहेको बताउँछन्।

‘ऊ बूढो हुँदै गएको छ। त्यसैले अहिले तौल घटाउनु उचित हुँदैन। उसको अहिलेको अवस्था कायम राख्दै स्वस्थ राख्नु हाम्रो प्राथमिकता हो,’ चिडियाखानाका एक कर्मचारीले जिउपाई न्युजलाई बताएका छन्।

उनले वृद्ध मानिसको छाला खुकुलो हुँदै गएजस्तै चितुवाको शरीरमा पनि उमेरसँगै परिवर्तन आएको बताए। ‘यो अवस्थामा उसले पर्याप्त खाना पाएको सुनिश्चित गर्नुपर्छ। खानाको गुणस्तरमा पनि कुनै सम्झौता गर्न चाहँदैनौँ,’ उनले भने।

कर्मचारीका अनुसार पान बाओबाओले दैनिक आधा किलोभन्दा बढी गाईको मासु खान्छ। सन्तुलित आहारका लागि उसको खानामा कुखुराको मासु पनि समावेश गरिएको छ।

केही समयअघि चितुवाको स्वास्थ्य परीक्षण गरिएको थियो। परीक्षणमा उसको स्वास्थ्य अवस्था राम्रो देखिएको र तौलमा पनि खासै परिवर्तन नभएको कर्मचारीले बताएका छन्।

अहिले उसको तौल नियमित रूपमा नाप्न केही कठिन हुने गरेको छ। तर, तौल स्थिर रहेको र उसको मुड राम्रो रहेको अवस्थामा चिन्ता गर्नुपर्ने अवस्था नरहेको कर्मचारीको भनाइ छ।

इन्टरनेटमा चर्चित बने पनि चितुवाको चिडियाखानाभित्रको दैनिकी भने निकै आरामदायी छ। ऊ खाने, सुत्ने र कहिलेकाहीँ आफ्नो खोरमा यताउता घुमेर शरीर तन्काउने गर्छ।

उसलाई अलि बढी सक्रिय बनाउन खोरभित्र खेल्ने बलसमेत राखिएको छ। ‘उसले खेल्न र केही शारीरिक गतिविधि गर्न सकोस् भनेर खोरभित्र एउटा बल राखेका छौँ,’ एक कर्मचारीले भने।

चितुवाको चर्चा बढेपछि चिडियाखानाले उसको बस्ने ठाउँसमेत विस्तार गरेको छ। छेउको अर्को बासस्थानसँग छुट्याउने बार र तारको जाली हटाएर उसको खोर ठूलो बनाइएको हो।

यससँगै उसको बस्ने क्षेत्रफल ४५ वर्गमिटर पुगेको छ। यो पहिलेको भन्दा दोब्बर हो। चिडियाखानाले गरेको सुधारपछि उसले फराकिलो ‘एक बेडरुमको अपार्टमेन्ट’ जस्तै ठाउँ पाएको जिउपाई न्युजले जनाएको छ।

चितुवाको उमेर र स्वास्थ्य अवस्थाबारे थाहा पाएपछि सामाजिक सञ्जाल प्रयोगकर्ताले पनि उसको तौल घटाउन दबाब दिन नहुने बताए। उनीहरूले बाँकी जीवन आरामसँग बिताउन दिनुपर्ने सुझाव दिएका छन्।

एक प्रयोगकर्ताले ‘ऊ बूढो हुँदै छ, त्यसैले प्रकृतिलाई आफ्नै गतिमा अघि बढ्न दिऔँ!’ भन्दै लेखेका छन्। अन्यले उसको चम्किलो र राम्रोसँग स्याहार गरिएको रौँको प्रशंसा गर्दै ‘मोटो भए पनि निकै जवान देखिन्छ!’ भनेर टिप्पणी गरेका छन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस