अभिनेत्री निशा अधिकारीले केही दिनअघि पत्रकारहरूको वर्गीकरण गरिनुपर्छ भन्दै व्यंग्यात्मक स्ट्याटस फेसबुकमा लेखेकी थिइन्। पत्रकारहरूले एक प्लेट मःमःको भरमा समाचार लेख्छन् भन्ने आरोप उनको स्ट्याटसमा मुछिएको छ। उनको व्यंग्यप्रति केही पत्रकारले फेसबुकबाटै चोटिला जवाफसमेत फर्काएका छन्।
सेलिब्रिटी र पत्रकारको यस्तो रस्साकस्सी भएको यो पहिलो घटना होइन। यस्तो तनावपूर्ण अध्याय बेलाबेला अस्ताउने र उदाउने भइरहन्छ। यसपालि निशाको झटारोले धेरै पत्रकारलाई 'घाइते' बनाएको हो कि जस्तो देखिएको छ।
फिल्ममाथि कलम चलाउने अधिकार पत्रकारलाई भएजस्तै पत्रकारको कार्यशैलीप्रति टिप्पणी गर्ने अधिकार पनि जोसुकैलाई छ। स्ट्याटसकै कारण निशाविरुद्ध खनिनुपर्ने कारण देखिँदैन। उनले उठाउन खोजेको पत्रकारको वर्गीकरण एउटा अतिरञ्जित कल्पनामात्र हो। पत्रकारको वर्गीकरण पाठकहरूले नै गरिरहेका हुन्छन्। पत्रकार वा सेलिब्रिटीले टाउको दुःखाउनु पर्दैन।
पत्रकारबाट पनि गल्ती हुन्छन्। गल्तीलाई सच्याउँदै लग्नुपर्छ। यदि समाचार बनाउन लायक छ भने जुनसुकै निर्माता वा कलाकारको समाचार लेखिनुपर्छ। तर, कतिपय अवस्थामा यो आचारसंहितालाई पत्रकारले पालन गरेको पाइँदैन।
गत वैशाखमा 'नोभेम्बर रेन' र 'कबड्डी' फिल्म एकैदिन रिलिज भएका थिए। पत्रकारहरूको एउटा समूहले 'नोभेम्बर रेन'सँग सम्बन्धित समाचार लाखापाखा हुनेगरी प्रकाशित गरे। 'कबड्डी'को चाहिँ केही पनि लेखेनन्। 'नोभेम्बर रेन'का निर्माताहरूको इशारामै कलम चलाएको भान हुन्थ्यो।
जेसुकै कारणले 'कबड्डी'प्रति पूर्वाग्रह राखिएको भए पनि उक्त प्रकरणमा पत्रकारहरू नैतिक रूपमा गलत थिए। फिल्म उद्योगको स्तर वृद्धि गर्नु नै फिल्म पत्रकारहरूको लक्ष्य हुनुपर्छ। राम्रा फिल्मको समाचार नलेख्नु भनेको पत्रकारका लागि आफ्नो खुट्टामा आफैँले बन्चरो हानेजस्तो हो।
'तथास्तु', 'आभास' र 'अलबिदा' रिलिज हुँदा पनि तीनथरीका समाचार प्रवाह भएको थियो। तीनवटै फिल्म पुस २५ मा रिलिज भएका थिए। कुनै मिडियाले 'तथास्तु', कुनैले 'आभास' त कुनैले 'अलबिदा'को व्यापार अरूभन्दा उत्कृष्ट रहेको समाचार प्रकाशन गरे। समाचारबाटै थाहा हुन्थ्यो, कुन पत्रकारलाई कुन निर्माताले गुलियो चटाएका हुन्।
फिल्मकै विज्ञापनको भरमा सञ्चालन भइरहेका अनलाइन मिडियाहरूलाई फिल्मको निर्धक्क टिप्पणी गर्ने छुट नहुनसक्छ। विज्ञापन दिने फिल्म वा कलाकारको बारेमा उनीहरूले समाचार लेख्नु अस्वाभाविक होइन। तर, विज्ञापन दियो भन्दैमा गलत समाचार लेख्न चाहिँ हुँदैन। राम्रो विज्ञापन दिएको भरमा कुनै फिल्मलाई 'हिट' वा 'राम्रो'को ट्याग भिडाउँदा मिडियाको विश्वसनीयता घट्नसक्छ।
विज्ञापन दिए पनि कलाकार तथा निर्माताले आफ्नो बारेमा सही समाचार नै प्रकाशित गर्न लगाउनुपर्छ। गलत समाचार छपाउन लगाउनु बेठीक हो। बजारमा भ्रम फैलाउँदा फिल्म उद्योगको 'इको सिस्टम'नै भताभुंग हुन्छ। र, त्यसको असर घुमिफिरी सबैमा आइपुग्छ। विज्ञापन दिनु भनेको फिल्मको सूचना सशुल्क छाप्नु हो, उक्त मिडिया नै किनेको होइन।
कतिपय पत्रकारले आफूलाई जे गर्न पनि छुट छ भन्ने सोच्छन्। उनीहरू जहाँ पनि प्रवेश गर्न खोज्छन्। पत्रकारमाथि कसैले प्रश्न नै उठाउन पाइँदैन भन्ने मान्यता राख्छन्। जुन गलत हो। पत्रकार अरू नागरिकभन्दा विशिष्ट हुँदै होइन। उसलाई पनि नियम र कानुन लाग्छ।
पत्रकारको यो अवगुण केही कलाकारमा पनि पाइन्छ। उनीहरू आफूले जे गरे पनि समाचार बनिहाल्नुपर्छ भन्ने सोच्छन्। समाचार नै नबन्ने अवस्थामा पनि पत्रकारलाई बोलाइहाल्छन्। आफ्ना सानातिना गतिविधिबारे समाचार बनाउन लगाउँछन्। बरु त्यसका लागि ऊ जस्तो पनि बलिदान दिन तयार हुनसक्छ।
मिडियालाई दुरुपयोग गर्ने उद्देश्यले नियोजित रूपमा स्क्यान्डल रच्ने कलाकार वा सेलिब्रिटी पनि छन् यहाँ। फिल्म रिलिजको बेला दुई मुख्य अभिनेता–अभिनेत्रीबीच अफेयरको नाटक रचाउनसमेत पछि पर्दैनन् उनीहरू। त्यसले क्षणिक फाइदा त पुग्ला। तर, दुनियाँलाई कति नै दिन ढाँट्न सकिन्छ र?
जसरी सबै पत्रकार पूर्ण रूपले अनुशासित र व्यावसायिक छैनन्, त्यसैगरी सबै कलाकार पनि अनुशासित छैनन्। आफ्नो कुनै पनि वक्तव्य वा व्यवहारलाई दर्शकले कसरी बुझ्छन्, त्यसको हेक्का राख्न जरुरी छ।
कोठाभित्र जे गरे पनि सेलिब्रिटीहरू सार्वजनिक ठाउँमा मर्यादित भएको राम्रो हो। किनकि, सेलिब्रिटीलाई धेरैले ध्यान दिइरहेका हुन्छन्। समाजलाई गलत होइन, सही दिशातर्फ डोर्यााउने जिम्मेवारी सेलिब्रिटीको हो।
एक प्लेट मःमःको भरमा जस्तो पनि समाचार लेख्ने पत्रकार जति दोषी छन्, उसलाई त्यस्तो आदतमा हुर्काउने कलाकारहरू पनि उतिकै दोषी छन्। त्यसैले समाचारका लागि सुरुमै पैसा बार्गेनिङ गर्ने पत्रकारहरू हिजोभन्दा आज बढी भेटिएलान्।
निरन्तर हुने संगतले सेलिब्रिटी र पत्रकारबीच आत्मीयता पैदा हुनसक्छ। तर, त्यति हुँदाहुँदै पनि पत्रकार र सेलिब्रिटी एकअर्काका मतियार चाहिँ होइनन्। सेलिब्रिटीका लागि पत्रकारले 'वाचडग'कै भूमिका निर्वाह गर्नुपर्छ। चाहे त्यसले सेलिब्रिटीसँगको सम्बन्ध चिसो नै किन नबनोस्।