केही समयअघि एउटा अनलाइन पत्रिकाले ‘अडिसनमा फलानो कलाकार फेल भए’ भनेर समाचार लेखेको थियो। उक्त समाचार प्रकाशित भएपछि केही फिल्मकर्मीले आपत्ति पनि जनाए। समाचारको लेखाइ र अडिसनप्रति पत्रिकाको बुझाइ गलत थियो। तर, पत्रिकाले गल्ती सच्याएन।
अडिसनमा कहिले पनि कलाकार फेल वा पास हुँदैन। अडिसनपछि पास होइन ‘कास्ट’ हुन्छ। ‘कास्ट’ हुनु भनेको फिल्मको कुनै रोलमा अभिनय गर्न पाउनु हो। र, जो कास्ट हुँदैन, उसलाई फेल भएको मानिँदैन। कलाकारको जाँच वा परीक्षा होइन अडिसन।
उपलब्ध कलाकारमध्ये आफ्नो फिल्ममा जो सुहाउँदो लाग्छ, निर्देशकले उसैलाई ‘कास्ट’ गर्छन्। सबैभन्दा राम्रो अभिनय गर्ने कलाकार नै निर्देशकको रोजाइमा पर्छ भन्ने हुँदैन। उसलाई राम्रो होइन सुहाउँदो कलाकार चाहिएको हुन्छ। र, यसका लागि अडिसन लिइन्छ।
अडिसनको बेला कलाकारलाई भिडियो क्यामेराअगाडि विभिन्न हाउभाउ वा संवाद प्रस्तुत गर्न लगाइन्छ। कलाकारको अनुहार र शरीरलाई फरकफरक कोणबाट खिचिन्छ। अडिसन कार्यमा निर्देशकले ‘कास्टिङ डाइरेक्टर’को सहयोग लिन्छन्। ऊसँगकै सल्लाहमा कुन कलाकारलाई खेलाउने भन्ने निर्णय गरिन्छ।
नेपाली फिल्ममा अडिसन लिने चलन खासै स्थापित छैन। विगतमा केही निर्देशकले अडिसन लिने गरे पनि त्यसलाई ‘स्क्रिन टेस्ट’ भनेर बुझिन्थ्यो। रमाइलो पक्ष के थियो भने त्यो जमानामा हिरोइनको बढी ‘स्क्रिन टेस्ट’ हुन्थ्यो। त्यसो हुनुको कारण तिनै फिल्मकर्मी जानून्।
अडिसनलाई कलाकारको जाँच छान्ने मिडियाकर्मीको संख्या यहाँ धेरै छ। सन्दर्भ मिलेको भए अरू पत्रिकाले पनि अडिसनमा फेल भए भनेर नै लेख्ने थिए। अडिसनप्रति यस्तो गलत धारणा बस्नुमा फिल्मवालाकै देन छ।
नेपालमा फाट्टफुट्ट अडिसन लिइए पनि त्यो अझैनयाँ कलाकारका लागि सीमित छ। चल्तीका कलाकारहरूले खासै अडिसन दिँदैनन्। न त उनीहरूलाई अडिसन लिन फिल्मकर्मीहरू आँट नै गर्छन्। कसैले अडिसन लिन बोलायो भने आफूअपमानित भएको महसुस गर्छन्, चल्तीका कलाकारहरू।
रिलिजको तरखरमा रहेको ‘सुन्तली’ फिल्ममा ‘टाइटल रोल’ प्रियंका कार्कीले पाएकी छन्। सुटिङअघि त्यो रोल अर्कै अभिनेत्रीलाई दिइने चर्चा थियो। तर, फिल्म उद्योगमा १५ वर्षदेखि निरन्तर काम गरिरहेकी उक्त अभिनेत्रीले ‘सुन्तली’मा अडिसन दिन नमानेपछि निर्माण समूहले विकल्प खोज्नुपरेको बताइन्छ।
‘ब्रिज टू टेराबिथिया’, ‘फायरहाउस डग’ र ‘जर्नी टू दी सेन्टर अफ दी अर्थ’लगायत १४ वटा फिल्ममा अभिनय गरिसकेका जोस हचरसनले सन् २०१० मा ‘द अमेजिङ स्पाइडरम्यान’का लागि अडिसन दिए। तर स्पाइडरम्यान बन्ने अवसर पाए एन्ड्रियु गारफिल्डले। एन्ड्रियुले पनि स्पाइडरम्यान बन्नुअघि ‘नेभर लेट मी गो’ र ‘सोसियल नेटवर्क’जस्ता फिल्म खेलिसकेका थिए। उनले अडिसन दिन नमानेको भए पक्कै स्पाइडरम्यान बन्न पाउने थिएनन्।
‘फ्यान्टास्टिक फोर’ फिल्मबाट हिट भइसकेकी अभिनेत्री जेसिका अल्बाले सन् २००८ को फिल्म ‘गेट स्मार्ट’का लागि अडिसन दिइन्। तर, उनले फिल्म खेल्न पाइनन्। आन हाथअवे निर्देशकको रोजाइमा परिन्।
फिल्मको रोल दिलाइदिनु अडिसनको एउटा फाइदा हो। तर, अडिसनका अरू पनि फाइदा छन्। अनौपचारिक भेटघाटमा कलाकार पूरै खुल्दैनन्। उनीहरूलाई छर्लंग चिन्ने र बुझ्ने वातावरण अडिसनमा बन्छ। अडिसनको माध्यमबाट निर्देशकले कलाकारमा लुकेर रहेको प्रतिभालाई समेत उजागर गर्ने अवसर पाउँछ।
कलाकारले कहिल्यै पनि आफूलाई पूर्ण रूपमा चिनेका हुँदैनन्। एकैखाले फिल्ममा अभिनय गर्ने बानीले कतिपय कलाकारको प्रस्तुति संकुचित भइरहेको देखिन्छ। तैपनि उनीहरूलाई त्यही नै आफ्नो उत्कृष्ट प्रदर्शन हो भन्ने भ्रम भइरहेको हुन्छ। अडिसनले त्यसबाट कलाकारलाई बाहिर निकाल्ने सम्भावना रहन्छ।
कहिलेकाहीँ एउटा रोलका लागि अडिसन दिन आएको कलाकारले अर्कै रोल पाएका उदाहरण छन्। २०३८ सालको फिल्म ‘जीवनरेखा’मा नायकको रोलका लागि अर्जुनजंग शाहीले अडिसन (अन्तर्वार्ता) दिएका थिए। तर, उनी उक्त फिल्मको खलनायक पात्रमा छानिए।
सन् १९७१ को हलिउड फिल्म ‘गडफादर’मा रोबर्ट डी नेरोले ‘सन्नी’ र अरू रोलका लागि अडिसन दिएका थिए। तर, उनले फिल्मको दोस्रो शृंखलामा पाउली नामक पात्र बन्ने अवसर पाए। त्यही रोलबाट उनले अस्कर अवार्ड पनि जिते।
अभिनय गर्ने बेला कलाकारले आफूलाई दिइएको पात्रको जीवनमा डुब्नुपर्छ। जतिसुकै प्रतिभाशाली भए पनि सबै कलाकारले सबैखाले पात्रमा आफूलाई ढाल्न सक्दैनन्। आफूलाई दिइएको रोलप्रति न्याय दिनसक्छु कि सक्दिनँ भन्ने कुराको आभास कलाकारलाई अडिसनले दिन्छ।
अडिसन एउटा मञ्च हो, जहाँ उभिएपछि कलाकारको साहस र उत्साह वृद्धि त हुन्छ नै, यसले कलाकारलाई इमानदार पनि बनाउँछ। त्यसैले अडिसनबाट नभागौँ। अडिसनबाट केही गुम्दैन, बरु केही न केही अनुभव हासिल हुन्छ।