लिग कुनै पनि देशको फुटबलको मेरुदण्ड हो। घरेलु फुटबल संरचनाका आधारमा कुनै पनि देशको फुटबलस्तर मापन गरिने गर्छ। विश्वकप फुटबलका २० संस्करण सम्पन्न भइसक्दा इंग्ल्यान्डले १९६६ मा एकपटकमात्र उपाधि जितेको छ। तर त्यहाँको प्रिमियर लिगका कारण इंग्लिस फुटबललाई विश्वभर उच्च सम्मानका साथ हेरिने गर्छ। अन्तर्राष्ट्रिय सफलताको मापदण्डमा इंग्ल्यान्ड धेरैपछि भए पनि फुटबललाई एउटा उद्योगका रूपमा अगाडि बढाएका कारण विश्वभरका ठूला स्टारको गन्तव्य बन्न सफल भएको छ।
दक्षिण एसियाली फुटबलमा नेपाली राष्ट्रिय टोलीले दुईपटकमात्र स्वर्ण पदक जित्न सकेको छ। व्यवस्थित घरेलु फुटबल संरचना नभए पनि दक्षिण एसियामा नेपाललाई सदाबहार दाबेदारका रूपमा मानिन्छ। कारण दक्षिण एसियाका अन्य देशमा पनि घरेलु फुटबल संरचना नेपालजस्तै डामाडोल छ। व्यवस्थित छैन।
पछिल्लो समय अफगानिस्तान दक्षिण एसियाली खेलकुदमा प्रवेश गरेयता अन्य खेलजस्तै फुटबलमा पनि उनीहरूको प्रभाव बलियो भइसकेको छ। विदेशमा बस्ने अफगानी प्रतिभा खोज गरेर अफगानिस्तानले यो क्षेत्रमा रवाफ जमाएको हो। अफगानिस्तानको आगमनअघि नेपालले उपाधि जित्ने लक्ष्यमा भारतलाई सधैँ मुख्य तगारोका रूपमा भोग्नुपर्थ्यो। भारतपछि बंगलादेश र माल्दिभ्स नेपालका मुख्य प्रतिद्वन्द्वी थिए। अहिले कठिन विपक्षीको सूचिमा अफगानिस्तान थपिएको छ।
दक्षिण एसियामा भारत र अफगानिस्तान नेपालभन्दा धेरै बलिया छन्। यो साँचो हो। तर, फुटबलमा बलियालाई पनि ढाल्न सक्ने स्वभाव हुन्छ। त्यसका लागि रणनीतिक रूपमा खेल्न सक्नुपर्छ। रणनीति लागू गर्न सक्षम २२ खुट्टा मैदानमा हुनुपर्छ। त्यसका लागि घरेलु संरचना बलियो हुनुपर्छ। जसले खेलाडीको खुट्टामा शक्ति दिन सकोस्। तर, नेपालको फुटबलमा मेरुदण्ड मानिने लिगले नै नियमितता पाउने गरेको छैन।
तीन/चार वर्ष नियमित फुटबल गतिविधिपछि विवाद नेपाली फुटबलको नियति बनिसकेको छ। त्यसैले लगातार पाँच वर्ष नेपालमा लिग हुन सकेको छैन। कुनै न कुनै बहानामा हुने राजनीतिक लडाइँले गतिविधि ठप्प पार्ने गरेका छन्। त्यसो त नियमित भएका वर्षमा पनि अखिल नेपाल फुटबल संघ (एन्फा) ले लिगलाई फुटबल विकासको आधारभन्दा पनि झारो टार्ने पारामा गर्ने गरेको छ। पछिल्लो दुई दशकको नेपाली लिगमा एकरूपता नहुनु यसको प्रमाण हो।
हरेक वर्ष नयाँ प्रयोग गर्नमै सीमित नेपाली लिग लगातार दुई वर्ष एउटै स्वरूपमा भएको छैन। त्यसैले पछिल्ला वर्षमा एकल लिग, डबल लिग, सुपर सिक्स, सुपर एट, सुपर फोर, राष्ट्रिय लिगलगायत विभिन्न नाममा हरेक वर्ष नयाँ स्वरूपमा लिग भइरहेका छन्। यसपालि एन्फाले होम एन्ड अवे राष्ट्रिय लिगको अर्को पत्ता फ्याँकेको थियो। तर, आवश्यक भौतिक पूर्वाधार, प्राविधिक जनशक्ति, खेल्ने टोलीको क्षमतालगायत विषयमा कुनै अध्ययनबिना फ्याँकेको पत्ता थिचिनु नै थियो। राष्ट्रिय लिग नहुने शंका एन्फाले यसको घोषणा गर्दा नै पलाइसकेको थियो। भइहाले पनि नेपाली फुटबल विकासमा यसले माखो मार्न नसक्ने जगजाहेर थियो।
तथापि, अर्को वर्ष दक्षिण एसियाली महासंघीय फुटबल (साफ) च्याम्पियनसिप खेल्ने तयारीमा रहेको नेपाललाई फुटबल गतिविधि सुचारु गर्नुपर्ने बाध्यता थियो। दक्षिण एसियाली फुटबलको स्तरभन्दा धेरै माथि उठिसकेको अफगानिस्तान र कुनै बेला पूरा विश्व हल्लाएका सुपरस्टारहरूलाई ल्याएर आईएसएल सुरु गर्दै उज्जवल भविष्य संकेत गरेको भारत तथा नेपालका लागि सधँै कडा टक्कर दिने गरेका माल्दिभ्स, बंगलादेश, श्रीलंका र पाकिस्तानजस्ता देशको चुनौती झेल्न पनि देशमा लिग जरुरी थियो। त्यसैले दीर्घकालीन रूपमा राष्ट्रिय लिगको वर्तमान अवधारणा अर्थपूर्ण नभए पनि तत्काल आईसीयूमा रहेको फुटबललाई श्वास दिइरहन जरुरी थियो।
तर, २०६६ देखि लगातार पाँच वर्ष नेपालमा फुटबल नियमित भइसकेको थियो। अब कुनै न कुनै बहानामा रोकिनु थियो। एन्फाले राष्ट्रिय लिगको अवधारणा सार्वजनिक गरेलगत्तै अध्यक्ष गणेश थापा तथा एन्फामाथि आर्थिक अपारदर्शिताको मुद्दा सुरु भयो। फुटबल स्पष्ट रूपमा विभाजित भयो। एन्फाले तिथि तय गरेर पनि दुईपटकसम्म राष्ट्रिय लिग गर्न सकेन। पहिलोपटक कात्तिक १५ बाट गर्ने भनेर एन्फाले मिति तय गरेको थियो। कात्तिकमा हुन नसकेपछि मंसिर २२ बाट गर्ने भनेर एन्फाले प्रतियोगिताको मिति सार्यो। तर, यसबीचमा पनि विवाद कायम थियो, खेल्ने टोली नै राजनीतिक झगडाका कारण विभाजित मानसिकतामा थिए, जिल्ला–जिल्लामा भौतिक पूर्वाधारको समस्या यथावत् थियो, प्राविधिक जनशक्ति तयार गर्न यति छोटो समयमा कुनै जादु चलाइएको थिएन, देशकै एकमात्र दशरथ रंगशाला पनि राष्ट्रिय खेलकुद परिषद्ले नदिँदा एन्फाको चुनौती थप पेचिलो बनेको थियो।
तर, अहिले राखेपले चार महिनाका लागि रंगशाला दिएपछि यो वर्ष राष्ट्रिय लिग हुने सम्भावना बढेको छ। पुसभित्र लिग सुरु गरिसक्ने योजनासाथ तयारी गरिरहेको एन्फाका कार्यवाहक अध्यक्ष ललितकृष्ण श्रेष्ठ बताउँछन्। भन्छन्, 'मैदान सबैभन्दा मुख्य समस्या थियो। अब समाधान भएको छ। मोफसलमा हुने नकआउट प्रतियोगिताको मिति र सहभागी क्लबको अवस्था हेरेर सहमतिमा तत्काल नयाँ मिति तय गर्नेछौँ।'
श्रेष्ठ 'जसरी पनि' राष्ट्रिय लिग गर्ने बताउँछन्। 'राष्ट्रिय लिग गर्नेमा हामी प्रतिबद्ध छौँ,' उनले भने।
मैदान पाए पनि प्रतियोगिताका लागि सहभागी टोलीको अझै टुंगो नलाग्नु एन्फाको अर्को चुनौती हो। राष्ट्रिय लिग गर्ने एन्फाको योजनामा मैदान सबैभन्दा ठूलो तगारो थियो। राखेपले दशरथ रंगशाला तथा सशस्त्र प्रहरी बलले पनि मैदान नदिएपछि एन्फा मंसिर २२ को मितिबाट पन्छिएको थियो। तर, राखेपले पुस १ देखि चैत मसान्तसम्म रंगशाला प्रयोगाधिकार दिइसकेको अध्यक्ष श्रेष्ठले बताए।
साधारण प्यारापिटतर्फ कुर्सी, छत हाल्ने र सेन्थेटिक ट्र्याक परिवर्तन गर्ने भन्दै राखेपले रंगशाला बन्द गरेको थियो। कुर्सी राख्ने काम लगभग सकिए पनि अन्य काम भने भएको छैन।
वैशाखमा यो वर्ष ए डिभिजन लिग खारेज गर्दै पहिलो श्रेणीका शीर्ष ६ टोली र केही जिल्लाको सहभागितामा राष्ट्रिय लिग गर्ने निर्णय गरेको थियो। एन्फाका अनुसार राष्ट्रिय लिग विजेतालाई १ करोड रुपैयाँ पुरस्कार दिइनेछ।
गतवर्ष सम्पन्न ए डिभिजन लिगका शीर्ष ६ टोलीमध्ये विजेता लक्ष्मी हुन्डाई मनाङ मर्स्याङ्दी, थ्री स्टार, नेपाल पुलिस, एपीएफ र सीएमजी क्लब संकटा राष्ट्रिय लिग खेल्न सकारात्मक रहेको कार्यवाहक अध्यक्ष श्रेष्ठले बताए। लिग उपविजेता मछिन्द्रले गतवर्षको पुरस्कार नदिएको भन्दै एन्फाका सबै कार्यक्रम बहिष्कार गर्दै आएको छ। मछिन्द्र नखेल्ने भएपछि एन्फाले त्यसको सट्टा त्रिभुवन आर्मीलाई समावेश गर्ने भइसकेको छ।
क्लब र जिल्ला गरी प्रस्तावित ११ टोलीमध्ये कोही नखेले बाँकी टोलीबीच लिग गराउने एन्फाको योजना छ। 'छिट्टै प्रस्तावित जिल्लामा खेल आयोजनाको सम्भाव्यता अध्ययन र टिम तयारीबारे निरीक्षण गर्नेछौँ,' उनले थपे, 'ए डिभिजन र ती जिल्लाका प्रतिनिधिसँग बसेर सहभागी टोली संख्या टुंगो लगाउने छौँ।' पूर्वनिर्धारित योजनाअनुसार 'होम एन्ड अवे' सबै जिल्लामा सम्भव नभए सम्भव हुने ठाउँमा मात्र गराइने पनि श्रेष्ठले बताए।
कम्तीमा घरेलु फुटबलको प्रतिस्पर्धा गर्न पाए त्यसपछिको विशेष प्रशिक्षणले अर्को वर्ष भारतको गोवामा हुने नवौँ साफ च्याम्पियनसिपमा नेपाली टोली सम्मानजनक प्रदर्शनको लायक हुने आशा गर्न सकिन्छ।