चितवन-चितवन राष्ट्रिय निकुञ्जका सिनियर गेमस्काउट शेषचन्द्र चौधरीको हत्या गरेको आरोपमा चितवन प्रहरीले छ जनालाई गिरफ्तार गरेको छ। असोज ९ गते बिहान चितवन निकुञ्जको जंगलभित्र चौधरीको गोली हानेर हत्या भएको थियो। निकुञ्जको ठोरी दिपानगर पोष्टमा कार्यरत उनी माडीबाट त्यता जाँदै गर्दा आक्रमण भएको थियो।
चितवन प्रहरीले मंगलबार सार्वजनिक गरेको विवरण अनुसार सो घटनामा संलग्न भएको आशंकामा कात्तिक १ र ३ गते तीन तीनजना गरेर कुल छजना समातिएका छन्। समातिनेमा अयोध्यापुरी गा.बि.स.वडा नं.९ बादरझुला बस्ने अं.बर्ष ३५ को रवि कान्छा भन्ने मान बहादुर चेपाङ्ग, बर्ष २७ को जीवन प्रजा चेपाङ्ग र १७ को गिराज चेपाङ्ग रहेका छन्।
त्यस्तै सोही घटनामा संलग्न भएको आशंकामा बाँदरझुलाकै बर्ष ४५ को जगराज चेपाङ्ग, बर्ष २६ को जैवन चेपाङ्ग र ३१ को बीर बहादुर चेपाङ्ग रहेको चितवन प्रहरीले जानकारी दिएको छ। चितवन राष्ट्रिय निकुञ्ज भित्र हुने चोरी शिकारीको नियन्त्रण गर्ने क्रममा बादरझुलाका केही व्यक्तिहरुलाई पटक पटक पक्राउ गरी कारवाही गर्दै आएको हुँदा निकुञ्जका कर्मचारीहरु संग बदलाको भावनाबाट सो घटना घटाएको प्रहरीको आशंका छ।
उक्त घटनामा शेषचन्द्र चौधरी संगै मोटर साईकलमा गएका चितवन बघौडा गा.बि.स.वडा नं.३ बस्ने बर्ष ५० को त्रिलोकी चौधरी समेत घाईते भएका थिए। यसैबीच चितवन राष्ट्रिय निकुञ्जका कर्मचारीले संकलन गरेको एक लाख १२ हजार ६५४ र डब्लुडब्लुएफ नेपाल कार्यलयका कर्मचारीले संकलन गरेको ९३ हजार ४९० रुपैयाँ मंगलबार नै चौधरीकी श्रीमती अनु चौधरीलाई हस्तान्तरण गरिएको छ।