अचेल नेपालमा ९० प्रतिशतजति फिल्म फ्लप हुन्छन्। न त कलात्मक रूपमा तारिफयोग्य फिल्म नै बनेका छन्। तैपनि फिल्म र कलाकारहरूले देशभित्र धमाधम अवार्ड पाइरहेकै छन्। महिना दिन बिराएर हुने फिल्म अवार्ड कार्यक्रमहरूको करामत हो यो
अवार्ड कार्यक्रमको संख्या बढेसँगै अवार्ड नपाउने कलाकारको संख्या घटेको छ। सबैको भागमा अवार्ड परिसकेको छ। नपरोस् पनि किन? २५ देखि ५० हजार रुपैयाँ चन्दा दिएमा ट्रफी उचाल्ने सौभाग्य कलाकारले पाउन सक्छ। यस्तो किनबेच हुने अवार्डका कारण क्षणिक खुशी त मिल्ला तर कालान्तरमा यसले न आयोजकलाई फाइदा गर्छ, न कलाकारलाई नै।
पैसा तिरेर अवार्ड उचाल्ने कलाकारहरू आयोजकप्रति सधैँ कृतज्ञ हुनुपर्ने हुन्छ। आयोजकले गोपनीयता भंग गरिदिन्छन् कि भन्ने डर त पाल्नुपर्छ नै, हरेक वर्षको अवार्ड वितरण समारोहमा बिनापारिश्रमिक नाचगान गर्नुपर्ने बाध्यतासमेत आइलाग्न सक्छ।
अवार्ड जित्नेबित्तिकै कलाकारको बजार र क्रेज बढ्छ भन्ने हुँदैन। किनभने, अवार्ड वितरणमा हुने आन्तरिक जोडघटाउदेखि प्रायः फिल्म निर्माता/निर्देशक परिचित नै हुन्छन्। उनीहरूले आफूलाई मन परेको कलाकारलाई काम दिन्छन्, अवार्ड जितेकालाई होइन।
धेरै कलाकारलाई भ्रम हुन सक्छ, अवार्ड जित्नेबित्तिकै मिडियामा छाउन सकिन्छ। अन्तर्वार्ता लिन पत्रकारहरूले हानथाप गर्नेछन्। तर, त्यस्तो हुँदैन। किनबेच हुने अवार्डलाई मिडियाले पनि महत्त्व दिँदैन। अवार्डका लागि भएको मोलमोलाइ मिडियाको नजरबाट लुकेेको हुँदैन।
प्रायोजक नै नभेटाएको गुनासो अवार्ड आयोजकहरूले गर्ने गर्छन्। तर, उनीहरूले के बुझ्नुपर्छ भने प्रायोजकले प्रतिष्ठित कार्यक्रमलाई नै साथ दिन्छन्। र, कार्यक्रमलाई प्रतिष्ठित बनाउन स्टेज डेकोरेसनमात्र भव्य भएर पुग्दैन, योग्य कलाकार र दाबेदार फिल्मलाई अवार्ड दिइन्छ भन्ने सन्देश पनि जानुपर्छ।
कार्यक्रम र त्यसका आयोजकलाई बदनाम गराउन अरूले होइन, स्वयं अवार्ड किन्नेहरू नै अग्रसर हुन्छन्। आफूले तिरेको रकम र गरिएको सम्झौताका सम्बन्धमा उनीहरू बेलाबेला खुलासा गर्दै हिँड्छन्। आयोजकले तत्काल पैसा त कमाउला तर उद्योगभित्र उसले कहिल्यै इज्जत कमाउन सक्दैन। अवार्डका लागि पैसा तिर्ने कलाकारहरू आयोजकसँग भित्रैदेखि खुशी हुने कुरै भएन।
एकपटक पैसाकै भरमा अवार्ड जितेको कलाकारले अर्कोपटक साँच्चीकै अवार्ड पाउनलायक काम गरेको हुनसक्छ। तर, आयोजकलाई के मतलब? उसले अवार्ड पाउन फेरि पनि पैसा तिर्नैपर्छ। उसले पैसा तिरेन भने अर्कै कलाकारले अवार्ड पाउने पक्का हुन्छ। किनभने, नाफाखोरी आयोजकले योग्य कलाकारको कहिले पनि कदर गर्दैन। जुन कलाकारले बढी पैसा तिर्छ, आयोजकले उसैलाई ट्रफी थमाइदिन्छ।
भर्खरै सरकारी तवरमा भएको नेसनल फिल्म अवार्डमा पनि जुरी सदस्यहरूले आर्थिक लाभकै लागि आफ्ना सिफारिसकर्ता कलाकारलाई धोका दिएको गसिप सुनिएको थियो। अवार्ड आफ्नै नाममा पर्ने विश्वास सिफारिसकर्तालाई थियो। तर, नतिजा आफ्नो पक्षमा नआएपछि सिफारिसकर्ता र उनका समर्थकहरूले अवार्ड कार्यक्रम बहिष्कार गरे।
अवार्डको पनि 'सपिङ' गर्न पाइने भएपछि किन मेहनत गर्ने? यही सोचेर आफ्नो सीप, ज्ञान र क्षमतालाई बढाउनतिर लाग्नुको सट्टा भनसुन वा पैसाका भरमा अवार्ड हात पार्ने बाटो रोज्न सक्छन् कलाकारहरू। र, निश्चित छ, यस्तो बाटो रोज्ने कलाकारहरूको व्यक्तिगत विकास कहिल्यै हुँदैन। अवार्ड किन्नेलाई जीवनभर ग्लानि भइरहन्छ। निर्धक्क काम गर्ने जाँगर पनि आउँदैन। आफूभन्दा योग्य कलाकारका अगाडि सधैँ निहुरिनुपर्ने अवस्था रहन्छ।
सधैँ र सबै कार्यक्रममा अयोग्य कलाकारहरूलाई अवार्ड दिइयो भने इमानदार तथा प्रतिभाशाली कलाकारहरूको मनोबल घट्न सक्छ। नेपाली फिल्ममा काम गर्दा त्यति धेरै कमाइ हुँदैन। र, हौसला तथा ऊर्जाका स्रोत मानिने अवार्डहरू पनि अन्यायपूर्ण भएमा त्यसले हतोत्साहित भई योग्य कलाकारहरू पलायन हुन सक्छन्। यसतर्फ आयोजकहरूले विचार गर्नुपर्छ।
झुर फिल्मलाई अवार्ड दिँदा त्यस्ता फिल्म खोजीखोजी हेर्ने दर्शक निराश हुन सक्छन्। निराशमात्र होइन, उसले भविष्यमा अरू नेपाली फिल्म नहेर्ने सम्भावना पनि हुन्छ। दर्शक भड्किएमा नयाँ–पुराना कलाकार र सबै खाले फिल्मलाई बेफाइदा हुन्छ। स्वदेशीमात्र होइन, विदेशी दर्शकले पनि अवार्ड विजेता फिल्म खोजेर हेर्न सक्छ। त्यस्तो अवस्थामा नेपाली फिल्मप्रति विदेशीहरूमा नकारात्मक भावना पैदा हुन्छ।
कमसल 'प्रोडक्ट' उत्पादन हुने क्षेत्रका रूपमा आलोचित नेपाली फिल्म उद्योग बिकाउ अवार्ड कार्यक्रम हुने क्षेत्रका रूपमा पनि चिनिन थालेको छ। सही र योग्यलाई पुरस्कृत नगर्नु भनेको फिल्म उद्योगमा प्रदूषण बढाउनु हो।
संसारमा जहाँ पनि राम्रा फिल्म बन्ने वातावरण तयार पार्न अवार्ड वितरण गर्ने गरिन्छ। उत्कृष्ट फिल्म र उत्कृष्ट कलाकारहरू पुरस्कृत भए फिल्म उद्योगको सुधार हुँदै जान्छ। त्यसैले उद्योगलाई सुन्दर बनाउने हो भने सबैभन्दा पहिले अवार्ड कार्यक्रमलाई 'सेयर मार्केट'बाट बाहिर निकालौँ।