कैलालीको दोधारा गाविस–७ मुडाको वादी बस्ती कुनै समय अघोषित रेडलाइट एरिया मानिन्थ्यो। धेरै यौनप्यासी पुरुषको साँझ र दिउँसो त्यसै बस्तीमा बित्थ्यो। तर, हिजोआज यौनका भोका पुरुष त्यो एरियामा देखिँदैनन्, न वादी महिलामा देखिन्छ ग्राहकको व्यग्र प्रतीक्षा।
आजभोलि वादी महिलाहरू कोही बंगुर स्याहारिरहेका त कोही कुखुरालाई चारो दिइरहेका भेटिन्छन्। सडक किनारमा सानोतिनो किराना पसल राखेर व्यापार–व्यवसायमा हात बढाउने पनि थुप्रै छन्। कुनै समय यौन पेशालाई जीवन निर्वाहको माध्यम बनाएका वादी महिला अहिले अन्य विकल्प अपनाइरहेका छन्।
बंगुर र कुखुरा पालन गरेर परिवर्तन उन्मुख महिलाहरूको अनुहारमा अचेल खुशीको आभा देख्न पाइन्छ। मुडा गाउँका वादी महिला पेशा परिर्वतनको सुखद अनुभव सुनाउँछन्। वादी समुदाय उत्थान विकास समितिकी केन्द्रीय सदस्य रुक्मणी वादी सबैभन्दा महत्त्वपूर्ण कुरा आफूलाई आत्मसम्मान प्राप्त भएको बताउँछिन्। भन्छिन्, 'पहिला त हामीलाई देख्नेबित्तिकै अश्लील बोल्थे मान्छेहरू। अहिले राम्ररी बोल्छन्।' सडकछेउमा सानो पसल (खोका) थापेर बसेकी छिन् उनी।
सरकारी तथा गैरसरकारी संघसंस्थाले उनीहरूलाई विभिन्न सीप सिकाएर यौन पेशालाई पूर्ण रूपमा त्याग्न उक्साइरहेका छन्। तालिमपछि व्यवसाय गर्ने पुँजी नहुँदा कतिले यौन पेशा चटक्कै छाड्न नसकेेको रुक्मणी बताउँछिन्।
धेरै वादी महिला यौन आफ्नो पेशा नभएर बाध्यता भएको सुनाउँछन्। कुनै समय यौन पेशामा रहेकी अनीता वादी अहिले अरू व्यवसाय गर्दा मान्छेले गर्ने व्यवहारबाट खुशी छिन्। तर, अरू पेशाले इज्जत दिए पनि खानपुग्ने पैसा नदिएको उनी बताउँछिन्। अनीताको कुरामा एकमत हुँदै तरुणी वादी भन्छिन्, 'इज्जत त पाएका छौँ तर पैसा कमाउने बाटो साँघुरो भयो। सानोतिनो कमाइले परिवारको पेट पाल्न गाह्रो छ।'
माया वादीले भने पुरानो पेशा त्याग्न नसकेको बताइन्। यौन पेशाबाटै बेवारिसे दुई सन्तान जन्माएकी छिन् उनले। अहिलेसम्म कुनै तालिममा सहभागी हुने अवसर नपाएको उनी बताउँछिन्। भन्छिन्, 'यस्तो जीवन जिउन रहर कसलाई हुन्छ र? खानुपर्यो , अरू के गर्ने?' अरू काम पाए आफू यो पेशा छाड्न आतुर रहेको पनि उनी बताउँछिन्। त्यसैगरी गर्भमा 'कसैका सन्तान' हुर्काइरहेकी मनकुमारी र पुष्पा वादी पनि यो पेशा चटक्कै छाड्नका लागि उचित अवसरको खोजीमा छन् ।
कैलालीको मुडामा वादीका ३५ घरधुरी छन्। अचेल केहीले आफ्ना सन्तानलाई स्कुल पनि पठाउन थालेका छन्। दुइटै सन्तान स्कुल पठाइरहेकी एक वादी महिला भन्छिन्, 'हाम्रा सन्तानले हाम्रो जस्तो दुःख भोग्नु नपरोस् भनेर स्कुल पठाइरहेका छौँ।'
यौन पेशाबाट विमुख हुँदै युवतीहरू अन्य काम गर्न शहरतिर पसेका छन्। धेरैले मजदुरी गरिरहेको वादी समुदायकी अगुवा रुक्मणी बताउँछिन्। सरकारले यौन व्यवसायबाट उनीहरूलाई निरुत्साहित गरेपछि धेरै किशोरीहरू कामको खोजीमा भारत गएको उनी बताउँछिन्।