ब्राजिलका लागि बुधवारको दिन दुःस्वप्नजस्तै रह्यो। फुटबलले ब्राजिलसँग निकै निर्दयी व्यवहार गर्यो। विश्व फुटबलको सबैभन्दा सफल ब्राजिलले सय वर्षको इतिहासमै सबैभन्दा दयनीय हार सामना गर्नुपर्यो। राष्ट्रिय टोलीको क्षमतामा विश्वको फुटबल राजा बन्न खोज्ने ब्राजिल बेलो होरिजोन्टेमा नराम्ररी चुक्यो।
ब्राजिलका २० करोड जनता सन् १९५० पछि पहिलो पटक आफैँले आयोजना गर्दा छैटौँ पटक विश्वकप उपाधि जित्ने आशमा थिए। नेइमारको प्रेरणामा ब्राजिलले समर्थकको आशा पूरा गर्ने लक्षण देखाएको पनि थियो। तर, बुधवार तीन पटकको पूर्वविजेता जर्मनीसँग ७–१ को लज्जाजनक नतिजामा निराश भएपछि ब्राजिलको सपना सेमिफाइनलमै तुहियो।
'ब्राजिलका लागि फुटबल यति निर्दयी होला भनेर कसैले सोचेका पनि थिएनन्। आजको खेल वयस्क र बालकबीचको जस्तै रह्यो,' ब्राजिलका एक खेलकुद विश्लेषक जुका केफोउरीले भने, 'ब्राजिलले यस्तो लज्जाजनक नतिजा अहिलेसम्म अनुभव गर्नुपरेको थिएन।'
विश्वकप जित्ने एकोहोरो रट लगाइरहेका स्थानीय सञ्चारमाध्यमले पनि बुधवारदेखि राष्ट्रिय टोलीको आलोचना सुरु गरे। 'लज्जाजनक खेलको लज्जाजनक नतिजा,' ग्लोबोस्पोर्ट्सले लेखेको छ।
ब्राजिलले सन् १९५० मा पछिल्लो पटक विश्वकप आयोजना गर्दा माराकाना रंगशालामा उरुग्वेसँग २–० को हार बेहोर्दा उपाधिबाट विमुख भएको थियो। यसपालि घरमा त्यस्तो कुनै निराशा नभोग्ने ब्राजिली जनताको आशा थियो। आलोचनात्मक विश्लेषकका रूपमा परिचित मिचेल क्यास्टेलरले भने जीत/हार स्वाभाविक मानेका छन्। तर ७–१ को हार भने सोच्न पनि नसकिने उनको तर्क छ। क्यास्टेलरलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार स्रोतहरूले लेखेका छन्, 'सन् १९५० मा हामीले हाम्रो टोलीलाई हराउने कोही छैन भन्ने सोचेका थियौँ। अहिले स्थिति त्यस्तो थिएन। हाम्रो टोलीमा सबै क्षमतावान् खेलाडी थिए। तथापि, हामी नजित्न पनि सक्छौँ भन्नेमा सचेत थियौँ। तर, यस्तो लज्जाजनक नतिजा भने कसैले कल्पना पनि गरेको थिएन। ब्राजिली फुटबलको चीरहरण भएको छ।'
सन् १९५० सम्म ब्राजिलले विश्वकपमा एउटै उपाधि जित्न सकेको थिएन। त्यसैले टोली विश्वकप जितेर विश्व खेलकुद नक्सामा आफ्नो अस्तित्व स्थापित गर्न चाहन्थ्यो। तर, १९५० यता ब्राजिलले पाँच पटक विश्वकप जितिसकेको छ। जुन सर्वाधिक उपाधिको कीर्तिमान हो। विश्वकपका १९ संस्करण सम्पन्न हुँदा ब्राजिलले सर्वाधिक ५ पटक जितेको छ भने इटालीले ४ पटक जितेको छ। जर्मनीले तीन, अर्जेन्टिना र उरुग्वेले समान दुई तथा स्पेन, फ्रान्स र इंग्ल्यान्डले एक/एक पटक विश्वकपको उपाधि जितेका छन्।
'ब्युटिफुल फुटबल'का लागि चर्चित ब्राजिलको यसपालि प्रदर्शन पनि त्यसअनुरूप थिएन। यसपालि ब्राजिल 'ब्युटिफुल' भन्दा शारीरिक फुटबलमा केन्द्रित भयो। त्यसैले कडा ट्याकलका लागि बदनाम भयो। सेमिफाइनलअघि जर्मनीका प्लेमेकर बास्टियान स्वास्टाइगरले ब्राजिलको कडा ट्याकलबाट आफूहरूको सुरुक्षा गर्न रेफ्रीलाई सार्वजनिक आह्वान नै गरे।
विश्व फुटबलकै महान् खेलाडीहरू पेले, गारिन्चा, जिको र रोनाल्डोले ब्राजिलका धनी र गरिब, गोरा र कालाहरूका लागि पाँच पटक उपाधि जिते। वर्तमानका ब्राजिली सुपरस्टार नेइमार सेमिफाइनलमा टोलीको साथमा थिएनन्। अघिल्लो खेलमा मेरुदण्डको एउटा हाड भाँच्चिएका कारण उनी जारी विश्वकपबाट बाहिरिएका थिए।
नेइमार विश्वकपबाट बाहिरिनुमा पनि ब्राजिलको वर्तमान खेल्ने शैलीलाई दोषी मान्ने धेरै छन्। ब्राजिलले आफ्नो पहिचानअनुसारको 'ब्युटिफुल फुटबल' छोडेर कडा ट्याकल र शारीरिक भिडन्तमा जोड दिएका कारण विपक्षी पनि उत्तेजित भएको लख काटिएको छ।
कोलम्बियाविरुद्धको क्वार्टरफाइनलमा विपक्षी फरवार्ड हामेस रोडरिग्वेजलाई ब्राजिली खेलाडीले दर्जनौँ पटक खतरनाक फाउल गरेका थिए। जसका कारण कोलम्बियाली पनि रिसाएर खेल्न थाले। नेइमारमाथिको फाउल नियतवश नदेखिए पनि आक्रोशले उत्पन्न गरेको प्रतिक्रिया भने हुन सक्छ।
बुधवार नेइमार र दुई पहेँलो कार्डका कारण प्रतिबन्धित कप्तान थियागो सिल्भाको अनुपस्थिति ब्राजिललाई खट्कियो। कम्तीमा नेइमार र सिल्भाको उपस्थितिले ब्राजिललाई जीतको बाटोमा नडोहोर्याए पनि यति फराकिलो र लज्जाजनक हारबाट भने जोगाउने कार्यवाहक कप्तान डेविड लुइजले बताए। जर्मनीविरुद्ध आर्म ब्यान्ड पाएका लुइजले रुँदै भने, 'आज हामीले नेइमार र सिल्भालाई धेरै मिस गर्यौँ। उपाधि जित्ने लक्ष्यमा पुग्न नसकेकोमा हामी समर्थकसँग माफी माग्छौँ। हामी जुन उपलब्धिका लागि लायक थियौँ, आफ्नै कारणले त्यसलाई हासिल गर्न सकेनौँ।'
ब्राजिली सरकारले विश्वकप आयोजना गर्नका लागि ११ अर्ब डलर खर्च गरेको थियो। शिक्षा, स्वास्थ्य, यातायात तथा रोजगारी सिर्जनाजस्ता अत्यावश्यक काममा लगानी गर्नुपर्ने पैसा फुटबलका रंगशाला बनाउन खर्चिएको विरोधमा गत वर्षदेखि ब्राजिलमा लाखौँ जनता आन्दोलित भएका थिए। गत वर्ष ब्राजिलले विश्वकपको अभ्यासस्वरूप अन्तरमहादेशीय कप आयोजना गर्दा सुरु भएको आन्दोलनले लगातार एक वर्षसम्म ब्राजिलका सडक तताइराख्यो। रंगशालामा भित्र फुटबल खेल भइरहँदा पनि बाहिर सडक आन्दोलनकारी र सुरक्षाकर्मीका भिडन्तले तातिरहेका थिए। तर, आन्दोलनको आकार भने विश्वकप सुुरु भएपछि कम भएको थियो। खासगरी ब्राजिली टोली निरन्तर सफलताको बाटोमा अघि बढिरहँदा आन्दोलन स्वाभाविक रूपमा मत्थर भएको थियो।
तर, अब विश्वकपमा ब्राजिली टोलीको यात्रा समाप्त भइसकेको छ। छैटौँ उपाधि जित्ने आशाका लागि टोलीले थप चार वर्ष कुर्नुपर्नेछ। जसका कारण सडकमा आन्दोलन थप चर्किने भविष्यवाणी गरिँदै छ । राष्ट्रिय टोलीले मैदानमा भोगेको हार सरकारका लागि समेत महँगो पर्न सक्ने अनुमान गर्न कठिन छैन।