यसर्थ संविधान बन्न सकेन
०८ कार्तिक २०७०
•
४३ मिनेट पाठ
यसर्थ संविधान बन्न सकेन
मुलुक झन्डै साढे पाँच वर्षपछि निर्वाचनमा होमिएको छ। लोकतन्त्रको सौन्दर्य नै निर्वाचन भएकाले निर्वाचनको माहोलले सबैलाई आफूतिर खिचिसकेको छ। मंसिर ४ मा हुने निर्वाचनबाट संविधान निर्माण गर्ने संविधानसभा गठन हुनेमात्र नभई त्यसले व्यवस्थापिका संसदको समेत जिम्मेवारी निभाउनुपर्नेछ। अर्काे संविधानसभा निर्वाचनमा जाँदै गर्दा विगतको संविधानसभाले किन संविधान बनाउन सकेन भन्ने चासो र चिन्ता अत्यन्त स्वाभाविक छ।अघिल्लो संविधानसभाबाट संविधान नबन्नुको मुख्य कारण हो– संविधान निर्माण प्रथम कार्यसूचीमै नपर्नु। त्यतिबेला संविधान होइन, शान्ति प्रक्रिया प्रधान विषय बनेकाले संविधान निर्माणले गति लिन सकेन। २०६९ चैत २८ मामात्र शान्ति प्रक्रियाको प्रमुख कार्य सकियो। बाँकी डेढ महिनाको समयमा संविधान निर्माणले शुद्ध प्राथमिकता पाए पनि त्यति समय पर्याप्त थिएन। जेठ १४ मा त संविधानसभा नै भंग भयो।
संविधान नबन्नुको अर्काे कारण माओवादी प्रवृत्ति र उसभित्रको आन्तरिक राजनीति थियो। माओवादी संविधानसभामा पहिलो नम्बरमा थियो। यद्यपि, उसमा सशस्त्र युद्धको धङधङी बाँकी नै थियो। हामी कांग्रेस र एमालेभन्दा निकै बलियो पार्टी हौं, उनीहरूभन्दा धेरै माथि छौं भन्ने घमण्ड व्याप्त थियो। यही घमण्डले उनीहरूमा आफ्ना उग क्रान्तिकारी नारा संविधानमा समावेश गर्ने दबाब सिर्जना भयो। यथार्थलाई हेर्नेभन्दा उनीहरू आफ्नो क्रान्तिकारी एजेन्डा लागू गर्ने दिशामा सोच्न थाले। एउटा यस्तो धार पनि रह्यो, जो सबै कुरा अहिल्यै सक्काउनुपर्छ भन्ने चाहन्थ्यो। संविधान भनेको एउटा विकास क्रममा संशोधन हुँदै परिपक्व बन्दै जाने कुरा हो, तर उनीहरूले अहिल्यै सबथोक छिनोफानो गरेर संविधानरूपी दस्तावेजलाई बाकसमा ताल्चा लगाएर राख्नुपर्छ भन्नेजस्तो व्यवहार देखाए।
अर्काे कारण बन्यो, संघीयताको मुद्दा। संघीयता त्यस्तो जटिल विषय हुन गयो, जसलाई दलहरूले सहमतिमा सुल्झाउन सकेनन्। यो हाम्रो निम्ति एकदमै नयाँ कुरा पनि थियो। संघीयता २०६२/६३ को जनआन्दोलनको एजेन्डा थिएन। मधेस आन्दोलनले ल्याएको एजेन्डा थियो। यसमा विभिन्न सोच बाहिर आयो। त्यहीबेला संघीयतालाई माओवादीले आफ्नो उग्र क्रान्तिकारी धार लागू गर्ने हतियारका रूपमा  उपयोग गर्न खोज्यो। प्रमुख राजनीतिक शक्तिहरूबीच जेठ २ गते भएको सम्झौताले संविधान बन्ने निश्चितप्रायः भइसकेको अवस्थामा माओवादीहरू जसरी पछाडि फर्के, त्यो उनीहरूको संघीयता मुद्दा उपयोगकै नीतिको परिणाम हो।
माओवादी यसरी पछाडि फर्किनुका मुख्या तीन कारण थिए– पहिलो, माओवादीले जातीयताको नारालाई आफ्नो शक्ति सम्बर्द्धन गर्ने साधनका रूपमा हेर्‍यो। दोस्रो, संविधानसभाका प्रक्रियाभन्दा दबाब राजनीतिबाट ऊ बढी निर्देशित हुन पुग्यो। संविधानसभाप्रति उसको आस्था छैन भन्ने त उसले अनिश्चितकालीन हडताल गरेरै देखाइसकेको थियो। माओवादीजस्तो सबभन्दा ठूलो दलले नै सरकार फेर्ने कार्य संविधानसभाबाट गर्नुपर्नेमा त्यसलाई सडकमा ल्यायो जुन संविधानसभाप्रतिको अनास्था हो। लोकतान्त्रिक संस्कार भएको दलले सडकबाट विवाद समाधान गर्न खोज्दैन। यसले त समाधान होइन, अराजकता ल्याउँछ। जेठ २ गतेको सम्झौताबाट रातारात पछि हट्नु माओवादीको यही सोच र प्रवृत्ति अर्को रूपमा देखिएको हो।
तेस्रो, संविधानसभामा पार्टीगत व्यवस्था हुँदाहुँदै माओवादीले पार्टीगत व्यवस्थालाई नै समाप्त पार्नेगरी मोर्चाबन्दी सुरु गर्‍यो। उसमा सायद संविधानसभाबाट संविधान बन्यो भने पनि आफूले चाहेजस्तो बन्दैन भन्ने धारणा हावी भयो। पार्टीभित्र आन्तरिक विवाद तीव्र थियो। मेरै अनुभवमा, विवाद समाधान उपसमितिमा सहमति भइसकेका विषयलाई लिएर संवैधानिक समितिमा प्रचण्डजी अड्को थाप्नुहुन्थ्यो। माओवादीभित्रको आन्तरिक किचलोले पनि संविधान बन्न रोकेको हुनुपर्छ।
माओवादीमात्र होइन, नेपाली कांग्रेस र एमालेले पनि आफ्नो पार्टी राम्ररी सञ्चालन गर्न सकेनन्। यी दुई पार्टीभित्रै विभिाजित मनस्थिति रह्यो, खासगरी संघीयताका सवालमा। पार्टीभित्र उठेका जातीय सवालहरूलाई पार्टीभित्रैबाट सुल्झाउनुपर्नेमा बाहिर ल्याउने, समूह बनाउने र संविधानसभा घेर्नेजस्ता गतिवधि भए।
संविधान नबन्नुमा संविधानसभाकै केही संरचनागत त्रुटि पनि नभएका होइनन्। संविधानसभाका नियमावली, समितिहरू गठन, कार्यप्रक्रिया आदिको समीक्षा र पुनर्मूंल्याकन गर्नुपर्ने स्थिति पनि छ। सहमतिबाट संविधान बनाउनुपर्नेमा पहिल्यैबाट सहमतितिर नलागी बहुमतबाट निर्णय गरे हुन्छ भनेर हामीले भन्यौं। बहुमतबाट गर्दा आआफ्ना अडान हुन्छन्, पछि हट्न गाह्रो हुन्छ, त्यो अडानसँग स्वार्थ गाँसिएका अरूको दबाब सिर्जना हुन्छ भन्ने सहमतिमा गर्न खोजिएको थियो। तर, सहमतिमा पुग्न लामो समय लाग्ने देखेर बहुमतमा जाने निर्णय गर्दा त्यसले विवाद झन् बढाउने काम भए।
त्यस्तै, केही समिति अस्वाभाविक ठूला थिए। मेरै सभापतित्वको संवैधानिक समिति पनि अत्यन्त ठूलो थियो। संविधान निर्माणभन्दा प्रतिनिधित्वका दृष्टिबाट समितिहरू विविधतायुक्त छ भनी प्रदर्शन गर्ने काम बढी हुन थाल्यो। कामभन्दा प्रदर्शन गर्नेतिर हाम्रो ध्यान गयो। यस्ता थुप्रै कारणले दलहरुबीच समझदारीभन्दा बढी द्वन्द्व मौलाए र संविधान निर्माणका विवाद थाती रहँदै संविधानसभा विघटन भयो।
२०६४ चैत २४ र २०७० मंसिर ४ को चुनावबीच कैयौं समानता छन्, कैयौं असमानता। अघिल्लो चुनावबाट गठित संविधानसभा व्यवस्थापिका संसदबाट केही कुरा पूरा भएका छन् भने केही पूरा हुन सकेनन्। पूरा हुन नसकेका विषयमध्ये संविधान निर्माण प्रमुख हो। यद्यपि, हामीले त्यसबेलाको स्थिति र अहिलेको स्थितिलाई बु‰नुपर्छ। त्यसबेला किन सकेनौं, अहिले किन सक्छौं र किन सक्नुपर्छ भन्ने कोणबाट यो संविधानसभालाई बु‰न जरुरी छ।
संविधानसभा २०६४ को प्रमुख नारा थियो, शान्ति, लोकतन्त्र र संविधानसभा। उपलब्धि थियो, संविधानसभाको पहिलो बैठकबाट गणतन्त्र कार्यान्वयन। सैन्यशक्तिमा आधारित सैन्यवादी पार्टी शान्ति प्रक्रियामा आएकाले त्यसबेला शान्ति प्रक्रियालाई संविधान निर्माणको उद्देश्यभन्दा माथि राखिएको थियो। अर्थात्, संविधान निर्माण कार्य शान्ति प्रक्रियामातहत थियो। अहिले संविधान निर्माण कुनै मुद्दाको मातहत छैन, आफैं प्रमुख छ। अहिलेको मूल नारा नै संविधान नै हो। अहिलेको निर्वाचनले संविधान निर्माण गर्ने संविधानसभा र मुलुकलाई निकास दिने व्यवस्थापिका संसद दिनुपरेको छ। अहिलेको निर्वाचन एउटा आवधिक निर्वाचनसरह पनि छ। किनभने, साढे पाँच वर्षभन्दा बढी अवधि निर्वाचन नहुँदा देश जनताले चुनेका प्रतिनिधिविहीन भएको छ।
अहिलेको निर्वाचन लोकतान्त्रिक पनि छ। त्यसबेला निर्वाचनमा सहभागी र सरकारमा समेत सहभागी एउटा पार्टी सैन्यशक्तिमा आधारित थियो। अहिले सबै राजनीतिक शक्तिहरूबीच प्रतिस्पर्धा हुन गइरहेको छ। यो भिन्नताले अहिलेको निर्वाचनलाई थप लोकतान्त्रिक बनाउन मद्दत गर्नेछ। त्यसबेला मतदाताका निम्ति दस वर्ष लामो काटमार, हिंसा, असन्तोष, आफ्नै सम्पत्ति उपभोग गर्न नपाउने अवस्था, राज्यबाट पनि कहिले, के होला भन्ने डर आदि संकट टार्न शान्तिको चाहना प्रमुख थियो। त्यही सोचेर उनीहरूले मतदान गरे। यसपालि संविधान निर्माण होस्, देशमा सुशासन आओस् भन्ने चाहना प्रमुख छ। मूल कानुन बनाउने र मुलुकलाई राम्रो शासन दिने कुराले अहिले प्राथमिकता पाउनेछ।
दोस्रो कुरा के भने, यसपालिको निर्वाचन लोकतान्त्रिक दृष्टिले महत्त्वपूर्ण यसकारणले पनि छ कि संविधानसभाबाट संविधान बन्नसक्छ र बनाउनुपर्छ भन्ने विश्वास अहिले निर्वाचनमा भाग लिइरहेका पार्टीहरूमा बढी छ। त्यसबेला क्रान्तिकारी संविधान आन्दोलनबाट मात्र आउँछ, संविधानसभा त शक्तिसञ्चय गर्ने साधन हो भन्ने मत हावी थियो। खासगरी, पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको एकीकृत माओवादी संविधानसभाको पहिलो बैठकबाट संघीय लोकतान्त्रिक गणतन्त्र पारित भइसकेपछि पनि जनताको संघीय गणतन्त्र भन्ने अवधारणाबाट निर्देशित थियो। अहिले हामी प्रचण्ड माओवादीको घोषणापत्र र भाषणमा संघीय लोकतान्त्रिक गणतन्त्र भनेकै पाउँछौं। क्रान्तिबाटै संविधान लेखिनुपर्छ र जनगणतन्त्र स्थापना हुनुपर्छ भन्ने धारमा लागेका वैद्य माओवादीहरू भने मूलपार्टीबाट छुट्टिएर निर्वाचन बहिष्कारमा लागेका छन्। शान्ति प्रक्रिया पूरा भइसकेकाले निर्वाचनमा आफ्नै निजी सेना भएको पार्टी अब छैन। बहिष्कार गरेर बिथोल्छु भन्नेहरूसँग पनि राष्ट्रव्यापी रूपमा बिगार गर्ने सामर्थ्य छैन। न राजनीतिक सामर्थ्य छ, न सैन्य सामर्थ्य।
हामीले चार वर्षको अन्तरालमा केही उपलब्धि हासिल भने गर्‍यौं। मुलुक शान्ति प्रक्रियामा गयो। विविधतापूर्ण सहभागिता भएको एउटा संविधानसभा पायो। विभिन्न समुदायले आफ्नो आवाज मुखरित गर्ने र तिनीहरूको प्रतिनिधित्व हुनसक्छ भन्ने स्थितिले वैधानिक मान्यता पायो। भलै, त्यसले चाहेको परिणाम दिन सकेन, त्यसले मुलुकको अवस्था र सोचमा परिवर्तन गरिदियो। राज्यका दृष्टिले सबैको अधिकार समान हो, अधिकारविहीन, अशक्त भन्ने कोही हुँदैन, सबैको उही अधिकार हुनुपर्छ, सबैको उस्तै हैसियत बन्नुपर्छ, विभेदयुक्त राजनीति हुनुहुँदैन भन्ने मान्यता स्थापित गरायो। देश धेरै–धेरै समावेशी हुने दिशामा अघि बढ्यो। यो अघिल्लो चुनावले दिएको सबभन्दा लोकतान्त्रिक उपलब्धि हो। त्यसैले अघिल्लो चुनावबाट गर्न नसकेका कुराहरू अबको चुनावबाट पूरा गर्नुपर्छ।
कुरा संविधानसभाको मात्र होइन, व्यवस्थापिका संसदको पनि हो। मुलुक हाँक्ने स्वघोषित पार्टी, स्वघोषित परिवार वा स्वघोषित नेताहरूले होइन, जनताद्वारा चुनिएका प्रतिनिधिले हो। कानुन बनाउने, सविधान बनाउने, मुलुकको सम्पत्ति रेखेदख गर्ने, आयव्यय व्यवस्था गर्ने, अन्तर्राष्ट्रिय सम्बन्ध स्थापना गर्ने, सुुरक्षा प्रत्याभूति दिलाउने, यी सबै जनताले चुनेका प्रतिनिधिले गर्ने काम हुन्। कदाचित भोलि संविधानसभामा सहमति हुन नसके पनि वैकल्पिक उपाय के गर्ने त भन्ने निर्णय लिने अधिकार अनिर्वाचित सरकारलाई होइन, जनताले चुनेका प्रतिनिधिलाई मात्र हुनुपर्छ। यही नै लोकतान्त्रिक विधि हो।
हरेक चिजको एउटा आयु हुन्छ। निर्वाचनबाट प्राप्त जनादेशको पनि निश्चित (आवधिक) आयु हुन्छ। एकचोटि निर्वाचन गरेपछि त्यो जनादेश सधैंका लागि हो भन्नु अलोकतान्त्रिक सोच हो। हामीले बिहान पकाएको खाना केही घन्टासम्म तताएर खान सक्छौं, केही दिनसम्म राखेर बासी खान सकिँदैन। औषधिको प्रयोग पनि तोकिएको म्यादभित्र गरिनुपर्छ। अहिले मुलुकलाई पनि ताजा जनादेश चाहिएको छ। अघिल्लोचोटि चुनेका प्रतिनिधिको कामको मूल्यांकन गर्ने र उनीहरूले गरेका गल्ती सच्याउने मौका जनताले नयाँ निर्वाचनबाटै पाउने हुन्। हिजो पकाउँदा गिलो वा साह्रो भएको रहेछ भने त्यसलाई फेरि पकाएर खान पाइन्छ। नयाँ चिज खाने इच्छा लाग्यो नयाँ ढंगले पकाउन पाइन्छ, वा पुरानै ठिक लागेको थियो भने त्यसैलाई निरन्तरता दिन पनि पाइन्छ। राष्ट्रियतालाई कमजोर हुन नदिन पनि नियमित आवधिक निर्वाचन हुनुपर्छ। जति राजनीतिक खुला हुन्छ, बाह्य शक्तिले खेल्ने मौका पाउँदैनन्। कोठे राजनीति जति हावी हुँदै जान्छ, त्यति नै विदेशी चलखेल बढ्छ।
अब बन्ला संविधान?
अहिलेको स्थिति पहिलेको जस्तो छैन। शान्ति प्रक्रिया टुंगिएको छ र संविधानसभामा संविधान निर्माण पहिलो प्राथमिकतामा पर्ने अवस्था छ। अघिल्लोचोटि दलहरू सहमतिमा आउन नसक्दा संविधानसभा त्यत्तिकै तुहिएको अनुभव पनि उनीहरुसँग छ। यसपालि पनि दलहरूको विवादले संविधान बन्ला कि नबन्ला भन्ने संशय नभएको होइन। तर, हिजोजति संशय लिइराख्नु जरुरी अहिले छैन।
अघिल्लोचोटि प्रमुख विवादका विषयमा गम्भीरतासाथ प्रवेश गरेको चैत २८ पछि मात्र हो। तर, अहिले त्यस्तो हुन्न। पहिलो दिनबाटै संविधानका मूलभूत विषयमा प्रवेश हुन्छ। त्यसबेला माओवादीहरूमा 'हामी कांग्रेस र एमालेभन्दा दोब्बर ठूलो पार्टी', संसारमै पृथक संविधान बनाएर देशलाई प्रयोगशाला बनाउन सकिन्छ भन्ने सोच हावी थियो। अहिले माओवादी राजनीतिक पार्टी भइसक्यो। सैन्यशक्ति ऊसँग छैन। त्यसैले, संविधानवादका सिद्धान्तभन्दा पृथक रहेर उठ्ने आवाज प्रभावी हुने सम्भावना छैन। तर, केही विवाद अहिले पनि रहन्छन्। त्यो कसरी किनारा लाग्छ भन्ने संविधानसभाको बनोटमा भर पर्छ। उग्रवादलाई लोकतन्त्रतिर ल्याउन मद्दत गर्ने बनोट बन्यो भयो भने एक किसिमले जाला, उग्रवादललाई नै सघाउने बनोट भयो भने अर्को किसिमले।
यसपालिको निर्वाचन परिणाम पनि पहिलेजस्तो धेरै अन्तरले कुनै एउटा पार्टी ठूलो हुँदैन। हाराहारी नै रहला कि भन्ने देखिन्छ। त्यस्तै, संविधान निर्माण ६ महिनाभित्रै बनाउन सकिन्छ कि सकिन्न भन्ने छिनोफानो पहिल्यै हुन्छ र त्यसले नै वैकल्पिक व्यवस्था बनाउन सक्छ। कदाचित केही विषयमा विवाद भएर संविधान बनाउन नसक्ने हो भने छ महिनाभित्रै छिनाफानो गरेर जनमतसंग्रहमा जाने कि, आयोग बनाउने कि अरू कुनै विकल्पमा जाने भन्ने टुंगो संविधानसभाबाटै हुन्छ। त्यसैले, हिजोबाट आज पाठ लिएमा उही स्थिति फेरि दोहोरिन्छजस्तो लाग्दैन।

कसरी सल्टाउने विवादित मुद्दा?
शासकीय स्वरुपमा राष्ट्रपतीय प्रणाली, जनताबाट चुनिने प्रधानमन्त्री र संसदीय प्रणालीअन्तर्गत संवैधानिक राष्ट्रपति र संसदबाट चुनिने प्रधानमन्त्रीको अवधारणा बलियो रूपमा आएको छ। यसमध्ये कुन शासकीय स्वरुप हाम्रा निम्ति उपयुक्त छ भन्ने नै आजको मूल सवाल हो।
हाम्रो अर्थतन्त्र कमजोर छ। हामी अरूको सहायतामा निर्भर छौं। यो अवस्थामा जनतलाई बलियो बनाएरमात्र हाम्रो राष्ट्रियता विकास हुनसक्छ। एउटा व्यक्ति वा एउटा परिवार हावी हुने अवस्थाबाट हाम्रो राष्ट्रियता विकास हुनै सक्दैन। किनभने, देशको सम्पूर्ण कार्यकारिणी अधिकार एउटा व्यक्तिमा केन्द्रित रहेको अवस्थामा सहायता दिने बाह्य राष्ट्रहरूले हाम्रो सहायताकै नाममा हाम्रो लोकतन्त्रभित्र खेल्ने प्रचूर मौका पाउँछन्। यसले हाम्रो राष्ट्रियता खोसिने डर सधैं रहन्छ। विकासोन्मुख देशहरूमा प्रत्यक्ष निर्वाचित भएर आउने राष्ट्रपति बढी अधिनायकवादी र निरंकुश हुँदै जानुको मुख्य कारण यही हो। त्यसमाथि नेपालमा त सिधै अधिनायकवादको वकालत गर्ने शक्तिहरू पनि छन्। यो अवस्थामा हामीलाई लोकतान्त्रिक विधिअन्तर्गत संसदप्रति जिम्मेवार हुने प्रधानमन्त्री नै चाहिन्छ।
माओवादीभित्र आफू प्रत्यक्ष निर्वाचति राष्ट्रपति हुने एउटा व्यक्तिको महत्त्वाकांक्षा हावी छ। त्यो महत्त्वाकांक्षा राख्नु नराम्रो होइन, तर जुन पार्टीको मूलभूत सिद्धान्त नै जनताको जनवादी अधिनायकत्व स्थापना गर्ने छ, त्यस्तो पार्टीको व्यक्ति प्रत्यक्ष निर्वाचित राष्ट्रपति भयो भने अधिनाकयत्व र निरंकुश हुने खतरा झन् प्रबल हुन्छ। त्यसमा पार्टीभित्रका केही उग्रवामपन्थी कार्यकर्ताको दबाब पनि आउनसक्छ। विदेशी हस्तक्षेपले पनि खुला रूपमा नभएर कोठाभित्र अंकुश लगाउने स्थिति हुनसक्छ। संसारको इतिहास हेर्ने हो भने, कि त शासकहरू विदेशीको मुख ताक्दा विदेशी तत्त्व हावी हुन्छ कि यथार्थ लुकाएर अनावश्यक मुठभेडामा जाँदा विदेही तत्व हावी हुन्छ। एक व्यक्तिमा शक्ति केन्द्रित हुँदा यस्तो स्थिति कुनै पनि बेला आउनसक्छ, जुन हाम्रो मुलुकका लागि उपयुक्त देखिन्न।
जुन प्रणालीमा तीन सय प्रतिनिधि बराबर एक प्रतिनिधि हुने व्यवस्था हुन्छ, त्यहाँ एक्लो चुनिएको व्यक्ति बढी निरंकुश हुने सम्भावना त रहिहाल्छ। यसपालि समानुपातिक उम्मेदवार सूची बनाउँदा मनपरी भयो भन्ने कुरा केही पार्टीमा उठे। अधिकार पाएकाले मनपरी गर्न सक्दो रहेछ भन्ने यसले देखाउँछ। त्यो अधिकारमा अंकुश लगाउन बलियो संसद नै चाहिन्छ। कार्यकारी राष्ट्रपतिको व्यवस्थामा उसले निर्णय गरेपछि मात्र जनताले थाहा पाउँछन्। संसदले निर्णय गर्दा निर्णय प्रक्रियामै थाहा हुन्छ। त्यो निर्णय कार्यान्वयन गर्न राष्ट्रपतिकहाँ पुग्नुपर्छ, त्यसअघि नै प्रेसले कुरा उठाउँछ, विपक्षीले आवाज उठाउँछ। संवैधानिक रूपले बाझिएका विषय छन् भने न्यायपालिकामा कुरा उठ्छ। र, कार्यान्वयन हुँदासम्म परिस्कृत भएर आउँछ। राष्ट्रपति नै प्रत्यक्ष निर्वाचित भएपछि उसले गरेका निर्णयमा पुनरावलोकन भन्ने कुरै भएन। यो कुरा हामीले निर्णय गर्‍यौैं, लालमोहर लगाइदिनुपर्‍यो भनेर कहीँ जानैपरेन।
शासकीय स्वरुप छनोट गर्दा हामीले के कुरामा ध्यान दिनुपर्छ भने हाम्रो मुलुकमा एकतन्त्रतात्मक परम्परा रहँदै आएको छ। पटकपटक यो परम्परा लागू गर्न लोकतान्त्रिक प्रक्रिया अवरुद्ध पारिएका उदाहरण छन्। कतिसम्म भने, लोकतान्त्रिक शक्तिहरूले नै आफ्नो पार्टीको बहुमत हुँदाहुँदै मध्यावधिमा गएको स्थिति छ। यो स्थितिमा लोकतान्त्रिक अंकुश बलियो हुने खालको शासकीय स्वरुपमा गएनौं भने भोलि फेरि लोकतन्त्रका नाममा नयाँ खालको अधिनायकवाद वा निरंकुशतन्त्र हावी हुने खतरा रहन्छ।
हामी सिधै जनताको एकमात्र नेता सिर्जना गर्न चाहन्छौं, जसको हातमा सबै अधिकार केन्द्रित हुन्छ, वा थुप्रै नेताहरू सिर्जना गर्न चाहन्छौं, जसलाई हामी आफ्नो समस्या लिएर भेट्न सकौं र तिनै नेताले चुनेका व्यक्ति कार्यकारिणी अधिकारप्राप्त होस्? जनताबाट चुनिएका प्रतिनिधिको सदनलाई बलियो पार्न चाहन्छौं कि एक व्यक्तिलाई बलियो पार्न चाहन्छौं? व्यवस्थापिकाको मातहत कार्यकारणी हुने हो वा कार्यकरिणीको रबरस्ट्याम्प सरह जनप्रतिनिधिले काम गर्ने हो? शासकीय स्वरुपमा दलहरूले राखेका मोडलमा रहेको भिन्नता यिनै हुन्। हामीले यिनै सैद्धान्तिक आधारबाट एउटा मोडल छान्नुपर्छ। देशको परिवेशअनुसार लोकतन्त्रलाई बलियो पार्न शिक्षा, आर्थिक विकास र सांस्कृतिक उपलब्धिको खाँचो छ। यसको निम्ति जनप्रतिनिधिलाई बलियो पार्नुपर्छ। अर्थतन्त्र कमजोर भएको देशमा लोकतन्त्र लागू गर्न लोकतान्त्रिक प्रतिनिधिमूलक सस्थाहरू बलियो पार्नुपर्छ, न कि कुनै एउटा व्यक्तिलाई सम्पूर्ण अधिकार थमाएर बलियो बनाउने।
संघीयता
धेरै पार्टी संसदमा पुर्‍याएर मात्र जनप्रतिनिधिमूलक निकाय बलियो हुँदैन। यसले त उल्टो संसदलाई नै कमजोर पार्छ। सत्तापक्ष पनि बलियो हुन्न, विपक्षी पनि बलियो हुन्न। शक्ति छरिन्छ। संघीयताको सवालमा पनि यही कुरा लागू हुन्छ। आर्थिक रूपमा धान्नै नसक्ने राज्य बनाइदियो भने मुलुक चल्न सक्दैन, ती राज्यहरूबीच जतिसुकै सद्भाव भए पनि।
अहिले हामीकहाँ मुलुकले धान्नै नसक्नेगरी प्रदेश बनाउने होड चलेको छ। कि त यसले देशै 'कोल्याप्स' गर्छ, कि हामी धान्न नसक्ने रहेछौं भनेर फेरि पछाडि फर्कनुपर्ने अवस्था आउँछ। त्यो भनेको संघीयताको अवधारणा प्रयोगका नाममा १०–१५ वर्ष त्यत्तिकै खेर फाल्नु हो।
देशले धान्ने मात्र भएर भएन, जनताले मान्ने पनि हुनुपर्‍यो। विकास र सामाजिक न्यायको अवधारणा सँगसँगै परिपूर्ति हुने संख्याको प्रदेश नै अहिलेको हाम्रो आवश्यकता हो। ध्यान दिनुपर्ने मुख्य कुरा के भने, टुक्राटुक्रामा बाँडिँदा हामी बढीभन्दा बढी सहायतामुखी हुन्छौं। हामी जति छरिन्छौं, विदेशी शक्तिले उति खेल्ने ठाउँ पाउँछन्। हाम्रो राष्ट्रियता कमजोर हुन्छ। हाम्रो संघीयता राष्ट्रियता सम्बर्द्धन गर्ने खालको हुनुपर्छ, कमजोर पार्ने होइन। त्यस्तै, जातीय सद्भाव बढाउने प्रकृतिको हुनुपर्छ, दुरी सिर्जना गर्ने होइन। जातीय नारा अघि बढाउँदा, लोकतन्त्र, राष्ट्रियता, विकास, स्वाभिमान, सद्भाव सबैलाई अप्ठ्यारो पर्छ। हाम्रो मुलुकमा एउटै भूगोलभित्र विविध जातजातिहरू बसोबास गर्छन्। ती सबै जातजातिले आफूले सदियौंदेखि बस्दै आएको भूगोलभित्र उत्तिकै स्वाभिमानका साथ बाँच्न पाउने अधिकारलाई संघीयताले सुनिश्चित तुल्याउनुपर्छ। जातजातिका आधारमा मेरो र तेरो राज्य भन्दा भूगोल मात्र होइन, भावनाको सीमा बाँडिन्छ। द्वैष फैलिन्छ। द्वन्द्व निम्तिन्छ।
राजनीतिमा न्याय मात्र गरेर पुग्दैन, न्याय गरेको देखाउनु पनि पर्छ। सत्य जेसुकै होस्, बुझाइ र धारणाले नै व्यवहार निर्धारण गर्छ। बुझाइ सत्यभन्दा प्रमुख हुन जान्छ। संघीयता कार्यान्वयन गर्दा कुनै पनि समुदायप्रति असम्मानजनक व्यवहार गरिएको छैन भन्ने कुरा सत्यले मात्र होइन, बुझाइमा पनि सुनिश्चित हुनुपर्छ। एउटा भूगोलभित्र बस्ने सबै जातिजाति, धर्म, भाषा, लिंग र समुदायले उत्तिकै सम्मान पाउँछन् भनी निर्दिष्ट गर्नु र त्यहीअनुसारको बुझाइ फैलाउनु नै आजको चुनौती हो। जातीय पहिचान सुरक्षित राख्नु एउटा कुरा हो, तर एउटा जातिको अधिकारका निम्ति अर्कोको कटौती गर्ने जातिवादले राष्ट्रियता कमजोर पार्छ।
त्यसैले सबैभन्दा कम कति प्रदेश बनाउँदा देशले धान्ने र जनतालाई मान्ने हुन्छ, त्यही संख्या जानु बेस हो। बढी बनाउनतिर लाग्नु हुन्न। पाँच वा सात प्रदेशसम्म हुनसक्छ। सात पनि अलि बढी नै हो।
संघीयताबारे चार वर्षअघि जेजस्तो सोचाइ थियो, त्यसमा परिवर्तन आएको छ। यो क्रमिक रूपमा विकास हुँदै जाने पनि देखिन्छ। हामीले देशले धान्ने र जनताले मान्ने संघीयताका माध्यमबाट सामन्तवादको अवशेष उन्मूलन गर्ने बाटो रोज्नुपर्छ। हरेक व्यक्तिलाई बराबर हैसियत र बराबर सम्मान दिने बाटोमा लाग्नुपर्छ। यसको निम्ति संघीयतामा नागरिक अधिकार कटौती नहोस् र प्रदेशका नाममा ठूलाठालुहरूले नै रजाइँ गर्ने स्थिति नआओस् भन्ने सुनिश्चित हुनुपर्छ। संघीयतालाई प्रगतिको संवाहक बनाउनुपर्छ, द्वेष बढाउने वा बाधक होइन।
संघीयतामा अर्को महत्त्वपूर्ण सवाल अन्तर्राष्ट्रिय परिवेश हो। हामीले नेपाललाई विश्वबाट बेग्लै राखेर हेर्ने होइन। नेपाल टापु देश पनि होइन। भूपरिवेष्ठिगत राष्ट्र हो। तसर्थ हामीले विश्व, भारत र चीनलाई हेरेर निर्णय गर्नुपर्छ। अन्तर्राष्ट्रिय विकास क्रमलाई हेर्नुपर्छ। नेपालको विकासमा भारतसँगको मित्रता महत्त्वपूर्ण हुन्छ। हामीले आफ्नो विकास निम्ति भारतसँग मैत्रीपूर्ण सम्बन्ध राख्नैपर्छ, तर मैत्रीपूर्ण भन्दैमा उसले जे भन्यो त्यो मान्ने होइन। त्यो त मैत्रीपूर्ण होइन, मालिक र दासको सम्बन्ध भयो। त्यसैले, भारतलाई दुश्मनको रुपमा हेर्नु पनि राम्रो होइन, मालिकको रूपमा पनि हेरिनुहुन्न।
यी सबै विचार गरेर नेपाललाई संघीयताको प्रयोगशाला बनाउने प्रयासबाट मुक्त हुनैपर्छ। संघीयता मात्र होइन, अन्य अवधारणामा पनि संसारले सिद्ध गरिसकेको र बाटो लागिसकेको कुरा नै यहाँ ल्याउनु उपयुक्त म देख्छु। प्रयोगशाला बनाएर नयाँ कुरा दिन खोज्दा त्यो प्रत्युत्पादक पनि हुनसक्छ।
न्यायप्रणाली
हाम्रो प्राचीन सनातन सिद्धान्तले नै शासन प्रणालीलाई सृष्टि, स्थिति र विनाश भनी तीन भागमा वर्गीकरण गरेको छ। यी तीनको सन्तुलनले नै प्रणाली अघि बढ्छ। शक्ति पृथकीकरणको सिद्धान्त यसैमा आधारित छ।
न्याय दिनु एउटा प्राविधिक र विज्ञ पक्ष हो। विज्ञताका आधारमा न्याय दिने व्यवस्था हुनुपर्छ। यो ठीक, यो बेठीक भनेर मात्र पुग्दैन, प्रक्रिया ठीक हुनुपर्छ। जनदबाब, सडकको दबाब, कार्यपालिका र व्यवस्थापिकाको दबाबबाट मुक्त न्यायप्रणाली नै लोकतान्त्रिक न्याय प्रणाली हो। फेरि यसको अर्थ न्यायाधीशहरूले 'ब्रह्म न्याय' दिने भनेको होइन। संविधान र कानुनी व्यवस्थामा आधारित रहेर न्याय दिने भनेको हो।
हामीकहाँ स्वतन्त्र न्यायपालिकाको सिद्धान्तमा दलहरूबीच विवाद कायम छ। केही दलले व्यवस्थापिकाप्रति उत्तरदायी न्यायपालिका हुनुपर्छ भन्ने सोच राखेका छन्। न्यायपालिकामाथि अंकुश लगाउने प्रवृत्ति उनीहरूमा देखिन्छ। यो एकदमै डरलाग्दो स्थिति हो। राष्ट्रपति कार्यकारी प्रमुख रहने, ऊ संसदप्रति जिम्मेवार नहुने र न्यायपालिका पनि व्यवस्थापिकाप्रति उत्तरदायी हुने हो भने लोकतन्त्र सुनिश्चित हुनै सक्दैन।
हाम्रो न्यायपालिकामा सुधारको आवश्यकता भने छ। तर, न्यायपालिकामा विकृति प्रवेश गर्‍यो भनेर स्वतन्त्रता नै कुण्ठित गर्नु बच्चा नुहाउँदा पानी फोहोर भयो भन्दै पानीसँगै बच्चासँगै पनि फालिदिनुजस्तै हो।
निर्वाचन प्रणाली
हामीले समानुपातिकतर्फका उम्मेदवारहरूको सूची देख्यौं। प्रत्यक्षको सूची पनि देख्यौं। प्रत्यक्षमा २ सय ४० उम्मेदवार थिए। त्यो सूची आउँदा देशभर उत्सावको माहोल थियो। गाउँगाउँमा लहर थियो। एउटै दिन एउटै कुरामा नेपाल एकताबद्ध थियो। हामीले आफ्नो प्रतिनिधिलाई चिन्ने अवसर पायौं। तर, यही कुरा प्रत्यक्षभन्दा बढी ३ सय ३५ जनाको समानुपातिक सूची आउँदा लागु भएन। न बाजागाजा भयो, न उत्साहको लहर आयो। दलहरूले कोठाभित्र तयार पारेको सूची एक त बन्नुअघि नै अनेक विवादमा पर्‍यो, अर्कातिर सार्वजनिक भएपछि भने त्यसले कसैमा रुचि जगाउन सकेन। नेपालमा प्रत्यक्ष निर्वाचनको सान्दर्भिकता यसले नै देखाउँछ।
हामीले निर्वाचनका माध्यमबाट जनतालाई बलियो पार्ने भनेका छौं। प्रत्यक्ष निर्वाचन प्रणालीमा 'हामीले तिमीलाई भोट हालेका हौं' भनेर जनताले थाहा पाउँछन्। आफ्नो क्षेत्रमा यस्तो भएन, उस्तो भएन भनेर माग राख्न सक्छन्। यो भनेको जनता बलियो हुनु हो। समानुपातिकमा त्यस्तो हुँदैन। उम्मेदवारहरू जनताप्रति होइन, आफ्नो दलप्रति जिम्मेवार हुन्छन्। त्यसैले, अहिले नै हामीले प्रत्यक्ष निर्वाचनको भन्दा समानुपातिकको संख्या बढी राखेर प्रत्यक्ष निर्वाचन व्यवस्थालाई कमजोर पारेका छौं। त्यसमाथि अहिलेको समानुपातिक प्रणालीबाट आउने ३ सय ३५ उम्मेदवार एउटै पार्टीको हुँदैन। पार्टीहरूले सार्वजनिक गरेका नाममध्ये को–को चुनिएर आउँछन् भन्ने पनि मतदातालाई थाहा छैन। कि त सूचीको क्रमअनुसार पहिलो नम्बरबाट उम्मेदवार चयन गरिनुपर्‍यो, नत्र अन्तिम क्रमसंख्यामा परेको व्यक्ति छानिने, पहिलोमा परेको फालिने हो भने जनतालाई बलियो बनाउनुपर्छ भन्ने सिद्धान्तमा कुठाराघात भएन? त्यतिमात्र होइन, समानुपातिक सूचीमा परेका उम्मेदवारलाई पनि आफू भोलि चुनिने हो कि होइन निर्क्योल हुन्न। त्यसैले, यो एउटा हास्यास्पद प्रणाली हो, जसले कोठेराजनीति र गैरराजनीतिक गतिविधिलाई बढावा दिन्छ।
निर्वाचन प्रणाली भनेको त्यस्तो हुनुपर्छ, जसले जनतालाई बलियो पार्छ, जनता र राज्यको सम्बन्धलाई बलियो पार्छ र अन्ततः देशलाई बलियो पार्छ।

अन्त्यमा,
संविधानसभा भनेको दक्षता र प्रतिनिधित्वको समन्वय हो। प्रतिनिधिले पनि स्वीकार गरेको हुनुपर्‍यो, संविधानको ढाँचामा विज्ञले बनाएजस्तो पनि हुनुपर्‍यो। त्यसैले, प्रतिनिधिले दिशाबोध गर्ने र त्यसलाई ठिक साँचोमा ढाल्ने काम विज्ञको हो। यसका निम्ति संविधानसभाभित्रै विज्ञ हुनुपर्छ, सदस्यका रूपमा। अर्को, मान्यता पाएका विज्ञहरूको प्यानल पनि हुनुपर्छ, जो हिजो थिएन। कस्तो संविधान बनाउने भनेर जनप्रतिनिधिहरूले निर्दिष्ट गरेपछि त्यसलाई सही ढाँचामा ढाल्ने काम विज्ञहरूको हो। जनतालाई बलियो पार्न उनीहरूलाई आवधिक रूपमा निर्णय गर्ने अधिकार प्रयोग गर्न पाउनुपर्छ। यो प्रक्रिया जति परिस्कृत हुँदै गयो, जनताको निर्णय गर्ने क्षमता पनि बढ्दै जान्छ। र, सही निर्णयहरू हुन थाल्छन्। अरूले सही निर्णय गरिदेओस् भनेर अधिनायक वा तनाशाहको निर्णय पर्खिने होइन। संविधानसभा २०७० को सबभन्दा ठूलो उपादेय यही हो। यसबाट देशले एउटा दिशा प्राप्त गर्नेछ। अन्योल समाप्त हुनेछ। पार्टीलाई उनीहरूको यथोचित स्थान दिनेछ। यसबाट लोकतान्त्रिक शक्ति बलियो होस् र अधिनायकवादी शक्ति कमजोर होस्। जनमत प्रयोग गर्दा यही दुई भेदलाई मुख्य केन्द्रमा राखिनुपर्छ।
अर्को समाचार
एकाएक भाइरल भयो ‘अफिसर चितुवा’, हेर्न चिडियाखानामा लाग्यो भीड
०८ मंसिर २०८३
•
३ मिनेट पाठ
एकाएक भाइरल भयो ‘अफिसर चितुवा’, हेर्न चिडियाखानामा लाग्यो भीड
चीनको एक चिडियाखानामा रहेको मोटो चितुवा यतिबेला इन्टरनेटमा चर्चित बनेको छ। 

डिज्नीको चर्चित फिल्म ‘जुटोपिया’को गोलो अनुहार भएको चितुवा पात्र अफिसर बेन्जामिन क्लाउहाउजरसँग मिल्दोजुल्दो देखिएपछि यो चितुवा हेर्न मानिसहरूको भीड लाग्न थालेको हो।

दक्षिणपश्चिम चीनको सिचुआन प्रान्तस्थित पान्झिहुआ सहरको चिडियाखानामा रहेको यो चितुवालाई ‘पान बाओबाओ’ नामले चिनिन्छ। मोटो शरीरका कारण सामाजिक सञ्जाल प्रयोगकर्ताले उसलाई ‘अफिसर चितुवा’ उपनाम दिएका छन्।

चितुवा हेर्न चिडियाखाना पुगेका मानिसहरूले उसका तस्बिर र भिडियो सामाजिक सञ्जालमा सेयर गरिरहेका छन्। धेरैले उसको मोटो शरीर देखेर रमाइला टिप्पणी गरेका छन्।

एक आगन्तुकले ‘अफिसर चितुवा अझै पनि तौल घटाउन सफल भएनछ!’ भन्दै ठट्टा गरेका छन्। कतिपयले उसलाई केही समय खाना नदिन सुझाव दिएका छन् भने केहीले उसको शरीर मात्र होइन, शरीरका धब्बासमेत गोलाकार देखिएको भन्दै मजाक गरेका छन्। केहीले त अब उसलाई आफूहरूले सजिलै उछिन्न सक्ने टिप्पणीसमेत गरेका छन्।

तर, चिडियाखानाका कर्मचारीले भने चितुवाको उमेर र स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै उसको तौल घटाउने योजना नरहेको बताउँछन्।

‘ऊ बूढो हुँदै गएको छ। त्यसैले अहिले तौल घटाउनु उचित हुँदैन। उसको अहिलेको अवस्था कायम राख्दै स्वस्थ राख्नु हाम्रो प्राथमिकता हो,’ चिडियाखानाका एक कर्मचारीले जिउपाई न्युजलाई बताएका छन्।

उनले वृद्ध मानिसको छाला खुकुलो हुँदै गएजस्तै चितुवाको शरीरमा पनि उमेरसँगै परिवर्तन आएको बताए। ‘यो अवस्थामा उसले पर्याप्त खाना पाएको सुनिश्चित गर्नुपर्छ। खानाको गुणस्तरमा पनि कुनै सम्झौता गर्न चाहँदैनौँ,’ उनले भने।

कर्मचारीका अनुसार पान बाओबाओले दैनिक आधा किलोभन्दा बढी गाईको मासु खान्छ। सन्तुलित आहारका लागि उसको खानामा कुखुराको मासु पनि समावेश गरिएको छ।

केही समयअघि चितुवाको स्वास्थ्य परीक्षण गरिएको थियो। परीक्षणमा उसको स्वास्थ्य अवस्था राम्रो देखिएको र तौलमा पनि खासै परिवर्तन नभएको कर्मचारीले बताएका छन्।

अहिले उसको तौल नियमित रूपमा नाप्न केही कठिन हुने गरेको छ। तर, तौल स्थिर रहेको र उसको मुड राम्रो रहेको अवस्थामा चिन्ता गर्नुपर्ने अवस्था नरहेको कर्मचारीको भनाइ छ।

इन्टरनेटमा चर्चित बने पनि चितुवाको चिडियाखानाभित्रको दैनिकी भने निकै आरामदायी छ। ऊ खाने, सुत्ने र कहिलेकाहीँ आफ्नो खोरमा यताउता घुमेर शरीर तन्काउने गर्छ।

उसलाई अलि बढी सक्रिय बनाउन खोरभित्र खेल्ने बलसमेत राखिएको छ। ‘उसले खेल्न र केही शारीरिक गतिविधि गर्न सकोस् भनेर खोरभित्र एउटा बल राखेका छौँ,’ एक कर्मचारीले भने।

चितुवाको चर्चा बढेपछि चिडियाखानाले उसको बस्ने ठाउँसमेत विस्तार गरेको छ। छेउको अर्को बासस्थानसँग छुट्याउने बार र तारको जाली हटाएर उसको खोर ठूलो बनाइएको हो।

यससँगै उसको बस्ने क्षेत्रफल ४५ वर्गमिटर पुगेको छ। यो पहिलेको भन्दा दोब्बर हो। चिडियाखानाले गरेको सुधारपछि उसले फराकिलो ‘एक बेडरुमको अपार्टमेन्ट’ जस्तै ठाउँ पाएको जिउपाई न्युजले जनाएको छ।

चितुवाको उमेर र स्वास्थ्य अवस्थाबारे थाहा पाएपछि सामाजिक सञ्जाल प्रयोगकर्ताले पनि उसको तौल घटाउन दबाब दिन नहुने बताए। उनीहरूले बाँकी जीवन आरामसँग बिताउन दिनुपर्ने सुझाव दिएका छन्।

एक प्रयोगकर्ताले ‘ऊ बूढो हुँदै छ, त्यसैले प्रकृतिलाई आफ्नै गतिमा अघि बढ्न दिऔँ!’ भन्दै लेखेका छन्। अन्यले उसको चम्किलो र राम्रोसँग स्याहार गरिएको रौँको प्रशंसा गर्दै ‘मोटो भए पनि निकै जवान देखिन्छ!’ भनेर टिप्पणी गरेका छन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस