युगशा हुमागाईं
कक्षा –४ क,
पाठशाला नेपाल फाउन्डेसन, नयाँ वानेश्वर, काठमाडौं ।
आजभोलि विश्वमा फैलिएको अहिलेसम्म कोरोना भाइरस (कोभिड १९) ले गर्दा सबैतिर त्रासको अवस्था रहेको छ । यस्तै त्रास म र मेरो घर परिवारमा पनि रहेको छ । सन् २०१९ को अन्त्यतिर यो भाइरस सर्वप्रथम चीनको वुहान प्रान्तमा देखापरेको र अहिलेसम्म विश्वमा एक करोड जनाभन्दा बढी मानिसहरू संक्रमित भैसकेका र झन्डै छ लाख मानिसको ज्यान नै गैसकेको छ । हालसम्म पनि यो भाइरसको रोकथामका लागि कुनै औषधि तथा खोपको पत्ता लागेको छैन । यसबाट बच्ने उपाय भनेको यो भाइरसबाट संक्रमित व्यक्तिको सम्पर्कदेखि अन्य व्यक्तिहरू टाढै बस्नु नै मुख्य उपाय हो । त्यसैले हामीले पनि आफ्नोे परिवारका सदस्यबाहेक अन्य व्यक्तिसँगको सम्पर्क नगरी बसेका छौं ।जति धेरै संक्रमित व्यक्तिको सम्पर्क हुन्छ त्यति नै यो भाइरस सर्ने हुँदा त्यसबाट बचाउन विश्वभरिका देशहरुले लकडाउनको उपाय अपनाएका छन् । जसका कारण हाम्रो देशमा पनि चार महिनादेखि बन्दाबन्दीको अवस्था रहेको छ । जसले गर्दा विद्यालयहरू बन्द छन् । पसल र बजार खुलेका छैनन् । मनोरन्जनका क्षेत्रहरू, पार्क, सिनेमा घर, यातायातका साधन, होटल पनि सबै बन्द रहेका छन् । सबै मानिसहरूलाई यो बेला जो जहाँ छन् त्यहीँ बस्नुपर्ने बाध्यता छ । संक्रमणबाट जोगिन सबैले आआफ्नो घरमा नै बस्नु परेको छ । व्यापारव्यवसाय, विद्यालय केही पनि नचलेकाले सबैजसो मानिसहरू डर र त्रासका बीच घरमा नै बसी राखेको यो अवस्था ज्यादै नै कठिनका साथ बितिराखेको छ ।म जस्ता सानो उमेरका धेरै केटाकेटीहरूलाई कोरोनाका कारण आफ्नोे घरमा मात्र बस्नुपरेको छ । यसरी घरभित्र मात्र बस्नुपरेकोले मलाई आजभोलि दिनहरू बिताउन धेरै गाह्रो भएको छ । अहिले मैले विद्यालय जान पाएको छैन । साथीहरूसँग भेट्न पाएको छैन । साथीहरूसँग खेल्नदेखि आफूलाई फूल मन लागेको ठाउँ घुम्न पाएको छैन । आफूलाई फूल मन पर्ने मीठामीठा खानेकुरा खान पनि पाएको छैन । यस्तो अवस्थामा सुरुसुरुमा मैले मेरो घरका कोठाहरू मिलाउन र सरसफाइमा मेरा अभिभावकहरूलाई सघाए । मैले गमलाहरुमा फूल रोप्ने, छतमा तरकारी लगाउने काम पनि बाआमा र दाइसँग मिलेर गरें । यसरी हामीले रोपेका फूल र तरकारीलाई दिनदिनै पानी हाल्ने गोडमल गर्ने गर्दा मलाई रमाइलो लाग्थ्यो । विरुवाका वृद्धि विकासलाई दैनिक अवलोकन गर्ने काम मैले सधैं गरिरहन्थे । मैले तरकारीका विरुवा उम्रेदेखि फल लाग्दासम्मका अवस्था नजिकबाट हेर्ने मौका पनि यो बन्दाबन्दीका बेलामा पाएँ । धेरै थरीका परिकार बनाउन पनि सिकें । मैले घरैमा आइसक्रिम बनाउन सिकें । विभिन्न मिठाईहरू बनाउन पनि सिकें । यसरी बन्दाबन्दीले मलाई धेरै कुरा सिक्ने मौका मिल्यो ।
अहिले मेरो विद्यालयले विद्युतीय माध्यमबाट नियमित कक्षाहरू सन्चालन गरिरहेको छ । कक्षामा साथीहरूसँगै बसेर गुरुआमागुरुवाहरूसँग पढ्ने, लेख्ने अनि खेल्ने मेरा इच्छा र रहरहरू यस्तो कक्षाबाट पूरा नभए पनि मैले नयाँ तरीकाबाट पनि पढ्न सकिने कुरा यो भाइरसका कारण भएको बन्दाबन्दीमा सिकें । यस्तो विद्युतीय माध्यमबाट घरमै बसेर पढ्ने कुरा पनि राम्रै हुने रहेछ । तैपनि विद्यालय गएर साथीहरूसँगसगै कक्षाकोठामा बसेर पढेको जस्तै भने नहुने रहेछ ।
आज पनि मलाई विद्यालय र कक्षाकोठामा साथीसँगै बसेर पढेका दिनको सम्झनाले भने सताइरहन्छ । कहिलेकाही त घरमै बसी बिहानदेखि बेलुकासम्म सधैं एउटै काम गरिरहँदा दिक्क पनि लाग्छ । त्यस्तो हुँदा म गीत सुन्ने टिभी हेर्ने चित्र बनाउने गरेर रमाउँछु । घरमा बाआमा र दाइले मलाई मैले गर्ने हरेक कार्यहरूमा सघाउने र सल्लाह दिने गर्नुहुन्छ । यसो गर्दा मलाई अझ रमाइलो लाग्छ तर कहिले भने उहाँहरूले जबर्जस्ती केही काम गर्न र कहिले कुनै काम नगर्न भन्नुहुन्छ । त्यस्तो बेला भने मलाई नरमाइलो लाग्छ । दिक्क लागेर कही जान मन लाग्छ, साथीभाइसँग भेट्न मन लाग्छ अनि खेल्न मन लाग्छ । जे भए पनि जसरी भए पनि समयअनुसार चल्नै परयो ।मानिसले समयअनुसार चल्न सिक्ने क्रममा आफ्ना आवश्यकता पूरा गर्न विभिन्न खालका क्रियाकलाप गर्दा प्राकृतिक वातावरणमा भएको असन्तुलनले नै अहिलेको यो महामारी फैलिएको हो । अब हामीले यसलाई सकेसम्म फैलिन नदिन आवश्यक उपाय अपनाउनुपर्छ । घरैमा बसेर यो भाइरसको संक्रमणबाट बच्नु नै हामी सबैको बुद्धिमानी हुन्छ । हामीले आफ्नो खाना र सरसफाइमा ध्यान दिनुपर्छ । यो भाइरसबाट बच्न यसले हामीलाइ मद्दत गर्छ । अन्यमा हामी सबै घरमै बसौं । नियमित सरसफाइ गरौं । आफ्ना सबै नियमित गर्नुपर्ने क्रियाकलाप गर्दै जाऊँ ।