खै मेरो न्याय ?
२८ जेष्ठ २०७७
•
३ मिनेट पाठ
खै मेरो न्याय ?
अर्चना उप्रेती,




कक्षा –१२,

सैनिक आवासीय महाविद्यालय, सल्लाघारी, भक्तपुर ।

मेरो कुनै नाम र ठेगाना छैन । भोको पेट र नाङ्गो आङ लिएर म हात फैलाउँदै यताउति भौंतारिरहेको छु, भोकको कारण पेटमा मच्चिएको तुफान शान्त पार्नका लागि । म सडकमा अलपत्र परेको छु, न त मलाई आफ्ना आमाबुबाको बारेमा केही थाहा छ न त यो मेरो आफ्नो मान्छे भनेर चिनेको नै छु । मेरो घर नै सडकको गल्ली बन्न पुगेको छ । मेरा लागि कपडा भनेको आङ नै नछोप्ने एउटा च्यातिएको मजेत्रो छ । म सानो मान्छे, एउटै लक्ष्य, आजका लागि पेट कसरी भर्ने ? मेरा रहरहरू गण्डकीको छालझैं बगिसकेका छन्, जो हरेक बालबालिकामा हुने गर्छ । चियाको कित्लीमा उम्लेको पानीझैं मेरो मनमा उम्लेको पीडा बुझ्ने कोही छैन । मलाई खाते र पागल नाम दिई सम्बोधन गर्ने व्यक्तिको कुनै कमी छैन । कसैबाट इज्जत पाउने कुरा त मैले एउटा कागजमा पोको पारी फ्याकिसकें । कसैले जुठो भात पोल्टामा राखिदिए भोकमरीको तुफान चलेको पेट शान्त हुने थियो । यसैका लागि म बिन्ती गरिरहेको छु । यो मेरो मात्र समस्या नभएर मजस्तै सारा मित्रहरूको साझा समस्या बनेको छ । निर्दोष भए पनि अरूको दोषमा, केही पाउने आशामा ।  

प्रश्न उठ्छ मेरो मनमा, आखिर दोष कसको हो ? आमाबुबा, यो समाज वा सरकार ? हो, मजस्ता बालबालिका देखेर कठै र बिचरा भन्नेहरूको यहाँ कमी छैन । तर तिनै कठै र बिचरा भन्नेहरूलाई प्रश्न गर्न चाहन्छु, तिमीहरूले कुनचाहिँ हाम्रो रहरको सामग्री पोल्टामा हालिदिएका छौ ? चिल्ला गाडीमा कुदेर धुलो उड्यो भन्दै गाडीको सिसा लगाउने ती सुकिला नेताहरूले पनि भातको साटो धुलो मात्र खान विवश पारेका छन् । देशको केही हिस्सा यिनीहरूको भागमा पनि छ भन्ने विचार कहिल्यै राखेनन् । हुन त देशको हिस्सेदार हुँ भनेर देखाउने प्रमाण नागरिकता नै मसँग कहाँ छ र ? विदेशीहरूले नागरिकता लिई मलाई थुक्ने मेरो देश । कठै ! आदर्शको ढ्वाङ फुक्दा मलाई हाँसो उठ्छ । मेरा सम्पूर्ण अधिकार मबाट खोसिएका छन्, लुटिएका छन्, मलाई नाङ्गेझार पारिएको छ, म यो समाजको सदस्य होइन । दैवकै नाममा भए पनि केही दिनुस् न भनेर फैलिएका हात उठ्न छोडेका छन् ।  

गल्लीगल्लीमा ठक्कर खाएपछि मेरा यी हात चोरीका लागि उठ्न थालेका छन् । मैले पनि अधिकार खोसेर लिनुपर्ने कुरा थोरै भए पनि बुझ्न थालेको छु । आफ्नो माटोको सेवा गर्ने इच्छा मर्न दिनु  हुँदैन  । मेरो देशले आज मेरै मर्म बुझ्न सकेन । म देशलाई के दोष दिऊँ, मेरै खाली पेटले त मेरै मर्म बुझ्न सक्दैन । खै, ती होटलवाला काइँला दाइ, सायद सडकबाटै उठेको हुनुपर्छ, मलाई दया देखाएर केही खानेकुरा दिने गर्छन् । मैले मात्र एक्लै कसरी खाने, ती गल्लीका कुकुरलाई पनि त दिनुपर्छ नि । मेरा वास्तविक मित्र त तिनै न हुन्, मेरै आसपासमा निदाउँछन् । हो, तिनै काइँला दाइलाई मैले ‘मानव’ देखेको छु । मानवता मर्न दिनु हुँदैन । जसको सहाराले मेरो पेटभित्र उर्लेको भुमरी शान्त पार्ने कार्य गर्दछ ।  

आजभोलि तिनै काइँला दाइको होटल पनि बन्द छ । लकडाउन, सडकको धुलो गायब । पैसा हुनेले खाने, नहुने भोकै मर्ने दिनको सुरुवात भएको छ रे यहाँ । लकडाउनको अर्थ मैले बुझ्न सकिनँ । तर, काइँला दाइको होटल बन्द गर्ने नियमचाहिँ मैले बुझें । एउटा गाडी माइकिङ गर्दै आउँदै थियो, कोरोना भाइरसबाट सुरक्षित रहने उपायहरू । ती उपाय मैले प्रयोग गर्न पाएको खै त ? मलाई चाहिँ सफा खाना चाहिँदैन, मास्क, पन्जा, हात धुने साबुन र पानी चाहिँदैन, आङ ढाक्ने वस्त्र चाहिँदैन ? यो माइकिङ कसका लागि ? म अनुत्तरित नै छु । बाहिर निस्कन नहुने रे । मलाई खै त भित्र राखेको ? मैले यस्ता कुरा सोच्नु नै व्यर्थ थियो । मैले कानको जाली फुट्ने आवाज कानमा औंला हालेर नै बन्द गरें ।  
मैले त राम्रोसँग बुझेको छु तर मेरो पेट पटक्कै बुझ्दैन । म आज दैवसँग माफी माग्दै छु । मैले चोरी गर्नु अपराध हो भन्ने बुझेको छु । तर, बाध्य छु । यो मेरो पेटले गरेको हो । दैव सजाय पनि यही पेटलाई देऊ । हे दैव, अर्को जुनी पाएँ भने, यही माटोमा आएँ भने मलाई यस्तो जिन्दगी नदेऊ है । म प्राण त्याग गर्दै छु । मरिसकेपछि मलाई कोरोनाको बिल्लाचाहिँ नभिराइदेओ है । म त भोक र अशिक्षाको शिकार हुँ ।  
अर्को समाचार
द्वन्द्वपीडित भन्छन्ः न्याय प्राप्ती कहिले ?
०६ मंसिर २०८१
•
४ मिनेट पाठ
द्वन्द्वपीडित भन्छन्ः न्याय प्राप्ती कहिले ?
गण्डकी प्रदेशका द्वन्द्वपीडितले आफूहरुले न्याय पाउने भन्ने निश्चित हुन नसकेको भन्दै गुनासो गरेका छन्।  शान्ति प्रक्रियाको १८ वर्ष बित्दासमेत न्याय नपाएको भन्दै उनीहरुले भने, ‘न्याय प्राप्ती कहिले?’ शान्ति प्रक्रियामा प्रत्यक्ष संलग्न संस्थाहरुले पोखरामा आयोजना गरेको अन्तरक्रियामा उनीहरुले शान्ति प्रक्रियाको १८ वर्षसम्म पनि न्याय नपाउँदा न्याय पाउने आशा नै मर्न थालेको बताए।




कार्यक्रममा बोल्दै द्वन्द्व कालमा श्रीमान गुमाएकी कल्पना सुवेदीले अहिलेसम्म न्याय नपाएका आफूहरुले अब न्याय नै नपाउने हो कि भन्ने त्रासले थिच्न थालेको बताईन्। ‘छोराको न्याय माग्दामाग्दै सासुससुरा बित्नुभयो,’ उनले भनिन्, ‘मैले आफैले श्रीमान बिर्सिसक्ने बेला भयो तर न्याय भने अझै पाईन ।’  मेरो छोरा, नातीले हामी कस्तो परिवार हौं भन्ने समेत भेउ पाउने वातावरण नबनेको भन्दै उनले आक्रोश पोखिन्। उनले भनिन्, ‘कम्तिमा हामी को हौं भन्ने परिचय खुल्ने परिचय पत्रसम्म त दिईयोस्। जसले हामीले गर्वका साथ भन्न सकौं कि हामी सहिद परिवार हौं।’  

भाई गुमाएकी म्याग्दीकी ईश्वरी विकले ढिलो न्याय दिनु भनेको न्याय नदिनु जस्तै भएको बताईन्। ‘चाँडो न्याय दिनुपर्ने भन्दै उनले भनिन्, हामीले न्याय कहिले पाउने? सँधै न्यायका लागि लडिरहने अवस्थाको अन्त्य होस्।’  बेपत्ता भाई आनन्द आचार्यका दाजु केदार आचार्यले बेपत्ता छोरा कुर्दा कुर्दै बुबाआमाको मृत्यु भएको तर अझै न्याय नपाएको बताए। ‘शान्ति सम्झौता भएको ६० दिनमै बेपत्ताको अवस्था सार्वजनिक गर्छौं भन्थे,’ उनले भने, ‘तर त्यो दिन अझै आएन।’

तनहुँकी द्वन्द्वपीडित अरुण घिमिरेले द्वन्द्वपीडितलाई राज्यपक्ष र विद्रोही पक्ष भनेर विभाजित गर्ने र भिडाउने काम बन्द गर्नुपर्ने बताए। ‘जुन पक्षको भएपनि हामी द्वन्द्वपीडित नै हौं,’ उनले भने, ‘जो दोषी हो उसलाई कारवाही होस्, पीडितलाई न्याय र राहत दिईयोस्।’

अपाङ्गता भएका द्वन्द्वपीडितको राष्ट्रिय सञ्जालका गण्डकी प्रदेश अध्यक्ष सुरेन्द्र खत्रीले १८ वर्षसम्म पीडितले न्याय नपाउनुजस्तो दुःखद कुरा अरु नहुने बताए। उनले शान्ति सम्झौताको वर्षगाँठ हर्षोल्लासपूर्वक मनाउनु पर्ने भएपनि आफूहरुको आँखाको आँशु नसुकेकाले विरह पोख्दै बस्नुपर्ने अवस्था रहेको बताए।

यातनापीडित समाज गण्डकीका उपाध्यक्ष भरतमणी भट्टराईले कसैले द्वन्द्वका नाममा रजाईं गर्ने तर पीडितले भने सँधै अपमानित भएर बस्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने बताए। ‘क्षमादान भनेर पीडकले उन्मुक्ति नपाओस्,’ उनले भने, ‘कोहि अघाएको बाघ जस्तो गर्जिदै बस्ने? कोहि भने मरेर बाँच्नुपर्ने, कोहि मरेर जानुपर्ने? यस्तो अवस्था नआओस्।’ उनले पीडितलाई अधिकारसहितको परिचयपत्र दिनुपर्ने पनि बताए।

शान्तिका लागि नागरिक समाजको सञ्जाल गण्डकी अध्यक्ष बिना सिलवालले शान्ति प्रक्रियाको १८ वर्ष बित्दा समेत न्याय नपाउँदा पीडितमा आक्रोश पैदा भएको बताईन्। द्वन्द्वपीडितको परिवारको अवस्था नाजुक रहेको भन्दै उनले भनिन्, ‘कोहि आफै पीडित छन्। उनीहरुको आर्थिक सुदृढिकरण नहुँदा परिवारको बिचल्ली छ। उनीहरुलाई राज्यले सामान्य सहयोगपनि गरेका छैनन्।’

राष्ट्रिय मानवअधिकार आयोग गण्डकीकी प्रमुख नितु गर्तौलाले पीडितले न्याय नपाएसम्म आयोगले लडिरहने बताईन्। ‘१८ वर्षपछि पनि न्याय माग्नुपर्ने अवस्था आउनु लाजमर्दो कुरा हो,उनले भनिन्, ‘संक्रमणकालीन् न्यायको अन्र्तराष्ट्रिय मापदण्ड अनुसार न्याय दिलाउन हामी लडिरहन्छौं।’

कार्यक्रममा राजनीतिक दलका प्रतिनिधिहरुले भने द्वन्द्वपीडितलाई न्याय दिलाउन आफूहरु लागिरहेको बताए। नेकपा माओवादी केन्द्र कास्कीका संयोजक विश्वप्रकाश लामिछानेले माओवादी सँधै पीडितको न्यायका लागि लडिरहेको बताए। अन्य दलले हलो अड्काएर गोरु चुट्ने काम गरिरहेको आरोप लगाउँदै उनले भने, ‘हाम्रो पार्टी र सहिद, बेपत्ता तथा घाईतेहरुकै कारण देशमा संघीय लोकतान्त्रिक गणतन्त्र आयो। उनीहरुलाई न्याय दिने कुरामा हाम्रो पार्टी सदैव प्रतिबद्ध छ।’

नेकपा एमाले पोखरा महानगर कमिटी अध्यक्ष जीवनप्रसाद आचार्यले पीडितलाई राज्य र विद्रोही पक्ष नभनी समान ढंगले न्याय दिन आफ्नो पार्टी लागिरहेको बताए। ‘संक्रमणकालीन् न्याय दिने कुरालाई कार्डका रुपमा प्रयोग गर्न नहुने भन्दै उनले भने, ‘सबै पार्टी र तिनका नेताहरुको एउटै दृष्टिकोण हुनुपर्यो। ईमान्दारीपूर्वक पीडितलाई न्याय दिलाउन अग्रसर हुनुपर्यो।’

नेकपा एकीकृत समाजवादीका केन्द्रीय सचिव तथा गण्डकी प्रदेश अध्यक्ष श्रीनाथ बरालले पीडितलाई छिटो भन्दा छिटो न्याय दिनुपर्ने बताए। त्यसका लागि आफ्नो पार्टी प्रतिबद्ध रहेको भन्दै उनले भने,‘प्रतिशोध बढाउनेगरी होईन, न्याय पाउनेगरी काम गरौं।’ ईन्सेक गण्डकीका अध्यक्ष शिवप्रसाद खकुरेलले पीडितलाई न्याय दिलाउन आफूहरुको खबरदारी जारी रहने बताए।
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
यो पनि पढौँ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ८ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस