नारायणगोपालअघि र नारायणगोपालपछि
२८ मंसिर २०७६
•
२९ मिनेट पाठ
नारायणगोपालअघि र नारायणगोपालपछि
नारायणगोपाल। तस्बिर : मीनरत्न वज्राचार्य
नेपाली संगीतको इतिहास लेखिँदा बिफोर नारायणगोपाल र आफ्टर नारायणगोपाल भनेर नै लेखिनेछ, यसमा विवाद नरहला।

नारायणगोपालले गोपाल योञ्जन र नगेन्द्र थापासित मिलेर आफ्नो गायनको विशेष यात्रा सुरु गर्दा उनका यसअघिका ६ गीतका इतिहासले एउटा अद्वितीय पाना ओगटिसकेको थियो।

हिन्दी गीत भर्सेज् एन गोपाल

किलागल बस्ने नारायणगोपाल गुरुवाचार्य र कमलपोखरी बस्ने रत्नशमशेर थापालाई जोड्ने श्रेय त्यति वेलाको त्रिचन्द्र कलेजलाई जान्छ। रत्नशमशेर थापासित भेट्नुअघि नारायणगोपालले प्रेमध्वज प्रधान र माणिकरत्न स्थापितको संयुक्त संगीतमा गीतकार राममान श्रेष्ठको शब्दमा ‘जीवन पंखका स्वाद लिएर उडे’ बोलको गीत रेडियो नेपालमा गाइसकेका थिए, स्वर परीक्षामा।

शाही शासनकालको रेडियो नेपालमा हिन्दी गीत गाएर स्वर परीक्षा दिने परम्परा तोड्ने पहिलो गायक नै सम्भवतः नारायणगोपाल थिए। त्यसो त नारायणगोपालको प्राथमिक गायन वा अभ्यासी शैलीका गीतमा हिन्दी गीत नै विशेष थिए, विजय भट्ट निर्देशित बैजु बावरा काठमान्डुको जय नेपाल चित्रघरमा प्रदर्शित हुँदा नारायणगोपाल हल बाहिर भीड जम्मा गरेर गाउन पुग्थे भन्ने उनका कान्छा भाइ लक्ष्मणगोपाल गुरुवाचार्यलाई सम्झना छ।

नारायणगोपालका घनिष्ठ मित्र थिए, भक्तपुरका गायक संगीतकार अभिनेता नगेन्द्र हाडा। भक्तपुरको प्रसिद्ध सिनेमा हल नवदुर्गाका साहु दैवज्ञरत्न हाडाका छोरा नगेन्द्रलाई नारायणगोपाल नाति भनेर बोलाउँथे। हाडाले पनि नारायणगोपाललाई सानुबाबु भन्थे। दुवैको मातृभाषा नेवारी थियो र यी दुई नेवारीमा भन्दा बढी हिन्दीमै कुरा गर्थे।

नातिको घरमा नारायणगोपालले कैँयौपटक हिन्दी गीत गाएका छन्, विशेषतः बलिउड गायक मोहम्मद रफीका फिल्मी गीतमा उनी खुब जम्थे। नातिकै घरमा नारायणगोपालको हिन्दी गीत सुनेका र आफूले पनि नारायणगोपाललाई अंग्रेजी गीत सुनाएका नेपालका प्रथम रक गायक मुकुन्द के खड्का भन्छन्, ‘उहाँले रफीको साथी ना कोई मञ्जिल र तलत महमुदको आँसु समझ के क्योँ मुझे’ बोलको गीत गाउँदा नगेन्द्रदाइको घरको दलिन हल्लिए जस्तो महसुस भएको थियो। त्यो आज पनि मलाई याद छ। मैले उहाँलाई इंग्लिस गीत एल्भिस प्रेस्लेको ‘हेल्प मी मेक इट थ्रु द नाइट’ सुनाएपछि उहाँले नगेन्द्रजीतिर हेरेर ‘ए नाति भाइलाई हाइँ’ भन्नुभयो। मैले बुझिनँ। पछि हाडाजीले भन्दा त्यो त उहाँले प्रशंसा गरेको हो, मुकुन्दजी।’

रत्नशमशेर थापासित भेट्नुअघि नारायणगोपालले प्रेमध्वज प्रधान र माणिकरत्न स्थापितको संयुक्त संगीतमा गीतकार राममान श्रेष्ठको शब्दमा ‘जीवन पंखका स्वाद लिएर उडे’ बोलको गीत रेडियो नेपालमा गाइसकेका थिए, स्वर परीक्षामा। शाही शासनकालको रेडियो नेपालमा हिन्दी गीत गाएर स्वर परीक्षा दिने परम्परा तोड्ने पहिलो गायक नै सम्भवतः नारायणगोपाल थिए।

मुकुन्दका अनुसार नारायणगोपाल र नगेन्द्रका बीच यस्तो घनिष्ठता थियो, तर दुवैले दुवैको गीत कहिल्यै गाएनन्, न त मागे। यो थियो, एन गोपालको क्वालिटी। नारायणगोपाल सुरुवातमा एन गोपालको नामबाटै रेडियोमा प्रवेश गरेका थिए, पछि पोखराबाट सरोजगोपाल नामका गायक आएपछि उनले आफ्नो नाम नारायणगोपालकै रूपमा दर्ता गरे, तर त्रिचन्द्र कलेजको झिगु सः नामक कार्यक्रममा उनको नाम एन गोपाल लेखिएको थियो।

त्रिचन्द्र कलेजबाट निस्केपछि नारायणगोपालले तबलावादका साथै गायनमा आफ्नो अधिपत्य जमाए।

सम्पादक नारायणगोपाल

आफ्नै संगीतमा रत्नशमशेर थापाका पुगनपुग आठवटा रेकर्ड र अन्य रेकर्ड हुन नपाएका गीतपछि नारायणगोपालको अर्को इनिङ गोपाल योञ्जनसित सुरु भयो। गोपाल योञ्जनसित सन् १९६५ मार्च २१ का दिन भारतको दार्जिलिङमा कवि गीतकार ईश्वर वल्लभले मीत लगाइदिएपछि मितेरी संगीतको युग सुरु भयो।

मितेरी संगीतको त्यो सालीन युगमा नारायण र गोपालसित नगेन्द्र थापा पनि जोडिए।

नगेन्द्र थापाका मस्ट रोम्यान्टिक गीत ‘सँगाल घुम्टोहरू, बिर्सेर फेरि मलाई नहेर’ जस्ता गीत गाए पनि नारायणगोपालले आफू हिँडेर आएको बाटो फर्केर हेर्नुपरेन।

उनी त्यतिवेला भारतको बरोडास्थित महाराज सर्वेजय संगीत महाविद्यालयमा शास्त्रीय संगीत पढ्दै थिए। यहीँ हुँदा उनले नगेन्द्र थापाकै शब्द, गोपाल योञ्जनको संगीतमा ‘चिनारी हाम्रो धेरै पुरानो’ गाए।

यो गीतपछि उनको दार्जिलिङसित वैवाहिक सम्बन्ध जोडियो।

नारायणगोपाल यसपछि नेपालको जस्तै भारतको दार्जिलिङका पनि प्रिय गायक भए।

लोकप्रियताको प्रथम चरणमा हुँदै उनले शास्त्रीय संगीतको अध्ययन त्यागिदिए। उनले शास्त्रीय संगीतको विशाल राजमार्गमा हराउनुभन्दा नेपाली सुगम संगीतमा नयाँ राजमार्ग बनाउने सोच बनाए, यसमा गोपाल, नगेन्द्र उनका साथ थिए। यही वेला नारायणगोपाल, गोपाल योञ्जन र नगेन्द्र मिलेर बाजा, गीत र नाचको त्रैमासिक पत्रिका बागिना निकाले। नगेन्द्रको पैसा, गोपालको व्यवस्थापन र नारायणको सम्पादनमा प्रकाशित बागिना नेपालको तेस्रो संगीत प्रधान पत्रिका थियो, हिमाली कलाकार र संगीत सरितापछि।

नारायणगोपाल यहाँसम्म आइपुग्दा नेपाली गीतको आधुनिकतामा बच्चु कैलाश बस्न्यात, प्रेमध्वज प्रधान, माणिकरत्नले बनाएको गायनको मधुर युग अकासिएको थियो।

नारायणगोपालको स्वरारोहणमा स्वरिता मात्र थिएन, शब्दको त्वरित भावन अनि समकालिकताको उच्छ्वास प्रशस्ति थियो। उनी दोयम टाइपका गायक थिएनन्, अब्बल श्रेणीका थिए।

पिताको इच्छाविरुद्ध सुगम संगीतमा लागेदेखि नै उनलाई आधुनिक गीति गायनमा पनि प्राज्ञिक चेतना ल्याउन सकिन्छ भन्ने सोचको बलियो धार बन्दै गयो। उनले कवि ईश्वरवल्लभ, महाकवि लक्ष्मीप्रसाद देवकोटा, युगकवि सिद्धिचरण श्रेष्ठ, नेपालभाषाका महाकवि गिरिजाप्रसाद जोशी, नेपालभाषाका जनकवि दुर्गालाल श्रेष्ठका गीतमा हाइजम्प मार्न थालिसकेका थिए।

यही समय बागिनापछि नागोन (नारायणगोपाल, गोपाल योञ्जन र नगेन्द्र थापा)ले अर्को छलाङ लगाए, मितज्यू नाइट।

मितज्यू नाइट २०२६ भाद्र ५, ६ र ७ गते काठमान्डुको महेन्द्र पुलिस क्लबमा सम्पन्न भएको थियो। यो म्युजिकल स्वाइरीमा नारायण र गोपाल मञ्चमा गायनमा थिए भने नगेन्द्र कार्यक्रम उद्घोषकका रूपमा। सहयोगी कलाकारमा कमला श्रेष्ठ, राजपाल थापा र ध्रुव हाडा पनि समाहित थिए।

मितज्यू नाइटको समीक्षात्मक टिप्पणीमा साहित्यकार पारिजातले नारायणगोपालको धज्जी उडाइन्। गोरखापत्रमा छापिएको सो समीक्षा पढेपछि नारायणगोपाल पनि तत्कालै प्रतिकारमा उत्रिए।

नारायणगोपालले आफूले साहित्यकारसित खुलेआम आफूलाई जोडेको र तोडेको यही वेला हो। २०२६ को यो घटनापछि नारायणगोपाल कैयौँ वर्ष मञ्चमा देखिएनन्। त्यसको दश वर्षपछि उनी सिटी सुसेलीमा सभागृहमा देखिए, जुन कार्यक्रममा हुटिङका कारण गीत नगाई उनी मञ्चबाट ओझेल परेका थिए।

म्युजिक ह्यान्ड एन्ड नारायणगोपाल

नारायणगोपालले आफ्नो गीत रेकर्डिङ गर्दा सदैव देख्ने एउटा समस्या हो, वाद्यवृन्दको। जसलाई उनी म्युजिकल ह्यान्ड्स् भन्थे।

आफ्नो पहिलो निजी अल्बम गीति यात्रा रेकर्ड गर्दा उनले पश्चिम बंगालको दार्जिलिङबाट कार्निभल समूहको वाद्यवादक नेपाल झिकाएका थिए, जसरी संगीतकार अम्बर गुरुङले कहिले लहर कहिले तरंग रेकर्ड गर्दा उतैबाट वाद्यवादक झिकाएका थिए, त्यसमध्ये धेरै अहिले यतै निर्वासित भएसके।

नारायणगोपालको जीवनको पहिलो रेकर्डिङ कोलाकातामा सम्पन्न भयो, त्यहाँ उनले व्यापक म्युजिकल ह्यान्डस् देखे, तर नेपालमा त्यसको अभाव नै महसुस गरे। उनैले पहिलोपटक चलचित्र परिवर्तनको गीत गाउन जाँदा अझै धेरै वाद्यवादक देखे, उनी ताज्जुब भए, त्यस समयदेखि उनले नेपालमा संगीत विद्यालय हुनुपर्छ र वाद्यवादकको समूह खोलिनुपर्छ भनेर सपना देखे।

नारायणगोापाल हिँडेको बाटोमा म्युजिक स्कुल वा म्युजिकल ह्यान्डस्को अर्गनाइजेसन एउटा प्रमुख एजेन्डा थियो, उनले गीत गंगा त्यतिवेला सोचेका थिए, आज बल्ल त्यसको खाका कोरिँदै छ।

गीत रेकर्डिङमा अत्यावश्यक बाजा भ्वायलेन, सैक्सोफोन, क्लार्नेट, सितार, सन्तुर, एकतारे यी सबै वाद्यवृन्दमा हामी कमजोर हुनुहुँदैन भन्ने उनको ठोकुवा सदैव कायम थियो।

वाद्यवादकको अभाव महसुस गर्दागर्दै पनि उनले चलचित्रका गीत मम्बई र कलकत्तामा रेकर्ड गरे। कान्छी, परिवर्तन, मनको बाँध आदि चलचित्रको रेकर्डिङ कलकत्तामा गरे भने सिन्दुर, लाहुरे, चिनो, दक्षिणा, कोसेली आदिको भारतको मुम्बइमा गरे।

पछिल्लो समय गाएका दुई चलचित्र मायाको गीत यहीँ ललितपुरस्थित साँग अडियो स्टुडियोमा रेकर्ड गरियो भने बदलिँदो आकाशको गीत शाही नेपाल चलचित्र संस्थानको स्टुडियोमा ।

श्याम राई निर्देशित फिल्म चोट नामक फिल्मको गीत रेकर्डिङ पनि यहीँ सम्पन्न भयो।

नेपालमा उनी रेकर्डिङमा त्यति धेरै सन्तुष्ट हुन नसक्नुको कारण म्युजिकल ह्यान्डस् नै मानिन्छ। उनका धेरै गीत रेकर्डिङ गर्ने प्रदीप उपाध्याय, सुदन खत्री यही बताउँछन्।

प्रदीप उपाध्यायले माया फिल्मका उनका गीत रेकर्ड मात्र गरेनन्, त्यसलाई मास्टरिङ पनि उनैले गरेका हुन्। नारायणगोपालको पछिल्लो अल्बम गीति यात्राको संयोजन र रेकर्डिङ पनि उपाध्यायले नै गरेका हुन्।

सुदन खत्रीले रेडियो नेपालमा भएका प्रायः रेकर्डिङको टेक उनैले लिएका हुन्।

ब्ल्याकलिस्टदेखि ब्ल्युनोट्ससम्म

सिंहदरबारभित्र कैद भएको रेडियो नेपाल बिस्तारै दुई संगीतकार अनि एक गायिकाको मुठीमा परेपछि नारायणगोपालले रेडियो नेपालले आयोजना गरेको एक सांगीतिक साँझमा खुलेर रेडियो नेपालको विरोध गरे। त्यसपछि उनी रेडियो नेपालको ब्ल्याक लिस्टमा परे, यो उनका निम्ति चुनौतीको भन्दा चयनको नयाँ बाटो बन्न गयो।

रेडियो नेपालसितको दोस्ती दुश्मनीमा बदलिएपछि नारायणगोपालले दिव्य खालिङसितको सहकार्यमा रत्न रेकर्डिङमा चार गीत रेकर्ड गराए, ती प्रायः गीत पछि रेडियो नेपालले नै हिट बनायो।

दिव्य खालिङको ‘सधैँ नै म हाँसे तिमीलाई रुवाई, मायाको आधारमा, विपना नभई बाँचिदिने, म त लाली गुराँस भएछु’ जस्ता गीतले उनलाई भव्य सफलता दियो। यी गीत नारायणगोपालका लागि भन्दा दिव्यका निम्ति एल दराडो (ग्रिक सभ्यताको एक मिथक) साबित भयो।

चेतन कार्कीको फिल्म विश्वासको रिहर्सलताका नारायणगोपालको गोपाल योञ्जनसित ठाकठुक परेपछि बोलचाल र मित्रतामा क्षयीकरण आइसकेको थियो। गोपाल योञ्जनपछिको दोस्रो इनिङ नारायणगोपालको दिव्य खालिङसित सुरु भयो। दिव्यसितै मिलेर पछि नारायणगोपालले रत्न रेकर्डिङको ब्ल्यु नोट्स् विद नारायणगोपाल सुरु गरे।

धेरैले नारायणगोपालको यो अल्बमलाई ब्ल्युजसँग जोडेका छन्, तर यो ब्ल्युज् अर्थात् रोइला गीत भने होइन। ब्ल्यु नोट्समा नारायणगोपालले पुनः हरिभक्त कटुवाललाई भित्र्याए। आसामका ख्यातिप्राप्त कवि कटुवालको दुई रचना नारायणगोपालले अम्बर गुरुङको संगीतमा ‘मेरो यो गीतमा जो मुच्र्छना छ र पोखिएर घामको झुल्का’ गाइसकेका थिए। नारायणगोपालले राजेन्द्र थापाको शब्दमा अम्बर गुरुङको संगीतमा ‘पोहोर साल खुसी फाट्यो’ गाउने तयारी गर्दागर्दै यी दुईको बीच पनि द्वन्द्व सुरु भयो, यो गीत अञ्जु सिंह मोथेले गाउने तयारी भयो। तर, रेकर्डिङको दिनमा यो गीत अरुणा लामाले गाउँदै थिइन्।

रत्न रेकर्डिङ, दिव्य खालिङपछि नारायणगोपालले आगामी पुस्ताका निम्ति ढोका खोले।

दिव्यपछि उनले दीपक जंगम, शुभ–शम्भुजित, चन्दन लम्जेल, भूपेन्द्र रायमाझी, द्वारिकालाल जोशी, रञ्जित गजमेर, मधु क्षेत्री आदिको निम्ति बाटो खोलिदिए। यसमध्ये द्वारिकालाल जोशीको एक नेवारी गीत ‘जीवनय् छक जिँ मतिना’ चैँ रेकर्ड हुन पाएन।

नारायणगोपालको मातृभाषा नेवारी भए पनि उनले नेवारीमा गिरिजाप्रसाद जोशी र दुर्गालाल श्रेष्ठका चार गीत गाएका छन्, जसको प्रामाणिक रेकर्डिङ हुन पाएन।

सांस्कृतिक संस्थानका एक्ला जिएम

एक फरक प्रसंगमा हेर्दा नारायणगोपाल के हुन सक्छन् ? उनको आफ्नै भाषामा भन्दा उनी गायक नभइदिएको भए इतिहासको प्राध्यापक हुन्थे। तर भएनन्। कुश्तीबाजी, चेस अनि फुटबलमा रुचि भएका नारायणगोपाल तबलावादकका रूपमा सांस्कृतिक संस्थान प्रवेश गरेर त्यहीँका हाकिम भए। ‘घ’ श्रेणीको संस्थानमा उनी घमण्डी जिएमका रूपमा चिनिए। तत्कालीन मन्त्री केबी शाहीले गीतकार नगेन्द्र थापालाई सो पद अफर गरेपछि उनले विनासर्त नारान्बाहेक यो पदमा अरु कोही हुन सक्दैन भने।

नारायणगोपाल सांस्कृतिक संस्थानको जिएम हुने बित्तिकै उनका साथीभाइ उनीबाट दूर भए।

उनी संस्थानको जिएम भएकै समय दशैंको मुखमा ४० जना कलाकारको अस्थायी जागिर गयो, त्यसमध्ये उनकै साथी माणिकरत्न पनि परे। हास्यकलाकार हरिवंश आचार्य, श्रीधर थापा, तारादेवी त्यही समयका विरोधी भए।

कलाकार हिमालय लोहनीले यस कदमको विरोध गर्दै पम्पलेटिङसम्म गरे।

यी सबै घटनाका बाबजुद पनि नारायणगोपालले आफू महाप्रबन्धक हुँदा सांस्कृतिक संस्थानबाट गीति नाटक मुनामदन सफलतापूर्वक मञ्चन गरे। निर्देशक हरिप्रसाद रिमालको निर्देशनमा ‘क्रसमा टाँगिएको जिन्दगी’, ‘कुहिरोभित्र अल्मलिँदा’ जस्ता सफल र व्यावसायिक नाटक मञ्चन गरेर आर्थिक लाभ गरे र संस्थानका निम्ति पहिलो गाडी किने।

उनी महाप्रबन्धक हुँदा सांस्कृतिक संस्थान एउटा राद्येभ्यूँ (जमघट गर्ने थलो) थियो, कलाकारहरूको, साहित्यकार, चित्रकारको भेटघाट थलो। नारायणगोपाल महाप्रबन्धक भएको समयमै उनले कवि वासु शशिको नाटक ‘सबथोक गर्नुपर्छ’, ‘अनि देउराली रुन्छ’बाट ख्याति कमाएका मनबहादुर मुखियालाई पुनरागमन गराए, क्रसमा टाँगिएको जिन्दगीमार्फत।

उनकै महाप्रबन्धकत्वकालमा भारतको दार्जिलिङमा चल्दै गरेको भाषा आन्दोलन विषयक नाटक ‘हाँस्दै जल्नुपर्छ’ उनले मञ्चन गरेर आलोचना खाए।

इन्डनोट

पंक्तिकारको नारायणगोपालसित पहिलो भेट पनि सांस्कृतिक संस्थानका महाप्रबन्धकै रूपमा भएको हो। एक कलाकारका रूपमा सांस्कृतिक संस्थानमा अन्तर्वार्ता दिन जाँदा मैले उनलाई शिक्षा संस्कृति मन्त्रालयका सहसचिव रमेशजंग थापा, रंगमञ्च निर्देशक प्रचण्ड मल्लका साथ अन्तर्वार्ताकर्ताका रूपमा भेटेको थिएँ। त्यो भेटपछि गीत–संगीतको चासोका कारण अलिअलि घनिष्ठ र बलिष्ठ हुँदै गयो।

ठमेलको नरसिंह चोकदेखि सानेपाको किरण भवन। अनि कालिमाटीको साल्ट ट्रेडिङ पछाडिको दिव्य खालिङको डेरा हाम्रा प्रमुख भेटघाट स्थल भए।

केही समय हामी त्यौडको गोपालदाइको रेस्त्राँमा पनि भेटियौँ।

केही समय भोटाहिटीको हरिचाको भट्टीमा पनि।

एक दिन स्वयं नारायणगोपाल मेरो घरको पुरानो गल्लीमा प्रकट भए, आफ्ना दुई मित्रका साथ रसियन जिपमा।

उनले एउटा प्रस्ताव लिएर आए, सांस्कृतिक संस्थानले दार्जिलिङबाट कलाकार बोलाएर एउटा सांगीतिक कार्यक्रम गर्दैछ, त्यस कार्यक्रममा दार्जिलिङका कलाकारलाई चिन्ने मान्छेले उद्घोषण गर्नुप-यो। त्यो तिमी नै हौ। चुपचाप म उनको अगाडि उभिएको थिएँ।

जीवनमा पहिलोपटक म उद्घोषकका रूपमा मञ्चमा जाँदै थिएँ, उनका अनुसार। रहरको काम थिएन त्यो। तर बाध्यता मेरा निम्ति एउटा अवसर पनि बन्यो।

२०३९ पुस २७ गते हुने सो कार्यक्रमको नाम थियो– स्मृतिका कोसेली हाम्रा गीतहरू। उद्घोषणमा मेरा साथ पहिलो नेपाली सिने नायिका भुवन चन्द थापा हुनुहुन्थ्यो, हामी दुवै मञ्चमा उत्रियौँ, ब्याक स्टेजबाट। हाम्रा साथमा संगीतकार कर्म योञ्जन, गायिका अरुणा लामा, कुन्ति सुन्दास, रिमला मोक्तान, डेजी बराइली, नन्दा सुब्बा गायकमा पेमा लामा, शंकर गुरुङ आदि थिए। कार्यक्रम निकै दिन चल्यो, करिब नौ दिन।

नारायणगोपालले कुनै दिन गीत गाएनन्, कार्यक्रम सकेको अन्तिम दिन सबै कलाकारको अनुरोधमा उनले एक गीत सुनाए र थन्काए हार्मोनियम। यो मेरा निम्ति यादगार क्षण थियो, दार्जिलिङका कलाकारसित निकट हुने।

कार्यक्रममा जसरी नारायणगोपालले मलाई अप्रत्याशित रूपमा उद्घोषको पगरी लगाइदिए, त्यो अनौठो कुरा थियो मेरा निम्ति। तर, त्योभन्दा अनौठो कुरा मेरा निम्ति अर्को भयो, सो कार्यक्रम सञ्चालन गरेबापत प्रति सो पाँच सय रुपैयाँ दिने निर्णय पनि नारायणगोपालले नै गरेका थिए। त्यतिबेला रेडियो नेपालमा गीत गाएबापत गायकले तीन सय रुपैयाँ पाउँथे। रेडियो नेपालले ‘क’ श्रेणीका कलाकारलाई प्रतिमिनेट बोलेको ५२ रुपैयाँ दिन्थ्यो।

म पर डे फाइभ हन्ड्रेडमा मञ्चमा बोल्दै थिएँ।

पर डे फाइभ हन्ड्रेडको त्यो कार्यक्रमपछि म फेरि नारायणगोपालको पछि कहिले सिर्जना आर्ट ग्यालरी, कहिले न्युरोको सन्देश गृह, कहिले न्युरोडको ब्यांग्लोर कफी हाउस, कहिले भोटाहिटीको हरिचाको पसल हुँदै थिएँ।

यसपछि आयो, २०४४ मा सिलिगुडी र डुवर्समा हुने नारायणगोपालको एकल साँझ, जहाँ म उद्घोषक र उनी गायक हुने कुरा निश्चित थियो, तर कारणवश म भइनँ।

नारायणगोपाल भारतको सिलिगुडीमा एकल साँझ सकेर काठमान्डु आइपुगे, एक असफल कार्यक्रमको रिपोर्ट लिएर।

यसपछि नारायणोपाललाई देशान्तर साप्ताहिकमा शिव अधिकारीले भने– भन्न हुने भए म यिनलाई स्वरसम्राट भनिदिन्थेँ।

यो त्यतिवेलाको समय हो, जुन वेला समीक्षा साप्ताहिकमा मदनमणि दीक्षितको ‘मेरो देश मेरो संसार’ र देशान्तरमा शिव अधिकारीको रचना विधा खुब पढिन्थ्यो।

नातिकाजी श्रेष्ठको संगीतमा योगेश वैद्यले गाएको गीत ‘सपना भुलाई सारा’ गीतमार्फत लोकप्रिय भइसकेका गीतकार शिव अधिकारी नारायणगोपालले एउटा गीत गाइदिन्छ कि भन्ने म्याराथुनमा थिए, तर त्यो कामयाब नहुँदै नारायणगोपालको गीतियात्रा बजारमा आयो। नारायणगोपाल म्युजिक नेपालमार्फत सर्वत्र भए।

म उनकै पछि थिएँ, फेरि आयो, २०४६ जेठ ८ को शनिबार अर्थात् स्वर्णिम सन्ध्या। यसपालि म उद्घोषकका रूपमा होइन, उनले पिउने तीन रंगको पेय पदार्थका साथ उनले गाउने हलको अघिल्लो दीर्घामा थिएँ। हलमा बाँकी ११४१ जनामा मेरा साथ श्रीमती नारायणगोपाल अर्थात् पेमाला भाउज्यू।

नारायणगोपालले ६० हजार रुपैयाँ लिएर बाह्रवटा गीत गाएको कार्यक्रम।

भोलिपल्ट नारायणगोपाल पुनः खालि हल हेर्न आए, रेकर्डिस्ट यादव खरेल र म गफ गर्दै थियौँ, उनी पसे। हिजो जमेको हल आज सुनसान थियो।

नारायणगोपालले खालि हलतिर हेरेर भने यादे हिजो हल भरिएको थियो नि है ?

‘थियो दाइ,’ उनीभन्दा अग्ला यादव बोले।

मलाई अँगालेर नारायणगोपालले भने, ‘कस्तो भयो प्रोग्राम ?’

यादवजी र म चुप थियौँ।

उनले भने, ‘६० हजारमा त्योभन्दा राम्रो के गाउनु होइन यादे ?’

नारायणगोपाल चप्पल मात्र लगाएको खुट्टाले मोटरसाइकल स्टार्ट गरेर गए। त्यो अन्तिम वार्ता थियो।

२०४७ मंसिर २० को दिन यो उनको अन्तिम यात्रा भयो, हामी सबै नारायणगोपालको पछि थियौँ। यसपालि नारायणगोपालको स्वरमा क्यासेट बजिरहेको थिए। म भीडमा सबभन्दा पछाडि थिएँ, झन्झन् पछाडि।

०००
अर्को समाचार
एकाएक भाइरल भयो ‘अफिसर चितुवा’, हेर्न चिडियाखानामा लाग्यो भीड
०८ मंसिर २०८३
•
३ मिनेट पाठ
एकाएक भाइरल भयो ‘अफिसर चितुवा’, हेर्न चिडियाखानामा लाग्यो भीड
चीनको एक चिडियाखानामा रहेको मोटो चितुवा यतिबेला इन्टरनेटमा चर्चित बनेको छ। 

डिज्नीको चर्चित फिल्म ‘जुटोपिया’को गोलो अनुहार भएको चितुवा पात्र अफिसर बेन्जामिन क्लाउहाउजरसँग मिल्दोजुल्दो देखिएपछि यो चितुवा हेर्न मानिसहरूको भीड लाग्न थालेको हो।

दक्षिणपश्चिम चीनको सिचुआन प्रान्तस्थित पान्झिहुआ सहरको चिडियाखानामा रहेको यो चितुवालाई ‘पान बाओबाओ’ नामले चिनिन्छ। मोटो शरीरका कारण सामाजिक सञ्जाल प्रयोगकर्ताले उसलाई ‘अफिसर चितुवा’ उपनाम दिएका छन्।

चितुवा हेर्न चिडियाखाना पुगेका मानिसहरूले उसका तस्बिर र भिडियो सामाजिक सञ्जालमा सेयर गरिरहेका छन्। धेरैले उसको मोटो शरीर देखेर रमाइला टिप्पणी गरेका छन्।

एक आगन्तुकले ‘अफिसर चितुवा अझै पनि तौल घटाउन सफल भएनछ!’ भन्दै ठट्टा गरेका छन्। कतिपयले उसलाई केही समय खाना नदिन सुझाव दिएका छन् भने केहीले उसको शरीर मात्र होइन, शरीरका धब्बासमेत गोलाकार देखिएको भन्दै मजाक गरेका छन्। केहीले त अब उसलाई आफूहरूले सजिलै उछिन्न सक्ने टिप्पणीसमेत गरेका छन्।

तर, चिडियाखानाका कर्मचारीले भने चितुवाको उमेर र स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै उसको तौल घटाउने योजना नरहेको बताउँछन्।

‘ऊ बूढो हुँदै गएको छ। त्यसैले अहिले तौल घटाउनु उचित हुँदैन। उसको अहिलेको अवस्था कायम राख्दै स्वस्थ राख्नु हाम्रो प्राथमिकता हो,’ चिडियाखानाका एक कर्मचारीले जिउपाई न्युजलाई बताएका छन्।

उनले वृद्ध मानिसको छाला खुकुलो हुँदै गएजस्तै चितुवाको शरीरमा पनि उमेरसँगै परिवर्तन आएको बताए। ‘यो अवस्थामा उसले पर्याप्त खाना पाएको सुनिश्चित गर्नुपर्छ। खानाको गुणस्तरमा पनि कुनै सम्झौता गर्न चाहँदैनौँ,’ उनले भने।

कर्मचारीका अनुसार पान बाओबाओले दैनिक आधा किलोभन्दा बढी गाईको मासु खान्छ। सन्तुलित आहारका लागि उसको खानामा कुखुराको मासु पनि समावेश गरिएको छ।

केही समयअघि चितुवाको स्वास्थ्य परीक्षण गरिएको थियो। परीक्षणमा उसको स्वास्थ्य अवस्था राम्रो देखिएको र तौलमा पनि खासै परिवर्तन नभएको कर्मचारीले बताएका छन्।

अहिले उसको तौल नियमित रूपमा नाप्न केही कठिन हुने गरेको छ। तर, तौल स्थिर रहेको र उसको मुड राम्रो रहेको अवस्थामा चिन्ता गर्नुपर्ने अवस्था नरहेको कर्मचारीको भनाइ छ।

इन्टरनेटमा चर्चित बने पनि चितुवाको चिडियाखानाभित्रको दैनिकी भने निकै आरामदायी छ। ऊ खाने, सुत्ने र कहिलेकाहीँ आफ्नो खोरमा यताउता घुमेर शरीर तन्काउने गर्छ।

उसलाई अलि बढी सक्रिय बनाउन खोरभित्र खेल्ने बलसमेत राखिएको छ। ‘उसले खेल्न र केही शारीरिक गतिविधि गर्न सकोस् भनेर खोरभित्र एउटा बल राखेका छौँ,’ एक कर्मचारीले भने।

चितुवाको चर्चा बढेपछि चिडियाखानाले उसको बस्ने ठाउँसमेत विस्तार गरेको छ। छेउको अर्को बासस्थानसँग छुट्याउने बार र तारको जाली हटाएर उसको खोर ठूलो बनाइएको हो।

यससँगै उसको बस्ने क्षेत्रफल ४५ वर्गमिटर पुगेको छ। यो पहिलेको भन्दा दोब्बर हो। चिडियाखानाले गरेको सुधारपछि उसले फराकिलो ‘एक बेडरुमको अपार्टमेन्ट’ जस्तै ठाउँ पाएको जिउपाई न्युजले जनाएको छ।

चितुवाको उमेर र स्वास्थ्य अवस्थाबारे थाहा पाएपछि सामाजिक सञ्जाल प्रयोगकर्ताले पनि उसको तौल घटाउन दबाब दिन नहुने बताए। उनीहरूले बाँकी जीवन आरामसँग बिताउन दिनुपर्ने सुझाव दिएका छन्।

एक प्रयोगकर्ताले ‘ऊ बूढो हुँदै छ, त्यसैले प्रकृतिलाई आफ्नै गतिमा अघि बढ्न दिऔँ!’ भन्दै लेखेका छन्। अन्यले उसको चम्किलो र राम्रोसँग स्याहार गरिएको रौँको प्रशंसा गर्दै ‘मोटो भए पनि निकै जवान देखिन्छ!’ भनेर टिप्पणी गरेका छन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस