सुदूरपश्चिमको पहाडी जिल्ला बैतडीमा अवस्थित पाटन विमानस्थल विकासको ठूलो सम्भावना बोकेको पूर्वाधारका रूपमा निर्माण गरिएको थियो। दुर्गम क्षेत्रमा रहेका नागरिकलाई सहज हवाई पहुँच उपलब्ध गराउने, आकस्मिक स्वास्थ्य सेवामा छिटो सहयोग पुर्याउने तथा प्रदेशलाई राष्ट्रिय मुख्य केन्द्रसँग जोड्ने उद्देश्यसहित यो विमानस्थल निर्माण गरिएको मानिन्छ। तर वर्षौँ बितिसक्दा पनि यसको अपेक्षित उपयोग हुन नसक्दा अहिले स्थानीय समुदायमा गम्भीर प्रश्न उठिरहेका छन्।
विमानस्थल निर्माण कार्य २०५२ सालतिर सुरु भएको तथा २०५३–२०५४ सालतिर परीक्षण उडान थालिएको मानिन्छ । पछिल्ला वर्षहरूमा नेपाल सरकार नागरिक उड्डयन प्राधिकरणले विमानस्थलको स्तरोन्नति, मर्मत तथा कालोपत्रे गर्ने कार्य समेत गरेको छ । कागजमा हेर्दा पूर्वाधार निर्माण र सुधारका कामहरू भएका देखिन्छन्। तर वास्तविकतामा भने विमानस्थलले अपेक्षित रूपमा सेवा दिन सकेको छैन।
स्थानीयहरूका अनुसार लामो समयदेखि नियमित उडान सञ्चालन नहुँदा विमानस्थल प्रायः प्रयोगविहीन छ। कहिलेकाहीँ परीक्षण वा विशेष उडान बाहेक यहाँ नियमित हवाई सेवा उपलब्ध नहुँदा स्थानीय बासिन्दाले यसको प्रत्यक्ष लाभ लिन सकेका छैनन्। विडम्बना के छ भने, अहिले यो स्थान स्थानीय युवाहरूले सामाजिक सञ्जालका लागि भिडियो र फोटो खिच्ने स्थलजस्तै बनेको देखिन्छ।
टिकटक, फेसबुक वा अन्य सामाजिक सञ्जालका सामग्री (कन्टेन्ट) बनाउन प्रयोग गरिने स्थानका रूपमा विमानस्थल परिचित बन्दै गएको स्थानीयको अनुभव छ।
यसले एउटा गम्भीर प्रश्न उठाउँछ: जनताको सहजताका लागि निर्माण गरिएको महत्वपूर्ण पूर्वाधार किन प्रयोगविहीन अवस्थामा छ? करोडौँ रुपैयाँ खर्चेर निर्माण गरिएको संरचना यदि जनताले प्रयोग गर्न नसक्ने अवस्थामा पुग्छ भने त्यसको जिम्मेवारी कसले लिने? स्थानीय तह, प्रदेश सरकार वा संघीय सरकार ? कसले यसको जवाफ दिने?
स्थानीयवासीहरू भन्छन्, ‘सुदूरपश्चिमबाट निर्वाचित प्रतिनिधिहरू केन्द्र तथा प्रदेश सरकारमा पुगेका छन्। तर पाटन विमानस्थललाई व्यवस्थित रूपमा सञ्चालनमा ल्याउने विषयमा उनीहरूले अपेक्षित पहल गर्न सकेको देखिँदैन।’ जनताले प्रतिनिधि बनाएर पठाएका व्यक्तिहरूले जनताकै आवश्यकता सम्बोधन गर्ने विषयमा पर्याप्त ध्यान दिन नसक्दा यस्तो अवस्था सिर्जना भएको आरोप स्थानीयको छ।
सुदूरपश्चिमका पहाडी जिल्लाहरूमा सडक यातायात अझै पनि कठिन र समय खर्चिलो छ। बैतडीका धेरै गाउँहरूबाट मुख्य शहरसम्म पुग्न घण्टौँ मात्र होइन, कहिलेकाहीँ दिनौं लाग्ने अवस्था हुन्छ। यही कारण स्वास्थ्य, शिक्षा र रोजगारीको खोजीमा धेरै युवा गाउँ छाडेर बाहिर बस्न बाध्य भएका छन्। विशेष गरी धनगढी, काठमाडौंलगायतका शहरहरूमा बसाइँ सर्ने प्रवृत्ति उल्लेख्य रूपमा बढेको छ। स्थानीयहरूको अनुमान अनुसार करिब ८० प्रतिशत युवा गाउँ बाहिर बसोबास गरिरहेका छन्। गाउँमा प्रायः ज्येष्ठ नागरिक, बालबालिका र अपांगता भएका व्यक्तिहरू मात्र बस्ने अवस्था बढ्दै गएको छ।
यस्तो अवस्थामा विमानस्थलजस्ता पूर्वाधारको महत्व झन् बढ्छ। यदि नियमित र सुलभ हवाई सेवा सञ्चालन हुन सकेको भए दुर्गम क्षेत्रका नागरिकले आकस्मिक अवस्थामा छिटो स्वास्थ्य सेवा पाउने सम्भावना हुन्थ्यो। गम्भीर बिरामीलाई उपचारका लागि धनगढी, नेपालगञ्ज वा काठमाडौं पुर्याउन सहज हुने थियो। तर अहिले पनि धेरै बिरामीहरूलाई लामो दुरी बोकेर वा कठिन सडक यात्रा गर्दै उपचारका लागि लैजानुपर्ने अवस्था छ। स्थानीयका अनुसार कहिलेकाहीँ यस्तो अवस्थामा बिरामीलाई उपचार केन्द्र पुग्नुअघि नै ज्यान गुमाउनु पर्ने दुःखद घटना समेत हुने गरेका छन्।
यसले विकासको स्वरूपबारे पनि महत्वपूर्ण प्रश्न उठाउँछ। के केवल संरचना निर्माण गर्नु मात्र विकास हो? यदि निर्माण गरिएका पूर्वाधारहरू प्रयोगमै नआउने वा जनताको पहुँचभन्दा बाहिर रहने हो भने त्यसलाई वास्तविक विकास भन्न मिल्छ कि मिल्दैन? विकासका नाममा बनाइएका यस्ता परियोजनाहरूले जनताको जीवन सहज बनाउनु पर्ने हो। तर पर्याप्त पूर्वअध्ययन, सम्भाव्यता विश्लेषण र दीर्घकालीन सञ्चालन योजनाबिना निर्माण गरिएका परियोजनाहरू कहिलेकाहीँ प्रतीकात्मक संरचनामा सीमित हुने खतरा रहन्छ।
पाटन विमानस्थलको अवस्था पनि त्यस्तै प्रतीकात्मक पूर्वाधारको उदाहरण बन्ने जोखिममा देखिन्छ। यदि यसको सञ्चालन, व्यवस्थापन र सेवा विस्तारका विषयमा गम्भीर पहल नगरिएमा यो संरचना केवल कागजमा सफल परियोजना र व्यवहारमा प्रयोगविहीन संरचना बन्न सक्छ।
त्यसैले अब आवश्यक कुरा दोषारोपण मात्र होइन, समाधान खोज्नु हो। स्थानीय तह, प्रदेश सरकार र संघीयसरकारबीच स्पष्ट समन्वय गरी पाटन विमानस्थललाई नियमित हवाई सेवासँग जोड्ने पहल गर्नुपर्छ। हवाई भाडालाई सर्वसाधारणको पहुँचभित्र ल्याउने नीति बनाइनुपर्छ। साथै स्वास्थ्य आपतकालीन सेवा, उद्धार उडान तथा आवश्यक यातायात सेवाका लागि विमानस्थललाई प्रभावकारी रूपमा प्रयोग गर्ने योजना बनाइनु आवश्यक छ।
यदि यस्ता कदम चाल्न सके पाटन विमानस्थल सुदूरपश्चिमका बासिन्दाका लागि आशाको केन्द्र बन्न सक्छ। अन्यथा, करोडौँ रुपैयाँ खर्चेर बनाइएको यो संरचना सामाजिक सञ्जालका भिडियो र तस्वीरहरूमा मात्र सीमित हुने जोखिम कायमै रहनेछ।
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।
प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ। यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।
यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।
प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।
कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।
प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।
राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?
प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।
नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।
व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन। यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।
ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।
पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ। यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्याउन सक्छ।
धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।
भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।
पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्। नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।
प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।
कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले निर्धारण गर्नेछ।
–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...