सुशासनको आधार लोकतान्त्रिक संस्कार
११ असार २०८३
•
५ मिनेट पाठ
सुशासनको आधार लोकतान्त्रिक संस्कार
लोकतन्त्रलाई जनताको शासन व्यवस्था मानिन्छ, जसमा सबै व्यक्ति कानुनअगाडि सम्मानित हुन्छन् भने शक्तिपृथकीकरणको सिद्धान्त, सन्तुलन र नियन्त्रण तथा विधिको शासनको अपरिहार्यता हुन्छ।  लोकतन्त्रमा सबैले सबैको अस्तित्व तथा स्वतन्त्रतालाई सम्मान गर्नुपर्छ, जसले एकअर्काबिच सहयोग एवं समन्वय हुन्छ। एकअर्काको सहयोग एवं समन्वयबाट नै सुशासन स्थापना हुनुका साथै नागरिक स्वतन्त्रता तथा देश विकासको मार्ग प्रशस्त हुन्छ।  बेलायत लोकतन्त्रको जननी मानिन्छ।  लोकतन्त्रको जननी मान्नुको मुख्य कारण हो– नागरिक स्वतन्त्रताका लागि राजा र जनताबिच पटक–पटक संघर्ष भयो, अनेकौं राजाहरूलाई घाँटी छिनाली मारियो भने म्याग्नाकार्टाजस्ता लोकतन्त्रका स्थायी आधारस्तम्भ नै तयार गरिए।  




सन् १२१५ मा पारित भएका म्याग्नाकार्टाका हरेक सिद्धान्त आज विश्वकै लोकतान्त्रिक संविधानका मूल खम्बा छन्।  यसलाई कसैले बाइपास गर्न सक्दैन। लिखित कानुनको सुरुआत बेबिलोनको हम्मुराबी कोड र रोमको बाह्रबुँदे सूचीबाट भए पनि लोकतान्त्रिक विधिको सुरुआत म्याग्नाकार्टा, फ्रान्सेली क्रान्ति र अमेरिकाको बिल अफ राइट्सबाट भएको छ, जुन आधुनिक लोकतन्त्रका आधारस्तम्भ हुन्।  लोकतन्त्रमा नागरिक स्वतन्त्रता एवं विधिको शासनले हरेकलाई सम्मान र पहुँच दिने भएकाले नै होला, विश्व इतिहासबाट राजतन्त्रीय शासनहरूको अन्त हुँदै लोकतान्त्रिक शासनको स्थापना भएको छ।

२००७ सालदेखि नै लोकतन्त्रको अभ्यास गरे पनि लोकतान्त्रिक संस्कार तथा मूल्य–मान्यता बसाउन सकिएन।  सत्ता विपक्षीलाई पेल्ने हतियार बनाइयो।  नागरिकबिच विभाजनको मार्ग बनाइयो।  २०१५ सालको निर्वाचनमा त कांग्रेस मात्र थियो, जसले दुईतिहाइ मत पायो।  त्यो बेलाका प्रतिपक्ष राजा थिए, जसले सैनिक बल प्रयोग गरी निर्वाचित प्रधानमन्त्रीलाई जेल हाली सत्ता हातमा लिए। यो प्रतिशोध नै थियो। फलस्वरूप निरन्तर संघर्ष भयो र २०६५ सालमा लामो इतिहास बोकेको राजतन्त्र नै सखाप भयो। पटक–पटक राजालाई दबाई प्रजातन्त्र स्थापना भयो तर २०५९ मा ज्ञानेन्द्रले निर्वाचित सरकारलाई च्युत गरी प्रधानमन्त्रीलाई जेलमा हालेपछि जनता आजित भएर राजतन्त्र हटायो।  यो राजाहरूको नेताप्रतिको प्रतिशोधपूर्ण व्यवहारको प्रतिफल नै थियो।

२०४६ सालपछि कांग्रेस, एमालेजस्ता दल शक्तिमा आए।  पालोपालो गरी उनीहरूलाई जनताले सत्तामा ल्याए।  उनीहरू सत्तामा आउँदा एउटा दलको कार्यकर्ताले अर्को दलको कार्यकर्तालाई राम्रो व्यवहार गर्नु त परको कुरा थियो, विवाह, व्रतबन्ध तथा क्रियाश्राद्धमा पनि सहभागी भएका थिएनन्। नेताहरू विपक्षीलाई दुस्मनसरह ठान्थे।  जसले सत्ता हातमा आउनेबित्तिकै विकासभन्दा विपक्षी दलका नेता तथा कार्यकर्तालाई विभिन्न आरोप लगाई फसाउने षड्यन्त्र हुन्थ्यो।  सरकारी शक्तिलाई सत्तापक्षको हतियारजस्तो प्रयोग गरिन्थ्यो।  जसमा दलमा आबद्ध नभएका कुनै स्वतन्त्र नागरिकको अस्तित्व नै रहेन। यतिसम्म गरियो कि न्यायालय, अख्तियार, लोकसेवा आयोग, संवैधानिक परिषद्, न्याय परिषद्लगायतका स्वतन्त्र निकायलाई दलीय कार्यकर्ताको भर्ती केन्द्र नै बनाइयो।  हरेक निकायमा आफ्नै कार्यकर्ता भएपछि जे गर्दा पनि केही नहुने मनोविज्ञान पलायो, जसले चारैतर्फ भ्रष्टाचार, नातावाद तथा कुशासन भयो।  नेपो बेबीको अवस्था आयो।  जेनजी आन्दोलन भयो।

अहिले रास्वपामा रहेका र जितेका लगभग ७० प्रतिशत पुराना दलकै नेता तथा समर्थक हुन्।  जुन दलले सिफारिस गरी प्रधान न्यायाधीशसम्मको ओहदामा पुर्‍यायो, त्यही दलको विरोधमा लागेको व्यक्तिबाट जनताले सिक्ने त्यही कुसंस्कार हो।  यस्तै निरन्तरता दिने हो भने परिवर्तन हुन सक्दैन, आन्दोलनको उद्देश्य पूरा हुँदैन।  अबोध विद्यार्थीले आफ्नो ज्यान दिई परिवर्तनका लागि पुराना दलको सत्ता २४ घण्टामै खसाए।  जनताले पनि तिनीहरूलाई पराजित गरी शून्यमा झार्‍यो।  पटक–पटक प्रधानमन्त्री तथा मन्त्री भएकाहरू निर्वाचनमा हारेका मात्र छैनन्, पक्राउ परी प्रहरी हिरासतमा जाँदै छन्, तैपनि उनीहरूमा चेत खुलेको छैन।  असफल भएका नेतृत्वले अद्यापि पद छोड्न मानेका छैनन् भने अद्यापि दलभित्र एकता पनि कायम गर्न सकेका छैनन्।  बलियो सत्तापक्षका अगाडि आफूलाई एकदमै कमजोर तथा निरीह बनाउँदै छन् तर जनताले चाहेअनुसारको परिवर्तन गरी जनसमर्थन लिने पक्षमा छैनन्।  बरु भित्रभित्रै जनतासित नै रुष्ट छन्।  यो लोकतान्त्रिक संस्कार होइन।  राजनीतिमा हारजित निरन्तर प्रक्रिया हो।  यसलाई व्यक्तिगत दुस्मनीसरह बनाउनु हुँदैन।

सक्षम न्यायालयमा पनि आफ्नो अनुकूल नेतृत्व ल्याउने, अख्तियारजस्ता स्वतन्त्र निकायमा दबाब दिएजस्तो देखाउने, मन्त्रालयदेखि हरेक निकायमा एउटा पदाधिकारीको मात्र नियन्त्रण रहेको व्यवहार देखाउने कार्य लोकतान्त्रिक मान्यता होइन।  स्वतन्त्र आयोग तथा न्यायालयहरू त सरकारभन्दा पनि माथि हुन्छन्।  नागरिकको अधिकार सरकारले खोस्न चाह्यो भने त्यसलाई रोक्छन्।  जसले नागरिक स्वतन्त्रता कायम रहिरहन्छ तर अहिले पनि विगतजस्तै हरेक निकायमा सत्ताधारीकै वर्चस्व स्थापित गर्ने व्यवहार देखिएको छ।

सत्ताधारी दलका नेताका जस्तोसुकै कसुरलाई पनि नजरअन्दाज मात्र गरिएको छैन, लागेको कसुरबाट पनि उन्मुक्ति दिने प्रयास भएका छन्।  एउटा व्यक्तिको कारण हजारौं अपराधी जेलबाहिर छन्, जुन ठुलो जोखिम हो तर यसतर्फ कुनै चासो छैन। पुराना फाइल खोलिँदै छन् तर नयाँ घाउका रूपमा रहेका राष्ट्रिय मानव अधिकार आयोग, कार्की आयोग, एम्नेस्टी इन्टरनेसनलको प्रतिवेदनलगायतलाई कार्यान्वयनतर्फ कुनै चासो छैन।  विगतमा दलविहीन मान्छेको कुनै अस्तित्व थिएन, त्यसैगरी अहिले पनि छैन।

सरकारले गठन गर्ने विभिन्न आयोग तथा निकायमा तिनै व्यक्तिलाई जिम्मेवारी दिने गरिएको छ, जो पहिलेदेखि नै दलीय सिफारिसमा पदमा बसी अवकाश पाएका छन्। यस्ता अवस्थाबाट विगतकै अभ्यासको पुनरावृत्ति भएको आभास देखिएकाले यसलाई सच्याउन आवश्यक छ।  जुनसुकै दलमा रहे पनि सबै नागरिक एक हुन् भन्ने सन्देश दिनुपर्छ।  विपक्षी दलका कार्यकर्ता भए पनि सहकार्य गर्ने अवस्था हुनुपर्छ।  सत्ताधारीबाट विपक्षी कार्यकर्ता त्रसित हुने वातावरण हटाउन सक्नुपर्छ। सक्षम तथा योग्य व्यक्तिले कुनै दलमा आबद्ध नभएकैले कुनै पदमा जान नसक्ने मनोविज्ञान हटाउन सक्नुपर्छ।  स्वतन्त्र निकायमा कार्यकर्ताभन्दा सक्षम, स्वतन्त्र, निष्पक्ष तथा योग्य व्यक्तिलाई छनोट गर्नुपर्छ। 
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  




प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
ट्रक र पिकअप ठोक्किँदा एक जनाको मृ’त्यु
समाज
Clock २ मिनेट अघि | १ मिनेट पाठ
ट्रक र पिकअप ठोक्किँदा एक जनाको मृ’त्यु
पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को विनयी त्रिवेणी गाउँपालिका–१ स्थित होङ्सी गेटमा ट्रकको ठक्करबाट पिकअप...
Whatsapp
१३२ केभीको चोभार सबस्टेसन सञ्चालनमा
समाज
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
१३२ केभीको चोभार सबस्टेसन सञ्चालनमा
काठमाडौं उपत्यकाको विद्युत् आपूर्ति प्रणालीलाई थप सुदृढ, भरपर्दो र गुणस्तरीय बनाउन महत्वपूर्ण मानिएको चोभार सबस्टेसन सञ्चालनमा आएको छ।
Whatsapp
पोखराको मेयर बन्ने लक्ष्यसहित राजनीतिमा आए र्‍यापर जेम्सी
राजनीति
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
पोखराको मेयर बन्ने लक्ष्यसहित राजनीतिमा आए र्‍यापर जेम्सी
उनी आइतबार उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) मा प्रवेश गरेका हुन्। पार्टी प्रवेशसँगै उनले आगामी स्थानीय तहको निर्वाचनमा पोखरा महानगर...
Whatsapp
सुकुमबासीको समस्या पेचिलो बन्दै : सरकार भन्छ उठेर जाऊ, सुकुमबासी भन्छन् जाँदैनौँ
समाज
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
सुकुमबासीको समस्या पेचिलो बन्दै : सरकार भन्छ उठेर जाऊ, सुकुमबासी भन्छन् जाँदैनौँ
भक्तपुरको मध्यपुर थिमि नगरपालिका बोडेस्थित होल्डिङ सेन्टरमा आश्रय लिएर बसेका विस्थापित सुकुमबासी परिवार र सरकारबीचको विवाद थप पेचिलो बन्दै गएको छ।
Whatsapp
इरानले अमेरिकी सेनाविरुद्ध स्टारलिंक प्रयोग गरेको खुलासा भएपछि रिसाए एलन मस्क
अन्तर्राष्ट्रिय
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
इरानले अमेरिकी सेनाविरुद्ध स्टारलिंक प्रयोग गरेको खुलासा भएपछि रिसाए एलन मस्क
अमेरिका र इजरायलले इरानमाथि आक्रमण सुरु गरेपछि इरानले अमेरिकी सेनाविरुद्धको सैन्य अभियानमा स्पेसएक्सको स्टारलिंक स्याटेलाइट इन्टरनेट सेवा प्रयोग गरेको...
Whatsapp
नेपाल एक्सेसिबिलिटी समिट भोलिदेखि पोखरामा, १० देशका चार सय बढी सरोकारवाला सहभागी हुने
समाज
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
नेपाल एक्सेसिबिलिटी समिट भोलिदेखि पोखरामा, १० देशका चार सय बढी सरोकारवाला सहभागी हुने
पोखरामा सोमबारदेखि नेपाल एक्सेसिबिलिटी समिट हुने भएको छ।
Whatsapp
ग्लोबल आइएमई प्लाटिनम गल्फ इन्भिटेसनल : अश्माङ्क च्याम्पियन, महिलातर्फ अञ्जिला विजेता
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ग्लोबल आइएमई प्लाटिनम गल्फ इन्भिटेसनल : अश्माङ्क च्याम्पियन, महिलातर्फ अञ्जिला विजेता
गोकर्ण गल्फ क्लबमा आयोजित ‘ग्लोबल आइएमई प्लाटिनम गल्फ इन्भिटेसनल २०२६’ को उपाधि अश्माङ्क कार्कीले जितेका छन्।
Whatsapp
काठमाडौंका स्पा सेन्टरमा प्रहरीको छापा, १३ महिलासहित १४ जना नियन्त्रणमा
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
काठमाडौंका स्पा सेन्टरमा प्रहरीको छापा, १३ महिलासहित १४ जना नियन्त्रणमा
व्यावसायिक तथा सार्वजनिक मर्यादाविपरीत गैरकानुनी गतिविधि हुने गरेको सूचनाका आधारमा प्रहरीले विभिन्न स्थानका स्पा सेन्टरमा चेकजाँच गरेको हो।
Whatsapp
५४ हजार नगदसहित जुवा खालबाट १० जना पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
५४ हजार नगदसहित जुवा खालबाट १० जना पक्राउ
उयदपुर प्रहरीले जुवा (ताल) खालबाट रंगेहात नगदसहित १० जनालाई पक्राउ गरेको छ।
Whatsapp
राप्रपाले आसन्न महाधिवेशनमा इलेक्ट्रोनिक भोटिङ मेसिन प्रयोग गर्ने
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
राप्रपाले आसन्न महाधिवेशनमा इलेक्ट्रोनिक भोटिङ मेसिन प्रयोग गर्ने
राप्रपाले आगामी आठौँ महाधिवेशनमा इलेक्ट्रोनिक भोटिङ मेसिन प्रयोग गरी नेतृत्व चयन गर्ने भएको छ।
Whatsapp
जनादेश प्राप्त सरकारलाई असफल हुने छुट छैन : विश्वप्रकाश शर्मा
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जनादेश प्राप्त सरकारलाई असफल हुने छुट छैन : विश्वप्रकाश शर्मा
नागरिकमा छाएको निराशा चिर्न राजनीतिक दल देश विकासका सवालमा एकमत हुनुपर्नेमा उनले जोड दिए।
Whatsapp
नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय अध्यक्ष पोखरेलद्वारा कांग्रेस लुम्बिनीको महामन्त्रीमा उम्मेदवारी घोषणा
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय अध्यक्ष पोखरेलद्वारा कांग्रेस लुम्बिनीको महामन्त्रीमा उम्मेदवारी घोषणा
नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय अध्यक्ष विपुल पोखरेलले नेपाली कांग्रेस लुम्बिनी प्रदेशको महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस