भ्रष्टाचारको जालोमा देश
२७ वैशाख २०७३
•
१६ मिनेट पाठ
भ्रष्टाचारको जालोमा देश
देशमा भ्रष्टाचार व्यापक बढेको छ। सरकारी अड्डामा सेवा लिनका लागि घूस अपरिहार्य छ। अड्डा–अदालतहरूमा नजरानाबिना कामकाज अघि बढ्दैन भन्ने मानसिकता छ। विकासका लागि छुट्याइएको रकमको झिनो अंशमात्र निर्माण कार्यमा खर्च हुन्छ।विकासे अड्डाका हाकिमहरूको तरक्कीले अधिकांश बजेट दुरूपयोग हुने गरेको छ। एकातिर निःसर्त प्रदान गर्नुपर्ने सेवा र सुविधाका लागि जनताले सरकारी अधिकारीलाई नजराना चढाउनुपर्ने अवस्था छ अर्कातिर नागरिकले तिरेको करबाट सञ्चालित परियोजनाहरू भ्रष्टाचारका कारण चाहिने भन्दा बढी धनराशि खर्च गर्नुपर्ने अवस्थाका कारण मुलुकको विकास पछि घचेँडिएको छ।

साउदी अरब, इरान, कुबेत, युनाइटेड अरब इमिरेट्स, भेनेजुयला संसारका अत्यधिक पेट्रोलियम पदार्थ उत्पादन गर्ने देश हुन्। ती देशमा पुरातनवादी राजतन्त्र तथा तानाशाहले शासन गरेका छन्। संसारकै भ्रष्टको सूचीमा पर्छन् ती मुलुक। शासकहरूले गरेको अनियमितताविरुद्ध त्यहाँ आन्दोलन नभएका होइनन्। तर, शासन व्यवस्था परिवर्तन भएन। जब जनता सडकमा उत्रने अवस्था आउँछ तब शासकले राष्ट्रिय ढुकुटीबाट आफूले हडपेको रकमको केही हिस्सा जनतालाई बाँड्छन्, आन्दोलन केही समयका लागि साम्य हुन्छ। त्यो चक्र चलिरहेको देखिन्छ। उदाहरणका लागि भेनेजुयलाको अवस्था हेरौँ।

भेनेजुयला खनिज तेल उत्पादन गर्ने देशहरूको संगठन ओपेकको संस्थापक सदस्य हो र त्यहाँको अर्थतन्त्र कच्चा तेलले धानेको छ। सन् १९९९मा कम्युनिस्ट पृष्ठभूमि तथा सैनिक अनुभवसमेत भएका ह्युगो चाभेज राष्ट्रपति बने। चरम आर्थिक अनियमिततामा डुबेको देशमा भ्रष्टाचार निर्मूल पार्ने चुनावी घोषणापत्र लिएर भोट मागे उनले। जनताले साथ दिए, चाभेज शासक बने। पूर्ववर्ति शासकभन्दा फरक प्रकृतिले शासन गरे उनले। पूर्वकार्यकारीजस्तो जम्मा भएको राजस्व सबै आफ्नो स्वार्थमा खर्चिने अदूरदर्शी काम गरेनन्। बरु गार्हस्थ्य उत्पादनको एक हिस्सा गरिब जनताका लागि शिक्षा, स्वास्थलगायतका विभिन्न सामाजिक क्षेत्रमा खर्चिए। अघिल्ला शासकले न्यूनतम सेवासमेत नदिएको अवस्थामा चाभेजको शासनकालमा पाएको सामान्य शिक्षा, स्वास्थ्यजस्ता सुविधाले जनता उनीप्रति अनुग्रहित बन्न पुगे। पहिलेका राष्ट्राध्यक्षले राजस्वलाई व्यक्तिगत आम्दानीमा बाँध्ने गरेकोमा चाभेजले त्यसको केही हिस्सामात्र जनहितमा खर्चिंदा पनि उनी उदार शासक कहलिए। उनको लोकप्रियता निकै बढ्यो। जबजब जनतामा केही असन्तुष्टि देखिन खोज्थ्यो उनले आफ्नो भागमा पर्ने राजस्व छलिको रकम जनहितमा खर्चन्थे। राष्ट्रपति बनेदेखि २०१३ मा मृत्युवरण गर्दासम्म पनि चाभेज भेनेजुयलामा उत्तिकै लोकप्रिय थिए। जनताबाटै लुटेको रकमको सानो हिस्सा जनतालाई फर्काउँदा पनि लोकप्रिय बन्न सकिने दृष्टान्त हो 'चाभेज डक्ट्रिन'।

हालै सम्पन्न नेपाली कांग्रेसको अधिवेशनमा खुमबहादुर ठूलो मतान्तरले केन्द्रीय सदस्यमा निर्वाचित भए। भ्रष्टाचारको अभियोगमा जेल सजायँ भोगेका उनी कांग्रेसीहरूमाझ निकै लोकप्रिय हुनुको कारण उनले पदमा रहँदा अनैतिक विधिमार्फत् आर्जेको सम्पत्तिबाट धेरैलाई पाल्नु नै हो। खुमबहादुर र विजय गच्छेदारलाई भेट्न पाए दसँै राम्रो टर्थ्यो भन्ने कांग्रेसी निकै भेटिन्थे ०५३/५४ सालतिर। विगतमा दुःखको बेला आर्थिक सहयोग गर्ने खड्कालाई भोटले मद्दत गरे कार्यकर्ताले महाअधिवेशनमा। केवल जेल परेकै कारणले कार्यकर्ताले खुमबहादुरलाई मतदान गरेका हुन् भने त भ्रष्टाचारकै अभियोगमा झ्यालखान परेका गोविन्दराज जोशी र चिरन्जीवी वाग्लेले पनि चुनाव जित्नुपर्ने थियो। कांग्रेसकै जस्तो अवस्था अन्य दलमा पनि देखियो। पार्टी स्वयंले झन्डै दुई दशकअघि नेपालको सबैभन्दा भ्रष्टको दर्जा दिएको वामदेव गौतम अहिले पनि एमालेमा लोकप्रिय र प्रभावशाली नेताका रूपमा कायम छन्। के वामदेव बौद्धिक क्षमता तथा रणनीतिक कुशलताका कारण प्रभावशाली भएका हुन्? कदापि होइनन्। खुमबहादुरझैँ अनैतिक विधिबाट कमाएको पैसाले कार्यकर्ताको पालनपोषण गर्नुले वामदेवलाई प्रभावशाली बनायो। भ्रष्टाचारको एक हिस्सा मात्रै पनि कार्यकर्ताका निम्ति खर्चिने हो भने लोकप्रिय बनिन्छ भन्ने चाभेज सूत्र नेपालमा पनि राम्रैसँग लागु भएको देखियो।

मनमोहन अधिकारीको सरकारले २०५१ सालमा 'आफ्नो गाउ आफै बनाउँ्क' र प्रत्येक गाविसलाई वार्षिक ३ लाख रुपैयाँ दिने कार्यक्रम ल्यायो। उक्त रकम अहिले बढेर लाखौँ भएको छ। गाउँलाई दिएको बजेटले सकारात्मक काम नभएका होइनन्। तर, उक्त पैसाले गाउँमा भ्रष्टाचार मौलायो। धनुषाको १०३वटा गाविसमध्ये ५१ सालअघि जम्मा ५ गाविस अध्यक्षसँग मात्र व्यक्तिगत मोटरसाइकल भएकोमा आफ्नो गाउँ आफै बनाऊँ कार्यक्रम लागु भएपछि थप ७० अध्यक्षले मोटरसाइकल किने भन्ने खबर निकै चर्चित थियो त्यसबखत। पछिल्लो समय स्थानीय निकाय पदाधिकारीविहीन भएपछि गाउँको लागि विनियोजन भएको रकम दलीय सहमतीमा खर्चिने चलन बस्यो। त्यसकारण अनियमितता भएको पैसाको हिसाब मिलानका लागि समेत सबै दलका अगुवा एकै स्थानमा आउनुपर्ने भयो। नक्कली बिलभर्पाइ स्वीकृत गर्दा रकमको कारोबार त हुने नै भयो। आफ्नो गाउँ आफै बनाऊँ कार्यक्रमले भ्रष्टाचारलाई विकेन्द्रीकरण गर्योर। यसरी गाउँका कार्यकर्ताले स्थानीय विकास रकमबाट अनैतिक पैसा असुल्न थालेपछि काठमाडौँमा भएको भ्रष्टाचारको विरोध स्थानीय तहमा हुने कुरै भएन। सायद, त्यसैले पनि विगतमा झैँ भ्रष्टाचारको एजेन्डा पार्टी अधिवेशनमा प्रवेश हुनै छाड्यो। सबै दलमा भ्रष्टाचार सर्वस्वीकृत बन्न पुग्यो। सिसाको घरमा बस्नेले अर्काको त्यस्तै भवनमा ढुंगा कहाँ हान्छ र? यसरी पार्टीका प्रत्येक तहमा अनियमितताले जरा गाडेपछि त्यसको उजागर गर्ने दायित्व पढेलेखेका नागरिकमा सर्छ। तर, नेपालमा उक्त विधिले गति लिन सकेन। आखिर किन त्यसो भयो त?

कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले सन् १९९६मा केबी गुरुङको अध्यक्षतामा समन्वय विभाग गठन गरे। विधानअनुरूप पार्टीका भ्रातृ तथा शुभेच्छु संस्था र गैरसरकारी निकायबीच समन्वय गर्ने तथा त्यहाँ भए–गरेका कामको प्रगति विवरण केन्द्रीय कार्य समितिमा प्रस्तुत गर्ने कार्यक्षेत्र थियो उक्त विभागको। त्यसवखत अधिकांश एनजीओ एमालेका कार्यकर्ताको कब्जामा थियो। त्यसका अतिरिक्त कम्युनिस्ट समर्थित गैरसरकारी संस्थाहरूले पार्टीको कार्यक्रममा समेत देखिनेगरी लगानी गर्थे। अन्य प्रयोजनका लागि आएको रकम कुनै पार्टी विशेषको निर्देशनमा लगानी गर्नु अनैतिक र गैरन्यायिक हुने ठहर गर्दै समन्वय विभागले एनजीओको सम्बन्धमा अध्ययन गर्ने निष्कर्ष निकाल्यो। र, वरिष्ठ एनजीओकर्मी जगदीश घिमिरेको संयोजकत्वमा अध्ययन समिति गठन गर्योि। अन्य धेरै सुझाबका अतिरिक्त सरकारले समयमै गैरसरकारी संस्थाहरूलाई एकद्वार प्रणालीमार्फत् नियोजन नगर्ने हो भने देशका सबै पढेलेखेका मानिसलाई एनजीओ पद्धतिले भ्रष्ट बनाउँछ भन्ने घिमिरे प्रतिवेदनको निचोड थियो। एनजीओले स्रोत व्यक्ति तथा परामर्शदाताका रूपमा अनियन्त्रित पैसा खर्च गर्न सक्ने भएपछि बौद्धिक जमात यस्ता संस्थाहरूप्रति आकर्षित हुनु अस्वाभाविक भएन।

गैरसरकारी क्षेत्रकै जस्तो अवस्था देखियो शिक्षा क्षेत्रमा। शिक्षालाई सरकारले अनियन्त्रित स्वतन्त्रता दिँदा निजी स्कुल–कलेज नाफामूलक उद्योग बने। अत्यधिक मुनाफा भएपछि अस्वाभाविक लगानी भित्रियो त्यहाँ। अन्यभन्दा फरक प्रस्तुति गर्दै स्थापित बन्न निजी विद्यालयले केवल नामका लागि ख्यातिप्राप्त व्यक्तिलाई मोटो रकम दिएर मानार्थ विद्यालय प्रमुखमा नियुक्त गर्ने प्रचलन बन्यो। मेहनतबिनै रकम हात पर्न थालेपछि गैरसरकारी क्षेत्रमा झैँ शैक्षिक निकायमा सक्रिय व्यक्तिहरूले भ्रष्टाचारको विरुद्धमा बोल्ने नैतिक आधार गुमाए। यसरी पढेलेखेका मानिसले सजिलो विधिबाट रकम असुल्न थालेपछि उनीहरू राष्ट्रियस्तरमा हुने आर्थिक हिनामिनाविरुद्ध बोल्न नसक्ने भए। यस्तो अवस्थामा देशलाई चोख्याउने दायित्व न्यायालयको काँधमा पर्छ नै। अब न्यायालयको अवस्था हेरौँ।

पार्टीको सदस्यता लिएका, भ्रष्टाचारको दलदलमा फसेका तथा पार्टीको सिफारिसमा राजनीतिक नियुक्ति लिएका व्यक्तिहरू न्यायमूर्ति बन्दा समन्याय प्राप्ति त्यसै पनि सरल हुँदैन। त्यसमाथि देशको कानुनले न्यायलयलाई कसरी भ्रष्ट बनाउँदैछ त्यता हेराँै। बदनियतपूर्वक आफ्नो पदीय कर्तव्य पालन गर्ने कार्यबाट विचलित भएकालाई कारबाही गर्ने मुख्य त भ्रष्टाचार निवारण ऐन २०५९ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ ले नै हो। अब, उक्त ऐनले कसरी न्यायमूर्तिलाई सन्देहको घेरामा ल्याउँछ त्यता हेरौँ। उदाहरणका लागि भ्रष्टाचार निवारण ऐन २०५९ दफा ३ को उपदफा १ घ अनुसार १ लाखदेखि ५ लाखसम्म भ्रष्टाचार गर्ने व्यक्तिलाई ६ महिनादेखि डेढ वर्षसम्म कैद सजायँ हुने व्यवस्था छ। उल्लिखित रकम अपचलन गर्ने व्यक्तिलाई कानुनअनुसार ६ महिना जेल हाल्ने कि डेढ वर्ष भन्ने अधिकार न्यायमूर्तिलाई दिएपछि उक्त नियमको दुरुपयोग हुन्छ कि हुँदैन? तसर्थ, समन्यायलाई व्यवहारमा लागु गर्ने हो भने कानुनबाट तजबिजी अधिकार हटाउनु जरुरी छ। दोहोरो व्याख्या गर्न मिल्ने लिखतले सन्देह बढाउँछ। मुलुकी ऐनलगायत कैयौं कानुनमा रहेका यस्ता दर्जनाँै तजबिजी अधिकारले कर्तव्यनिष्ठ न्यायमूर्तिलाई समेत कमसल न्याय सम्पादन गर्न उत्प्रेरित गर्ने भएकाले कानुनी सुधार आवश्यक देखिन्छ।

पशुपति मन्दिरमा भक्तले चढाएको भेटीलाई अपचलन गरी महल खडा गर्ने स्वीकृत मान्यता स्थापित भएको समाजमा भ्रष्टाचारी जेल परुन्, भ्रष्टाचारीलाई कीरा परोस् भन्ने नारावाजीले देशमा सुशासन स्थापित हुन्छ भनेर पत्याउन सकिन्न। त्यसमाथि उक्त अभियानमा कहीँ एनजीओ लगानी त भएको छैन? त्यता पनि ध्यान दिनुपर्ने हुन्छ। संसारभर भ्रष्टाचार व्यापक छ। छिद्ररहित कानुनको निर्माण तथा नियम–कानुनको पालनाबाट मात्र भ्रष्टाचार न्यूनीकरण गर्न सकिने भएकाले स्थानीय तथा केन्द्रीय तहमा हुने आर्थिक अपचलनलाई नियन्त्रण गर्न प्रचलित कानुनमा व्यापक परिमार्जन आवश्यक देखिन्छ। त्यस्तै, 'वाचडग'को रूपमा रहने पेशागत बुद्धिजीवीहरूलाई परिश्रमबिनाको रकम लिने संस्कारबाट विमुख हुने कानुनी व्यवस्थाको प्रत्याभूति गर्न नसक्ने हो भने केवल प्रचारमुखी अभियानले देशमा नजराना न्यून गर्न नसकिने यथार्थ सबैले बुझ्नु जरुरी छ।
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस