नेपाल-भारत शीतयुद्ध किन?
२२ चैत्र २०७२
•
१४ मिनेट पाठ
नेपाल-भारत शीतयुद्ध किन?
राजनीति विचित्रको हुन्छ। यसमा को, कतिखेर, किन शत्रुबाट मित्रु बन्छ र मित्रुबाट शत्रु थाहा पाइन्न। जस्तो अहिले नेपालको प्रमुख शत्रु भनी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई आमनेपालीबीच प्रस्तुत गरिएको छ, राज्यबाट। यी तिनै भारतीय प्रधानमन्त्री हुन जसलाई नेपालका नेताहरूले संसद् भवनमा भव्य स्वागत गरे, उनको प्रवचन सुने र नेपाली जनताले मोदीलाई सडकमा उत्रेर आलिंगन गरे। मोदीक्रेज नै थियो नेपालमा केही समय अगाडिसम्म।अहिले मोदी पहाडी नेपालीका निम्ति शत्रुमा रूपान्तरण भएका छन्। यिनै मोदी भोलि फेरि हाम्रो 'हिरो' नहोलान् भन्न कहाँ सकिन्छ र! हुनु पनि त पर्छ। नेपाल–भारत सम्बन्ध सुमधुर रहनु नेपालको मात्र हितमा होइन भारतको हितमा पनि छ। तसर्थ, जति चाँडो नेपाल भारत सम्बन्धलाई 'नर्मल' बनाउन सकियो त्यति नै दुवै देशलाई फाइदा छ। यी दुई छिमेकीको सम्बन्ध इतिहास, सभ्यता र समान मूल्यपद्धतिबाट निर्देशित छ। फरक धारका र दुई विपरीत सभ्यताका चीन र अमेरिका आपसी हितमा सहकार्य गर्न सक्छन् भने नेपाल र भारतबीच किन हुन सक्तैन? एकपटक चीन र अमेरिकाबीचको आधुनिक सम्बन्ध हेराँै र त्यसबाट सिकौँ।




माओकालीन चीनको लालसेनाले सैनिक अभ्यास गर्दा अमेरिकी राष्ट्रपति रिचर्ड निक्सनको डमीलाई घोच्थे। भुस र पराल कोचिएको बोरालाई लालसेनाहरू अनेक ठाउँमा घोचेर निक्सन र अमेरिकालाई समाप्त गरेको सपनामा रमाउँथे। अमेरिकी साम्राज्यवादविरुद्ध ती नारा पनि लगाउँथे। यसरी तालिम प्राप्त चीनको पिपुल्स लिबरेसन आर्मीको लालसेना हठात तिनै अमेरिकी राष्ट्रपति निक्सनलार्ई साक्षात आफ्नो अगाडि देख्न पुग्छन् एकदिन। सलामी ठोक्न लामबद्ध भएर बस्छन् बेइजिङमा। आफूले सैनिक अभ्यासमा सधैँ बन्दुकको 'नोक'ले घोचीघोची मारेर गर्व गरेको अनुहार साक्षात आफूसामु देख्दा केही क्षणको लागि त ती सैनिकलाई सपना झैँ लाग्यो होला! तर, यहाँबाट सुरु भएको चीन–अमेरिका सम्बन्ध अहिले विश्वशान्ति, सुव्यवस्था र समृद्धिको लागि साझा गृहकार्य गर्न लागिपरेका छन्।

हजारौँ मिल टाढाका अमेरिका र चीन मिल्दा सबैभन्दा बढी फाइदा चिनियाँ गरिब जनतालाई भयो। मानवतामाथि भयो, भैरहेकै छ। करोडौँ गरिब चिनियाँ जनताको जीवनमा खुसियाली आएको छ अहिले। विश्व इतिहासमा चीनको आर्थिक विकासलाई 'आठाँै चमत्कार' भनी मान्छन् इतिहासकारहरू। अनि चीनले प्राप्त गरेको यो अभूतपूर्व आर्थिक उपलब्धिमा अमेरिकाको योगदान सबैभन्दा बढी छ। त्यसैले त चिनियाँ सरकारले आज डेढ खर्ब डलरको निवेश अमेरिकामा गरेको छ। अमेरिकी अर्थतन्त्रलाई आवश्यक पुँजीको प्रवाह गर्न चीनलाई कुनै संकोच छैन।

अब नेपाल–भारतबीचको वर्तमान सम्बन्धलाई हेराँै। भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदी र नेपालका प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीबीच अहिले 'शीतयुद्ध' चलेको देखिन्छ। अझ नेपालले चिनियाँ कार्ड प्रयोग गरेर भारतलाई त्रसित गरेको समाचार अन्तर्राष्ट्रिय छापाहरूमा पनि आइरहेको छ। उता चीन र त्यहाँका प्रबुद्ध जनमतले भारत–नेपाल सम्बन्ध सुधार्नुपर्छ भनी खुला बहस अगाडि बढाएका छन्। चीनले नेपालको आर्थिक विकास भारतसँगको सम्बन्धमा भरपर्छ भनी प्रष्टै भनिरहेको अवस्था छ। अनि चीनको यो सन्देश नेपाल र भारतले समयमै बुझ्ने कि नबुझ्ने?

शीतयुद्ध बर्लिनको पर्खाल ढलेसँगै अर्थात् नेपालमा प्रजातन्त्रको पुनर्स्थापनाको पूर्वसन्ध्यामा झन्डै तीन दशकअगाडि समाप्त भएको थियो। नेपालका युवापुस्ता जो उदार राजनीतिक, आर्थिक र प्राविधिक पद्धतिमा जन्मे र हुर्के तिनलाई शीतयुद्धको परिभाषा पनि थाहा छैन। थाहा पाउन जरुरी पनि छैन। तर, अहिले त्यही प्रकृतिको मानसिक र शारीरिक दुःख झेल्न बाध्य छन्। मोदी आफ्नो नेपाल नीतिलाई अगाडि बढाउन विश्वका राजनीतिक फोरमहरूलाई प्रयोग गर्र्दैछन्। यसैबाट वुझिन्छ भारतको हैकम अब नेपालमा रहेन भनी। उनलाई 'एलायन्स' गर्नुपरेको छ नेपालमा आफ्नो कुरा मनाउन। तसर्थ, ब्रसेल्स घोषणापत्रले नेपाललाई अपमानमात्र गरेको छैन ठूलो सम्मान पनि पाएको सन्दर्भमा बुझ्नुपर्छ। यद्यपि, भारतका प्रधानमन्त्रीले नेपालको संविधान अधुरो र अपूरो छ भनी ब्रसेल्स घोषणपत्रमा राख्न लगाउनु सुहाउने कामचाहिँ होइन। यसमा मोदीको लाचारीमात्र देखिन्छ। नेपाल–भारतबीच विशिष्ट र आफ्नैखालको सम्बन्ध छ भनेपछि किन अन्तर्राष्ट्रिय फोरममा भारतका प्रधानमन्त्रीलाई यो कुरा उठाउनुपरेको हो र आफ्नो कमजोरी विश्वमञ्चमा देखाउनुपरेको हो, बुझिनसक्नु छ!

यता नेपालका प्रधानमन्त्री प्रत्येक दिन भारतबाहेकका देशबाट नेपालमा आपूर्ति बढाउने र जनतालाई राहत दिने सपना बाँड्दैछन। तर, व्यवहारमा त्यस्तो हुन सकेको छैन र तत्काल हुनसक्छ भनी पत्याउने आधार पनि केही देखिँदैनन्। अनि भैरहेको सम्बन्ध किन र कहाँ, कसरी बिग्रियो भनी सच्याउनुको साटो शीतयुद्धको मोर्चा खोल्न लागिपरेको छ नेपाल सरकार। यसबाट तत्कालका लागि राजनीतिक फाइदा त होला, तर देश र जनहित भने हुने छैन। नेपाली जनता अहिले ओली र मोदीको शीतयुद्धको चपेटामा परेका छन्।

यहाँ ओली सरकारमात्रले भारतसँग नेपालको सम्बन्ध बिगारेको भनी आरोप लगाउनु अनुचित हुनेछ। भारत सरकार स्वयं आफ्ना दृश्य–अदृश्य राजनीतिक कार्यसूचीका कारण नेपालसँगको सम्बन्ध बिगार्न हतारो गर्दैछ। त्यसैको ज्वलन्त उदाहरण हो भारतका प्रधानमन्त्री मोदीले बेल्जियमको राजधानी ब्रसेल्सबाट नेपालको गौरवशाली राष्ट्रिय स्वभिमानमा आँच पुर्यातउने विज्ञप्ति जारी गर्नु।

आज पनि विश्वमा सबैभन्दा प्रभावशाली राजनीतिक मुद्दा वा जनआकर्षण राष्ट्रियताको विषयलाई लिएर हुने गरेको छ। खेलकुदको मैदानदेखि युद्धको भूमिमा यो कुरा प्रष्टै देख्न र महसुस गर्न सकिन्छ। भारतीय प्रधानमन्त्रीलाई यो कुरा राम्ररी थाहा हुनुपर्छ। किनकि, उनको चुनावी नारा नै गौरवशाली र स्वाभिमान भारत भन्ने थियो। यही नाराको बलमा उनी भारतको प्रधानमन्त्री हुन पुगेका हुन्। अनि नेपालको गौरवशाली र स्वाभिमानी इतिहास छैन र? पक्कै पनि भारतको भन्दा कम छैन।

नेपालजस्तो गरिब देशका नागरिकसँग सम्मान र पहिचानको खोजी गर्दा राष्ट्रियताबाहेक अरु के नै हुन्छ र! देशको नीति होस् वा विदेशको कूटनीति सबै कामकुरो राष्ट्रियताको नाराबाटै जनतालाई सम्बोधन गर्ने गरिन्छ नेपालजस्तो देशमा। यही मानसिकताको प्रष्ट सम्बोधन नेपालको संविधानमा छ। नेपालको संविधानमा यति धेरै गौरवशाली कुरा लेखिएका छन् कि त्यो पढ्दा नेपाल विश्वको एकमात्र शक्तिसम्पन्न राष्ट्र झैँ बुझिन्छ। तर पनि ब्रसेल्स घोषणामा भारतका प्रधानमन्त्रीले नेपालको संविधान अपुरो छ र यसलाई समयसीमाभित्रै पूरा गर भनी आदेशात्मक फर्मान जारी गरेपछि स्वाधीनता र सार्वभौमसत्ता नेपालको कहाँ छ भन्ने चेतना नेपालीमा जाग्नु अस्वाभाविक होइन। ब्रसेल्समा मोदी फेरि चुके।

नेपालको संविधान अहिले फसेको प्रष्टै बुझिन्छ। यो आन्तरिकरूपमा मधेस आन्दोलनबाट फसेको छ भने बाह्यरूपमा भारतको समर्थन नपाएर फसेको छ। यी दुवै समस्या एउटै हो कि फरकफरक? नेपाली जनतालाई थाहा छैन। यी दुई समस्याको गाँठो फुकाए पनि संविधानको कार्यान्वयनमा आउने जटिलताहरूले यो संविधान प्रत्येक दिन फस्नेछ र यसलाई फुकाउन सहज पनि देखिँदैन। अर्थात् नेपालीका लागि शान्ति र समृद्धि अझै टाढाको विषय बनेको देखिन्छ।

नेपालका राजनीतिक दलहरूको अहिलेको सबैभन्दा प्रमुख कार्यभार भनेको मधेसी मोर्चालाई मूलधारमा ल्याउन सार्थक पहल गर्नु हो र भारतसँगको सम्बन्धलाई नर्मल गराउनु हो। दलहरूबीच संविधान संशोधन र असन्तुष्टलाई सम्बोधन गर्ने हतारो हुनुपर्छ। तर, यही विषयमा अहिलेसम्म कुनै छलफल भएको देखिँदैन। सत्तासीन कम्युनिस्ट दक्षिणपन्थी पार्टीहरूबीच टुटफुट र गुटको राजनीतिले राष्ट्रिय मुद्दा ओझेल परेको छ भने विपक्षी कांग्रेस पार्टीले आन्तरिक लोकतान्त्रिक अभ्यासबाटै फुर्सद् पाएको छैन।

नेपालको संविधानलाई भारत पञ्चायती व्यवस्थामा तत्कालीन राजा वीरेन्द्रले अगाडि सारेको 'शान्तिक्षेत्र'को प्रस्ताव झँै तुहाउन लागिपरेको हो कि भनी शंका उठ्ने गर्छ। यो संविधान नेपाली जनताले लोकतान्त्रिक पद्धतिबाट निर्माण गरेको हो। शान्तिक्षेत्रको प्रस्ताव निरंकुश राजतन्त्रले लोकतन्त्रविरुद्ध अगाडि सारेको प्रस्तावजस्तो यो संविधान पक्कै होइन। तसर्थ, भारतीय पक्षले नेपालको लोकतान्त्रिक संविधानलाई फराकिलो बनाउन दबाब दिने शैलीमा परिवर्तन गर्न सिक्नुपर्छ। अनि संविधान संशोधन गर्ने मुद्दालाई नागरिकको सास्ती बढाउने माध्यम किमार्थ बनाउन सुहाउँदैन। त्यस्तै, नेपाल–भारतबीच विकासका काम सबै लथालिंग गरी भारतविरोधी भावना नेपालमा नउठोस् भनी सचेत र सतर्क हुनपर्ने दायित्व पनि भारतकै हो।

अन्त्यमा, चीनको संविधान अमेरिकालाई पक्कै मनपरेको छैन। अनि अमेरिकाको संविधान पनि चीनले कहाँ मन पराएको होला र! तर, आर्थिक विकासका मुद्दाहरूमात्र नभएर यी दुई देशबीच विश्वको शान्ति र समृद्धिको लागि पनि सहकार्य हुँदैछ। काठमाडौँमा केही बुद्धिजीवी अझै पनि शीतयुद्धको चस्माले चीनलाई घेर्न भारत–अमेरिकाबीचको कन्सपेरेसी सिद्धान्तको मलजल गर्दैछन्। यस्तै अदृश्य सिद्धान्तहरूलाई समातेर नेपालीलाई गरिब र अभावमा बाँच्न बाध्य पारियो दशकौँदेखि। अब त नयाँ ढंगले सोचौँ।
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  




प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस