विज्ञप्तियुद्धको परिणाम
२१ चैत्र २०७२
•
१३ मिनेट पाठ
विज्ञप्तियुद्धको परिणाम
गतसाता समाचार बजार दुईटा कुराले तात्यो। एउटा, प्रधानमन्त्रीको चीन भ्रमण र अर्को भारत–ईयु (युरोपियन युनियन)को संयुक्त वक्तव्य– जसमा नेपाल पनि कतैबाट एउटा पात्र बन्न पुग्यो।भारत भ्रमणलगत्तै चीन जानुलाई सामान्यरूपमा हेर्दा नियमित छिमेकी राष्ट्रको भ्रमण मान्न सकिन्छ। भ्रमणक्रममा जेजस्ता सम्झौता भए तिनले न त नेपालीको जीवनस्तर उकास्न खासै मद्दत गर्छन् न त अरु कुनै देशविरुद्ध नै ती सम्झौता लक्षित थिए। अलिकति पनि कूटनीति, राजनीति र अर्थनीति बुझ्ने मानिसलाई थाहा हुन्छ, ओली चीन गए र बिरालो बाँधेर श्राद्ध गरी आए। जति सफल भारत भ्रमण उनको थियो, चीन पनि त्यस्तै हो।




यहीबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ब्रसेल्स भ्रमणको क्रममा ईयु र भारतले संयुक्त विज्ञप्ति निकाले, नेपाल पनि विज्ञप्तिको अंश बन्न पुग्यो। भारत र ईयुको मिलन नेपालीका लागि कुण्डलीमा मंगल र शनिको जस्तो हुन पुग्यो। एउटा आफैमा आगो र अर्कोको दृष्टिमात्रै पनि नास गर्न पर्याप्त हुने! ईयु नेपालप्रति नकारात्मक हुन थालेको धेरै भइसक्यो। नेपालको आर्थिक र राजनीतिक विकासमा बाधक तिनले विगतमा पनि पटकपटक नेपालले लिन खोजेको अग्रगामी छलाङमा छेकबार लगाएकै हुन्। धेरै बुझिएको र सुनिएको अर्थमा धर्मपरिवर्तन र राजनीतिक अस्थिरता उनीहरूको एकमात्र उद्देश्य देखिन्छ। उनीहरू किन नेपालप्रति यति धेरै नकारात्मक छन्, त्यो बुझ्ने प्रयास हामीले कहिल्यै गरेनौँ। उनीहरूका क्रियाकलापलाई संवेदनशील भएर हेर्ने प्रयास नै भएन। नेपाली राजनीतिका केही नेता त्योबेला झस्के, जब केही युरोपेली देशका राजदूत नेपाललाई धर्मनिरपेक्ष बनाउन खुलेरै लागे। त्यतिमात्र नभई देश विखण्डन गर्ने भाषण दिँदै हिँड्नेसँगको उनीहरूको हिमचिम अब टाउको दुखाइको विषय भइसकेको छ।

सबैलाई थाहा छ, भारतीय प्रधानमन्त्री मोदी नेपालसँग खुसी छैनन्। प्रधानमन्त्री बन्नेबित्तिकै आफ्नो दोस्रो विदेश भ्रमणमा नेपाललाई छानेका उनी किन नेपाल र नेपालीसँग खुसी छैनन् यो कुरा कसैलाई थाहा छैन। कोही पानी र जवानीको कुरा भन्छन् र कोही मधेसी मुद्दा र नयाँ संविधान। कोही यो बेखुसी हिन्दुधर्मसँग जोडिएको देख्छन् त कोही चीनसँग नेपालको मित्रता उनलाई नपचेको मान्छन्। कोही कालापानीको कुरा यहाँका कम्युनिस्टले उठाएको उनलाई मन नपरेको देख्छन् भने कोही नेपालमा बढ्दै गएको भारतविरोधी भावना। यथार्थ कसैलाई थाहा छैन। भेटेका विभिन्न भारतीय अधिकारी पनि फरकफरक तर्क दिन्छन्। विषय जे भए पनि रिस पोख्ने माध्यम भने मोदीले बनाए नेपालको संविधानलाई। किनकि, यहाँको अस्थिरतामा सबैभन्दा सजिलोसँग खेलाउन उनलाई सघाउने मधेसी दलका नेताहरू थिए, तिनैले आफ्नो धर्म पूरापूर निर्वाह गर्दै आएका छन्। परिणाम नाकाबन्दी, नेपालीको जीवनस्तर ५० वर्षपछाडि धकेल्ने काम र धम्की। जबसम्म भारतले चाहेको स्वार्थ पूरा हुन्न तबसम्म हाम्रो नियति यही हो।

संविधानका सानातिना विषयलाई लिएर भूकम्पले आक्रान्त गरिब छिमेकीलाई अमानवीय नाकाबन्दी लगाउन सक्ने भारत सरकार र वर्तमान भारतको नोकरशाही संरचनाबाट अबका केही वर्ष कुनै सकारात्मक अपेक्षा नेपालले नगरे हुन्छ। भारतमा जुनसुकै सरकार आओस् र नेपालमा कुनै पनि व्यक्ति वा पार्टीको नेतृत्वमा सरकार बनोस्, अब हामीले उताबाट पाउने व्यवहार यही हो। परम्परागत, सांस्कृतिक, रोटीबेटी भन्ने कुरा अब हाम्रा सन्ततिलाई किताबमा पढाउने विषयमा मात्र सीमित हुन सक्छन्, व्यवहारमा हैन। यो कुरा सबै नेपालीले बुझ्नु जरुरी छ। मोदी सरकार रहुन्जेल त नेपालीले भारतबाट कुनै राम्रा कुराको अपेक्षा गर्नु नै बेकार छ। किनकि, मोदी सरल राजनीतिज्ञ हैनन् र उनको नेपालप्रति कुनै सकारात्मक दृष्टिकोण पनि छैन। उनी आफूलाई मन नपरेको विषय र व्यक्तिप्रति कसरी प्रस्तुत हुन्छन् भन्ने कुरा उनकै देशभित्र उनले देखाएका व्यवहारबाट बुझ्न सकिन्छ। यति बुझिसकेपछि अब त्यो वक्तव्य किन र कसरी आयो भन्ने अनुमान लगाउन गाह्रो नपर्ला। र, अबका दिनमा पनि जतिजति मोदीको परराष्ट्र नीति दक्षिण एसियामा असफल हुँदै जान्छ, नेपालजस्ता अरु गरिब र साना देशप्रति लक्षित उनका थप विज्ञप्तिहरू आउने छन्। सबैलाई थाहा छ, यस्ता विज्ञप्ति निकाल्ने भारत र उसलाई साथ दिने धनी राष्ट्रहरू गलत छन्। तर पनि उनीहरू यो कदमको विरोध गर्दैनन्, किनकि ती देशको स्वार्थ नेपालसँग भन्दा भारत र इयुसँग बढी छ। उनीहरू तिनलाई चिढाउन चाहँदैनन्।

एक रोपनी जग्गामा बनेको र सम्पन्न परिवारमा बस्ने मान्छेले छेवैको तीन आनामा बनेको टिनको घरमा बस्ने छिमेकीलाई कस्तो व्यवहार गर्ला? तीन आनामा बनेको घरका मानिसको आवतजावत त्यही ठूलो मान्छेको घरको बाटोबाट हुने गर्दा हरेक दिन उसले आँखा तर्नु स्वाभाविकै हो। गरिब छिमेकीको घरको हरेक दिनको कलह र चाकडी गर्न कोही न कोही ठूलै घरमा जाने, खाने र उसले तिमीहरूको समस्या मिलाइदिन्छु भनेपछि मख्ख परेर आउने बानी लागेपछि उसले के गर्ला? नेपालका राजनीतिक दलका नेताहरूले दुई दशक यही काम गरे, जसको परिणाम अहिले सम्पूर्ण नेपाली भोग्दैछन्। न त हामी छिमेकी परिवर्तन गर्न सक्छौँ न हाम्रो व्यवहार परिवर्तन गर्न नै हामी तयार छौँ! बाह्रबुँदेदेखि हरेक पटक सरकार परिवर्तन गर्दा साक्षी राखेका छिमेकीले त्यत्तिकै छाड्ने छाँट अहिले देखिन्न।

यस्तो लाग्छ, नेपाल–भारतबीचको सम्बन्ध दयाको सम्बन्ध हो र यसमा बराबरीपन कहीँकतै छैन। यो तबसम्म यस्तै चल्छ, जबसम्म हामी पूर्णरूपमा आफूमा एक हुन सक्दैनाँै। अनि हामी तबसम्म एक हुन सक्दैनाँै, जबसम्म हामी साम्यवादी ढुकढुकीको एउटामात्र पनि सास लिन्छौँ। स्वतन्त्र, सार्वभौम मुलुक भन्नेजस्ता कुरा अब किताबमा पढ्नेमात्र हो। हामी कति स्वतन्त्र छौँ भन्ने कुरा भूकम्प, नाकाबन्दीको बेलामा मात्र नभई अहिले सहर गल्लीमा अत्यावश्यक वस्तु किन्न लाइनमा बसेका नेपालीलाई सोधे हुन्छ। अबको नेपाल–भारत सम्बन्ध भारतको इच्छाअनुसार चल्छ, नेपालको इच्छाअनुसार हैन भन्ने कुरा नेपाललाई बुझाउनु संयुक्त विज्ञप्तिको अर्को पाटो हो।

एकातिर चुनावमा एकएक भोटका लागि भारतविरोधी भावना देशका युवामा फैलाउने अनि चुनाव जितेको भोलिपल्टै मन्त्री बन्न लैनचौर छिर्ने प्रवृत्तिको उपज हो त्यो विज्ञप्ति। विज्ञप्तिले प्रजातान्त्रिक पद्धतिमा विश्वास राख्ने हरेक नेपालीको मन दुःखेको छ, तर मुखमा लोकतन्त्रको मन्त्र जप्दै खल्तीमा रातो किताब राखेर हिँड्नेलाई यसले भाषण गर्ने विषयमात्रै दिने हो, देशलाई हरेक दिन अझ कमजोर बनाउन। न त नेपालका कम्युनिस्ट शासक यसबाट कुनै शिक्षा लिन तयार छन् न त विपक्षीसँग बसेर यस्ता विषयमा एकमत बनाउनै! जबसम्म देशका प्रमुख दलहरू र बुद्धिजीवी तप्काको ठूलो समूह यस्ता विषयमा एकमत हुन सक्दैन तब भारतले गरेको कदम जहिले पनि विश्वसमुदायको आँखामा स्वीकृत हुन्छ।

यता नेपाल सरकार भने देखाउनको लागि विज्ञप्ति युद्ध गर्दैछ, जुन सरासर प्रत्युत्पादक हुन्छ। के यस्तै हुन्छ कुशल कूटनीति? यही हो आधुनिक राजनीति? हिजो देशभित्रका सबैजसो बुद्धिजीवीले भ्रमणको असफलताको चर्चा गर्दा ओलीवृत्तबाट आएको अपार सफलताको रागमा भारतले शब्द भरेको मात्रै हो यो विज्ञप्ति भनेर अब सबैले बुझेको हुनुपर्छ। अब सरकारले निकाल्ने विज्ञप्ति भनेको नांगो मान्छेले हातले लाज छोपेको जस्तोमात्रै हो। यसको समाधान बन्द कोठाभित्र कूटनीतिकरूपमा खोजिनुपर्छ। यसका निम्ति ओली सरकार हिजो पनि तयार थिएन र भोलि पनि तयार हुने छाँट छैन।

भारतले यतिवटा अन्तर्राष्ट्रिय कानुन मिच्यो भनेर राग अलाप्नुभन्दा कानुन मिचिँदाको उपचार खोज्नु उत्तम हुन्छ। त्यता लाग्न सरकारलाई केले रोक्यो? हरेक पटक छिमेकीले प्रहार गर्दै जाने अनि हामी एउटा भाषण वा विज्ञप्ति निकालेर चुप बस्ने हो भने तिनको हौसला बढ्दै जान्छ। नेपालीलाई तर्साउन, झस्काउन र नेपालका कम्युनिस्टलाई विगत देखाउन भारत सरकार र मोदीले नियमितरूपमा यस्ता विज्ञप्ति निकाल्छन्। यो हाम्रो आफ्नै कर्मका कारण उत्पन्न नियति हो। आफ्नो कर्मको फल हात पर्दा चिच्याउनुको कुनै अर्थ छैन। भोलिका दिनमा यस्तो नहोस् भनेर चाहने हो भने सरकारले देशभित्र खुल्ला बहस चलाउनुपर्छ। सबैको कुरा सुन्न सक्नुपर्छ। हिजोलाई परिवर्तन गर्न नसके पनि भोलिलाई राम्रो बनाउन हिजोबाट शिक्षा लिन त सकिन्छ!
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  




प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस