के गर्लान् देउवा?
२० चैत्र २०७२
•
१३ मिनेट पाठ
के गर्लान् देउवा?
१३औँ महाधिवेशनपछि नयाँ नेतृत्वका साथ उपस्थित नेपाली कांग्रेसले आफ्नो संसदीय दलको नेता छान्दैछ। नेता छान्ने सन्दर्भमा देखिएका प्राविधिक तयारी र नेता को हुने भन्ने विषयमा भइरहेको आन्तरिक छलफल हेर्दा संसदीय दलको निर्वाचन कांग्रेस नेतृत्वले चाहेर होइन, बाध्यतामा परेर गर्दैछ भन्ने लाग्छ। संवैधानिक परिषद्मा प्रमुख प्रतिपक्ष दलको नेता पनि सदस्य हुने गर्छन्।कांग्रेस संसदीय दलको नेता नचुनिँदा परिषद्ले पूर्णता पाउन सकेको छैन र न्यायाधीश, प्रधानन्यायाधीश नियुक्तिमा समेत ढिलाइ हुने हो कि झैँ भैरहेको छ। यही बाध्यताका बीच कांग्रेसको संसदीय दलको नेतृत्व चुनिँदै छ। अहिले यसका लागि अन्तिम तयारी भैरहेको छ।




शेरबहादुर देउवा सभापतिमा निर्वाचित भैसकेपछि पार्टीलाई मिलाएर लैजाने प्रतिक्रिया दिए। यस्तो प्रतिक्रिया आफैमा 'रेडिमेड' हो। तर, पार्टी नेतृत्वमा पराजित पौडल पक्षले यो प्रतिक्रियाभित्र 'जीवन्तता' खोज्ने प्रयास गर्योर। साँच्चिकै अब मिलेर जाऔँ न त भन्ने भावनाका साथ हात मिलाउन खोज्यो। देउवा पक्ष भने खल्तीमा हात हालेर 'स्केप' हुन खोजिरहेका छन्। नेपाली कांग्रेस सामूहिक नेतृत्वमा मात्र अगाडि बढ्न सक्ने अवस्थामा छ। पार्टीमा अब संस्थापक नेताहरूमात्र हैन, ०१७ सालको 'कु' अघि राजनीतिमा सक्रिय भएकाहरू केन्द्रीय नेतृत्वमा छैनन्। पुनः त्यो पुस्ताबाट नेतृत्व आउने सम्भावना पनि छैन। पञ्चायतबिरोधी राजनीतिबाट खारिएर आएकाहरूबाट नै अब कांग्रेस सञ्चालन हुने हो। त्यसकारण पुस्ताका दृष्टिबाट पनि कांग्रेस अब एक जनामात्रैले नेतृत्व गरेर अघि बढ्न सक्ने अवस्थामा छैन। कांग्रेससँगको अर्को बाध्यता भनेको पार्टीभित्र अहिले कुनै चमत्कारिक क्षमता प्रदर्शन गर्दै सिंगो देशको नेतृत्व गर्ने नेताको अभाव छ। त्यसकारण सबै मिलेर पार्टी चलाउनुको विकल्प छैन। यो बाध्यात्मक अवस्थाले गर्दा पार्टीको संस्थापनलाई अतिरिक्त सुविधा प्राप्त हुने देखिँदैन भने पौडेलपक्षले त्यसको लाभ लिन सक्ने परिस्थिति उपस्थित छ। पार्टीसामु उपस्थित सामूहिक नेतृत्वका आधारमा पार्टी चलाउनुपर्छ भन्ने बाध्यात्मक पक्षलाई इमानदारीका साथ नयाँ संस्थापन पक्षले ग्रहण गर्छ कि गर्दैन भन्ने सवाल अहिले प्रमुख प्रतीक्षाको विषय बनेको छ। यो सवाललाई दुवै पक्षले कसरी ग्रहण गर्छन् भन्ने कुरामा नै कांग्रेस कसरी सञ्चालित हुन्छ भन्ने कुरा निर्भर गर्नेछ।

नेतृत्वलाई एउटा सुविधा के रहने गरेको छ भने, उसले पार्टीभित्र कुनै ठूलो वैचारिक लडाइँको सामना गर्नुपर्दैन। लोकतान्त्रिक समाजवादको दर्शनमा टेकेर समाजको अध्ययन गर्ने र त्यसका आधारमा समाजका तत्कालीन आवश्यकताहरू पहिचान गर्दै तिनलाई सम्बोधन गर्ने रणनीति निर्माण नै कांग्रेसको नीति तथा कार्यक्रमको विशेषता हो। यो कुरामा कांग्रेस आफू स्पष्ट छ। त्यसकारण वैचारिक विभाजनको महाभारत कांग्रेससामु अझै केही समय उपस्थित नहुने अवस्था देखिन्छ। नीतिगतरूपमा लडाइँ वा दुई धार नभएको पार्टीको गुटलाई व्यवस्थापन गर्न गाह्रो वा असम्भव हुँदैन। पार्टी विभाजनको खतरा सितिमिति रहँदैन। त्यसो त कांग्रेस एक पटक विभाजित भैसकेको छ, तसर्थ विभाजनलाई असम्भव नै भन्न नसकिएला। तर, नीतिगत वा वैचारिक विभाजनको खतरा नहँुदा नेतृत्वलाई एकखाले तनाव भने हँुदैन।

यो अवस्थामा कांग्रेसमा गर्नुपर्ने कुरा भनेकै आन्तरिक व्यवस्थापन हो। यो रोग कांग्रेसमा स्थापनाकालदेखि नै रहँदै आएको हो। त्यसो त, आन्तरिक व्यवस्थापनको समस्या सबै लोकतान्त्रिक चरित्रका दलहरूमा रहने गर्छ। कांग्रेसको इतिहासले भन्छ, बीपी कोइराला त्यो दलको आजीवन सभापति हुन सक्थे। तर, भएनन्। भएनन्मात्र हैन, आफू नेपालमै रहँदा पनि कार्यवाहक सभापतिका रूपमा कृष्णप्रसाद भट्टराईलाई जिम्मेवारी दिएर पार्टीको आन्तरिक व्यवस्थापनमा लागिरहे। गणेशमान सिंह पार्टीको सभापतिमा एक पटक पराजित भए पनि उनले त्यसलाई प्रतिष्ठाको विषय बनाएर प्रस्तुत भएको भए सभापति भइरहन असम्भव थिएन। तर, उनले त्यो चाहना राखेनन्। किनभने, पार्टीको आन्तरिक व्यवस्थापनको समस्या उनले बुझेका थिए। बीपी, गणेशमानजस्ता किंवदन्तीका राजाका भन्दा कम क्षमता नभएका नेताहरूले आन्तरिक व्यवस्थापनका लागि निकै ठूला कुर्वानी गर्नुपरेको पार्टीमा समकालीन नेताहरूले पनि यसका लागि पसिना काड्नुपर्ने निश्चित छ।

अहिले कांग्रेसमा एक पद एक व्यक्तिको कुरा उठेको छ। यो कुरा यस पार्टीको जीवनमा नयाँ भने होइन। कहिले सानो स्वरमा र कहिले ठूलो स्वरमा उठ्दै गरेको छ यो कुरा। खासगरी सरकार र पार्टीको जिम्मेवारी कसरी बाँडफाँट गर्ने समयमा यो सवाल उठ्ने गरेको छ। बीपी र मातृकाबीचको लडाइँ पनि यही सवाललाई व्यवस्थापन गर्न नसकेर भएको थियो। ०४८ पछिको संसद्मा कांग्रेसभित्र ३६ र ७४ लडाइँ पनि यही व्यवस्थापनमा देखिएको समस्याको उपज हो। बीपीले कुनैबेला सरकार र पार्टीका सम्बन्धका बारेमा लेख नै लेखेका थिए। पार्टीभित्रको व्यवस्थापनको समस्या पेचिलो बन्दै गएको समयमा उनले त्यो लेख लेखेका थिए। मतभेद राख्नेहरूलाई किनारा लगाएर होइन, सहमतिमा ल्याएर पार्टी चलाउनुपर्छ, यसो गर्दा पार्टीभित्रबाट सरकारले साथ पाउँछ र पार्टीले बोकेको लक्ष्यअनुरूप काम गर्न सकिन्छ भन्ने सार नै बीपीले त्यो लेखमार्फत् सार्वजनिक गरेका थिए। अहिलेको अवस्था पनि त्यस्तैखालको हो। हिजो पार्टीभित्रको संस्थापनलाई असहयोग गरेका, भागबण्डाका आधारमा आफ्नो अस्तित्व खोज्ने गरेका र एक व्यक्ति एक पदको कुरालाई सतहमा ल्याएका देउवा नै सभापति भएर पार्टीलाई चलाउँदै गर्दा हिजो उनैले उठाएका एजेन्डालाई स्वीकार गर्लान् कि नगर्लान् भन्ने सवाल अहिले थप पेचिलो बनेर उपस्थित भएको छ। भागबण्डाको कुरा निकै आलोच्य बन्न पुगेको छ। देउवालाई अप्ठ्यारो पार्ने नाममा भागबण्डाको कुरा उठाइयो भने त्यो पौडेलपक्षको सबैभन्दा ठूलो भूल र आत्मघाती कदम हुनेछ। त्यस्तै, जुँगाको लडाइँका आधारमा पार्टीलाई 'फङ्सन'मा जानबाट रोक्ने देउवाशैली पनि पौडेलले अनुसरण गर्नु हुँदैन/गर्ने छैनन्। अब देउवाले सतहमा ल्याएको एक व्यक्ति एक पदको सिद्धान्तको कार्यान्वयन उनै देउवाबाट गरी पार्टीलाई एकताबद्ध बनाउने जिम्मेवारी उनी स्वयंको काँधमा आएको छ।

सभापतिमा निर्वाचित भएलगत्तै देउवाले दिएको 'रेडिमेड' प्रतिक्रियाभित्र जीवन्तता खोज्दैछ पौडेल पक्ष। उसलाई विश्वास छ कि, सामूहिक नेतृत्वको आधारमा मात्र पार्टी अगाडि बढ्छ भन्ने कुरा देउवाले प्रष्टरूपमा बुझेका छन्। त्यही विश्वासका साथ सभापतिमा पराजित वरिष्ठ नेता रामचन्द्रले एकताका लागि हात अगाडि बढाएका छन्। पद हस्तान्तरण समारोहमा पौडेलले व्यक्त गरेको विचार र 'बडी–ल्यांग्वेज'ले एकताको वातावरण निर्माणमा पराजित पक्ष उदार रहेको भान सबै कार्यकर्तालाई भएको हो। आफ्नै घरमा चियापनको आयोजना गरेर निर्वाचित नेतृत्वलाई बधाई दिने पौडेलको निर्णयले सामूहिक निर्णयका आधारमा पार्टी अगाडि बढ्ने विश्वासलाई अझ मलजल गरेको छ। संसदीय दलको नेताको निर्वाचनका विषयमा कुरा गर्न सभापति देउवालाई घरमै बोलाएर छलफल गरी पौडेलले पार्टीभित्र एकताको अभ्यास गर्न सकिने सन्देश सबै कार्यकर्ताले महसुस गर्नेगरी दिएका छन्।

अब देउवा के गर्लान्? सबैको जिज्ञासापूर्ण नजर यतिबेला उनीतिरै छ। उनलाई गुट व्यवस्थापनमा पनि निकै सकस देखिएको छ। उपसभापति को? उनको सबैभन्दा ठूलो टाउको दुखाइको विषय यही बनेको छ। सिंगो पार्टीको व्यवस्थापनको कुरामा दृढ भएर प्रस्तुत भएमा देउवाले यो तनावबाट पार पाउलान्, तर गुट व्यवस्थापनमा सीमित भएर निर्णय गर्न खोजे भने गुटभित्रै अझ ठूलो भूकम्प आउने खतरा छ।

त्यसो त देउवाको एउटा गुण भनेको आफू शक्तिमा पुगेपछि सबैलाई मिलाएर अगाडि बढ्ने चाहना हो। तर, यो कुरा चाहना गरेरमात्र हुने अवस्था छैन। उनले ४८ सदस्यीय मन्त्रिपरिषद् बनाएर संयुक्त सरकार चलाएका थिए। उनको आलोचना पनि भयो। तर, आफू जोगिन असन्तुष्टहरूलाई जिम्मेवारी दिँदै चुप लगाउने उनको स्वभावको परिणाम थियो त्यो। अहिले पार्टीमा पनि उनले त्यही चाहनालाई कार्यान्वयन गर्न चाहेको देखिन्छ। तर, चाहनाले मात्र पुग्दैन। उनी मैदानमा उत्रँदा गुटको नेता भएर उभिन्छन् वा पार्टीको सभापति भएर? यो सवालमा उनको अग्निपरीक्षा आसन्न संसदीय दलको निर्वाचन, संसदीय कार्यसमितिको निर्वाचन, पदाधिकारी मनोनयन र कार्यसमिति विस्तारको क्रममा देखिनेछ। पार्टीभित्रको व्यवस्थापनकै सन्दर्भका प्रदर्शन हुने उनको क्षमताले नै उनको कद बढाउने कि घटाउने भन्ने कुराको छिनोफानो गर्नेछ।
अर्को समाचार
राजनीतिक परीक्षामा देउवा
०८ चैत्र २०७२
•
१३ मिनेट पाठ
राजनीतिक परीक्षामा देउवा
नेपाली कांग्रेसका नवनिर्वाचित सभापति शेरबहादुर देउवा अहिले राजनीतिकवृत्तमा चर्चाको शिखरमा छन्। लामो र पट्यारलाग्दो चुनावी मतगणनामा प्रतिद्वन्द्वीलाई आरामले उछिनेका उनको अब निर्णय क्षमता बढेको हुनुपर्छ। अब उनले के बोल्लान् र गर्लान् भन्ने उत्सुकता आमनागरिकमा जागेको छ। सत्तामा रहँदा विगतमा कतिपय राम्रा काम पनि उनीबाट भए। तथापि, उनका गलत र कमजोर पक्षले बढी चर्चा बटुलेको छ। किनभने उनले भित्राएका राजनीतिक विकृतिलाई नागरिकले सहज ढंगमा भुल्न सकेका छैनन्।यही परिपे्रक्षमा कांग्रेसको नेतृत्व सम्हालेपछि उनीबाट भएका गल्ती फेरि नदोहोरिने अपेक्षा कांग्रेसीजन एवं सर्वसाधरणले गरेका छन्। यो इच्छा राख्नु स्वावाभिकै हो। उनको कार्यकाल विवेकपूर्ण एवं कुशलताका साथ बितेको हर्ने चाहेका छन् उनका शुभचिन्तकले। भविष्यमा उनले गर्ने निर्णय र चाल्ने कदमले राष्ट्रको राजनीतिमा फरक पार्नेछ। देशको सबैभन्दा ठूलो पार्टीका सभापति भएबाट उनले लिने हरेक निर्णयले अर्थ राख्छ। यसमा कांग्रेसको मात्र होइन राष्ट्रको भविष्य पनि गाँसिएको छ।

चुनाव जितेको केही दिनपछि एक प्रसंगमा 'न्यायपरिषद्को सिफारिसलाई फिर्ता पठाएर सभामुखले गल्ती गरिन्। गर्नु नहुने काम भयो' भनेर देउवाले आफ्नो ब्रह्मले जे बुझ्यो र ठान्यो त्यो कुरा सार्वजनिकरूपमै बोलेे। कसको के अधिकार क्षेत्र हो अथवा हुन्छ भन्ने सवालमा उनी प्रष्ट देखिए। र, एक परिपक्व र सवल राजनीतिकर्मी भएको दृष्टान्त दिए। तर, त्यो अध्याय धेरै दिन टिक्न सकेन। भोलिपल्ट यस प्रसंगलाई फेरि कोट्याए। यस भनाइमा साथीहरूबाट विरोध भएको अन्तरवार्ता दिए। यही सिलसिलामा परिषद्को सिफारिसमा परेकी एक व्यक्तिको नाम किटेर (दबाबमा परेर हुन सक्छ)असन्तुष्टि जाहेर गरे। र, संसदीय सुनुवाई समितिको क्षेत्राधिकारमा प्रभाव पार्ने कार्य गरेर आफैले 'गर्नुनपर्ने कुरा' गरे। सिफारिसको अन्तर्वस्तुभित्र प्रवेश गरेर पत्तै नपाइ उनी चिप्लिए!

उनको यस्तो अभिव्यक्तिले यस प्रक्रियामा प्रभाव पारेको छ। यसले न्यायाधीश छनोट प्रणाली ठीक नभएको सन्देश दिएको छ। सम्भावित न्यायसम्पादनकर्ताबारे अनाहकमा बहस र विवाद उठेको छ। उनको यो कार्य कुनै पनि दृष्टिकोणबाट ठीक होइन। यसले मुलुकको न्यायप्रणालीमा दूरगामी असर पार्न सक्छ। देउवाले बुझ्नुपर्ने हो यो प्रक्रिया न्यायपरिषद् र संसदीय सुनुवाई समितिसँग जोडिएको छ। उनको यो कथनबाट दुवै निकायका कार्यक्षमताप्रति आशंका एवं प्रश्न उठेको छ।

संसदीय सुनुवाई समिति नेपालका लागि नयाँ प्रयोग हो। सिफारिस भएका व्यक्ति उपयुक्त छन्/छैनन् भनेर निर्क्याेल यसले गर्छ। दुईतिहाइ बहुमतबाट यसलाई अस्वीकार गर्ने अधिकार छ। संवैधानिक निकायमा नियुक्ति सिफारिसको लेखाजोखा यसले गर्छ। न्यायाधीशहरूको नियुक्ति पनि यसमा पर्छ। तर, उनको यस बयानले समितिप्रतिको विश्वासमा प्रश्न उठेको छ। अनि यो 'फल्टी प्रोसेस' (काम नलाग्ने प्रक्रिया)जस्तो देखिएको छ।

विगतमा पनि न्यायधीश नियुक्तिमा विवाद भएका हुन्। आजसम्म यो स्थिति कायम छ र यही अवस्था रही रहे भविष्यमा पनि यो नसुधि्रने निश्चित छ। त्यसैले सिफारिसमा परेको व्यक्तिको आलोचना गर्नुुभन्दा विद्यमान प्रणालीमा सुधार ल्याउनु जरुरी छ। र, सबैभन्दा ठूलो दलका निर्वाचित सभापति भएकाले यसको नेतृत्व उनले लिनुपर्छ। अन्तरआत्माले देखेका र बुझेका गलत नजिरलाई सुधार गर्ने आँट उनले देखाउनुपर्छ। किनभने, नागरिकले उनको भूमिका आलोचकभन्दा सुधारकका रूपमा हेर्न चाहेका छन्। र, परिवर्तनकामी नेताको चिनारी खोजेका छन्।

विडम्बना, भागबण्डाको राजनीतिबाट मुलुक अहिले आक्रान्त छ। यो कुरा देउवालाई थाहा छ। आमनागरिक यसबाट वाक्क–दिक्क भएका छन्। भागबण्डा मिलाएर न्यायाधीश सिफारिस भएका भए सायद वर्तमान विवाद यसरी चुलिने थिएन होला। नेताका 'मुड'बाट मुलुक चलेको परिणाम हो यो। राज्यसञ्चालनमा 'प्रणाली र प्रक्रिया' गौण हुँदै गएका छन्। यो लोकतन्त्रिक मूल्य–मान्यताविपरीत छ। लोकतन्त्रका पर्याय कांग्रेसका नेतृत्वसमेत यो विसंगति तोड्नुको सट्टा यसैमा रमाएका छन्। हेक्का रहोस् यही शैलीबाट शासन प्रणाली चल्दै गएमा पार्टीमात्र होइन देशै भड्खालामा पर्न सक्छ।

संक्रमणकालीन न्यायको प्रसंगमा (द्वन्द्वकालीन घटनाका लागि) देउवा बाधक नेताका रूपमा चित्रित छन्। सशस्त्र द्वन्द्वकालका गम्भीर अपाराधलाई 'आममाफी हुनुपर्ने' भनाइमा देउवा र माओवादी एकै ठाउँ उभिएका पीडितको बुझाइ छ। उनी पीडितभन्दा पीडक पक्षधर भएको सन्देश प्रवाह भएको छ। न्यायलाई बिर्सेर मेलमिलापको बाटोमात्र रोज्दा 'दिगो शान्ति'हुन्छ भन्ने उनको गलत बुझाइ रहेको ठानिएको छ। जबकि, न्याय निरूपण मुलुकभित्र नभए त्यसले 'अन्तर्राष्ट्रिय क्षेत्राधिकार'आकर्षण हुने कुरा बेलायतमा पक्राउ परेका कुमार लामा प्रकरणबाट देउवाले बुझ्नुपर्ने हो।

आफ्ना निर्दोष १७ वर्षिय छोरा कृष्णप्रसादको हत्याको न्याय माग गर्दागर्दै नन्दप्रसाद अधिकारीको ३३३ दिनको आमरण अनशनबाट ज्यान गयो। उनकी धर्मपत्नी गंगामायाले उनले देखाएको सत्याग्रहको बाटो छोडेकी छैनन्। न्याय नपाएको पीडाबाट उनको स्वास्थ्य गम्भीर हुँदै गएको छ। उनको नियतिसमेत नन्दप्रसादको जस्तो नहोला भन्न सकिन्न। अधिकारी दम्पत्तिको पीडा न्याय पर्खेर बसेका हजारौँ पीडितको पनि हो। यसमा देउवा कति गम्भीर छन् भन्ने कुरा समयकालले बताउला। तथापि, यो विषय राजनीतिक सत्ताको खेलभन्दा माथि छ भन्ने कुरा उनले बुझ्नुपर्छ। किनभने, यस क्षेत्रले प्राथमिकता नपाए मुलुकले गम्भीर परिणाम भोग्नुपर्ने दिन आउने छ। देश अर्कोखाले द्वन्द्वमा फस्न सक्नेछ। संयुक्त राष्ट्र संघीय (संरास) उच्च आयुक्तको कार्यालयले वर्तमान संक्रमणकालीन संयन्त्र (सत्य एवं बेपत्तासम्बन्धी आयोग) माफी उन्मुख भएबाट यसलाई सहयोग नगर्ने धारणा सार्वजनिक गरिसकेको छ।

स्मरण रहोस्, सन् २०७१ मा बंगलादेश स्वतन्त्र भएपछि युद्धकालीन अपराधलाई १९७३ मा दुईपटक त्यहाँको संसद्ले आममाफीको घोषणा गरेको हो। तर, ४० वर्षपछि पनि त्यहाँ भएका ज्यादति र गम्भीर अपराधमा संलग्न व्यक्तिहरू दण्डित हुँदैछन्। यस कारबाहीविरुद्ध त्यहाँ चलाएका राजनीतिक दंगासमेतले यो प्रक्रिया रोक्न सकेको छैन। कम्बोडियामा संरासको सहयोगमा विशेष अदालत गठन गरेर सन् १९७५ देखि १९७९ अवधिका नरसंहारलाई न्यायको दायरामा ल्याइएको छ। त्यसैगरी, श्रीलंकाको ३० वर्ष तमिललक्षित मानव अधिकार हनन् एवं गम्भीर अपराधलाई कारबाहीको दायरामा संरासको पहलमा ल्याउने भएको छ।

यी हाम्रा छेउका केही मुलुकका उदाहरण यहाँ राख्नुको तात्पर्य राज्य यस विषयमा गम्भीर होस् भन्ने हो। यसको व्यवस्थापनमा रूपान्तरित देउवाको पहिचानसमेत जोडिएको छ। र, यस विधामा क्षमतावान् व्यक्तित्व काँग्रेसभित्र पनि छन्। नवनिर्वाचित केन्द्रीय सदस्य रमेश लेखक र पुष्पा भुसाल यसका विशेष जानकार हुन्। नेपालको संक्रमणकालीन न्यायलाई कसरी पीडित केन्द्रित एवं 'सेफ ल्यान्डिङ' गराउन सकिन्छ भन्ने ज्ञान यी दुवैमा छ।

देउवा एक निडर छवि भएका व्यक्ति हुन्, यसमा दुईमत छैन। एक कुशल संगठनकर्ताको पहिचानसमेत पार्टीभित्र उनले बनाएका छन्। चुनावपछि उनका कतिपय अभिव्यक्तिमा इमानदारिता झल्किन्छ। चाहे त्यो काग्रेस संगठनमा सबै पक्षलाई समेटेर लाने विषय होस् अथवा मुलुकको राजनीतिलाई अघि बढाउने कुरामा। उनले जसरी भए पनि सत्तामा पुग्ने पुरानो छवि फेर्न चाहेका छन्। र, फरक पहिचान भएका देउवा हुन खोजेका छन्।

यो प्रसंग यहाँ राख्नु राजनीतिक सुझबुझ उनमा छ भन्ने हो। जनचाहनाअनुसार राजनीतिक परिवर्तन ल्याउन सक्ने क्षमतासमेत उनमा छ। नेपाली राजनीतिका प्रायः सबै खेल बुझेका व्यक्ति हुन् उनी। तर, उनको सफलताका लागि उनका निकट मित्रहरूको सहयोगमा निर्भर गर्छ। किनभने, चुनाव सहयोगीका असर उनमा नपर्ला भन्न सकिन्न। जुन कुरा न्यायपरिषद्को सिफारिसमा उनका पहिलो (आफ्नो पाराको)र दोस्रो (मित्रको दबाबबाट) भनाइबाट देखिएको छ। तथापि, आफ्नो मनको आवाजलाई बोकेर हिँड्ने आँट गरे एक कुशल र सफल राजनेता भएर उदाउने छन् देउवा। र, मुलुकको राजनीतिमा मियो भएर स्थापित हुन सक्नेछन्। उनको यो नयाँ राजनीतिक परीक्षा हुनेछ। 


रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस