देउवाको नयाँ अवतार
०२ चैत्र २०७२
•
१७ मिनेट पाठ
देउवाको नयाँ अवतार
भारतीय पत्रिका इन्डिया टुडेमा प्रकाशित भारतीय कांग्रेसका उपाध्यक्ष राहुल गान्धीको 'नयाँ अवतार' शीर्षकको आलेख पढ्दै थिएँ शनिबार मध्याह्न । यत्तिकैमा भानु देउजाको फोन आयो।उनले 'शेरबहादुरदाइ कुरा गर्ने रे' भने। शेरबहादुरसँग संक्षिप्त कुराकानी भयो। मैले कांग्रेस सभापतिमा निर्वाचित भएकोमा उनलाई बधाई दिएँ । उनले आफूलाई सहयोग गरेको र सञ्चारमाध्यमबाट सकारात्मक सन्देश प्रवाह गरेकोमा मलाई धन्यवाद दिए।

मेरो ४ दशक लामो कांग्रेससँगको संलग्नतामा शेरबहादुरको 'धन्यवाद फोन' मेरो लागि अपेक्षित थिएन । मैले देउवालाई कांग्रेस सभापतिमा चुनाव जित्न सहयोग पुग्ने कुनै सत्कर्म गरेजस्तो पनि लाग्दैन ! बरु योभन्दा पहिले कैयौँ कांग्रेस नेताको झोला मैले बोकेँ । पार्टी र संसद्को निर्वाचनमा आफूले सकेको सहयोग गर्न अहोरात्र खटेँ पनि । यसैक्रममा विपक्षीसँग मुडभेड गरेँ र ज्यानको जोखिम पनि उठाएँ होला । तर, कुनै पनि निर्वाचन परिणामपछि मैले कांग्रेसका कुनै नेताबाट धन्यवाद पाएको आजसम्म अनुभव छैन । अर्थात् कांग्रेसमा धन्यबाद संस्कार मैले पहिलोपल्ट देउवाबाट अनुभव गरें, मलाई खुसी लाग्यो ।

कांग्रेस नेताबाट धन्यबादको अपेक्षा नगर्नुका कारण छन् । कांग्रेससँग निरन्तर आबद्ध रहने मेरो आफ्नै निर्णय हो । मलाई कुनै बाध्यता थिएन, छैन । र, मलाई कांग्रेससँग आबद्ध रहँदा आफ्नो स्वतन्त्रताको रक्षा गर्नसक्छु भन्ने विश्वास सधैँ रह्यो । कांग्रेसका पात्रहरू हेरेर यो पार्टी लोकतान्त्रिक छ कि छैन भन्ने निष्कर्षमा म पुगिनँ । मैले यो पार्टीको सिद्धान्त र मूल्यपद्धति हेरेँ र निष्कर्षमा पुगेँ 'व्यक्तिको स्वतन्त्रताको रक्षा नेपालमा कांग्रेसले नै गर्छ' भनेर । सिद्धान्त र मूल्यपद्धति ठीक समातेको छ भने पार्टीमा असल संस्कारहरू विकसित गर्न कुनै समय नलाग्ने रहेछ, विश्व इतिहास साक्षी छ । देउवासँगको अपेक्षा पार्टीमा असल संस्कार विकसित होस भन्नेमात्र हो ।

कांग्रेसमा देउवा सभापतिमा विजयी भएसँगै 'धन्यवादको नयाँ संस्कार' विकास हुन थालेको हो कि भनी अहिले भन्नु हतारो होला । अनि त्यस्तै भारतीय राष्ट्रिय कांग्रेसका नेता राहुल झैँ शेरबहादुरको पनि नयाँ अवतार नेपालीसामु आउनेछ भन्नु झनै हतारो होला । तर, देउवाले सामान्य कांग्रेसजनलाई चुनाव अघि र पछि सीधा सम्पर्क गरेर पार्टी कार्यकर्तामा सञ्जीवनी सञ्चार गर्न सफल भए । कांग्रेस प्रतिनिधिहरूको मनोबल र आत्मसम्मान बढाउन उनले चुनावी रणनीतिमार्फत् नै भए पनि उच्च कोटीको लोकतान्त्रिक अभ्यास गरेको कुरामा दुईमत छैन । तर, भावी दिनमा निर्वाचन प्रयोजनको लागिमात्र यस्तो पद्धति अपनाएको होइन भन्ने प्रमाणित गर्ने काम देउवा स्वयंकै हो ।

नेपालमा पहिचान र सम्मानको राजनीति स्थापित गर्न आन्दोलनहरू भैरहेका छन् । कांग्रेसजनले आफ्नो नेताबाट पनि त्यस्तै अपेक्षा गर्नु कुनै अपराध थिएन । तर, धेरै लामो समयदेखि कांग्रेस नेतृत्वमा 'ठालुवाद'को प्रभाव थियो, अझै छ । खासगरी ०४७ सालदेखि सत्ता र शक्तिमा पुग्ने प्रभावशाली कांग्रेस पात्रहरूको ठालुवादले यो पार्टीलाई रसातलमा पु¥याउन कुनै कसर नै बाँकी राखेन । तर, किन हो कांग्रेस कार्यकर्ताहरू अझै तिनैलाई आफ्नो नेता ठानी केन्द्रीय नेतृत्वमा स्थापित गराउन अग्रसर हुन्छन् ! नवनिर्वाचित देउवाका बोली अहिले संयमित छन् र कांग्रेस पार्टीलाई सही अर्थमा एकीकरण गर्ने 'मुड' उनको देखिन्छ । तर, कांग्रेसमा थुप्रिएको गुटगत र भागबण्डाको रोग तथा विकृति आजको होइन, दशकौँदेखिको हो । देउवाले सबै कुरा झटपट ठीक हुन्छ भनेर सोच्दा पार्टीमा दुर्घटना हुन सक्छ । तसर्थ, पार्टीलाई बिस्तारै नयाँ संविधानअनुकूल ल्याउने सोच र तद्अनुरूपको कार्ययोजना उनीमा रहनुपर्नेछ ।

इन्डिया टुडेमा राहुल भारतको राजनीतिमा नयाँ अवतार लिएर उदाएको लेखिएको थियो । दुई वर्षअगाडिको तुलनामा राहुलको लोकप्रियता अहिले ३ गुनाले बढेर प्रधानमन्त्री मोदीको लागि चुनौती भएको पत्रिकाको सर्भेले देखाएको छ । के काम गरे उनले यसबीच र मोदीलाई टक्कर दिने व्यक्तित्व निर्माण गरे होलान्, हेरौँ ।

राहुलले सबैभन्दा पहिले आफैमा नयाँ ऊर्जा जागृत गराए 'विपश्यना'को माध्यमबाट । आफ्नो 'प्रिन्स' छविलाई छाडेर भारतको 'क्रिटिकल मास' भनी चिनिने कलेज, विश्वविद्यालय र नागरिकसमाजको आन्दोलनमा उनी सहभागी भए । पार्टी रणनीति निर्माणमा युवा र अनुभवीहरूको संयुक्त टिम बनाए । प्रधानमन्त्री मोदी केन्द्र मजबुत गर्न लागिपरेका बेला राहुलले प्रदेश सशक्तिकरणमा जोड दिए । मोदी सरकार ठूला व्यापारी र उद्योगपतिबाट रोजगारी सृजना हुन्छ भनी लागिपर्दा राहुलले 'साना र मझौला उद्योग व्यापारमैत्री नीति' अगाडि सारे । त्यस्तै, प्रधानमन्त्री मोदीको पाकिस्तान र नेपाल नीति ठीक भएन भन्ने कुरालाई राहुलले राजनीतिक मुद्दा बनाए । मोदी सरकारले अन्य धर्म सम्प्रदायप्रति असहिष्णु अभियान चलाउँदा राहुलले भारतको विविधता र धार्मिक सहिष्णतामाथि जोड दिए । भारतको केन्द्रीय राजनीतिमा प्रधानमन्त्री मोदीको उदय हुँदा उनलाई कम्तीमा १० वर्ष कुनै नेताबाट चुनौती आउन नसक्ने अड्कलबाजी गरिन्थ्यो, अब अवस्था त्यस्तो रहेन ।

मैले राहुलबारे लेख्नुका कारण छन् । भारतीय राजनीति र समाज नेपालसँग धेरै मिल्दोजुल्दो छ । भारतीय समाज कहिले तीव्र र कहिले सुस्त गतिमा अगाडि बढिरहेको छ नेपालजस्तै । उदार लोकतन्त्र, धर्मनिरपेक्षता, संघीयता र समावेशिता भारतीय समाजलाई अगाडि बढाउने ४ चक्का हुन् भनी बुझिन्छ संविधानतः । त्यस्तै व्यवस्था नेपालको नयाँ संविधानले गरेको छ । यो संविधान नेपाली कांग्रेसको नेतृत्वमा जारी भएको हो । तर, संविधान जारी भएको केही महिनापछि नै केही कांग्रेस नेताको अभिव्यक्ति सुन्दा तिनले संविधान र जनताको उपलब्धिमाथि ठाडो चुनौती दिएको देखिन्छ ।

मोदी हिन्दुत्वको नाममा राज्य र समाजलाई अगाडि बढाउने सोचबाट ग्रसित भएको आरोप विपक्षीबाट झेल्दैछन् । राहुलको उदय राज्यलाई धर्मबाट निर्देशित गर्नुहुँदैन भन्ने दृष्टिकोणबाट भएको छ । नेपालमा धर्मलाई राजनीतिसँग जोड्न अनेक रूप र रंग लिएर कांग्रेस नेताहरू क्रियाशील छन् । धर्म र राजनीति जोड्नु हुँदैन, अन्यथा परिणाम मानव सभ्यताविपरीत जाने डर हुन्छ । अहिले अरबमा बस्नेमात्र होइन विश्वभरिका करोडाँै मुसलमान यो समस्या भोगिरहेका छन् । इस्लाम धर्म गैरमुसलमानलाई आतंकको पर्यायबाची भएको छ । भारतमै हिन्दुधर्मको कट्टरतामाथि उभिएर निर्माण भएको राष्ट्रिय स्वयं सेवक संघलाई आतंककारी संगठन भन्ने मानिसको कमी छैन ।

जातीय श्रेष्ठताको अहंकार र घमण्डले अमेरिकाजस्तो लोकतान्त्रिक देश अहिले नश्लवादी राजनीतिमा फस्न गएको छ । रिपब्लिकन पार्टीको तर्फबाट राष्ट्रपतिका उम्मेदवार डोनाल्ड ट्रम्प अहिले अमेरिकामा नश्लवादी राजनीतिबाट मतदाता रिझाउन लागिपरेका छन् । नेपालमा पनि यो दुर्भाग्य जीवित छ । वंशसत्ताको नाममा, धर्मको नाममा र जातीय श्रेष्ठताको नाममा राजनीतिलाई अगाडि बढाउने प्रयत्न हुँदैछ । र, कांग्रेसको १३औँ महाधिवेशन त्यसबाट अछुतो रहेन । नवनिर्वाचित कांग्रेस सभापतिका चुनौती यिनै हुन् । र, यी चुनौती साधरण छैनन् । भोलिका दिनमा दक्षिणको प्रभाव र देशभित्रैका शक्तिहरूले नेपाललाई हिन्दु राष्ट्र राख्न देउवामाथि दबाब दिनेछन् ।

नेपाललाई कसले हिन्दु राष्ट्र राख्ने र कस्तो हिन्दु राष्ट्र हुने अहिले यो बहस जरुरी देखियो । के हिन्दु धर्ममाथि 'थ्रेट' छ ? के कुनै बाह्य दबाबबाट हिन्दु सभ्यतामाथि विजय गर्ने प्रपञ्च सम्भव होला ? हिन्दु धर्मको वैचारिक गहिराइ, ऐतिहासिक विकासक्रम र क्षमता हेर्दा विश्वास गर्न सकिन्न । किनकि, हिन्दु धर्मलाई विगतमा बौद्धधर्मले नास गर्न सकेन । इस्लामको तरबार र क्रिस्चियनको बाइबल तथा बन्दुकले पनि हिन्दु दर्शनलाई समाप्त गर्न सकेन । यो धर्मको सभ्यता र भावधारा यस महाद्विपमा विगत् ५ हजार वर्षदेखि निरन्तर अविचलित भएर अगाडि बढिरहेको छ । हिन्दु सभ्यता र धर्मले कहिले पनि यसका शासकहरूको संरक्षण खोजेन । जहिले पनि यसलाई 'ऋषिमुनि र सत्कर्मीहरू'ले जोगाए, बढाए ।

हिन्दु धर्म के हो भनेर सोध्दा एक सयवटा होइन हजारवटा उत्तर पाइन्छ । अर्थात् यो धर्म अनेकश्वरवादमा आधारित छ । तर पनि यो धर्मको केन्द्रीय दर्शन अर्थात् 'सेन्ट्रल फिलोसफी' भनेको मोक्ष प्राप्त गर्नु नै रहेको छ । आत्मा–परमात्माको अंश हो । आत्मा प्रकृतिमा अर्थात् मायामा प्रवेश गर्छ र जन्म–मृत्युको चक्रमा फस्छ । यही जन्म र मृत्युको साइकलबाट पार पाउन मनुष्यमात्रले मोक्ष मार्गमा लाग्नुपर्छ । यो हिन्दु धर्मको केन्द्रीय दर्शन हो, विचार हो । आत्मा मानवरूपी शरीरले घेरिएको हुन्छ । स्थूल शरीर जसलाई हाम्रो शास्त्रले माया भन्छ । संसार मायारूपी जाल हो भन्ने कथन हिन्दु दर्शनमा यहीँबाट आएको हो ।

शरीर नासवान छ, आत्मा अमर छ भन्ने विश्वास गरिन्छ । नासवान शरीरबाट आत्मा निस्केर प्रकृतिका अन्य जीवमा प्रवेश गर्छ र जबसम्म मनुष्य जुनिमा सत्र्कमबाट आत्मालाई परमात्मासँग लिन गर्दैन, तबसम्म आत्माले मोक्ष प्राप्त गर्न सम्भव छैन । हिन्दुवादीहरूको सबै कर्म यिनै मोक्षमार्गमा केन्द्रित रहेर गरिन्छ । भगवान् श्रीकृष्णले गीतामा अर्जुनलाई सत्कर्म गर, परमात्मामा पुग्ने मार्ग त्यही हो भनी बाटो देखाएका छन् । आत्मालाई परव्रह्म परामात्मामा समाहित गर्नुे नै सम्पूर्ण हिन्दु दर्शन हो । व्यक्तिका प्रत्येक कर्म उसको 'कस्मिक रजिस्टर'मा जम्मा हुन जान्छ । जब शरीरको नास हुन्छ, उसको कर्मअनुसार उसलाई फेरि मायामा प्रवेश गराउने वा आत्मालाई मुक्ति दिएर परमात्मामा समाहित गराउनेजस्ता कुराको निर्धारण त्यही कस्मिक रजिस्टरमा जम्मा भएको व्यक्तिको पुँजीले गर्छ । अब एकपल्ट नेपालमा 'हिन्दु धर्म राष्ट्रिय धर्म' हुनुपर्छ भन्ने अभियन्ताहरूको चरित्र र जीवन दर्शन पढौँ र सोचाँै के यिनको हातबाट हिन्दु धर्मको विकास र संरक्षण सम्भव छ ? कि धर्मको नाममा राजनीति गरेर यी धर्म नै नास गर्न चाहन्छन् ? राजसी र तामसी कर्म गर्न उद्वेलितहरू नेपाललाई हिन्दु राष्ट्र राख्न चाहन्छन् भने स्वाभाविक छ हिन्दु धर्म बढ्ने होइन यसको नासमात्र हुन्छ । राजनीतिज्ञहरूले सत्कर्म गरे नेपालमात्र होइन सम्पूर्ण आर्यावर्त नै उच्च कोटीको हिन्दु राष्ट्र स्वतः बन्छ ।

संक्षेपमा, नवनिर्वाचित सभापति शेरबहादुरले सत्कर्मबाट कांग्रेसलाई अगाडि बढाउने जिम्मेवारी पाएका छन् । हिन्दु धर्मले मनुष्यलाई मुक्ति वा मोक्षको मार्गमा लाग्न मनुष्यजुनिमा आउने अनेक अवसर दिन्छ भनी सनातन वैदिक साहित्य वेद र उपनिषद्ले भन्छ । देउवा अहिले त्यही परीक्षाको कोठामा उभिएका छन् । भारतमा प्रिन्स भनी आरोपित राहुल योग र ध्यानबाट रूपान्तरित हुन सक्छन् भने युजी कृष्णमूर्तिबाट युवाकालमै प्रभावित भएका देउवा किन नयाँ अवतारमा उदाउन नसक्लान् ! अहिलेलाई त्यही आशा गरौं र उनको सभापतित्वकालको सफलताले 'नेपालमा वंशवाद, नश्लवाद र धर्मवादको राजनीतिको अन्त्य गर्नेछ' भनी उनको सहयोगमा जुटौँ ।
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस