कांग्रेसमा कम खराबको खोजी
१८ माघ २०७२
•
१८ मिनेट पाठ
कांग्रेसमा कम खराबको खोजी
देशको ठूलो पार्टी नेपाली कांग्रेसलाई अधिवेशन लागेको छ। कांग्रेसलाई परिवर्तनको संवाहक ठान्ने जत्था कांग्रेसी भेलाले गतिलै काम गर्ला कि भन्ने ठान्छ। तर, विगतको भन्दा आगामी अधिवेशन कुनै पनि हालतमा पृथक हुने देखिन्न।विगतझै नीतिबारे कुनै छलफल हुने छैन त्यहाँ! बरु आसन्न अधिवेशनले कांग्रेसको नेतृत्व परिवर्तन गर्छ अनि पार्टीको विधान संशोधन हुन्छ। देशको संविधानले निर्देशित गरेअनुसार पार्टीको नेतृत्व फेरिन्छ। अनि नयाँ सभापतिको चाहनाअनुसार पार्टीको विधान परिवर्तन हुन्छ। विधानको कलेवरमा सभापतिको दस्तखत रहने भएकाले नवनिर्वाचित सभापतिलाई आफ्नो हस्ताक्षर भएको विधान प्रचारमा आओस् भन्ने चाहना हुनु अस्वाभाविक भएन।

नेपालको तत्कालीन संविधानले राजनीतिक दलको पदाधिकारी प्रत्येक ५ वर्षमा अनिवार्यरूपले परिवर्तन हुनैपर्ने व्यवस्था गरेकाले कांग्रेसको अधिवेशन गत वर्ष नै भइसक्नुपर्ने थियो। तर, नेतृत्वको अक्षमताका कारण देशको मूल कानुनमुताविक पार्टीको अधिवेशन तोकिएको समयसीमाभित्र हुन सकेन। म्यादभित्र महाअधिवेश नगरी नेतृत्व परिवर्तन गर्न नसक्ने भएपछि तत्कालीन नियममुताविक नेपाली कांग्रेसको दलीय हैसियत समाप्त हुन्थ्यो। पार्टीको अस्तित्व समाप्त हुने भएपछि प्रधान मन्त्री एवं पार्टी सभापति सुशील कोइरालाको चाहनाअनुरूप संविधानको धारा नै परिवर्तन गरियो! कांग्रेस नेतृत्वले आफ्नो ऊर्जाको कसरी दुरूपयोग गर्योा अनि देशको संविधान कति सस्तो रहेछ भन्ने देखियो। देशको संविधानअनुसार राजनीतिक दलहरू सञ्चालित हुनुपर्नेमा कुनै व्यक्तिको नालायकपन ढाकछोप गर्न देशको मूल कानुन नै संशोधन भयो। गणेशमान सिंहको 'पुच्छरले कुकुर हल्लाएको' किस्सा चरितार्थ भयो!

शेरबहादुर देउवाले सभापतिमा आफ्नो उम्मेदवारी घोषणा गरिसके। संस्थापन पक्षबाट को र कतिजना उम्मेदवार हुने यकिन भएको छैन। आकांक्षीहरू धेरै देखिए। सुशील र रामचन्द्र पौडेल दुवैले सभापतिको उम्मेदवार हुने इच्छा प्रकट गरेकाले कस्तो प्रकृतिको प्रतिस्पर्धा होला भन्न सक्ने अवस्था रहेन। विगतमा रामहरि जोशी तथा भीमबहादुर तामाङले भाग लिएझैँ केही अनपेक्षित अनुहारले नेतृत्वका लागि प्रतिस्पर्धा गर्छन् नै। तर, निर्णायक भीडन्त भने संस्थापन पक्षका उम्मेदवार र शेरबहादुरबीच नै हुने हो।

आफ्नो नेतृत्वमा सफलतापूर्वक संविधान जारी गर्न सकेको दलिलसहित एकपल्ट फेरि सुशील सभापतिको दाबी गर्न लागिपरेका छन्। संविधानले मुलुकलाई निकास दियो कि देश झन् दुश्चक्रमा फस्यो, देखिँदैछ। पछिल्लो पटक सभापति हँुदा एकपल्टका लागि मात्र आफूलाई सहयोग गर्न उनले गरेको आग्रह कार्यकर्ताले बिर्सिएका छैनन्। त्यसमाथि संविधान जारी भएपछि एकदिन पनि प्रधान मन्त्रीको कुर्सीमा नबस्ने अभिव्यक्ति उनले दर्जनौँ पटक सार्वजनिक गरेकै हुन्। तर, विडम्बना सुशीलले संविधान जारी भएलगत्तै प्रधान मन्त्रीको उम्मेदवारको रूपमा आफूलाई पूनप्रस्तुत गरे, अनि पराजित पनि भए। उत्तः हारले सुशीलको मिसन असफल भएको मात्र पुष्टि गरेन बरु उनी वचनमा बाँधिने नेता होइनन् भन्ने पनि प्रष्ट्यायो। उनी पदमा आशक्ति भएका व्यक्ति ठहर भए। प्रथम पटक सभापतिमा चुनाव लड्दा एकपल्टमात्र सभापति बन्ने उद्घोष गरेका उनलाई अधिकांश विगतकै मतदाता भएको निर्वाचन मण्डलीले सहजै चुनाव जिताउला भन्ने अवस्था अब छैन। भ्रातृसंस्थाको बिजोग सुशीलको 'चुस्त प्रशासन' बु‰न पर्याप्त देखियो। अघिल्लो पटकको मत अन्तर तथा विगतमा उनका कट्टर समर्थकका रूपमा प्रस्तुत भएका कतिपय हस्ती विपरित ध्रुवमा पुगेको अवस्थामा उनलाई चुनाव जित्न सहज देखिन्न। क्यान्सर लागेको व्यक्तिमा अर्बुद रोगका कोषिकाहरू कुनै पनि समयमा देखिन सक्ने भएकाले कदाचित उनी संस्थापन पक्षको उम्मेदवार भए अनि निर्वाचनको पूर्वसन्धामा उनको रोग बल्भि्कएमा परिणाम सहजै देउवाको हातमा पुग्ने वास्तविकताको हेक्का गर्न जरुरी छ। कामना गरौँ, उनी स्वस्थ रहुन्।

सुशीलले आफ्नो धरातल बुझेर रामचन्द्र पौडेललाई आफ्नो खेमाबाट सभापतिको उम्मेदवार बनाएको खण्डमा कांग्रेसको राजनीतिमा कस्तो प्रभाव पार्ला अब त्यता हेरौ। भिन्न लाभको पदमा पटकपटक पुगेका पौडेलले आफ्नो आर्थिक इमानलाई भने कायम राखेको देखियो। निष्ठामा अविचलित नेता नै हुन् उनी। क्षमताभन्दा पालोको राजनीतिले प्राथमिकता पाएको नेपालमा पौडेललाई एकपल्ट मौका दिनुपर्छ भन्ने जमात पनि ठूलै छ। तर, कोइरालापछि आफ्नो नेतृत्वको सपना देखेर बसेका जमातले सुशीलको उत्तराधिकारीको रूपमा सरक्क रामचन्द्रलाई स्वीकार गर्न सक्ने अवस्था छैन। विगत हेर्दा रामचन्द जोखिम मोलेर प्रतिकूल परिस्थितिलाई सहज बनाउनेभन्दा सुरक्षित अवतरण खोज्ने नेता भएकाले अन्तिम समयसम्म उनले सभापतिको पदमा आफ्नो दाबी कायम राख्नुको बदला अन्य विकल्पतिर नलाग्लान् भन्न सकिन्न। विगतको एउटा घटना सम्झौँ। शेरवहादुर प्रधान मन्त्री भएको मुलुकमा संकटकालको अवधि लम्ब्याउने उनको प्रस्तावलाई कांग्रेस केन्द्रीय समितिले अस्वीकार गरेपछि पार्टी फुटाएर प्रधान मन्त्री पदलाई निरन्तरता दिने निष्कर्षमा पुगे देउवा।

नवगठित पार्टीको सभापति रामचन्द्र पौडेल बन्ने निधो भयो, त्यसअनुरूप रामचन्द्रले आफ्ना नजिकका सासंदहरूलाई देउवाको समर्थनमा वक्तव्य दिन लगाए। कार्यक्रममुताविक रातिको समयमा वक्तव्यमार्फत् रामचन्द्रको सभापतित्वमा नवीन कार्यसमिति गठन हुने निधो भयो। साँझको समयमा प्रेसवक्तव्यमार्फत् केन्द्रीय कमिटी गठन गर्नुभन्दा अर्को दिन विहान भव्य कार्यक्रमसहित पार्टी गठन गर्ने प्रस्ताव गरे विमलेन्द्र निधिले। रामचन्द्र राति नै कार्यसमिति सार्वजनिक गर्ने पक्षमा भए पनि अर्को दिन भव्यताका साथ घोषण सभा गर्ने निधिको आग्रहले जित्यो र त्यसैअनुसारको कार्यक्रम तय पनि भयो। तर, रात रह्यो अग्राख पलायो भन्ने भनाइ चरितार्थ भयो। देउवाको अगुवाइमा गठन हुन लागेको पार्टीको अध्यक्षता गर्न आफूले नसक्ने जनाउ दिए रामचन्द्रले। उनी केकस्तो सर्तमा संस्थापन पक्षमै बस्न तयार भए, त्यसबेला मध्यस्थकर्ता बनेका तारानाथ रानाभाटले विस्तृतमा भन्न सक्छन्। तर, उक्त घटनालाई नजिकबाट नियालेका व्यक्ति पौडेलसँग नेतृत्वकर्तामा हुने गुण पटक्कै नभएको ठान्छन्। कोइरालाले गत महाअधिबेशनमा एक पल्ट मात्र सभापति बन्ने उदघोष गर्नु, संस्थापन पक्षको दोस्रो बरियतामा रहेर पनि प्रतिस्पर्धि नेत्रित्वकर्ताको रुपमा आफुलाई प्रस्तुत गर्नुको बदला कोइरालापछि हटेर आफुलाई अगि सार्नु पर्ने गैरराजनैतिक माग गर्ने रामचन्द्र पौड्याल अनि युवा पुस्ताले नेत्रित्व लिनु पर्ने दाबी गर्ने समुह नबिन उर्जा तथा कार्यक्रम सहित अगि आउन नसकेको अबस्थामा शेरबहादुरको अबस्था अन्यको तुलनामा बलियो देखियो। तर, के देउवा सभापतिको लागि साच्चिकै योग्य उमेदबार हुन त त्यता हेरौ।

संसद्मा बहुमत कायम गरेको नेपाली कांग्रेसलाई व्यक्तिगत लाभको लागि फुटाएको आरोपका अतिरिक्त राजा ज्ञानेन्द्रसँग गठजोड गरी प्रजातन्त्रलाई दरबारमा बुझाएको अवगाल बोकेका छन् देउवाले। २०५२ सालमा अल्पमतको प्रधान मन्त्री भएका बखत ४ दर्जनभन्दा बढीको मन्त्रिमण्डल बनाएका थिए उनले। उनकै पालामा सुरासुन्दरी, प्राडो–पजेरो तथा सांसदको खरिद–बिक्रीजस्ता अनैतिक क्रियाकलाप भित्रिए। राजनीतिशास्त्रका विद्यार्थी संसदीय व्यवस्थाको चिरहरण गर्ने व्यक्ति ठान्छन् देउवालाई। आफ्नो पद टिकाउन र आफूलाई सत्तामा पुर्याएउन कुनै पनि किसिमका सम्झौता गर्न सक्छन् देउवा। सत्ताको राजनीतिमा समकक्षीभन्दा सफल खेलाडी देखिए देउवा। उनी नेतृत्वमा पुगे कांग्रेसमा निष्ठा र इमानदारिताको राजनीति थप स्खलित हुनेमा शंका रहेन। कुनै पनि जटिल समस्यालाई दीर्घकालीन समाधान खोज्न माथापच्ची गर्दैनन् देउवा बरु सतही तथा सहज निकास खोज्न खप्पिस मानिन्छन् उनी। उदाहरणको लागि, दोस्रो संविधान सभाले समेत देशको विधान लेख्न असफल भएको अवस्थामा अन्तरिम संविधानको अन्तरिम शव्द हटाएर संविधान जारी गराँै भन्ने प्रस्ताव ल्याए उनले! बौद्धिकरूपमा चलाख नभए पनि गिरिजाप्रसाद कोइरालाजस्तै आफ्ना शुभेच्छुकको अवसर तथा प्रतिरक्षाका लागि उनी दृढताका साथ लागिपर्छन्। टिम स्पिरिटमा विश्वास गर्ने भएकाले दिनभरि सँगै हिँड्नेलाई समेत अविश्वास गर्ने सुशीलको जस्तो बानी छैन उनको। स्वजनको सुखदुखमा साथ दिने भएकाले देउवालाई नै नेतृत्वको चुनौती नदिने कार्यकर्ता उक्त क्याम्पबाट सामान्यत वर्हिगमन हँुदैनन्।

दूरगामी निकासका लागि कांग्रेसको नेतृत्व उमेरले भन्दा बौद्धिक क्षमताले निर्देशित गर्नुपर्छ भन्नेमा दुईमत हुन सक्दैन। तर, समय सबैभन्दा बलवान हुन्छ। नेपाली कांग्रेसका उच्च कोटीका बौद्धिक व्यक्ति मानिन्छन् प्रदीप गिरि। तर, पार्टीमा उनको स्थान कहाँ के छ? उनलाई अहिले पार्टीको नेतृत्व दिन कति कार्यकर्ता तयार होलान्? विगतका अधिवेशनमा निष्ठाका धरोहर रामहरि जोशी र भीमबहादुर तामाङ तथा बौद्धिक व्यक्ति नरहरि आचार्यको समर्थनमा कति भोट आयो? अर्कोतिर भ्रष्टाचारको आरोप पुष्टि भई सजायसमेत भोगेका खुमबहादुर खड्का अहिले पनि कांग्रेसमा शक्तिशाली छन्। प्रभावशाली हस्तीको रूपमा खड्का स्थापित हुनुमा उनको बौद्धिक क्षमता हुँदैहोइन बरु अनैतिक विधिमार्फत् रकम जम्मा गरी कार्यकर्ता रिझाउन सक्नु नै हो। पार्टी राजनीतिमा खुमबहादुरको प्रभाव बढ्दै जानु अनि कुलबहादुर गुरुङको साख घट्नुले कांग्रेस महाधिवेशनमा निष्ठाको राजनीतिले पुनः पराजय भोग्ने निश्चित छ। अहिलेको महाधिवेशनमा पनि निष्ठावान तथा इमानदार व्यक्ति नेतृत्वमा आउने सम्भावना रहेन। त्यसैले उपलब्घ असहजमध्येबाट उत्तम विकल्प खोज्नु एउटा इमानदार कांग्रेसीको कर्तव्य हो।

कठिन समयमा व्यक्तिगत फाइदाका लागि पलायन भएका अनि अनुकूल समयमा घर फर्किएको जत्था आफूहरू नेतृत्वको लागि काविल भएको सन्देश दिँदैछन्। एकपल्ट बाटो बिराएकाहरूलाई सदैव शंकाको दृष्टिले हेर्नु कदापि हुँदैन। तर, तराई आन्दोलन तथा जातीय अन्योलका कारण मुलुकमा देखिएको वर्तमान असहज राजनीतिक परिस्थितिमा त्यस्ता स्वार्थी व्यक्ति डुब्न लागेको पार्टीलाई निकास दिनुको बदला विगतमा झैँ फेरि पनि आफ्नो व्यक्तिगत उद्धारमा केन्द्रित हुन्छन् भनी हेक्का राख्नैपर्ने हुन्छ। आखिर पञ्चायतको दबदबा भएका बखत केन्द्रीय पदाधिकारीहरू पार्टी त्याग गर्ने लहर चलेपछि बीपी कोइरालाले कैयौँ वर्षसम्म आफ्नै अध्यक्षतामा एकल केन्द्रीय कमिटी त्यत्तिकै बनाएका थिएनन्।

कोइराला, देउवा तथा पौडेल कुनै पनि नेता नेपाली कांग्रेसलाई नवीन दिशा दिन सक्ने व्यक्ति हुँदै होइनन्। त्यसमाथि क्यान्सरले गलेका कोइरालाको साख प्रधान मन्त्रीको चुनावपछि निकै गिरेकाले उनी देउवाको प्रतिद्वन्द्वी बन्न सक्ने अवस्था रहेन। विगत हेर्दा पार्टीलाई निकास दिन सक्ने क्षमता नभए पनि पौडेल देउवाजस्तो आफ्नो निहित स्वार्थका लागि सम्झौता गर्ने व्यक्ति देखिएनन्। त्यसैले उनको नेतृत्वमा कांग्रेसले न्यूनक्षति व्यहोर्नुपर्ने देखिन्छ। साथै, उनको कद शेरबहादुरभन्दा कमजोर भएकाले आवश्यक परे अर्को महाधिवेशनबाट उनलाई सहजै विस्थापन गरी अरु नै योग्य व्यक्तलाई पद हस्तान्तरण गर्न सक्ने अवस्था रहन्छ। तर, शेरबहादुरले जितेको खण्डमा उनी गिरिजाप्रसादजस्तै आजन्म सभापति बन्ने सम्भावना रहेकाले कालान्तरमा पार्टी देउवा क्लबमा रूपान्तरण हुन सक्छ। तसर्थ, कांग्रेसको भविष्यलाई ध्यानमा राख्दै अहिले नै ऊर्जाशील व्यक्तिले कांग्रेसको नेतृत्व लिन सक्ने अवस्था नरहेकोले तत्कालका लागि रामचन्द्र नै सभापति उम्मेदवार बन्नु पार्टी हितमा देखिन्छ। आखिर खराबको समूहबाट कम खराब चुन्न सक्नु बुद्धिमानी नै मानिन्छ!
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस