परनिर्भरताको दुश्चक्र
१४ माघ २०७२
•
१५ मिनेट पाठ
परनिर्भरताको दुश्चक्र
भारतले महिनौँदेखि लगाएको नाकाबन्दीले नेपालको अर्थतन्त्र जर्जर पारेको छ। यसले हामी भारतप्रति कति परनिर्भर रहेछौँ भन्ने कुराको बोध पनि गराएको छ। विशेषतः खाना पकाउने ग्यासको अभावले दाउरे युगमा पुर्या्एको छ भने पेट्रोलियम पदार्थ नहुँदा आवागमन र ढुवानीमा अवरोध आएको छ। आयातित वस्तुमात्र होइन, स्वदेशमै उत्पादित सामान पनि नेपालीले उपभोग गर्न पाएका छैनन्। नाकाबन्दीजनित अभावबाट कालाबजारिया लाभान्वित भएका छन् र तस्करी मौलाएको छ।

दैनिक उपयोगमा आउने सामान्य वस्तु, जुन नेपालमा विगतदेखि नै उत्पादन गरिन्थ्यो, त्यो पनि पैठारी गरिँदो रहेछ भन्ने कुरा सञ्चारमाध्यमको प्रमुख समाचार बनेको छ। खानेपानीसमेत पैठारी हुँदोरहेछ! उपभोगका कतिपय सामान नेपालमा उत्पादन हुँददैन/हुन सक्दैन, तर नेपालमै उत्पादन हुने/हुन सक्ने सरसामानको लागि पनि परनिर्भर रहेको कुरा उदांगिँदा धेरैको मन कुँढिएको छ।

ऊर्जा संकट

नेपालमा विद्युतीय ऊर्जाअभावका कारण एक दशकदेखि लोडसेडिङ कायम छ। यसको निराकरणका लागि विभिन्न तप्काबाट वायु, सौर्य, जैविकलगायतका विकल्प सुझाइएका छन्। नाकाबन्दीले विद्युतीय ऊर्जाका साथै खाना पकाउने ग्यास अभाव हुँदा लोडसेडिङ थप सघन भएको छ। साथै, यातायातको लागि आवश्यक ऊर्जाको पनि अभाव छ। प्रधान मन्त्रीबाटै विद्युतीय बस सेवा सञ्चालन गर्ने घोषणा भएको छ। ऊर्जा मन्त्रीले नेपाललाई ५ हजार मेगावाट बिजुली आवश्यक हुने बताएका छन्।

जलस्रोत दोहन गरेर विद्युत् उत्पादन गर्न सकिन्छ, तर आयोजनाको निर्माण प्रारम्भ गरेर बिजुली उत्पादन गर्न केही वर्ष लाग्छ। विशेषतः वायु र सौर्य ऊर्जा छोटो समयमा कार्यान्वयन गरेर विद्युत् उत्पादन गर्न सकिन्छ, तर यी स्रोतबाट दिनमा ४/५ घन्टामात्र ऊर्जा प्राप्त हुने हुनाले त्यति भरपर्दो नहुनसक्छ। बिजुली बाल्नका लागि र औद्योगिक उपयोग गर्न, यातायात सञ्चालन गर्न यी स्रोतहरू त्यति काम लाग्दैन। त्यस्तै, जीवनचक्रको हिसाबले जलविद्युत्को उत्पादन लागत कम हुन्छ भने वैकल्पिक ऊर्जा महँगो पर्छ।

ऊर्जा संकटको बहुआयामिक प्रभाव (उज्यालो पार्नमात्र होइन खाना बनाउनदेखि यातायात सञ्चालनसम्म) नाकाबन्दीका कारण बढेपछि नेतृत्व तह तथा जनसाधारणमा ऊर्जा सुरक्षाको महत्वबारे ध्यान गएको छ। जलविद्युत् नै ऊर्जाको त्यस्तो स्रोत हो, जसबाट यी सबै आवश्यकता पूर्ति हुन्छ। तसर्थ, ऊर्जा सुरक्षाको दृष्टिकोणबाट नेपाललाई प्रकृतिको वरदानस्वरूप प्राप्त जलस्रोतलाई दोहन गरेर पेट्रोलियम पदार्थ, खाना पकाउने ग्यास आदिमात्र होइन, दाउरासमेत विस्थापित गर्ने सोचको विकास हुनु आवश्यक छ।

जलस्रोतको बहुआयामिक दोहन

नाकाबन्दीमा निहीत धेरै चाँदीका घेरामध्ये प्रमुख कुरो जनसाधारणमा पलाएको चेतना हो। उनीहरूले बुझेका छन्– बिजुली उत्पादन गर्ने धेरै विकल्प छन्ः खनिज इन्धनजस्ता अस्वच्छ र अनविकरणीय स्रोतका अतिरिक्त सूर्य, चन्द्र, वायु, वन पैदावार, मानव तथा गाईवस्तुको मलमूत्रलगायत स्वच्छ र नविकरणीय स्रोतबाट पनि विद्युत् उत्पादन हुन्छ। तर, एउटा महŒवपूर्ण कुरा भने ओझेल पर्दै गएको छ, स्वच्छ पानीको विकल्प छैन। यो पृथ्वीमा दुईतिहाइ पानी भए पनि नुनिलो पानीले सिँचाइ, पशुपालनजस्ता काम हुन सक्दैन। अझ परमाणविक वा खनिज इन्धनबाट बिजुली उत्पादन गर्नै पनि पानी चाहिन्छ। नेपाल जलस्रोतमा सम्पन्न छ भनिन्छ। तर, घरैपिच्छे धारा हुने सहरी बासिन्दाका धाराबाट विरलै पानी आउँछ भने ग्रामीण क्षेत्रका घरमा घरैपिच्छे धारा भन्ने कुरा नै विलासितामा पर्छ। स्वच्छ पानीको अभावमा विशेषतः दुर्गम भेगका जनताको जीवन कष्टकर बन्न पुगेको छ। त्यसैले खानेपानी सुरक्षा (पिउन तथा सरसफाइ)को लागि जलस्रोतको दोहनले पहिलो प्राथमिकता पाउनुपर्छ। स्वास्थ्य सेवाका अधिकारीको भनाइअनुसार पिउन र सरसफाइका लागि स्वच्छ पानी उपलब्ध भएमा औषधोपचारमा हुने खर्च आधा घट्छ, धेरैजसो रोग पानीजनित हुन्छ।

खाद्य सुरक्षा

नाकाबन्दीका कारण खाद्यान्न, दलहन, तेलहन आदि पनि अभाव भएको छ। खाद्य सुरक्षामा जलस्रोतको भूमिकाबारे जनमानस त्यति सचेत छैन। भारतको कुल खेतीयोग्य भूमिको डेढ प्रतिशत (एक दशमलव ५ प्रतिशत) मात्र पञ्जाब प्रान्तमा भए पनि यो प्रान्तले भारतको धान र गहुँको ४० प्रतिशत आवश्यकता पूर्ति गर्छ, पानीको कुशल व्यवस्थापनसहित सघन खेतीका कारण। बाह्रैमास सिँचाइको व्यवस्था गर्ने हो भने तराईबाट मात्रै नेपालको धान–गहुँको आवश्यकताको ३ सय प्रतिशत उत्पादन हुन सक्छ। तर, यसतर्फ काम हुन नसकेको मात्र होइन, यो अवधारणा नै आत्मसात गरिएको छैन।

चर्चामा रहेको बूढी गण्डकी आयोजनालाई उदाहरणको रूपमा लिन सकिन्छ। १२ सय मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको यो आयोजना जलाशययुक्त हुने छ। जलाशयमा सञ्चित पानी सुख्खायाममा विद्युत् उत्पादनको क्रममा निःसृत गरिँदा ३ लाख हेक्टर जमिन सिँचाइ हुनसक्छ। हाल बढीमा २ बालीमात्र खेती भइराखेकोमा यो परिमाणको जमिनमा सुख्खायाममा पनि खेती गरिएमा (सघन खेती) खाद्यान्न, दलहन, तेलहन ठूलो परिमाणमा उत्पादन भएर भारतमाथिको परनिर्भरता घट्नेमात्र होइन निकासीसमेत गर्न सकिन्छ। तर, यो बूढीगण्डकीलाई जलविद्युत् आयोजनाको रूपमा मात्र अगाडि बढाइँदै गरेको र बहुउद्देश्यीय नबनाइएकोले खाद्य सुरक्षा हासिल गर्ने एउटा महŒवपूर्ण मौका गुम्ने अवस्था छ। हुन त प्रतिरक्षात्मक टिप्पणी आउन सक्छ, आयोजना निर्माण सम्पन्न भएपछि सिँचाइको लागि कार्यक्रम बनाएर कार्यान्वयन गर्न सकिन्छ। तर, महाकाली सन्धिबाट ...विद्यमान खपतयोग्य उपयोग'को सिद्धान्तले नेपाल–भारतबीच मान्यता पाइसकेको अवस्थामा यो आयोजनाबाट सुख्खायाममा निःसृत हुने थप/नियन्त्रित पानी भारतले उपयोग गर्न थालेको अवस्थामा नेपालले पछि उपयोग गर्न खोजेमा भारतले नदिन, नमान्न सक्छ। स्मरणीय छ, भारतले विद्यमान अवस्थामा सुख्खायाममा बग्ने पानीको परिमाणको हिसाबले आवश्यकभन्दा धेरै गुणा बढी पानी बग्न सक्ने नहर सञ्जाल निर्माण गरिसकेको छ।

यही सिद्धान्त अन्य जलाशययुक्त आयोजनाको हकमा पनि लागु हुन्छ। यसका अतिरिक्त स्वच्छ पानी पिउन र सरसफाइको लागि तथा खाद्य सुरक्षाको महŒवलाई दृष्टिगत गरी बाँध निर्माण गरेर पानी सञ्चय गर्ने सम्भावना भएका सबै आयोजनास्थललाई बहुउद्देश्यीय बनाइनुपर्छ। जलाशय निर्माण गर्न सकिने आयोजनास्थलबाट नदी प्रवाही आयोजनाबाट भन्दा बढी बिजुली उत्पादन गर्न सकिन्छ, जसको उदाहरण माथिल्लो कर्णाली हो। जलाशययुक्त बनाइएमा ४ हजार मेगावाटभन्दा बढी क्षमताको आयोजना बन्न सक्ने आयोजनास्थललाई बिगारेर नदी प्रवाही ९ सय मेगावाट बनाउन लागिएको छ। यसकारण बिजुलीमात्रै कम परिमाणमा उत्पादन हुने नभएर सापेक्षरूपमा उच्च गुणशील बिजुलीबाट पनि वञ्चित होइन्छ र बहुउद्देश्यीय बनाइएर खानेपानी सुरक्षा र खाद्यान्न सुरक्षा हासिल गर्ने मौका पनि गुम्छ।

औद्योगीकरण, उत्पादन र व्यापार घाटा

आर्थिक वर्ष २०७१/७२ को आर्थिक सर्वेक्षणअनुसार पहिलो ८ महिनामा आयात ५ सय ५ अर्ब र निर्यात ५६ अर्ब भएकोले व्यापार घाटा साँढे ४ सय अर्ब पुगेको छ। यसैमा केन्द्रित भएर धेरै स्वनामधन्य बुद्धिजीवी, अर्थशास्त्रीहरूले व्यापार घाटा घटाउन निर्यातवृद्धि र आयात कटौतीको पैरवी गर्छन्। तर, यो लल्लेरी गाएको दशकौँ हुँदा पनि व्यापार घाटा उत्तरोत्तर वृद्धि भई नै राखेको छ। किनभने, उपभोक्ताले उपभोग गर्न छाड्दैन र देशभित्र उत्पादन नभएमा विदेशी सामानै भए पनि किन्छन्। त्यस्तै, निकासी वृद्धि गर्नै पनि देशभित्र उत्पादन नभई सम्भव छैन। अझ अहिले भइरहेको निकासीले नेपालको अर्थतन्त्रमा ४ प्रतिशतमात्र मूल्य अभिवृद्धि हुन्छ भनिएकाले निकासीले पनि आर्थतन्त्रलाई ताŒिवकरूपमा योगदान गर्न सकेको देखिन्न। किनभने, निकासी भएको भनिएका अधिकांश वस्तु जस्तैः फलामे छड, जस्तापाता आदि बनाउन कच्चा पदार्थ आयात गरिन्छ भने घिउजस्ता वस्तु निकासी गर्न पनि ठूलो परिमाणमा ड्रममा घिउ आयात गरेर साना डिब्बामा भरिन्छ! तसर्थ, आयात प्रतिस्थापन गर्ने र निर्यात प्रबर्द्धन गर्ने उद्योगबाट उत्पादन नगरिकन व्यापार घाटा घट्ने सम्भावना हुन्न, जुन काम औद्योगकरणबिना सम्भव हुँदैन। तर, ऊर्जा मनग्गे नभई औद्योगीकरण हुँदैन। वर्तमानमा नयाँ उद्योग स्थापना गर्न विद्युत्को अभाव बाधक भएको छ भने स्थापित उद्योग पनि पूर्णक्षमतामा चलेका छैनन्।

नाकाबन्दीअघि नै नेपालको आर्थिक वृद्धि दर दमित थियो भने ऊर्जा मन्त्रीले आकलन गरेको परिमाणमा बिजुली उपलब्ध भएमा नेपालले सामान्य आर्थिक वृद्धि दर हासिल गर्न सक्छ। तर, द्रुत आर्थिक वृद्धि गर्न ऊर्जा दोब्बर परिमाणमा आवश्यक हुन्छ।

आर्थिक वृद्धिमा जलस्रोतको भूमिका

सघन खेती गरिएमा प्रचुर मात्रामा उद्योगधन्दाको लागि आवश्यक कच्चा पदार्थ पनि मुलुकभित्रै उत्पादन भएर आयात प्रतिस्थापनमा सहयोग पुग्छ। र, निर्यात वृद्धि भएर व्यापार तथा शोधनानन्तर घाटा घट्छ भने व्यापार–व्यवसायबाट मूल्य अभिवृद्धि पनि २५/३० प्रतिशत सजिलै पुग्न सक्छ। तर, समग्रतामा जलस्रोतको दोहनको प्राथमीकरण गर्दा खानेपानी सुरक्षा, खाद्यान्न सुरक्षा अनिमात्र ऊर्जा सुरक्षा हुनुपर्छ। मूल कुरा के हो भने, जलस्रोतको बुद्धिमत्तापूर्ण दोहन गरिएमा ऊर्जा सुरक्षामात्र हासिल नभएर देशमै कच्चा पदार्थ उत्पादन भएर औद्योगिक उत्पादन बढ्छ। त्यसपछि परनिर्भरता राम्रै घटाउन सकिन्छ।
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस