न्यायपालिकाको रूप
२३ मंसिर २०७२
•
१४ मिनेट पाठ
न्यायपालिकाको रूप
स्वतन्त्र, सक्षम, निष्पक्ष र निडर हुनुपर्छ भनिने नेपालको न्यायपालिकालाई हामीले सधैँ राजनीतिक तथा वैयक्तिक स्वार्थसिद्धिको नाममा एउटा प्रयोगशालामा रूपान्तरण तथा प्रतिस्थापन गर्दै आएका छौँ। स्वार्थअनुकूल संविधान कानुनमा संशोधन गर्ने बहानामा न्यायपालिकामा गलत प्रवृत्तिलाई प्रश्रय दिने गरेको पाइन्छ। कहिले तीन तह र कहिले चार तहका नाममा आफ्नालाई च्याप्ने र अन्यलाई फाल्ने फोहोरी खेलहरू पनि हुँदै आएको पाइन्छ।स्वतन्त्र न्यायपालिकाको मान्यतामा खरो उत्रन हामी असफल भएका छौँ। न्यायपालिकालाई 'नयाँ पालिका' मा ढाल्ने गरिएको तथ्यको विवेचना र विश्लेषण गर्ने कोसिस विरलै गरिएको पाइन्छ। फलतः न्यायपालिकाको सम्बन्धमा गौरव गर्न पाउने शौभाग्य नेपाली जनताले पाउन सकेनन्।




यस खेलको एक परिचित परिदृश्य भनेको अस्थायी न्यायाधीशसम्बन्धी व्यवस्था हो। यसले धेरैपटक पजनी र भजनीमा खेलेको भूमिकाले न्यायपालिकाको साखमा ग्रहण लाग्ने गरेको तथ्य सार्वजनिक हुने गरेकै हो। संवैधानिक तथा कानुनी व्यवस्थाको आडमा मुद्दाको चाप बढेको बहानामा अस्थायी न्यायाधीशहरूको नियुक्ति हुने गरेको पाइन्छ, तर ती न्यायाधीश नियुक्त भएपछि अपेक्षित मात्रामा उनीहरूबाट मुद्दा फर्स्यौट भएको छ वा छैन भनेर के आजसम्म कुनै अध्ययन–अनुसन्धान भएका छन्? उनीहरूबाट भएको फर्स्यौटको तथ्यांकको निष्पक्ष विश्लेषण र मूल्यांकन आजसम्म किन गरिएन त? मुद्दाको चाप कम गर्न नियुक्त भएका यस्ता न्यायाधीशहरूबाट अपेक्षित मात्रामा मुद्दा फर्स्यौट हुन नसक्नु, आफ्नो भूमिका देखिने गरी फैसला लेखन नहुनु, 'सहमतीय न्यायाधीश'मा साँघुरिएर भूमिका निर्वाह गर्नु, बौद्धिक र विधिशास्त्रीय मूल्य–मान्यतामा कुनै फैसला नहुनु तथा कुनै पनि कालजयी फैसला नजन्मनुजस्ता विविध विषयमा किन गम्भीर भइएन? कसले–कति र कस्ता फैसला गर्ने र लेख्ने गरेका छन् भनेर हेर्नुपर्ने आवश्यकता सायदै महसुस गरिएको छ! झारा टारेको भरमा न्यायाधीशको जागिर चल्छ भन्ने सन्देश प्रवाह हुनुभन्दा पहिल्यै सरोकारवाला व्यक्ति तथा निकाय सचेत हुनु आवश्यक छ। साथै, कुनै परिस्थितिमा मुद्दाको चाप घट्न गएमा 'मुद्दा चाप कम गर्ने बहानामा नियुक्त भएका यस्ता अस्थायी न्यायाधीशहरू' विस्थापन वा निष्काशन हुने गरेको तथ्य हामीकहाँ छँदै छैन। काम नभए पनि जागिर खुवाउने गरिएका यस्ता घटना सीमित दृष्टान्तभित्र पर्छन्।

कुनै दिन उमेरको हदबाट सेवानिवृत्त पृथ्वीबहादुर सिंह तथा जोगेन्द्रप्रसाद श्रीवास्तव पुनः सर्वोच्च अदालतका अस्थायी न्यायाधीशमा नियुक्त भएका थिए। तत्काल बहालवाला धेरै स्थायी न्यायाधीश उनीहरूभन्दा उमेर र हिजोको जागिरको क्रममा पनि कनिष्ट भएकाले द्वय न्यायाधीशको दायाँ बसेर कुनै स्थायी न्यायाधीशबाट न्याय सम्पादन गर्ने कार्य प्रायः कमै देखिए। यस्तोमा अस्थायी र स्थायी न्यायाधीशबीचको विभेद यकिन गर्न नसकिएको स्पष्ट हुन्छ। साथै, अस्थायी न्यायाधीश नियुक्ति र व्यवस्थापन सम्बन्धमा कुनै विधिशास्त्र नै छैन कि भनेर आश्चर्य मान्नुपर्ने अवस्था देखिन्छ। प्रश्न उनीहरूको योग्यतामा होइन, तर संविधानतः उमेरको हद नाघिसकेर सर्वोच्च अदालतमा पुनः नियुक्ति गरिँदा कुनै नैतिक तथा कानुनी प्रश्न उठ्न सक्दैन र? यस्तो नियुक्तिले स्थान खाली नभएको अर्थमा कुनै योग्य व्यक्ति मातहतको अदालतबाटै उमेरको हदबाट सेवानिवृत्त हुनु वा गराइनुको कारक मान्न मिल्दैन? यस्ता प्रश्न अति सामान्य लाग्न सक्छन्। तर, यसले न्यायपालिकाको साखमा पुर्याकएको क्षतिको मूल्यांकन र पुनर्मूल्यांकन गर्न यस्ता प्रश्न अति सापेक्षित र सान्दर्भिक मान्न सकिन्छ।

अस्थायी न्यायाधीशको कथा–व्यथाको चर्चा गर्दा पवनकुमार ओझाको नाम नलिँदा विषय अपूरो हुनसक्छ। उनको नियुक्तिको पृष्ठभूमि यहाँ सान्दर्भिक छैन। उनको कार्यशैली, आचरण तथा व्यावहारिक प्रस्तुति अद्यापि न्यायक्षेत्रमा सकारात्मक मानिन्छ, तर संस्थागत तथा राजनीतिक विवादको मारमा उनले पदबाट हट्नुपरेको थियो। मुद्दाको चाप कम भएको अर्थमा उनको आवश्यकता नपरेको, कार्यक्षमताको अभाव वा खराब आचरणको कारण नभई एकजना योग्य न्यायाधीश न्यायेत्तर विषयमा अवकाश हुन बाध्य हुने दूषित परम्परा स्थापित हुनु दुःखको विषय हो। हजुरआमा मर्नुभन्दा काल पल्किनुको अर्थमा यसलाई लिनुपर्ने हुन्छ।

नेपालको सन्दर्भमा स्थायी हुन पाइएला कि नपाइएला भन्ने डरको जाँतो अस्थायी न्यायाधीशहरूको टाउकोमाथि सधैँ घुमिरहेको हुन्छ भनिन्छ। यस्तो डरलाई दोहन गरेर दूषित कार्य गर्न लगाइन्छ भन्ने चर्चा–परिचर्चा पनि नसुनिएको होइन। आशामुखी प्रवृत्तिका कमजोर मानसिकताका अस्थायी न्यायाधीशविरुद्ध यसप्रकारको धर्मसंकटमा गरिने भयदोहनको सम्भावनालाई इन्कार गरिहाल्न नमिल्ला। कथ्य र तथ्यमा जेजस्तो भिन्नता भए पनि परमानन्द झाको सन्दर्भमा पनि यसप्रकारको चर्चाले स्थान पाएकै हो। सर्वोच्च अदालतका अस्थायी न्यायाधीशबाट पुनरावेदन अदालतका मुख्य न्यायाधीशमा पदान्तर भएको उक्त घटना नयाँ नजिर हो। पवनकुमारको सन्दर्भको नजिरभन्दा धेरै भिन्नप्रकारको, गम्भीर तथा सूक्ष्म अध्ययन हुनु आवश्यक देखिन्छ।

राजनीति र स्वतन्त्र न्यायपालिका आपसमा मेल खाने र सहयात्री हुनसक्ने विषयवस्तु हुँदै होइनन्, तर नेपालको सन्दर्भमा स्वतन्त्र हुनुपर्ने भनिएको न्यायपालिकामा राजनीतिकरण भएका अति धेरै दृष्टान्त प्रस्तुत गर्न सकिन्छ। तत्काल विश्वको सबैभन्दा उत्कृष्ट भनेर दम्भ गरिएको नेपाल अधिराज्यको संविधान, २०४७ ले खुलेरै न्यायपालिकालाई राजनीतिकरण गर्ने मार्ग प्रशस्त गरिदिएको थियो। न्यायाधीश नियुक्तिको नाममा भए–गरिएका राजनीतिकरणले न्यायपालिकालाई उठ्नै नसक्नेगरी थिलथिलो पारेको छ। स्मरण रहोस्, २०४६ को आन्दोलनमा तत्कालको न्यायपालिको संरचना र कार्यशैलीको सन्दर्भमा विरोधका कुनै स्वर सुनिएको थिएन, तर त्यसपछि बनेको संविधानमा सबैभन्दा बढी परिवर्तन भने न्यायपालिकाकै संरचनामा गरिएको थियो। त्यसपछिका न्यायाधीश नियुक्तिका प्रत्येक चरण विवादमुक्त हुन सकेन। यसरी निरन्तर बढ्दै गरेको विवादले न्यायपालिकालाई बर्बाद गरेको छ।

राजनीतिक दौडधुप र चाकडीप्रथाले एक्काइसौँ शताब्दीमा न्यायाधीश नियुक्तिमा योग्य व्यक्तिहरूबीच निष्पक्ष र विश्वसनीय प्रतिस्पर्धा हुँदैन भनिँदा आश्चर्य लाग्नसक्छ। त्यसमा पनि न्याय तथा कानुनसम्बद्ध क्षेत्रमा शून्य योगदानका र राजनीतिक आस्थामा डामिएका व्यक्ति न्यायाधीशमा नियुक्त हुनुलाई कदाचित श्रेयष्कर मान्न सकिँदैन। अस्वस्थ प्रतिस्पर्धामा कहिल्यै योग्य व्यक्तिले सहभागिता लिँदैन र अन्ततोगत्वा यस्तो प्रतिस्पर्धाबाट अयोग्यमध्येका योग्य व्यक्तिको चयन हुने सम्भावना रहन्छ। यस्तोमा असन्तोष र अरूचिले ग्रस्त मानसिकता बोकेर काम गर्न बाध्य व्यक्तिबाट अपेक्षित परिणाम प्राप्त हुन सक्दैन। पेशा वा सेवाप्रतिको वितृष्णा कत्तिको दुष्कर हुनसक्दो रहेछ भन्ने तथ्यको दृष्टान्तमा भरत उप्रेतीको घटनालाई लिन सकिन्छ। अस्थायी न्यायाधीशको निरन्तरतामा वितृष्णा पैदा भई राजीनामा दिएर बाहिरिएका उनले जीवनलीला नै समाप्त गर्नुपर्नेसम्मको ज्यादै अप्रिय निर्णय लिएको देखिन्छ। योभन्दा अर्को दुःखद दृष्टान्त कुनै हुनै सक्दैन।

अस्थायी न्यायाधीशबाटै बलात् बाहिरिन बाध्य प्रकाश वस्तीले सार्वजनिक गरेको पीडाले न्यायपालिकालाई ज्यादै ठूलो चुनौती प्रस्तुत गरेको छ। उनीजस्ताको पीडाको निदान र उपचार वर्तमान न्यायपालिकाबाट हुनसक्ने सम्भावनाको कल्पना गर्न सकिन्न। सायदै यस्ता विविध पीडानुभूतिबाट पाठ सिकेर नेपालको संविधान, २०७२ ले अस्थायी न्यायाधीशको व्यवस्थालाई अन्त्य गरेको हुनुपर्छ। तर, यसबाट अब उप्रान्त न्यायाधीश नियुक्त हुँदा र गरिँदा राजनीतिको गन्धा खेल हुँदैन भनेर प्रत्याभूति गर्न सकिने कुनै विश्वसनीय संवैधानिक प्रावधान देखिँदैन। न्याय परिषद्को संरचनामा सरकार र नेपाल बारका प्रतिनिधिका हैसियतमा रहने परिषद्का सदस्यको राजनीतिक छविको कालोछायाँ न्यायपालिकामा पर्दैन भनिँदा आँखा चिम्लेर सूर्यको अस्तित्वलाई इन्कार गर्नुजस्तै हो।

अस्थायी न्यायाधीशको कुरा गर्दा हाल बहालमा रहेेका पुनरावेदन अदालतका अतिरिक्त न्यायाधीशहरूको चर्चा गरिनु पनि सान्दर्भिक हुन्छ। विवाद र बर्बादको घेराबन्दीमा पर्दै गत वर्षमै झन्डै अवकाश हुने सम्भावनामा परेका उनीहरूको हकमा सोच्ने हैसियत न्याय परिषद्ले गुमाउँदै गएको देखिन्छ। सदस्यहरूको पदीय हैसियतको वैधानिकताको विषय आफूभित्रै संस्थागत विवादमा परेको न्याय परिषद्ले अरुको हकमा सकारात्मक वा आपत्कालीन उपचार गर्ला भनेर कल्पना गर्न नसकिने अवस्था सिर्जना भएको छ। नेपालको संविधान, २०७२ को धारा ३०० को उपधारा (३) को संक्रमणकालीन व्याख्या वा अपव्याख्या गर्न वा उपधारा (६) बमोजिम तोकिएको अवधिसम्म बहाल रहन सक्नेछन् भनेर निर्क्यौल गर्न पनि सम्भवतः परिषद्लाई कुनै चासो देखिँदैन।

अन्त्यमा, न्यायपालिकालाई स्वतन्त्र र मर्यादित राख्न वर्तमान संरचनामा आमूल परिवर्तन र सुधारको आवश्यकता देखिन्छ। न्यायपालिकालाई राजनीतिक ग्रहणबाट सधैँ मुक्त राख्न यस प्रकारको कडा र सकारात्मक कदम चाल्न हतार भइसकेको छ।
अर्को समाचार
बार र बेञ्च मिलेर न्यायपालिकाको सुधार गर्नुपर्छ : कामु प्रधानन्यायाधीश
०८ वैशाख २०८०
•
४ मिनेट पाठ
बार र बेञ्च मिलेर न्यायपालिकाको सुधार गर्नुपर्छ : कामु प्रधानन्यायाधीश
कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले बार र बेञ्च मिलेर न्यायपालिकाको शुद्धीकरण र सुधार गर्नुपर्ने बताएका छन्। नेपाल बार एशोसिएसन दोलखा इकाइको भवन उद्घाटन कार्यक्रममा आज उनले बार र बेञ्च मिलेर न्यायपालिकाको सुधारका लागि काम गर्नुपर्ने बताए।




‘निरंकुशतामा न्यायापालिका स्वतन्त्र हुन सक्दैन’, कामु प्रधानन्यायाधीश कार्कीले भने, ‘बार र न्यायपालिका सदा स्वतन्त्र, सक्षम र निष्पक्षताका लागि मिलेर काम गर्नुपर्छ।’

उनले कानुन व्यवसायीले पक्षको मात्रै न्याय गर्न नहुने र विपक्षीलाई पनि न्याय हुनुपर्ने र राज्यका हरेक क्षेत्र सच्चिनुपर्नेमा जोड दिए। कामु प्रधानन्यायाधीश कार्कीले कानुनको मूल्य र मान्यताका आधारमा कार्यपालिका र व्यवस्थापिकाको विवादका साथै प्रदेशका विवाद निरूपण गर्ने निकाय नै सर्वोच्च अदालत हो। उनले आफूले कानुन व्यवसाय र न्याय क्षेत्रको यात्रा दोलखाबाटै प्रारम्भ गरेको स्मरण गरे।

महान्यायाधिवक्ता डा दीनमणि पोखरेलले प्रधानन्यायाधीश नियुक्तिका लागि प्रधानमन्त्रीका तर्फबाट छिटो अगाडि बढाउन आफूले पहल गरिरहेको बताए। उनले विपक्षी दलका नेता बिरामी हुँदा पनि विपक्षी दलकै नेताको निवासमा गरेर अघि बढाउने विषयमा छलफल भएको जानकारी गराए। महान्यायाधिवक्ता पोखरेलले आज पनि सोही विषयमा प्रधानमन्त्रीले विपक्षी दलका नेतासँग छलफल गरेको स्पष्ट पारे।

संवैधानिक परिषद्को बैठक राष्ट्रियसभाका अध्यक्ष यही वैशाख १२ गर्ने आएपछि सहमति प्रक्रिया अघि बढ्ने र अब तत्काल नियुक्ति प्रक्रिया अघि बढ्ने विश्वास व्यक्त गरे। नेपाल बार एशोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले तत्काल प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन माग गर्दै संवैधानिक परिषद्ले तत्काल सर्वसम्मतिले नाम सिफारिस गर्न आग्रह गरे।

सर्वसम्मतरूपमा प्रधानन्यायाधीशको नाम तत्काल सिफारिस गरेमा कानुनको आवश्यकता नपर्ने उल्लेख गर्दै उनले उक्त कार्य नभएमा बारले चरणबद्धरूपमा आन्दोलन गर्ने बताए। बागमती प्रदेशसभा सदस्य भरत केसीले आफ्नै नेतृत्वमा बार भवन निर्माण सुरू भएको उल्लेख गर्दै दोलखा बारले असहाय र न्याय पाउनबाट बञ्चितलाई निःशुल्क सेवा दिने गरेको जानकारी दिए।

नेपाली कांग्रेस दोलखाका अध्यक्ष बर्मा लामाले देशको समग्र क्षेत्रमा सुशासन कायम गर्न न्याय क्षेत्रले नेतृत्वदायी भूमिका खेल्नुपर्नेमा जोड दिए। नेकपा ९एमाले० दोलखाका अध्यक्ष नरबहादुर श्रेष्ठले देशको विकृति र विसङ्गतिको अन्त्य गरी मुलुकमा सुशासन कायम गर्नका लागि न्याय क्षेत्रले भूमिका खेल्नुपर्नेमा जोड दिए।

नेकपा ९माओवादी केन्द्र० दोलखाका अध्यक्ष कुलबहादुर बुढाथोकीले सबैले न्याय पाउनुपर्ने र कोही पनि न्याय पाउने हकबाट बञ्चित हुन नपर्ने अवस्था सिर्जना हुनुपर्नेमा जोड दिए। नेपाल बार काउन्सिलका सदस्य डा चन्द्रकान्त ज्ञवालीले दलको इच्छाशक्ति भएमा संवैधानिक परिषद्का छ जनाको सहमतिमा प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्न संविधान बाधक नभएको बताए।

वरिष्ठ अधिवक्ता लक्ष्मी उप्रेतीले न्यापालिकालाई रिक्त राख्नु नहुनेमा जोड दिँदै तत्काल प्रधानन्यायाधीश नियुक्त प्रक्रिया अघि बढाउन माग गरिन। सर्वोच्च बार एशोसिएसनका अध्यक्ष हरिशङ्कर निरौलाले १४ महिनासम्म कामुका भरमा न्यायालय नेतृत्वविहीन हुनु अन्यायपूर्ण भएको हुँदा प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया तत्काल माग गरे।

पूर्वमहान्यायाधिवक्ता मुक्ति प्रधानले न्यायापालिका नेतृत्वविहीन हुनु चिन्ताजनक विषय भएको र तत्काल प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन माग गरे। नेपाल बारका पूर्वउपाध्यक्ष टीकाराम भट्टराईले सिङ्गो न्यायपालिकाले प्रधानन्यायाधीश तत्काल पाउनुपर्ने नत्र बार चुप लागेर बस्न नसक्ने चेतावनी दिए। उनले प्रधानमन्त्रीले तत्काल कार्यपालिकाको प्रमुखको भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए।

दोलखा काठमाडौँ कानुन व्यवसायी समाजको संयोजक तथा वरिष्ठ अधिवक्ता मेघराज पोखरेलले दोलखाका कानुन व्यवसायीले अध्ययन गर्ने थलो बन्नु महत्वपूर्ण भएको उल्लेख गर्दै प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया तत्काल अघि बढाउन माग गरे।

दोलखा बार इकाइका अध्यक्ष कृष्ण बस्नेतले दोलखा बारको भवन निर्माणमा सहयोग गर्नुहुने र उद्घाटनमा सहयोग गर्ने सबैप्रति कृतज्ञता ज्ञापन गरे। कार्यक्रममा कामु प्रधानन्यायाधीश कार्कीले दोलखा बारले प्रकाशन गरेको न्यायिक बिम्वको पनि सार्वजनिक गरे।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस