कबड्डी, मसान र टुल्के
१७ मंसिर २०७२
•
१२ मिनेट पाठ
कबड्डी, मसान र टुल्के
मिडिया र सामाजिक सञ्जालमा अहिले नेपाली सिनेमा 'कबड्डी कबड्डी' को व्यापक प्रचार छ । नाटकबाट आएका हाम्रो नयाँ पुस्ता सिनेमामा फरक नक्सा कोर्दैछन् । यिनीहरूसँग अभिनयको बेजोड कला छ । कथा वाचनको अनौपचारिक शैली, स्वाभाविक संवाद विधान, चुस्त पटकथा, आञ्चलिक सेटिङले सस्तो बजेटमै मनोरञ्जक सिनेमा बनाउन यो पुस्ता सफल छ । मिडियाले पत्याइदिएका र बजारको चरित्र पनि बुझेकाले यिनका सिनेमाले ठूला बजेटका हिन्दी सिनेमालाई समेत पछार्न थालेका छन् । 'लुट' र 'कबड्डी कबड्डी' लाई पछिल्लो उदाहरण मानिदिए हुन्छ । 'कबड्डी', 'टलकजंग भर्सेस टुल्के', 'छ एकान छ' अन्य उदाहरण हुन् ।जुन क्षेत्रबाट कथा टिपिएको हो, त्यही क्षेत्रमा गएर छायांकन गर्ने र त्यहीँको परिवेश उतार्ने शैलीले कथालाई पत्यारिलो बनाउँछ । दोस्रो विश्वयुद्धपछि जनताको दीनहीन जीवनशैली देखाउन इटालीका नवयथार्थवादी सिनेमाले यस्तो शैली अपनाएका थिए जसको प्रभाव विश्वव्यापी भयो । उनीहरूले कमै मात्र व्यावसायिक कलाकारलाई अभिनय गर्न लगाए । कथा टिपिएको क्षेत्रकै व्यक्तिलाई अभिनय गर्न लगाएर सिनेमालाई स्वाभाविक बनाउन उनीहरूको भूमिका अविस्मरणीय रह्यो । भित्तोरियो डेसिकाको 'बाइसाइकल थिभ्स', 'उम्बर्टो डी', रोबर्टो रोजिलिनीको 'ओपन सिटी', 'पैसा', बिस्कोन्टीको 'ट्रेजा भेनर्दी', 'रोको एन्ड हिज ब्रदर्स', सैन्टिसको 'बिटर राइस', फेडेरिको फेलिनीको 'ला स्ट्राडा' जस्ता सिनेमाले संसार हल्लाए । भारतमा सत्यजीत रे, मृणाल सेन, अडुर गोपाल कृष्णन, ऋत्विक घटक, गौतम घोष, ऋतुपार्णो घोष, श्याम बेनेगल, गोविन्द निहलानी, केतन मेहता आदिका सिनेमामा तिनको स्पष्ट प्रभाव देखिन्छ । नेपाली नयाँ पुस्ताले पनि यस शैलीलाई मिठास दिएर ग्रहण गर्न थालेको छ । यस हिसाबले नवीन सुब्बाको 'नुमाफुङ' लाई सफल उदाहरण मान्न सकिन्छ । अधिकांश छायांकन ताप्लेजुङको फुङलिङमा गरिएको यस चलचित्रले लिम्बु समाजमा नारीको नियति र विद्रोहको शानदार कथा भन्छ । छिरिङ रितार शेर्पाको 'मुखुण्डो', 'कर्मा' अन्य उदाहरण हुन् ।




निश्चल बस्नेत, रामबहादुर गुरुङ, दयाहाङ राई, सौगात मल्ल, ऋचा शर्मा, खगेन्द्र लामिछाने, अरूणा कार्की, पशुपति राई, राजन खतिवडा, सरिता गिरीजस्ता नाट्य क्षेत्रबाट आएको पुस्ता नेपाली सिनेमाको एकरसता तोड्न सफल छन् । राजेश हमाल, रेखा थापाहरूको विरासत भत्काएर तिनले नेपाली सिनेमालाई स्वाभाविक मनोरञ्जनको धारमा हिँडाएका छन् । स्वाभाविक अभिनय, हास्यरस, रोचक प्रस्तुति यस पुस्ताका अमूल्य सम्पत्ति हुन् । यिनका सिनेमामा हिरो हुन पाखुरा खैँचने र सदाबहार हुंकार छाड्ने राजेश हमाल हुनु जरुरी छैन । न हिरोइन हुन रेखा थापाजस्ती ग्लामरस र 'कथाले मागेजति' उदात्त हुनु जरुरी छ । न हिरो बन्न धिरोदात्त र रिसाहा ठिटो हुनु जरुरी छ, न हिरोइन हुन सदाबहार हसमुख, मायालु, सौन्दर्यकी खानी, दिलकी रानी हुनु पर्छ । 'लुट' मा विष्णुमती किनारको भट्टीवाल कसाई हाकु काले हिरो छ । 'टलकजंग' मा घामले अनुहार डढेकी कमलरी फुली थरुनी हिरोइन अनि गोबरगणेश टुल्के हिरो छन् । 'कबड्डी' को हिरो आफ्नै मामाकी छोरी पट्याउन नसक्ने मुस्ताङे थकाली काजी पुड्के र झगडिया छ । हिरोइन भइखाएकी उसकी मामाकी छोरी बैँसमा घोर्ले भएकी साधारण गाउँले युवतीभन्दा बढी केही देखिन्न । दयाहाङ राईजस्ता मंगोल अनुहारका होचा, सौगात मल्लजस्ता श्याम वर्णका, खगेन्द्र लामिछानेजस्ता औसत बुनोटका मान्छेलाई हिरो र रिष्मा गुरुङजस्ता सामान्य देखिने युवतीलाई हिरोइनका रूपमा स्थापित गर्न सक्नु यस पुस्ताको त्यत्तिकै ठूलो सफलता हो जति हिन्दी सिनेमामा अनुपम खेर, नाना पाटेकर, ओम पुरी, नसिरिद्धिन शाहले मुख्य भूमिका पाउनु ।

प्रेरणादायी 'मसान'


भारतीय सिनेमा र सिरियल नेपालमा सबैभन्दा बढी खपत हुने विदेशी सांस्कृतिक उत्पादन हुन् । यीमध्ये अधिकांशले हिन्दुवादी यथास्थितिलाई डोज दिने र परिवर्तनको स्वरलाई थिच्ने उद्यम गर्छन् । तर, कतिपय यस्ता भारतीय सिनेमा छन् जसले सामाजिक समस्या, सरोकार र संघर्षको अन्तर्यलाई सम्बोधन गर्छन् । त्यसबाट हाम्रा सिनेकर्मीले सिक्न सके धेरै हुन्छ ।

यसै वर्ष भारतका युवा निर्देशक निरज घवनको पहिलो सिनेमा 'मसान'ले क्यान्स फिल्म फेस्टिबलमा पुरस्कृत भएर संसारकै ध्यानाकर्षण गरेको छ । यो, बनारस निवासी दुई जोडी प्रेमीको दुःखान्त र अन्तरसंघर्षको मार्मिक कथा हो । सिनेमाको सुरुवातमै होटलको कोठामा सहवास गरिरहेका युवाजोडी देवी पाठक र पियुष पक्राउ पर्छन् । प्रहरी यातना र सामाजिक कलंकको डरले प्रेमी आत्महत्या गर्छ । बाँकी रहन्छ देवीको अथक अन्तरसंघर्ष र भ्रष्ट प्रहरीको बदनियत । देवी आफूलाई दोषी ठान्दिन किनभने दुवैको सहमतिमा उनीहरूबीच शारीरिक सम्पर्क भएको थियो । सामाजिक मर्यादाको बन्धनले प्रेमको कसिलो बाहुपास तोड्न सक्दैन । यसमा कसैले हस्तक्षेप गर्नु जरुरी थिएन । हुतिहारा भएर प्रेमीले गरेको आत्महत्या उसको जीवनमा दुखिरहने एउटा घाउ भइदियो । नत्र यो समाजको थोत्रो रीतविरुद्ध ऊ बलियो भएर लड्न सक्थी । यता प्रहरी अधिकृत मोबाइलमा खिचिएको देवीको नग्न भिडियो देखाएर उसको बाबुसँग ३ लाख रुपियाँ घुस माग्छ । 'अवैध' यौनको दायित्व महिलाले मात्र बोक्नुपर्ने समाजमा त्यसपछि देवीले भोग्नुपरेको मानसिक यातना र त्यसविरुद्ध उसले गरेको सामाजिक संघर्ष प्रेरणादायी छ । सिनेमामा समानान्तररूपमा अर्को जोडीको प्रेमकथा छ । फेसबुकमार्फत दीपक चौधरी र शालु गुप्ता प्रेमको बाहुपासमा बाँधिन्छन् । दीपकलाई कुन कुरामा हीनताबोध छ भने ऊ मसानमा मुर्दा पोल्ने चण्डालको छोरा हो । त्यही पेसा गरेर उसको बाबुले उसलाई इन्जिनियरिङ पढाइरहेको हुन्छ । दीपक स्वयंलाई पनि लास जलाउने कामबाट मुक्ति छैन । यो रहस्य खुलिसकेपछि पनि शालु गुप्ता भागेरै ऊसँग जान तयार हुन्छे । लास जलाउने क्रममा दीपक एउटा लासको औँलामा परिचित औँठी देखेर झस्कन्छ किनभने त्यो उसैले आफ्नी प्रेमिकालाई दिएको मायाको चिनो थियो । सपरिवार तीर्थयात्रा जाँदा दुर्घटनामा शालुको निधन भएको थियो । यस्तो विषादमा सामाजिक कलंकविरुद्ध संघर्ष गरिरहेकी एक्ली देवी पाठक र घाइते दीपक चौधरी बाँकी क्रूर समयको सामना कसरी गर्लान् रु 'मसान'ले त्यही विषयलाई मर्मस्पर्शी शैलीमा उठाएको छ ।

मनोरञ्जन र चेतना


निश्चय पनि रंगमञ्चबाट आएको नेपाली नयाँ पुस्ता झर्कोलाग्दो विरासत भत्काउन सफल छ । कम्तीमा तिनले हामीलाई नेपाली समाजको सतहको कथा देखाउन थालेका छन् । तर, हास्यरस र मनोरञ्जनमा बेसी अल्झिँदा तिनले कथाको अन्तर्य नै ओझेल परेको हेक्का राख्न जरुरी छ । रामरमिताबाट थालिएर रामरमितामै सकिनु तिनका सिनेमाको विशेषता हो । यस्तो लाग्छ, तिनले हाम्रो समाज र राजनीति देखेका छन्, तर तिनको अन्तर्यमा छिर्न बाँकी छ । 'कबड्डी' र त्यसको सिक्वेल जति सफल मानिए पनि, मामाचेलीमाथि फुपूचेलाको हक लाग्ने अवैज्ञानिक संस्कृतिमाथि प्रश्न उठाए पनि तिनले हाम्रा नारीको दीनहीन र असहाय यथास्थिति भत्काउन प्रेरणा दिँदैनन् । पहिलो भागमा, गोबरगणेश फुपूचेलाकी स्वास्नी बन्न अस्वीकार्दै पढ्न सहर छिरेकी केटीलाई मुक्ति दिलाउन उही गोबरगणेश आउनुपर्छ । पुरुषरूपी समाउने हाँगो नभई नारी निरीह हुन्छे भन्ने विचारले युवापुस्ताको चेतनामाथि नै प्रश्न उठ्छ । दोस्रो भागमा पनि त्यही केटीका लागि दुई लाठेबीच लुछाचुँडी हुन्छ । 'लुट' मा सम्पन्न परिवारकी ऋचा शर्मा बेरोजगार प्र्रेमीलाई सान्त्वना दिने हैसियतसमेत राख्दिनिन् । 'टलकजंग भर्सेस टुल्के' तुलनात्मकरूपले नेपाली समाजको चरित्र र अन्तर्य केलाउन सफल सिनेमा हो।
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  




प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस