मधेस आन्दोलनमा 'मिडियामत'
२९ कार्तिक २०७२
•
१६ मिनेट पाठ
मधेस आन्दोलनमा 'मिडियामत'
वर्तमान पुस्ताले जानेबुझेदेखि नै देशमा कुनै न कुनै प्रकारको आन्दोलन भइरहेको छ । पहिला राणा हटाउन राजा र जनता मिलेर आन्दोलन गरे, फलस्वरूप २००७ सालमा १०४ वर्ष लामो जहानियाँ शासन समाप्त भयो ।२०३६ सालपछि जनता मिलेर तत्कालीन शासन व्यवस्था परिवर्तनका लागि आन्दोलन गरे, जुन २०४६ सालमा आएर सफल भयो । पञ्चायती व्यवस्था ढल्यो र देशमा बहुदलीय शासनको जग बस्यो । माओवादीले २०५२ सालमा तत्कालीन व्यवस्था र २४० वर्षदेखिको राजतन्त्र उन्मूलन गर्न सशस्त्र आन्दोलन सुरु ग¥यो । अन्य राजनीतिक दलको सहयोगमा २०६३ सालमा आएर उक्त आन्दोलन सफल भयोे । यी त थिए नेपालमा भएका प्रमुख आन्दोलन, यीबाहेक पनि विषयगतरूपमा कहिले मधेसमा त कहिले पहाडको कुनै एउटा ठाउँमा, अनि कहिले कुनै संस्थामा त कहिले कुनै जात वा वर्गविषेशमा, विभिन्न आन्दोलन भइनै रहे । कति दबे, कति सफल भए त्यसको लेखाजोखा त जनस्तरमा पनि नहोला ।




नेपालमा उल्लिखित सबै र अरु पनि एक–दुई अपवादलाई छाड्ने हो भने आन्दोलन शासन व्यवस्था र शासकका विरुद्धमा भएका छन् । जात, धर्म, लिंग, भाषा तथा सिमानाजस्ता विषयमा आधुनिक नेपालमा आन्दोलन भएका छैनन् र हुनुपर्ने कारण पनि कहिल्यै बनेन । हाम्रो सामाजिक सद्भाव र संस्कृति यति बलियो छ कि शासन र शासकबाहेक नेपालमा अरु केही समस्या कहिल्यै आएन । पूरा नेपाल भ्रमण गर्दा एउटामात्रै रोग भेटिन्छ र त्यो हो गरिबी । गरिबीको रोगको एउटै कारण खराब शासन व्यवस्था र प्राकृतिक स्रोतको बाँटफाँटमा देखिएको एकलौटीकरण हुन गयो । यी कारणले पनि नेपालमा भएका आन्दोलनहरू ढिलो–चाँडो सफल भएका छन् । किनकि, हरेक मानिस गरिबीबाट उन्मुक्ति चाहन्छ र हरेक पछिल्लो आन्दोलनकारीमा उसले आफ्नो गरिबीसँग लडिदिने 'अपनत्व' देख्छ । तसर्थ, हरेक आन्दोलनमा ऊ मर्छ र बाँचेकाहरू सफल आन्दोलनको परिणाममा झन्डा हातमा लिएर खुसियाली मनाउन दौडन्छन् । तर, जब उसका आकांक्षा ऊ आफैले सडकमा होमिएर सफल बनाएको आन्दोलनकारी जो अब शासक भइसकेका हुन्छन्, तिनले पटकपटक कुल्चिदिन्छन्, ऊ अब अर्को आन्दोलनको पर्खाइमा हुन्छ । फेरि अर्को झन्डा समाउन र अर्को नारा घन्काउन तयार रहन्छ ।

जतिपटक पनि आन्दोलन भए, आन्दोलनको सफलताको पछाडि नेता, नेतृत्व र बन्दुकभन्दा कलमले प्रमुख भूमिका खेल्यो । यो कुरा आन्दोलन गरिरहँदा र आन्दोलन सफल भइसकेपछि दल वा तिनका नेताले सधैँ स्वीकार गरेको हामीले देखे–सुनेकै छौँ । जबजब देशका मूलधारका मिडियाले आन्दोलनलाई साथ दिन्छन्, आन्दोलन सफल हुन्छ भन्नेमा दुईमत छैन । अझ अब त सामाजिक सञ्जालको यो युगमा, यसको भूमिकालाई पनि कम आँक्न सकिन्न । फेरि आन्दोलन गर्दा मूलधारका मिडियामा तठस्थ बुद्धिजीवीले आन्दोलनको पक्षमा बोले–लेखेका खण्डमा ठूलो प्राप्ति हुनजान्छ ।

नेपाली समाजले आन्दोलनमा विदेशीको भूमिकालाई जहिले पनि अप्रत्यक्ष स्वीकारेको स्थिति देखिन्छ । सात सालदेखि ७२ सालसम्म आइपुग्दा नेपालमा भएका हरेक आन्दोलन सफल हुन भारतको अहम् भूमिका देखिएको छ, तर भारतीय सहयोगले मात्रै आन्दोलन सफल वा असफल भने हुन सक्दैन भन्ने पनि देखिएको छ । विगतमा आन्दोलनकै बेलामा पनि, धेरै यस्ता उदाहरण छन् जहाँ भारतले चाहेको भन्दा फरक निर्णय हाम्रा नेताहरूले देश र जनताका लागि गरेका छन् । तसर्थ, कसैले भारत, चीन वा अरु कुनै विदेशीको आडमा मात्रै नेपालमा आन्दोलन गर्न थाल्यो भने त्यो असफल हुने स्पष्ट छ ।

अहिले आएर नेपालमा संविधान जारी भएपछि पहिलोपटक फरकखालको आन्दोलन सुरु भएको छ, मधेस आन्दोलनका नाममा । संविधानका केही प्रावधान र सीमांकनका कुरामा विमति राख्दै, संविधान सभाभित्र र वाहिरका मधेसवादी दलहरू मिलेर सुरु गरेको यो आन्दोलनले नेपालीको जनजीवन नराम्ररी बिगारिसकेको छ । आन्दोलन कहाँ पुगेर टुंगिन्छ भन्ने लेखाजोखा अझ पनि कसैले गर्न सक्ने स्थिति छैन । सरकार र आन्दोलनकारीबीच भएका केहीपटकका वार्ता मूल एजेन्डामा प्रवेश नै नगरी अन्त्य भएको स्थिति छ । गत बैशाखमा गएको भूकम्पले गरेको भन्दा बढी क्षति यो आन्दोलन र आन्दोलनको आडमा भारतले गरेको अमानवीय नाकाबन्दीले गरेको आकडा अर्थशास्त्रीहरूबाट आउन थालिसकेको छ ।

आजको विषय, मधेस आन्दोलनमा काठमाडौँकेन्द्रित मूलधारका मिडिया र अधिकांश सामाजिक सञ्जालका सदस्य किन सामेल हुन सकेनन् भन्ने हो । के मधेस आन्दोलनका माग नाजायज छन् ? के मधेसले आफ्नो अधिकारको माग राख्न पाउँदैन ? के मधेस र पहाड बराबर नेपाल हैन ? तर पनि किन मधेसको मुद्दामा काठमाडौँ र यहाँका ठूला मिडिया चुप वा नकारात्मक ? किन हरेकपटक मधेसमा आन्दोलनरत नेतासँग काठमाडौँका मिडियाले नकारात्मक प्रश्नमात्रै गर्छन् ? जसको जवाफमा मधेसका नेताले बोलेका शब्दले समाजमा घृणा बढाउने काममात्रै गरेको छ ?

नेपालका पछिल्ला आन्दोलनलाई नजिकबाट हेरेको–भोगेको, इतिहासका आन्दोलनका बारेमा पढेको, मूलधार मिडियासँग सम्बन्धित भएको र चलनचल्तिमा रहेका सामाजिक सञ्जालको सक्रिय सदस्य भएको नाताले मलाई मधेस आन्दोलनका विभिन्न सकारात्मक पक्ष र जायज मागका बारेमा बोल्न, लेख्न र विवाद गर्न मन लाग्छ । मधेसीमूलका मेरा साथीहरूसँग बसेर यो विषयमा मतमतान्तर गर्न मन लाग्छ र सके त मधेसको जायज माग पूरा गराउन आन्दोलनमा होमिन मन लाग्छ । तर, जब विहानै उठेर कानमा रेडियो लगाउँछु, आन्दोलनमा लागेका ठूला नेताहरूले ओकलेको आगोले मेरा कान र मस्तिष्क दुवै पोल्छ– नेताका बोलीमा मधेसी जनताको माग हुन्न, मधेसको पीडा हुन्न, मधेसीले पाएको दुःख हुन्न । हुन्छ त केवल पहाडियालाई गरेको गाली र त्यो पनि बाबु–आमाको नाममात्र लिन बाँकी हुन्छ । उनीहरूको गालीमा हुने पहाडिया पनि मधेसमा बस्ने हैन– पहाडमा बस्ने पनि हैन, काठमाडौँमा बस्ने मजस्ता पहाडिया पर्छन् ।

हो मधेसको मागमा मेरो समर्थन छ, म चाहन्छु उनीहरूसँगै लागेर काठमाडौँको सत्तालाई मधेसको पक्षमा जगाउन, लेख्न र बोल्न । तर, मलाई दुईवटा कारणल त्यो गर्न रोकिरहेको छ । पहिलो, मधेसका नेताहरूको मजस्ता पहाडियालाई गर्ने गाली (सत्ता वा सरकारलाई हैन) र दोस्रो, मधेस आन्दोलनमा भारतीय संलग्नता तथा मधेसी नेताहरूबाट गरिने त्यसको खुलेआम प्रचार । मधेसी नेताहरूको बोलीमा देश र जनताविरुद्ध घृणा झल्कन्छ, माया हैन, फुट झल्कन्छ । जुट हैन, फुटाउने प्रयास हुन्छ, फकाउने हैन, हप्काउने प्रयास हुन्छ । हुन त काठमाडौँमा बसेका केही ठूला सत्ताधारी नेतामा पनि यो बानी नभएको हैन, जुन सच्याउनु जरुरी छ । त्यतिमात्रै हैन जब देशको प्रधान मन्त्रीजस्तो जिम्मेवार व्यक्तिले घृणाका शब्द ओकल्छन्, त्यसले सामाजिक सद्भाव बिथोल्ने काम गरिरहेको हुन्छ । जबसम्म देश फुटाउने कुरा हुन्छ, जबसम्म मित्रता टुटाउने धम्की हुन्छ कसरी मूलधारका मिडियाले तिनीहरुको समर्थन गरुन् ? चाहे ती मिडिया जुनसुकै जात वा धर्मका मानिसले चलाएका हुन् वा त्यसका सम्पादक जुनसुकै क्षेत्रबाट आएका हुन् ! यो कुरा मधेसी नेताहरूले नबुझुन्जेल दिल्लीले जति समर्थन गरे पनि आन्दोलनका कुनै माग पूरा हुँदैनन् र जनताको दुःख अझै बढ्दै जान्छ ।

माग जायज हुँदाहुँदै पनि जबसम्म शब्दहरूमा घृणा, फुट र तर्साउने काम हुन्छ, तबसम्म मिडियाले साथ दिन सक्ने कुरै भएन । बरु त्यसैको समाचार नकारात्मकरूपमा आउँछ र आगो झन् दन्कन्छ । आन्दोलनरत पक्षबाट प्रतिदिन भइरहेको यो व्यवहारले चाहेर पनि कतिपय पहाडिया मधेस आन्दोलनका साथी बन्न सकिरहेका छैनन् । यतिमात्र नभई काठमाडौँमा भएका र आन्दोलनमा प्रत्यक्ष सामेल नभएका मधेसीहरूसमेत अब त दोहोरो मारमा परेका देखिन्छन् । न त उनीहरू मधेसी क्रियाकलापको खुलेर समर्थन गर्न सक्छन् न त विरोध नै ! न त आन्दोलनको विरोध गर्न सक्छन् न त पहाडियालाई गाली नै !

मधेस आन्दोलनको ३ महिना र अमानवीय भारतीय नाकाबन्दीको ६ सातामा सबै नेपालीले दुःख पाएका छन् । तर, सबैभन्दा बढी दुःख मधेसमै भएको छ । यसै त अपेक्षाकृत बढी गरिबी अनि अझ बन्दको मार काठमाडौँले र यहाँका मूलधारका मिडियाले नबुझेका हैनन्, तर जबसम्म गाली र घृणाकोे राजनीति हाबी हुन्छ तबसम्म मिडिया मधेसको पक्षमा हुनै सक्दैन र हुनु पनि हुँदैन । जति काठमाडौँ मधेसीको हो त्यति नै मधेस काठमाडौँवासीको पनि हो । काठमाडौँका मधेसीका घरसम्पत्ति यहाँका पहाडियाले संरक्षण गरेर राखेको स्थितिमा मधेसमा भएको पहाडियाको सम्पत्ति पनि उताका मधेीिले संरक्षण गर्नुपर्ने हैन र ? किन त्यसो हुन नसकेको ? मधेसी नेताहरू यो प्रश्नको जवाफबाट किन सधैँ भाग्छन् ? हिजोका सबै आन्दोलनका सहयात्री दलहरू अहिले भूगोलको सीमांकनको सानो मुद्दामा घृणा फैलाउने काम गर्न पाइन्छ ? यसो गर्ने अधिकार काठमाडौँकै केही नेता र मधेसी नेतालाई कसले दियो ?

सीमांकनमात्रै यो आन्दोलनको मुद्दा हो भने त्यो त एकैछिनमा मिलाउनुपर्छ । नेपालभित्रको कुनै एउटा भूभाग नेपालभित्रकै कुनै एउटा प्रदेशमा पर्दा अथवा अर्को प्रदेशमा पर्दा के फरक पर्छ ? किन हामी यति असहिष्णु ? यो नेपालीको स्वभाव त हैन । यो आयातित दासत्वजस्तो वैगुण जताबाट आएको हो उतै फालेर कुरा मिलाउन पहिला काठमाडौँ तयार हुनुपर्छ । मधेसले घृणाको राजनीति त्याग्नुपर्छ । यसो गरेमा मधेस आन्दोलनमा जनमत र 'मिडियामत' दुवै एकैसाथ पाइन्छ । जहाँसम्म मधेसीले पहाडियालाई गरेको गालीको कुरा छ, त्यो त आपसमा मिलेर बस्दै पचाउँला, तर भारतीय नाकाबन्दी र त्यसको समर्थन किमार्थ गर्न सकिँदैन । शुक्रबार फ्रान्सको राजधानी पेरिसमा भएको आतंककारी हमला जति भत्सर्नायोग्य छ त्योभन्दा बढी भत्सर्नायोग्य भारतले नेपालमाथि गरेको नाकाबन्दी छ । यो कुराको मनन् सबैभन्दा पहिले मधेसका नेताहरूले गर्नुपर्छ । जुन दिन यो कुराको मनन् गर्दै वार्तामा आफ्नो माग लिएर मधेसका नेताहरू बस्छन् त्यो दिन उनीहरूका सबै माग काठमाडौँका मिडिया र सामाजिक सञ्जालले पूरा गरिदिन्छन् । त्यसदिन काठमाडौँको सत्तालाई पर्ने दबाबको कल्पना सायदै कसैले गरेका होलान् ।

अबका दिनमा भारतीय नाकाबन्दीको विरोध मधेसी दलका नेताहरूले गर्नुपर्छ । यसो गर्न सकिएमा मधेस आन्दोलनको माग सशक्त हुन पुग्छ । अहिलेसम्म त काठमाडौँ र यहाँका मूलधारका मिडियाले मधेसी जनताको जायज मागलाई पनि भारतीय माग भनेर बुझिरहेको स्थिति छ । यो बुझाइ गलत प्रमाणित नभई मिडियाको सहयोग मिल्न सक्दैन । यो बुझाइ हटाउने प्रमुख जिम्मा उपल्लो तहका मधेसी नेताहरूकै हो । @rajunepal
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  




प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस