सुन्नैपर्ने तः मुंज्या
११ कार्तिक २०७२
•
१३ मिनेट पाठ
सुन्नैपर्ने तः मुंज्या
उपत्यकाका ३ सहरमध्ये भक्तपुर प्राचीनता सुरक्षित रहेको म्युजियम हो। बैशाख १२ को महाभूकम्पले तमाम कच्ची घर तहसनहस पारे पनि इँटा वा समथर ढुंगा बिछ्याइएका यहाँका सडक, दाःछी इँटाले बनेका कलात्मक झ्यालयुक्त घर, तेली इँटा बिछ्याइएका मन्दिर र घर परिसर अनि माटोका कलात्मक भाँडाले अहिले पनि हामीलाई मल्लकालीन प्राचीनतासँग साक्षात्कार गराउँछन्।प्राचीनता जोगाउने मौलिक शैलीका घर बनाउन अनुदान दिएरै भक्तपुर नगरपालिकाले प्रोत्साहित गरिरहेको छ। सिनित्त सफा पारिएका सडक, चोक र गल्ली, हरेक बिहान टोलटोलमा गुन्जने दाःफा भजन, सालैभरि चलिरहने मौलिक चाडपर्व र जात्राहरू यसका सुन्दर गहना हुन्। यस्तै परिवेशमा विगत ३५ वर्षदेखि विजया दशमीपछिका २ दिन प्रत्येक वर्ष चल्दै आएको छ, नेपालभाषा साहित्य तः मंुज्या। अर्थात् नेपालभाषा साहित्यको बृहत् भेला। सहरका उत्साहित जनतालाई सांस्कृतिकरूपले प्रशिक्षित गर्न र मजदुर, किसान वर्गको आवाज राज्यसम्म पुर्यालउने तः मुंज्याको प्रयास मननयोग्य छ।

पैँतीसौँ पाइला

भक्तपुर कमलविनायकको लिवालीमा यसपालिको स्वीङागुुगु तः मुंज्या (पैँतीसौँ सम्मेलन) महाभूकम्पको सास्तीबाट मुक्ति र भारतीय नाकाबन्दीको प्रतिरोधका रूपमा दुवै दिन निरन्तर बाह्र/बाह्र घन्टा चल्यो। त्यसलाई सफल पार्न सम्मेलनका अध्यक्ष कृष्णप्रसाद धन्छाले लिवालीको धुलो पखाल्न पुग्नेगरी पसिना बहाए। महेन्द्र खायमली, लक्ष्मीप्रसाद कुसी, तुल्सीराम ग्वाछा, कृष्णप्रसाद कोजू, राम प्रजापति, पञ्चलक्ष्मी दुवाल, कमलेश्वरी तुईतुईलगायतको आयोजक समितिलाई स्थानीय बासिन्दाले उत्तिकै सघाए। तिनलाई नित्य निर्देशन गर्ने कान्छा बासुकला, सूर्यराम श्रेष्ठ, सुरेन्द्रराज गोसार्इं, लक्ष्मीनारायण दुवाल, लक्ष्मीनारायण राजलवट खत्री, राजाराम छुकांलगायतको तः मुंज्या मूल गुठी छँदै थियो। पूर्वमा भव्य मञ्च, पश्चिम र उत्तरमा १५ सय जना अट्ने दर्शकस्थल बनाउन आयोजक अचाक्ली व्यस्त हुनुपर्यो।।

भक्तपुरका प्रसिद्ध बाध्यवादन गुरु इन्द्रबहादुर दुवाल र दलबहादुर प्रजापतिलाई तपाईं–हामी चिन्दैनौँ किनभने तिनलाई मिडियाले चिन्दैन। हाम्रो मिडिया असल पात्रको खोजी गर्दैन। खोज्दै आफूकहाँ आउने कमसल पात्रलाई हिरो बनाउँछ। यसले गर्दा कीराहरू हीरा भएका छन्। वास्तविक हिरोहरू गुमनाम छन्। दुवाल र प्रजापतिले भक्तपुर नाघेर चलखेल गर्न सकेका भए, सोझा नेवार समुदायका नभएका भए, मिडियासामु आफ्नो बखान गर्न सकेका भए तिनका प्रसिद्धि र बखानले सारा मिडिया रंगिन्थे। संगीत र साहित्यमा अहिले लफंगाहरूको राज छ। ठूला मिडियामा हाँसको स्वर भएका गायक र कमजोर चेतनास्तरका लेखककै बढी ...कभरेज' देखिन्छ। कलाचेत भएको कुनै व्यक्ति अध्ययन गर्न पस्यो भने उसले केवल यहाँ चर्चित व्यक्ति भेट्छ। लेखक वा कलाकार भेट्दैन। यस्तो छ हाम्रो साहित्य, कलाको हालत। यस्तो बेला त.मुंज्याले देशका तिनै गुमनाम बृद्ध बाध्यवादन गुरु दुवाल र प्रजापतिलाई सम्मान गरेर कलाक्षेत्रलाई बिर्सिनसक्नु गुन लगायो। तः मुंज्या मूल गुठीका सचिव सुरेन्द गोसाईंका अनुसार भक्तपुर नगरपालिका वडा नं १ का दुवाल र वडा नं २ का प्रजापति १२ वर्षदेखि अहिले ९० वर्ष नाघिसक्दा पनि बाध्यवादन क्रियाकलाप र प्रशिक्षणमा क्रियाशील छन्। ३५ औँ तः मुंज्यामा समेत दुवालले बाध्यवादन गरेका थिए। तिनका हजारौँ चेला अहिले शास्त्रीय संगीतमा सक्रिय छन्। शनिबार सम्मानित भएपछि तिनलाई पुर्‍याउन बाजागाजासहित भक्तपुरवासी तिनकै निवास पुगे। घर पुग्नु के थियो, ती फेरि फर्केर रातभरि तः मुंज्याको सांस्कृतिक उत्सवमा सहभागी भए।

नाकाबन्दीको मार

यसपालिको दसैँ र नेवारहरूको मोहनी धेरै अर्थमा खल्लो भयो। हिन्दु धर्म, पशुपतिनाथ र नेपाली सार्वभौम सत्ताको त्यत्रो गुनगान गाउने भारतीय प्रधान मन्त्री नरेन्द्र मोदीले तिनै हिन्दुको महान् चाड प्रभावित हुनेगरी नाकाबन्दी लगाए। भैरव रिसालको विचारमा यो नाकाबन्दीभन्दा बढी सासबन्दी थियो। गत वर्ष सिन्धुपाल्चोकको पहिरोमा ५ सय जनाभन्दा बढी पुरिँदा सारा मन्त्री, सभासद् र नेता त्यहाँ नपुगी यिनै मोदी महोदयलाई ताली दिन र खुसामद गर्न संसद्मा थुप्रिएका थिए। तिनले मोदीजति नेपाली जनताका महान् भारतीय मित्र अरू कसैलाई देखेनन्। हुन त १२ बुँदे सम्झौतादेखि नै हाम्रा नेताले आफ्नै भान्छामा तरकारी पकाउनदेखि छोरीको दुलाहा रोज्नसमेत भारतको अनुमति लिनुपर्ने मनसुवा र प्रवृत्ति देखाए। यसरी हाम्रो राजनीतिक लेनदेनमा तिनले भारतसँग अनेक वाचा गरेका थिए। त्यो पूरा नगरी संविधान जारी गर्दा मधेसवादी दल आन्दोलनमा उत्रिए। हो, सरकारले तिनका जायज माग पूरा गर्नु अनिवार्य छ। त्यही पूरा गराउन आन्दोलनमा उत्रेका ४६ जनाले ज्यान गुमाउनु परेको घटना दुःखद् छ। तर, मधेसवादी दललाई ढाल बनाइ मोदीले यता नेपाली जनतालाई नाकाबन्दी गरिरहे। मधेसी दलहरू दसगजा क्षेत्रमा धर्ना दिएर, भाजपा समर्थक भारतीय व्यापारी महेश अग्रवालकहाँ खानपिन गरेर, भारतबाट नेपाल भित्रने मालवाहक वाहन रोकिरहेका छन्।

उता, भारतीय तेल प्राधिकरण नेपाली ट्यांकरलाई तेल भर्न दिँदैन। भारत सरकार भन्छ, हामीले नाकाबन्दी गरेका छैनौँ, तिम्रै जनताले सीमामा धर्ना दिएर आपूर्ति रोकेका हुन्। पहिले तिनलाई मनाऊ। मधेसवादी दल भने यसलाई नेपालको आन्तरिक राजनीतिमा हस्तक्षेप ठान्न तयार छैनन्। उल्टै तिनीहरू यसको औचित्य साबित गर्न खोज्दैछन्! यसले गर्दा नेपालमा इन्धनको हाहाकार छ। नाकाबन्दीका कारण देशले ३५ अर्ब रुपियाँ राजस्व घाटा बेहोरेको छ। पारि रक्सौलमा नेपालतिर आउन लागेका मालवाहक सवारीको लाम २५ किमी लामो छ। परनिर्भरता हाम्रो आवश्यकताभन्दा बढी प्रवृत्ति बन्दा समस्या अझै चर्केकोे छ। उता, मोदी महोदयलाई यसै कुराले हौस्याएको छ। नेपाल यस्तो समस्यामा फस्दा तः मुंज्याले नाकाबन्दी र सीमाक्षेत्रको अन्तर्यबारे सम्मेलनमा सीमाविद् बुद्धिनारायण श्रेष्ठ र पत्रकार भैरव रिसालले खुलस्त पारे। यसै मेसोमा कवि हरिहर तिमिल्सिनाको 'मेरो देशको हरेक नेता विदेशीको नोकरजस्तो लाग्छ' बोलको व्यंग्यात्मक मुक्तकलाई सहभागीहरूले आफ्नै हृदयको आवाज ठाने।

सीमान्तकृत भाषाको आवाज

व्यापारिक संस्था एनसेलको सहयोगमा फाइन प्रिन्टले गर्ने एनसेल लिटेरेचर फेस्टिबलबारे हरेक दिन मिडियाले आकर्षक कभरेज दिन्छ। रिडर्स झापाले आक्कलझुक्कल गर्ने साहित्य महोत्सवले पनि उत्तिकै कभरेज पाउँछ। भक्तपुरमा बर्सेनि हुने विराट नेपालभाषा साहित्य सम्मेलन र नेपालभाषा साहित्य तः मुंज्याका खबर भने मुस्किलले मिडियामा आउँछ। तर, यिनले दिन खोजेको सन्देश सारा देशबासीले सुन्नु जरुरी छ। त्यहाँ प्रसिद्ध र नयाँ लेखकका रचना, विशेषज्ञका कुरा नेताहरू तल जनतासँगै बसेर धैर्यपूर्वक सुन्छन्। यसपालिको सम्मेलनमा सहभागीले नेपालभाषी, नेपाली र अन्य अल्पमतभाषी लेखकका रचनामात्र सुनेनन्, संस्कृतिविद् सत्यमोहन जोशी, मिर्गौला रोग विशेषज्ञ डा. पुकारचन्द्र श्रेष्ठ, वास्तुविद् रविन्द्र पुरी र मानसिक रोग विशेषज्ञ डा. धनरत्न शाक्यलाई पनि रुचिपूर्वक सुने। विगतमा जस्तै नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेलगायत विधायक संसद्मा भइरहेको राष्ट्रपति, उपराष्ट्रपति निर्वाचन प्रक्रियाबाट समय निकालेर सम्मेलनमा सिर्जना र विशेषज्ञका सुझाव रूचिपूर्वक सुनिरहेका थिए।

'जनता बाँचे भाषा बाँच्छ' भन्ने तः मुंज्या नेपालभाषा र अन्य अल्पमतका भाषा, साहित्यलाई मूलधारमा ल्याउन चाहन्छ। स्तरीय साहित्य लेखिए पनि भाषाकै कारण अल्पमत भाषाका साहित्य राष्ट्रियस्तरमा चिनिएका छैनन्। कवितामा नेपालभाषाको उपलब्धि नेपाली भाषाको भन्दा कम छैन। खोजी पस्दा मैथिली, भोजपुरी, थारू र अन्य भाषामा पनि यस्ता उदाहरण भेटिन्छन्। नेपाली साहित्य र कलाको वास्तविक रूप हेर्ने हो भने खस नेपाली भाषाबाहिर पनि पुग्नु अनिवार्य छ, जसरी विश्वको साहित्य, कलाको वास्तविक रूप हेर्न अंग्रेजी भाषाबाहिर पुग्नु जरुरी छ। अनि अल्पमत र सीमान्तकृत भाषाले नेपाली भाषा र जिम्मेवार निकायसँग त्यो नैतिक इमानदारी माग गर्नु जरुरी छ, जसमा बिनापूर्वाग्रह, बिनास्वार्थ नेपाली भाषाबाहिरका सूचना पनि न्यायपूर्ण तरिकाले प्रवाह गरियोस्।
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस