आगे ओली मर्जी
२७ असोज २०७२
•
१५ मिनेट पाठ
आगे ओली मर्जी
राष्ट्रिय मधेस समाजवादी पार्टीका केन्द्रीय सदस्य राजेशमान सिंह वीरगन्ज धर्नामा स्थानीय जुटाउने अगुवामध्येका एक हुन्। आर्थिक नगरी वीरगन्जमा पहाडीमूलका सिंहको आफ्नै पहिचान र पहुँच छ। संविधानसभा निर्वाचनमा उम्मेदवारसमेत भएका सिंह अहिले दिनहुँ वीरगन्ज नाका पुग्छन्। युवाको ठूलो जमात दिनहुँ उनका पछाडि लाग्छ। असोज ८ गते पंक्तिकार वीरगन्ज पुग्दा सिंह नेपाल–भारत सिमानामा धर्नामै भेटिए।संघीय मधेसी मोर्चामा आबद्ध उनको रामसपा, विजय गच्छदार नेतृत्वको मधेसी जनाधिकार फोरम लोकतान्त्रिक, मधेसी जनाधिकार फोरम (गणतान्त्रिक) का नेता–कार्यकर्ता एकै ठाउँ पाल टाँगेर बसेका थिए। त्यहीँ नजिक संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा पनि धर्नामा थियो। संयुक्त लोकतान्त्रिक मोर्चाको छातामुनि संघीय समाजवादी फोरम, तराई–मधेस लोकतान्त्रिक पार्टी, सद्भावना र तराई–मधेस सद्भावना छन्। त्यही मोर्चामा मिसिएको थियो, संयुक्त मधेसी मोर्चा, जसमा अनिल झा, मातृका यादवलगायत सातवटा पार्टी पनि थिए।




दसगजानजिकै मितेरीपुलमाथि बसेको बेग्लाबेग्लै धर्ना लामो समयसम्म टिकेन। तीन दिनपछि सबै धर्नाकारी एउटै पालमुनि आबद्ध भए। अहिले पनि वीरगन्ज धर्ना जारी छ र त्यहाँ ऐक्यबद्धता जनाउनेको संख्या बढ्दो छ। तराई–मधेसमा विभिन्न मधेसी दलका मोर्चाले सुरु गरेको बन्द–हडताल आज ६१ दिन र नाकाबन्दीले २१ दिन टेकेको छ। वीरगन्ज नाकामा २१ दिनदेखि २४ घन्टे धर्ना जारी छ। बारा, पर्सा, रौतहट, सर्लाहीसम्मका नागरिक धर्नास्थल आएर ऐक्यबद्धता जनाउने गर्छन्।

असोज २३ गते शनिबार वीरगन्जमा रहेका पहाडी समुदाय विशेषगरी नेवारको ठूलो संख्या नाका पुग्यो। र, २१ दिनदेखि धर्नामा बसेका मधेसी मोर्चासँग ऐक्यबद्धता जनायो। वीरगन्जको उद्यम–व्यापारमा पहाडी समुदायका मानिने नेवारको उल्लेख्य हिस्सा छ। उनीहरू पनि दुई महिनादेखि मधेसमा चलिरहेको बन्द–हडतालका साक्षी मात्र होइनन्, भुक्तभोगी नै हुन््। वीरगन्ज नाकामा बहुजातीय ऐक्यबद्धता बलियो छ। यस्तो अभियानमा साथ दिँदै बारा, पर्सामा बसोबास गर्ने विभिन्न जातीय समूहका महिला, पुरुषसमेत धर्ना बस्न नाका पुगिरहेका छन्। यादव, कुशवाह, धानुक, पटेललगायत जातीय समुदायका नाममा ठूलो संख्याका नागरिक नाकामा आएर नाकाबन्दीको समर्थन गर्ने क्रमले निरन्तरता पाउने देखिन्छ।

राजनीतिक–कूटनीतिक वृत्तमा प्रधानमन्त्रीको निर्वाचनपछि केही परिवर्तन भएका छन्। भारतको अघोषित नाकाबन्दी एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्रीमा चुनिएलगत्तै खुकुलो भएको छ। तर, लोकतान्त्रिक मधेसी मोर्चाले विभिन्न स्थानमा गरेको नाकाबन्दी औपचारिक रूपमा खुलिसकेको छैन। ओली सरकारमा सत्तासाझेदार भएर उपप्रधानमन्त्री बनेका गच्छदार आन्दोलनकारी मोर्चाबाट अलग भएका छन्। गच्छदारको मोर्चामा आबद्ध रामसपा अध्यक्ष शरतसिंह भण्डारी र फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवले नाकाबन्दीको राजनीति त्यागेका छैनन्। संसदमा प्रधानमन्त्री निर्वाचनको राजनीतिमा मधेसवादी ८ दलमध्ये ७ दलका सभासद सुशील कोइरालाको पक्षमा उभिए। ओलीको पक्षमा गच्छदार मात्र रहे। किन मधेसवादी दल सुशीलको पक्षमा उभिए? सुशील जित्दैनन् भन्ने राम्रो जानकारी थियो उनीहरूलाई। संविधानसभा बहिष्कार गरेका र संविधानको विरोधमा तराई–मधेसमा आन्दोलन चर्काइरहेका सभासदहरू प्रधानमन्त्री चयनको राजनीतिमा सहभागी हुनुले राजनीतिक वृत्तमा मधेसवादी दलमाथि पदलोलुपताको आरोप लागिरहेको छ। मिडियामा उनीहरूको भूमिकाबारे नकारात्मक टीकाटिप्पणी भइरहेका छन्। आरोप र टीकाटिप्पणीका पछिल्तिर थुप्रै कारण छन्। विगतमा मधेसवादी दल सत्ताराजनीतिकै कारण विभाजित, विवादित भएको हो। तर, अहिले तिनले सुशीललाई समर्थन गर्नुको कारण भने प्रतिपक्षी राजनीति रोजेको र विशेषगरी ओलीको विपक्षमा मतदान गरेको अर्थमा लिनुपर्ने हुन्छ। एमाले अध्यक्ष ओली मधेसमा आलोचनाका पात्र बनेका थिए। मधेसमा चलिरहेको आन्दोलन र मधेसी नेताप्रति उनको कटु बोलीले नकारात्मक छवि बन्न पुगेको छ। ओली प्रधानमन्त्रीमा चुनिएपछि पनि स्थितिमा खासै परिवर्तन आएको छैन। पर्सादेखि सप्तरीसम्मको यात्राका क्रममा उनीविरुद्ध प्रशस्त नारा सुनिए। प्रधानमन्त्री भएपछि मधेसका विभिन्न जिल्लामा उनीविरुद्ध चर्का नारा र पुत्लादहन भइरहेका छन्।

आफ्नाविरुद्ध मधेसमा आक्रोश बढिरहेका बेला ओली मुलुकको प्रमुख कार्यकारी बनेका छन्। मुलुकको प्रमुख जिम्मेवारी पाएका उनका सामुन्नेको प्रमुख चुनौती मधेसमा चलिरहेको आन्दोलनको सहज अवतरण हो। ओलीले सत्तानेतृत्व लिनुअघि कोइराला नेतृत्वको सरकारले मधेसी मोर्चासँग वार्ता सुरु गरेको थियो र उनीहरूका माग सम्बोधन गर्न संविधान संशोधनको प्रक्रिया पनि सुुरु भएको हो। तर, मधेसी मोर्चासँग वार्ताबाट निचोड ननिस्कनुका पछाडि ओलीको पार्टी एमाले प्रमुख बाधक बनेको वार्तामा संलग्नहरूको अनुभव छ। प्रधानमन्त्रीलगायत राजनीतिक नेतृत्वसँग वार्ता गरेर मोर्चाको बैठकमा सहभागी हुन असोज १३ गते गौर पुगेका तमलोपा अध्यक्ष महन्थ ठाकुरको त्यस दिनको भनाइले पनि यसलाई पुष्टि गर्छ। संक्षिप्त कुराकानीका क्रममा उनले भनेका थिए, 'सरकारमा सुशील मात्र हुनुहुन्न, एमाले पनि छ र एमाओवादी पनि सत्तामै भएजस्तो अवस्था छ।' उनको जवाफ प्रस्ट थियो– त्यतिबेला प्रधानमन्त्री कोइरालाको प्रयत्नले मात्र मधेस आन्दोलनको माग सम्बोधन हुन सक्ने थिएन।

सत्ताराजनीतिको जोडघटाउ सुरु भइसकेको अवस्थामा वार्ताहरू त भए, तर त्यसले निकास निकालेन। असोज १७ गते महोत्तरीको जलेश्वरमा रहेका बखत सरकारी वार्ता टोलीका एक सदस्यले फोन गरेर 'मधेसमा चलिरहेको आन्दोलन, नाकाबन्दीलगायत राजनीतिक–सामाजिक अवस्थाबारे जानकारी मात्र लिएनन्, एमालेका कारण वार्ता अघि बढ्न नसकेको अप्ठ्यारो' पनि मलाई अवगत गराए। उनले भनेका थिए, 'एमालेलाई सम्झाउन सकिएन, के गर्ने?'

वार्ता समितिका ती सदस्यको के गर्ने भन्ने प्रश्नको उत्तर अब एमालेले दिनुपर्नेछ। मधेस आन्दोलनलाई एमाले अध्यक्ष ओलीले जसरी आँकलन गरेर हल्का रूपमा लिएका थिए र टिप्पणी गर्दै आएका थिए। सिंहदरबार पुगेपछि पनि उनले उस्तै शैली अपनाए भने मधेस आन्दोलनको सुरक्षित अवतरणमा धक्का पुग्नेछ। निश्चय नै मधेसी मोर्चाहरू आपसमा विभाजित विभिन्न दलहरूबाटै निर्माण भएका हुन्। आन्दोलन कसरी अगाडि बढाउने भन्नेमा मोर्चाका नेताहरूमै विरोधाभासहरू छन्। मधेसवादी दल र नेताबीच उत्पन्न विवाद र विरोधाभासलाई आधार बनाएर सिंहदरबारले व्यवहार गर्न खोज्यो भने त्यो प्रत्युपादक हुनेछ। कारण, मधेसका जनतामा आफूहरू हेपिएको, काठमाडौंले दोस्रो दर्जाको नागरिकसरह व्यवहार गर्दै आएको बुझाइ बलियो बन्दै गएको छ। दुई महिना लामो बन्द–हडताल, नाकाबन्दीको राजनीतिमा मधेसी नेताहरूले जनस्तरमा काठमाडौँ र सत्ताप्रति आक्रोश बढाउने काम गरेका छन्। जनसाधारणलाई संविधानमा के–के छन्, संघीयताको सिमाना कहाँबाट, कहाँ हुनुपर्छ त्यो बुझाउने काम गरेका छैनन्।

आफूले दुई महिना आन्दोलन गर्दा पनि काठमाडौँ एक शब्द बोलेन, मतलब गरेन भन्ने दुखेसो मधेसका जनतामा व्याप्त छ। मधेस आन्दोलनमा होमिएको ४१ दिनसम्म काठमाडौँले मतलब नगरेको, तर नाकाबन्दीपछि भने चासो राख्न थालेको मनोविज्ञान छ मधेसको। त्यही कारण हुनसक्छ, काठमाडौँमा अभाव हुँदा खुसी हुने मधेसी युवाको संख्या बढ्दो छ। झट्ट हेर्दा वा सुन्दा यो कुरो सामान्य लागे पनि यसको असर कालान्तरमा भयानक हुनसक्छ भन्नेबारे सत्तासीनहरू गम्भीर बन्न जरुरी छ।

सत्तासमीकरणपछि नाकाहरू खुलेको चर्चा छ। काँकडभिट्टा, विराटनगर, भैरहवा नाकाबाट दैनिक कति ट्यांकर पेट्रोलियम पदार्थ भित्रियो? कति वटा ग्यासका बुलेट भित्रिए? काठमाडौँको चासो र चिन्तन त्यसैमा केन्द्रित देखिन्छ। नाकाबन्दी सुरु भएपछि चरोमुसो नछिरेको वीरगन्ज नाकामा ऐक्यबद्धता जनाउनेहरूको संख्या थपिँदै छ कि घट्दो छ? त्यसको लेखो जनसाधारणले राख्ने होइन, सिंहदरबारले राख्नुपर्छ। काँकडभिट्टा, विराटनगर, भैरहवा नाकामा मोर्चाले जोडबलसाथ अवरोध पुर्याधएका होइनन्, जति भारतीय अधिकारीले सुरक्षा कारण देखाउँदै मालवाहक ट्रक पस्न दिएका थिएनन्। संयुुक्त लोकतान्त्रिक मधेसी मोर्चामा आबद्ध दलमध्ये काँकडभिट्टामा तराई–मधेस सद्भावना पार्टी, विराटनगरमा संघीय समाजवादी फोरम, वीरगन्जमा सद्भावना र भैरहवामा तमलोपाले नाकाबन्दी गर्ने जिम्मेवारी बाँडेर लिएको देखिन्छ। अहिले आएर मोर्चा अन्य नाका छाडेर वीरगन्जमा केन्द्रित छन्। वीरगन्ज नाकाको नाता सोझै काठमाडौँसँग छ। त्यहाँबाट आयात हुने सामानको ७० प्रतिशत बजार काठमाडौँ हो। मोर्चाको नाकाबन्दीको मुख्य उद्देश्य काठमाडौँलाई दुःख दिनु हो। वीरगन्ज नाका ठप्प भएको तीन सातामै काठमाडौँ ठूलो सास्ती भोग्दैछ। वीरगन्ज नाका नखुली काठमाडौँको जनजीवन सहज हुन सक्दैन। यो नाका मधेस आन्दोलनको टुंगो नलागी खुल्ने देखिँदैन। काठमाडौँको चिन्तन र प्रयास वीरगन्ज नाका खोल्नुमा केन्द्रित हुनुपर्छ।

ओलीको मधेसविरोधी कटु बोलीमा नियन्त्रण आवश्यक छ नै, त्योभन्दा धेरै उनमा उदारता, लचकता आवश्यक छ। मधेसमा उम्लिरहेको आक्रोशको आगो बेलैमा साम्य पार्नु उनको प्रमुख जिम्मेवारी हो। जायज माग सम्बोधन गरेर मधेस आन्दोलनलाई सुरक्षित अवतरण नगराए अकल्पनीय अवस्था आउन सक्छ। त्यहाँ आन्दोलनरत मोर्चाले राजनीति मात्र गरिराखेका छैनन्। 'धमिलो पानीमा माछा मार्न पल्केका' पनि आन्दोलनको मोर्चामै छन्। अकल्पनीय अवस्था आउन नदिन, माग बढाउन नदिन र अवाञ्छितहरूलाई धमिलो पानीमा माछा मार्न नदिन मधेसको तरल अवस्था सरकारले तत्कालै आँकलन गर्नुपर्छ। आगे ओलीकै मर्जी!
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  




प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस