प्राध्यापक बन्ने रहर
२३ पौष २०६६
•
१४ मिनेट पाठ
प्राध्यापक बन्ने रहर
केही समयअघि चिकित्सकहरूको एउटा गोष्ठीमा अतिथिका रूपमा आमन्त्रित थिएँ। गोष्ठीमा धेरै वर्षपछि कलेज पढ्दाका साथीसँग भेट भयो। कार्यक्रमपछि छुट्टिने बेलामा हामीले एक अर्काको भिजिटिङ कार्ड साटासाट गर्‍यौँ। उनको नामअगाडि प्रोफेसर (प्राध्यापक) लेखिएको थियो। उनी चिकित्सकका रूपमा कुनै सरकारी अस्पतालमा कार्यरत थिइन् भन्ने त थाहा थियो तर प्राध्यापक भएको जानकारी थिएन। मैले उनलाई 'कसरी र कहिलेदेखि प्राध्यापक भयौ?' भनेर जिज्ञासा राख्दा सरकारी सेवाबाट निवृत्त भएपछि एक निजी मेडिकल कलेजले प्राध्यापक पदमा नियुक्त गरेको बताइन्। त्यसबेलादेखि उनी चिकित्साशास्त्रको प्राध्यापक बनेकी र आफ्नो नाममा प्रोफेसर अर्थात् प्राध्यापक उपाधि (टाइटल) प्रयोग गर्न थालेकी रहिछन्।




यसरी नै विदेशीहरूसमेत सहभागी भएको अर्को एक कार्यक्रममा उद्घोषकले एकजना इन्जिनियर नेपाली वक्तालाई बारम्बार प्रोफेसर भनेर सम्बोधन गरिरहेका थिए। उनलाई उद्घोषकले प्रोफेसर भनेर सम्बोधन गरेको सुन्दा गोष्ठीका सहभागीले अचम्म मानेेका थिए। उद्घोषकलाई थाहा नभएर होला भनेर एकजना सहभागीले उद्घोषकलाई सो व्यक्ति प्रोफेसर नभएर इन्जिनियर भएको बताए। तर उद्घोषकले आफूलाई आयोजकले उपलब्ध गराएकोे विवरणमा उनको परिचयमा प्रोफेसर भनेर उल्लेख गरिएको उत्तर दिए। वक्ताले मन्तव्य व्यक्त गर्ने क्रममा आफ्नो गलत परिचय सच्याएर आफू प्रोफेसर नभएको बताउलान् भन्ने लागेको थियो। तर उनले त्यसो गरेनन्। पछि वक्ताबाटै थाहा पाइयो, उनी आफ्नो नाममा 'प्रोफेसर' अर्थात् 'प्राध्यापक' शब्द प्रयोग गर्ने चाहनाले गर्दा निजी क्याम्पसमा आंशिक शिक्षकका रूपमा संलग्न भएका रहेछन्। उनका कतिपय सहकर्मी 'प्रोफेसर' थिए। साथीभाइबीच आफू मात्र प्रोफेसर नहुँदा 'अप्ठेरो' लागेर उनी 'प्रोफेसर' बनेका रहेछन्।

यसैगरी काठमाडौँ विश्वविद्यालयले आयोजना गरेको जैविक प्रविधिसम्बन्धी कार्यशाला गोष्ठीमा विशेष अतिथिका रूपमा सहभागी हुँदा केही समयअघि सरकारी सेवाबाट निवृत्त एकजना खाद्य प्राविधिज्ञलाई सम्बन्धित विभागको प्राध्यापक एवं प्रमुख पदमा नियुक्त गरिएको थाहा पाएँ। यी हिजोआज निजी स्तरमा सञ्चालित शैक्षिक संस्थामा विभिन्न विषयका प्राविधिज्ञहरू 'प्रोफेसर' बन्न थालेको केही प्रतिनिधि उदाहरण हुन्।

नेपाली समाजमा आज पनि डाक्टर र इन्जिनियरको ठूलो इज्जत छ। विकसित मुलुकमा समाजकै सबैभन्दा सम्मानित व्यक्ति मानिने भएता पनि नेपालमा प्राध्यापकलाई त्यति सम्मान गरेको देखिंदैन। हाम्रो समाजमा प्रा. डा. (प्राध्यापक डाक्टर)लाई कामभन्दा कुरा बढी गर्ने वर्ग ठान्नेको संख्या कम छैन। तर विश्वमा प्राध्यापकको ठूलो प्रतिष्ठा छ। प्राध्यापकलेे अन्तर्राष्ट्रिय जगतमा पाउने सम्मानलाई बुझेर नै होला केही वर्षयता नेपालका कतिपय डाक्टर, इन्जिनियर तथा अन्य प्राविधिज्ञमा पनि प्राध्यापक बन्ने चाहनाको विकास भएको देखिन्छ। उनीहरू आफ्नो नामको अगाडि प्रोफेसर वा प्राध्यापक शब्द प्रयोग गर्नमा गर्व गर्छन्। पंक्तिकार नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)को उपकुलपति छँदा प्रतिष्ठानले आयोजना गरेको एक कार्यक्रममा निम्त्याइएका एक 'प्रोफेसर' बनिसकेका चिकित्सकले निमन्त्रणा कार्डमा आफ्नो नाम अगाडि प्रोफेसर शब्द नलेखी डाक्टर मात्र लेखेकोमा आपत्ति जनाउँदैे फोन गरेका थिए र कार्ड फर्काइदिएका थिए ।

सही अर्थमा प्रोफेसर वा प्राध्यापक को हुन् भन्ने बारेमा नेपाली जनमानस अनभिज्ञ देखिन्छ। 'प्राध्यापक' पद विश्वविद्यालयको सर्वाच्च प्राज्ञिक पद हो। कुनै पनि विश्वविद्यालयमा विभिन्न तहका शिक्षकहरू अध्यापन र अनुसन्धानमा संलग्न रहन्छन्। तर प्रोफेसर अर्थात् प्राध्यापक भन्नाले विश्वविद्यालयका सबैभन्दा माथिल्लो तहको शिक्षक बुझिन्छ। विदेशमा उनीहरूलाई फुल प्रोफेसर भन्ने पनि चलन छ। प्राध्यापकलाई आफ्नो विषयको ठूलो ज्ञाता मानिन्छ। विश्वविद्यालयमा सबै तहका शिक्षक अध्यापन र अनुसन्धानमा संलग्न भए पनि विश्वव्यापी मान्यताअनुसार फुल प्रोफेसर तहका शिक्षकले मात्र आफ्नो नामको अगाडि प्रोफेसर वा प्राध्यापक शब्दको प्रयोग गर्छन्, अरूले गर्दैनन्।
नेपालमा त्रिभुवन विश्वविद्यालयको स्थापना हुनुअघि कलेजमा पढाउने हरेक तहका शिक्षकलाई प्रोफेसर अर्थात् प्राध्यापक भन्ने चलन थियो। त्यतिबेला उक्त शब्दले पदभन्दा पनि शिक्षण पेसालाई जनाउँथ्यो। सन् १९५९ मा त्रिविको स्थापना भएपछि अन्य देशमाजस्तै नेपालमा पनि उपप्राध्यापक, सहप्राध्यापक र प्राध्यापकजस्ता विभिन्न पदको व्यवस्था गरियो। हरेक पदका लागि न्यूनतम योग्यता र छनोट प्रक्रिया तोकियो। कुनै पनि पदमा स्थायी नियुक्ति पाउन सेवा आयोगको अन्तरवार्ता दिनु अनिवार्य बनाइयो। अन्तरवार्ताका लागि विदेशबाट समेत विशेषज्ञ बोलाइन्थ्यो। अन्तरवार्तामा विशेषज्ञले योग्य ठहराएका व्यक्तिलाई मात्र विश्वविद्यालयले नियुक्त गर्न पाउँथ्यो।

सन् १९६० को दशकमा त्रिविमा विज्ञानतर्फको स्नाकोत्तर तहको अध्यापन आरम्भ गर्दा देशकै सबैभन्दा जेठो त्रिचन्द्र कलेजमा दशकौँदेखि शिक्षण गर्दै आएका एवं नेपालमा विज्ञानको उच्च शिक्षाका प्रवर्तक मानिने ब्राम्हीदत्त पाण्डे, शिवशंकर सिंह, दिव्यदेव भट्ट, शंकरप्रसाद प्रधान, ध्रुवमानसिंह अमात्य, बलराम जोशीजस्ता धेरै वरिष्ठ शिक्षकले पनि त्रिविको प्रक्रियाअनुसार अन्तरवार्ता दिएरमात्र त्रिविमा प्राध्यापक पदमा नियुक्ति पाएका थिए। यसैगरी त्रिविअन्तर्गतका इन्जिनियरिङ, चिकित्सा, कृषि र वनविज्ञान विषयका प्राविधिक संस्थानमा पनि स्थापनाकालमा सरकारी सेवामा रहेका प्राविधिज्ञको अन्तरवार्ता लिएर योग्यता पुगेकालाई मात्र त्रिविमा प्राध्यापक पदमा नियुक्ति दिइएको थियो। कसैलाई पनि अन्तरवार्ताबिना सोझै नियुक्ति दिइएको थिएन। आज पनि त्रिविमा कोही शिक्षकको प्राध्यापक पदमा स्वतः बढुवा हुने प्रावधान छैन।

विश्वव्यापी मान्यताअनुसार कुनै विश्वविद्यालय वा कानुनद्वारा सो सरह मान्यताप्राप्त शैक्षिक प्राज्ञिक संस्थालेे मात्र योग्यता पुगेका कुनै व्यक्तिलाई तोकिएको छनोट प्रक्रिया पुर्‍याएर प्राध्यापक पदमा नियुक्ति दिन सकिन्छ। एउटा विश्वविद्यालयमा कार्यरत प्राध्यापकलाई अर्को विश्वविद्यालयले आगन्तुक प्राध्यापकको रूपमा नियुक्त गर्न सक्छ। अन्यथा विश्वविद्यालय वा अन्य कुनै शैक्षिक प्राज्ञिक संस्थाका पदाधिकारीले प्रशासनिक निर्णयमार्फत कसैलाई पनि प्राध्यापक पदमा सोझै नियुक्त गर्न मिल्दैन।

कुनै पनि विश्वविद्यालयमा प्राध्यापक पदका लागि उच्चतम योग्यता निर्धारण गरिएको हुन्छ। सामान्यतया विश्वविद्यालयमा धेरै वर्षको अध्यापन र अनुसन्धानपछि मात्र केही सीमित शिक्षक प्राध्यापक बन्न सफल हुन्छन्। अधिकांश शिक्षक प्राध्यापक बन्न नपाउँदै सेवा निवृत्त हुन्छन्। तर नेपालमा कतिपय निजी कलेजले कहिल्यै अध्यापन वा अनुसन्धान कार्यमा संलग्न नभएका व्यक्तिलाई पनि बिनाकुनै मापदण्ड वा अन्तरवार्ता प्रशासनिक निर्णयमार्फत सीधै प्राध्यापक पदमा नियुक्त गरेको पाइन्छ। यसैगरी त्रिविको आङ्गिक क्याम्पसमा कार्यरत केही उपप्राध्यापक वा सहप्राध्यापक त्रिविबाटै सम्बन्धन प्राप्त गरेका निजी क्याम्पसमा प्राध्यापक पदमा नियुक्त भएको उदाहरणसमेत पाइन्छ। निजी क्याम्पसले प्राध्यापक पदमा नियुक्त गरेका व्यक्ति विश्वविद्यालयले नियुक्त गरेका प्राध्यापक जत्तिकै वा अझ बढी योग्य पनि होलान्। तर उनीहरूको यस्तो योग्यता सम्बन्धन प्रदान गर्ने विश्वविद्यालयले गठन गरेको विज्ञहरूसहितकोे सेवा आयोगजस्तो स्वतन्त्र निकायद्वारा स्थापित हुनुपर्ने हो।

अहिलेको अवस्थामा एउटै विश्वविद्यालय अन्तर्गतका आङ्गिक र सम्बन्धनप्राप्त क्याम्पसमा प्राध्यापक पदमा नियुक्तिका लागि फरक योग्यता र छनोट प्रक्रिया लागू हुने गरेको पाइन्छ। विश्वविद्यालयका आङ्गिक र सम्बन्धनप्राप्त क्याम्पसका प्राध्यापकलाई समान मान्यता प्राप्त हुने हो भने दुवैको योग्यता र छनौट प्रक्रिया एउटै हुनु पर्ने हो। सम्बन्धनप्राप्त क्याम्पसले विश्वविद्यालयले निर्धारण गरेको योग्यता र छनोट प्रक्रिया नअपनाई आफ्नै मापदण्ड र प्रकृयाअनुसार कसैलाई प्राध्यापकजस्तो सर्वोच्च प्राज्ञिक पदमा नियुक्त गर्र्न मिल्छ वा मिल्दैन? भन्ने विषयतर्फ आजसम्म विश्वविद्यालयका पदाधिकारीको गम्भीर ध्यान गएको देखिँदैन। यस्ता नियुक्ति र प्रचलनको विश्वविद्यालयले नियमित अनुगमन गरेको पनि देखिंँदैन। उच्च शिक्षामा संलग्न निजी शैक्षिक संस्थाले जो कसैलाई पनि आफ्नै मापदण्डअनुसार प्रोफेसर बनाउँदै जाने र यसरी 'प्रोफेसर' वा 'प्राध्यापक' बनेकाले आफ्नो नामको अगाडि यी शब्द प्रयोग गर्दै जाने हो भने आउँदा दिनमा प्राज्ञिक क्षेत्रमा नकरात्मक प्रवृत्ति विकास हुनसक्छ।
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  




प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस