काठमाडौँले मधेस बुझोस्
१३ असोज २०७२
•
१३ मिनेट पाठ
काठमाडौँले मधेस बुझोस्
भारतसँग सीमा जोडिएको बारा जिल्लाको मटिहर्वा नाकामा सोमबार बिहान पुग्दा संयुक्त मधेसी मोर्चाले 'नाकाबन्दी' भनेर टाँगेको ब्यानर देखियो। सीमानाको सानो बजारमा युवाको चहलपहल थियो, उनीहरू सीमावारिपारि गर्ने मोटरसाइकलमा निगरानी गरिरहेका थिए। कालिमन्दिरका लागि चन्दा उठाइरहेका उनीहरूबाहेक नाकाका ससाना चिया पसलमा स्थानीयको आउजाउ देखिन्थ्यो। करिब एक घन्टा त्यहाँ बस्दा स्थानीयका विभिन्नखाले चिन्ता र चासो सुन्ने अवसर मिल्यो।




डेढ महिना नाघेको मधेस आन्दोलन, आन्दोलनकारीले सीमानामा गरेको आन्दोलन र भारतले गरेको अघोषित नाकाबन्दी तिनले उठाएका विषय थिए। बन्द–हड्तालका कारण हँसियाको धार कटाउन नपाएकोमा चिन्ता गर्नेदेखि मोटरसाइकलमा पेट्रोल हाल्न नपाएकोमा आक्रोश पोख्नेहरू र सीमापारिबाट सहज किसिमले सामान ल्याउन नपाएको भन्दै जीवनयावन कठिन बनेकोमा सुस्केरा हाल्ने त्यहाँ थिए। डिजल नभएर खेत जोत्न नपाएको गुनासो पनि सुनिन्थ्यो। भारतीय सीमा सुरक्षाबल (एसएसबी)ले पछिल्लो एक साता कडाइ गरेको छ। पहिले बोराका बोरा चामल, दाल ल्याउन पाइन्थ्यो, हिजोआज १०–२० किलोभन्दा दिँदैनन्। एक बोरा मल किनेर दुइटा पोका बनाएपछिमात्र नेपाल छिराउन पाउने नियन्त्रणमुखि नीतिले सीमाका किसान पिरोलिएका छन्। दसगजामै नास्ता पसल थापेका छट्टु साहको चिन्ता भने अर्कै थियो। उनी धमाधम माटोको चुल्हो बनाउँदै थिए। किन माटाको चुल्हो? उनले उत्तर दिए– 'नाकाबन्दी र बन्दले ग्यास पाउन छोड्यो, भएको ग्यास रित्तियो, अब दाउरा बाल्ने हो।'

अहिले जसरी सीमावासी नेपाली चिन्तित छन् उसैगरी काठमाडाँैमा बस्ने पनि चिन्तित छन्। यहाँका नेपालीले काठमाडौँको जस्तै अभाव र हाहाकार भोगिसकेका छैनन्। तर, यिनले मधेसी अधिकारको आन्दोलनमा ४८ दिनसम्म लगातारको बन्द खपेका छन्। प्रशासनका दंगा क्षेत्र, निषेधित क्षेत्र र कर्फ्यु आदेश खपेका छन्। आफ्नै घरआँगनमा आफन्तहरू गुमाएको पीडा छ, मधेस आन्दोलनमा क्रममा पर्सामा ६ जना र बारामा १ जना प्रहरीको गोलीबाट मारिएको आलो घाउ छ। जनता क्रोधित छन्। काठमाडौँबाट जारी हुने वक्तव्य र नेताको अभिव्यक्ति तथा अपिलले मल्हम लगाउने भन्दा उत्तेजना फैलाउने काम गरेको छ। एमाले अध्यक्ष केपी ओलीको बोलीले आक्रोशको आगोमा घिउ थपेको छ।

काठमाडौँमा अभाव भएको खबरले यहाँ खुसी हुनेहरूको संख्या पनि ठूलै छ। डेढ महिनासम्म आन्दोलन गर्दा र कतिपयको सहादत हुँदा पनि आफ्ना माग सम्बोधन नगरेको मधेसवादी दलको पछिल्लो निचोडको परिणाम उनीहरूले सीमानाका बन्द गर्ने नीति लिए। सीमामा मधेसवादी दलको धर्ना र अनशन तथा नाकाबन्दीको पृष्ठभूमिमा भारतले अघोषित नाकाबन्दीको नीति अख्तियार गरिदिएको छ। मधेश आन्दोलनलाई काँधमा राखेर भारतले काठमाडाँैलाई तह लगाउने नीति अख्तियार गरेको छ। यो अघोषित नाकाबन्दीको पटाक्षेप कसरी हुने हो? राजनीतिक, कूटनीतिक वृत्तमा गम्भीर चासोको विषय यही बनेको छ।

पर्सा, बारा, रौतहटमा चलिरहेको आन्दोलनको अवलोकन गर्दा काठमाडौँले सुरुमा आफ्नो घरभित्रको झगडा आफै मिलाउनु बुद्धिमानी हुने निष्कर्षमा पुग्न सकिन्छ। विभाजित मधेसकेन्द्रित दल मोर्चाबन्दी गरेर आन्दोलनमा होमिएको लामो समयसम्म पनि काठमाडौँले चासो दिएन भन्ने मनोविज्ञानले मधेसका कतिपय मानिसलाई राजधानीविरोधी बनाएको अनुभव हुन्छ। रौतहट, गौरस्थित सिया प्यालेस होटेलमा बसेर यी पंक्ति लेखिरहँदा यही होटेलको अर्को कोठामा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका शीर्ष नेताहरू बैठक बसिरहेका छन्। काठमाडौँमा एक चरणको अनौपचारिक वार्ता गरेर मधेस झरेका तमलोपाका अध्यक्ष महन्थ ठाकुर, संघीय लोकतान्त्रिक फोरम अध्यक्ष उपेन्द्र यादव, सद्भावना अध्यक्ष राजेन्द्र महतो र महेन्द्र राय यादवले काठमाडौँमा विकसित राजनीतिबारे जानकारी लिने काम गरेपछि औपचारिक वार्ताको आधार तयार हुन मद्दत पुग्ने देखिन्छ। आशा गरौँ, आन्दोलनरत पक्ष र जिम्मेवार सरकारी पक्ष चाँडोभन्दा चाँडो एउटा निचोडमा पुग्न सकून्। काठमाडौँका साथै तराईका जनताले डेढ महिनादेखि भोगेको सास्तीको सम्बोधन गर्नु पहिलो आवश्यकता हो। सरकार र आन्दोलनरत पक्ष दुवै तराई/मधेसमा विकसित परिस्थितिको आकलन गर्दै तत्काल सहमतिमा पुग्नु हितकर हुन्छ। आन्दोलनरत पक्ष र माग पूरा गर्ने पक्ष एउटै टेबुलमा बसेपछि लेनदेनबाट समाधानको बाटो निस्कन्छ।

बहुमतको मनोविज्ञानबाट गुजि्रएको सरकारी पक्ष र आन्दोलनका उभारबाट उत्साहित मधेसी मोर्चा दुवैले धरातलीय यथार्थमा उभिएर समाधानको बाटो निकालेनन् भने तराई–मधेसको आक्रोश नियन्त्रणबाहिर पुग्न सक्छ र परिस्थितिले अर्को बाटो लिनसक्छ। तराई/मधेसको आन्दोलन र नाकाबन्दी भारतको उक्साहटमा भएको अर्थ लगाएर त्यही मानसिकतामा वार्तामा बस्दा भने परिस्थितिको आकलन गर्न नसकेको भनेर बु‰नुपर्ने हुन्छ। त्यसैगरी, आन्दोलन आह्वान गर्ने मधेसी दलहरूले पनि मधेसमा आन्दोलनको पक्षमा उर्लिएको जनउभारलाई आफ्नो पक्षमा भएको समर्थन ठान्यो भने त्यो पनि गलत हुनेछ। कारण स्पष्ट छ, जनता आक्रोशमा छन्। आन्दोलन कसैको नियन्त्रणमा छैन। 'अब प्रदेश होइन, देश चाहिन्छ' भन्ने आवाज बलियो हुनु कसैको हितमा छैन।

काठमाडौँको बोली–व्यवहार, वक्तव्य र राजनीतिले तराईका कतिपय नागरिकलाई रुष्ट बनाएको अनुभव हुन्छ। संविधान निर्माणका क्रममा यहाँबाट उठेका आवाज काठमाडौले नसुनेको पक्कै हो। संविधान जारी गरेपछि काठमाडौँले दीपावली गर्योा, तराई–मधेसमा ब्ल्याकआउट भन्दै विरोध भयो। वीरगन्जदेखि सप्तरीसम्म आन्दोलनका क्रममा प्रहरीको गोलीबाट मृत्यु भएका प्रत्येक घटनाले नागरिकलाई आक्रोशित बनाउने काम गरेको बताउँछन् स्थानीय। कम्मरमाथि गोली किन हानियो? जताततै सुनिने यस्ता प्रश्नको उत्तर सरकारसँग छैन। सरकार आफैले नागरिकलाई आक्रोशित बनाउने काम गरेको देखिन्छ। आन्दोलनकारीबाट पनि एम्बुलेन्सबाट थुतेर प्रहरीको निर्मम हत्या गरिएको छ। त्यसको जति आलोचना गरे पनि पुग्दैन। तर, सरकार बदला लिने भावबाट निर्देशित हुनु हुँदैन। बलप्रयोगका न्यूनतम सर्त पूरा गरेपछि मात्र गोली चलाउनुपर्ने मानवतावादी नीति प्रहरीले अख्तियार नगरेको घटनाले देखाएको छ।

वार्ता र संवादबाट समाधानको बाटो निकाल्दा आन्दोलनरत पक्ष र सरकार दुवैले लचकता अपनाउनु आवश्यक छ। सरकार एउटै दलको छैन। तराई–मधेसको राजनीतिमा कांग्रेसको एउटा मान्यता हुनसक्छ भने एमालेको अर्कै। तराईका कांग्रेस, एमालेका जिल्ला नेता, कार्यकर्ता संविधानको पक्षमा खुलेर लाग्नसकेका छैनन्। ती दलका नेताहरू कि गाउँ छोडेर पलायन भएका छन् कि त आन्दोलनमा सहभागी भएर 'जय मधेस'को नारामा साथ दिइरहेका छन्। गौर नाकामा धर्ना दिनेहरूमा एमाले नेता माधवकुमार नेपाललाई चुनाव जिताउन दिलोज्यान दिने पनि भेटिए। रौतहट क्षेत्र १ नं का ३ दर्जन एमाले कार्यकर्ता वक्तव्य निकालेर पार्टी परित्याग गर्दै मधेस आन्दोलनमा लागेका छन्। एमाओवादीका कतिपय नेता–कार्यकर्ता सुरुदेखि नै आन्दोलनको पक्षमा थिए।

उता आन्दोलनमा उत्रिएका मधेसी दलहहरू सतहमा देखिएजसरी एकाकार भने छैनन्। ३ वटा मोर्चा आन्दोलनमा छन्। समानान्तर आन्दोलन चलिरहेको छ। एउटै मोर्चाभित्र कुन बेला कसलाई गद्दार भनिने हो थाहा छैन। एकअर्काबीच आशंका पालेरै आन्दोलनमा उत्रिएका छन् मधेसी मोर्चाहरू। सीमानामा नाकाबन्दीको जिम्मेवारी बाँडफाँट भएअनुसार राजनीतिक पार्टी सक्रिय नभएको आरोप एकले अर्कोलाई लगाइरहेको छ। सरकार र आन्दोलनकारी दुवैले आत्मसात गर्नुपर्ने कुरा के हो भने, सबै माग तत्कालै पूरा हुँदैनन्। केही माग अहिले नै पूरा गर्ने, केही छोड्ने र केही थाती राख्ने नीति लिनुपर्छ। तत्काल सम्बोधन गर्ने र समय लिएर पूरा गर्ने मागहरू छुट्याउनु आवश्यक छ। वार्ता र संवादका नाममा लामो समय लिएर एकले अर्कालाई गलाउने राजनीतिले दीर्घकालीन निकास दिँदैन। सरकारी पक्ष र आन्दोलनरत मोर्चाले तराई–मधेसका जनतालाई केन्द्रमा राखेर सहमति गरे भने त्यो देशहितमा हुनेछ। दुवै पक्ष एक भएको अवस्थामामात्र दिल्लीसँग डटेर सामना गर्न सकिन्छ। मधेसका मागलाई काठमाडौँले आत्मसात गर्नुपर्छ। दिल्लीसँगको लडाईंमा मधेसले काठमाडौँलाई साथ र समर्थन दिनुपर्छ। मुलुकको अहिलेको प्रमुख आवश्यकता यही हो।
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  




प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस