समयको दमनमा राजनीति
१० असोज २०७२
•
१७ मिनेट पाठ
समयको दमनमा राजनीति
अहिलेको जुझारु पुस्ताका हजुरबुवाहरूले हाम्रा लागि देखेको सपना पूरा भएको दिन असोज ३ गतेका दिनदेखि हामी नेपाली जति खुसी हुनुपर्थ्यो त्यति हुन सकेनौँ। एकातिर हामी मूलकानुन र अधिकार पाएकोमा खुसी हुँदै थियौँ भने अर्कोतिर देशका विभिन्न भाग विशेषगरी मधेसको आन्दोलनले हाम्रो मन दुःखी भइरह्यो। असोज ३ गतेभन्दा अगाडि दृढताका साथ संविधान बनाउन लागिपरेका सरकार र प्रमुख पार्टीका नेताहरू त्यसपछि अलमल्ल परेका देखिए।के गर्दा ठीक र के बेठीक भन्ने हेक्कासमेत कतिपय ठूला पार्टीका नेतामा पनि देखिएन। मधेसमा उठेका जायज–नाजायज दुवैखाले आवाज उनीहरूको कानसम्म पुगेन। स्पष्टरूपमा भन्नुपर्दा, असोजको पहिलो साता केही ठूला नेता संविधान बनेको खुसियालीमा भोजभतेरमा मस्त भए, प्रधान मन्त्री अमेरिका जान आफ्नो सुटकेसमा लुगा मिलाउन थाले, केही नेता अब बन्ने मन्त्रिमण्डलमा भाग पाउने पक्का भन्दै नयाँसडकमा दौरासुरुवाल सिलाउन हिँडेेका भेटिए। संसद्को अंकगणितमा अनुत्तीर्ण भएका केही नेता भने अब जसरी हुन्छ बाहिरी जनमत आफ्नो पक्षमा पार्न ठूल्ठूला र उग्र राष्ट्रवादी भाषण गर्दै सञ्चारमाध्यमहरूमा छाउन भ्याए।




संसारमा समय सबैभन्दा प्रमुख दमनकारी तŒव हो। यो यथार्थ बुझेर पनि बुझपचाउँदै हो वा नबुझेरै माथिका सबै नेतालाई समयले एकपटक फेरि दमन गर्योŒ, मधेस आन्दोलनका नाममा। आफूमाथि भएको दमन नबुझेर उनीहरू आन्दोलन नै दमन गर्न अघि बढे। मधेस आन्दोलन यतिखेर एउटा नेपाली पक्षले संविधानका केही धारा चित्त नबुझेर गरेको आपत्तिभन्दा धेरै अप्ठेरो स्थितिमा पुगिसकेको छ। यसको पुष्टि हरेक दिनजसो दिल्ली दरवारमा हुने नेपालसम्बन्धी बैठक, एकपछि अर्को गर्दै भारतबाट आएका प्रेस विज्ञप्ति, भारतीय सञ्चारमाध्यममा नेपालमा संविधान निर्माणको विषयले भन्दा बढी स्थान मधेस आन्दोलनलेे पाएको अवस्थाले गरेको छ। यता घरभित्रै पनि नेताहरूका अराजक र असान्दर्भिक भनाइ, सञ्चारमाध्यममा आउने गरेका समाचार र अभिव्यक्ति तथा सामाजिक सञ्जालमा देखिने टिप्पणीले हामीलाई समयले अझ धेरै दमन गरेछ भनेर बुझाएको छ।

एकातिर आन्दोलन छ, देशीविदेशी वक्तव्यहरू छन्। आन्दोलतरत पक्ष छ, सरकार छ, समस्या समाधानका लागि वार्ता वा कूटनीति भइरहेकै होला, तर यो सबैको मारमा नेपाली जनता छन्। एकदिन भारतबाट सामान आउन रोकिएको भनिएको अपुष्ट खबरले आत्तिएर विक्षिप्तजस्तै हुने हामी काठमाडौँबासी ४५ दिनदेखि कर्फ्यु र बन्दको मारमा परेको मधेस र त्यो पनि अपेक्षाकृत सीमान्तकृत समुदायको दुःखमा त नबोल्ने रहेछौँ! के मधेस काठमाडौँजत्तिकै नेपाल हैन र? पक्कै हो। तर, व्यवहारमा त्यो नउत्रिँदा कताकता मधेसले दुःखाएको चित्तमा एकपटक घोत्लिन पर्ने हुन्छ। यो भनाइ मधेस आन्दोलनको समर्थन वा विरोध दुवै हैन। यो त परिस्थितिको मूल्यांकनमात्र हो। अब यो कुरा त घामजतिकै छर्लंग छ। तराई बन्द हुँदा भोजभतेरमा मस्त हामी अब आफू मारमा पर्न लाग्दा त उठ्ने रैछौँ त! यसले मधेसमा बस्ने नेपालीले काठमाडौँले हामीलाई हेरेन भन्दा सही कुरा नै भन्दा रहेछन् भन्ने भान हुन थालेको छ।

आन्दोलन र मागका कुरालाई आजको विषयबाट पर राखी, बन्दको मार र अझ दसैँको मुखमा भारतबाट सामान नेपाल भित्रिन अप्ठेरो स्थितिमा हाम्रो काम र कर्तव्य के हो त भनेर खोज्नुपर्ने भएको छ। एक्काइसौँ शताब्दीको यो चरणमा आइपुग्दा पनि देशको जनसंख्याको ठूलो हिस्सा आफूलाई लोकतान्त्रिक भन्दै विरोधाभासपूर्ण विचारका साथ कम्युनिज्ममा विश्वास राख्ने हामी नेपाली, कम्युनिस्टकै स्थापित मान्यतालाई लत्याउँदै २०४७ सालपछि पनि दिनप्रतिदिन परनिर्भरतामा बाँच्न थाल्यौँ। हामीले दैनिक प्रयोग गर्ने सामानमा स्वदेशी उत्पादनको मात्रा निकै कम हुन थाल्यो। अरुकै भर पर्नुपर्ने पेट्रोलियम पदार्थ वा सवारीका साधनमात्र हैन खाद्यान्न र लत्ताकपडा, दूध र माछामासुमा समेत हामी परनिर्भरतामा रमायौँ। किनकि परनिर्भरता सजिलो काम हो, उत्पादन अप्ठेरो! नेपालीलाई परनिर्भरतामा पर्न सबैभन्दा बढी किताबी आत्मनिर्भताको सिद्धान्त पढेका वा बढी भाषण गर्ने कम्युनिस्टले नै सिकाए।

सरकारी तथ्यांकले नेपालको भूभागले सामान्य वर्षाको अवस्थामा करिब ४ करोड जनसंख्यालाई अन्न, दुग्धपदार्थ, माछामासु र तरकारी उत्पादन गर्न सक्ने देखाएको छ। तर, हामी बर्सेनि विभिन्न मुलुकबाट अर्बौं रुपैयाँका उल्लिखित सामान आयात गर्छौं। यो हाम्रो कमजोरी हो र आज हामी त्यसैकारण मारमा छौँ। अर्को कुरा स्वतन्त्रतालाई हामीले छाडातन्त्रको रूपमा बुझ्न थाल्यौँ। हामीमा जसले जे बोले पनि हुन्छ भन्ने गलत भावनाको विकास यसरी भएको छ कि, हामी हाम्रो अभिमानलाई नै अभिव्यक्ति स्वतन्त्रका रूपमा परिभाषित गर्न थालिसकेका छौँ। 'सामाजिक' सञ्जालहरू 'असामाजिक' हुँदै जानु त्यसको बलियो उदाहरण हो। यसमा युवा पुस्ता र आफूलाई बुद्धिजीवी भन्न रूचाउने तप्का बढी जिम्मेवार छ।

संविधान बनेपछि हरेक क्षेत्रमा विकासको गति बढ्नुपर्नेमा मधेस आन्दोलनका कारण हामी फेरि एकपटक पछाडि धकेलिएका छौँ। छिमेकी राष्ट्रको रोषको पराकाष्ठा र एमाओवादी उपाध्यक्षको पार्टी परित्यागले त अझै केही समय अन्योलको स्थिति रहन्छ भन्ने देखिन्छ। सर्वसाधारणको आजको चिन्ता राजनीतिभन्दा पनि लगातारको बन्द र भारतले नेपाललाई गरेको अघोषित नाकाबन्दी नै हो। बाँच्नका लागि सबैभन्दा पहिला अत्यावश्यक वस्तुहरूको बजार खुल्नुपर्छ र सामान सर्वसुलभ हुनुपर्छ। एकातिर मधेसका बजार डेढ महिनादेखि खुल्न सकेका छैनन् भने अर्कोतिर भारतका कारण बजारमा सामानको अभाव सुरु भैसकेको छ। यसले उत्पन्न गर्ने कहालीलाग्दो दीर्घकालीन असरका बारेमा त हामीले चर्चा सुरु गर्ने बेला भएकै छैन, किनकि अहिले नै त्यसको कल्पना गर्नु कठिन छ। तर, अन्योलको यो स्थितिमा तत्काल हामीले के गर्ने भन्नेचाहिँ हेक्का राख्नैपर्छ।

सबैभन्दा पहिले हामीले हाम्रो उपभोगलाई मितव्ययी बनाउनुपर्छ। वस्तुको आवश्यकताभन्दा बढी संग्रह गर्ने, भोजभतेर गर्ने र अनावश्यक यात्रालाई आजैबाट रोक्नुपर्छ। दोस्रो, आसन्न चाडबाडलाई तडकभडक नपारी सामान्यरूपमा देवीदेवताको पूजा र मान्यजनबाट आशिर्वाद थाप्ने पर्वको रूपमा मात्रै मनाउनुपर्छ। तेस्रो, सबैभन्दा बढी असर पार्ने पेट्रोलियम पदार्थको खपत कम गर्न एकैतिर जाने दुई वा दुईभन्दा बढी व्यक्ति एउटै सवारीसाधनमा यात्रा गर्ने, सम्भव भएसम्म गाउँघरमा केही समय दाउरालगायतका घरेलु वस्तु प्रयोग गर्ने। र, बिजुली आएको बेलामा त्यसको प्रयोग बढाउने काम गर्नुपर्छ। सवारी साधनको सञ्चालनमा जोरबिजोर प्रणाली लागु भैसकेको स्थितिमा अब नजिकका स्थानमा जान सकेसम्म पैदलै जाने र बढीभन्दा बढी सार्वजनिक सवारी चढ्ने गर्नुपर्छ। अत्यावश्यक काममा मात्रै सवारीसाधन प्रयोग गर्नुपर्छ।

चौथो, स्थिति सामान्य नभएसम्मका लागि भारतबाट र भारतको बाटो भएर आउने सामानको उपभोगलाई सकेसम्म न्यून गरी स्वदेशी उत्पादन र चीन वा अरु देशको बाटोबाट आउने सामानको उपभोगलाई प्राथमिकतामा राख्नुपर्छ। पाचौँ, उद्योगी–व्यवसायीहरूले पूर्वी नाकाबाट उपभोग्य सामानभन्दा औद्योगिक सामान नेपाल छिराइरहेको भन्ने खबर आइरहँदा त्यसको वास्तविकता सरकारले त बुझ्नुपर्छ नै साथै सर्वसाधारणले पनि थाहा पाउनु जरुरी छ। छैटौँ, सरकारी निकायले विभिन्न अत्यावश्यक वस्तुको बजार अनुगमनमा तीव्रता दिनुपर्छ। जथाभावी मूल्यबृद्धि र सामान लुकाउने प्रवृत्तिलाई रोक्न तथा सरकारसँग भएका विभिन्न वस्तुको परिमाणबारे जानकारी सञ्चारमाध्यमबाट बेलाबेलामा गराइरहनुपर्छ।

सातौँ, उद्योगीहरूले पनि स्वदेशी कच्चा पदार्थमा आधारित दैनिक उपभोग्य सामानको उत्पादन बढाएर बजारमा अभाव हुन नदिने कार्य गर्नपर्छ। आठौँ, ३ दिनको बिदापछि आजबाट खुल्ने सेयरबजारलाई यो अप्ठेरो परिस्थितिमा गलत ढंगबाट केही व्यक्तिले प्रयोग गर्ने सम्भावना छ। यसबाट सामान्य सेयरधनीहरू सजग हुनुपर्छ र सेयरको बजारभाउको असामान्य उतारचढावको पात्र बन्नु हुन्न। केही समय 'पर्ख र हेर'को स्थितिमा अड्नु नै बुद्धिमानी ठहर्छ। नवौँ, जसरी बैशाखमा भूकम्पको बेला देशका विभिन्न भूभागका अधिकांश साना व्यापारीले आफ्नो पसल सकेसम्म लामो समय खोली बजारमा सामान आपूर्ति गरेका थिए, अहिले फेरि एकपटक उनीहरूले त्यसै गर्नुपर्छ। अप्ठेरो अवस्थामा बजारमा सामानको आपूर्ति बढाउनु उनीहरूको कर्तव्य हो।

यी त भए अल्पकालीन वा केही महिनाको लागि हामीले अपनाउनुपर्ने अस्थायी उपाय। तर, अब पनि हामीले परनिर्भरताको भयंकर परिणाम बुझेनौँ भने कहिल्यै बुझ्न सक्ने छैनौँ। खोक्रा नारा तथा उग्र राष्ट्रवादी स्वर उराल्ने होइन, केही गरेर देखाउने बेला भएको छ। कमसेकम दैनिक उपभोग्य सामान, अन्न, दूध, तरकारी, माछामासु र साधारण कपडा, सिमेन्टलगायतमा आत्मनिर्भर हुनैपर्ने बेला आएको छ। हामीसँग पेट्रोल छैन, तर त्यसको विकल्प बन्नसक्ने बिजुली त छ नि! सूर्यको प्रकाशलाई नाकाबन्दी गर्न कसैले सक्दैन! न त हामीसँग रहेका अथाह जलस्रोतलाई कसैले छेक्न नै सक्छ! कमसेकम हामीले यी स्रोतलाई हाम्रो आन्तरिक राजनीतिबाट टाढा राख्ने प्रण गर्ने र आजैबाट त्यसको दोहनका निम्ति काम गर्नुपर्छ। यसको लागि हामीले कसैको मुख ताक्नु पर्दैन। यति गर्न सक्दा आगामी दिनमा हामी परनिर्भरताको महारोगबाट मुक्त त हुन्छौँ नै हाम्रो शीर पनि उँचो हुनेछ।

हामीकहाँ एउटा क्षेत्र असाध्यै आशालाग्दो र कहिलेकाहीँ डरलाग्दो हिसाबले अघि बढिरहेको देखिन्छ। त्यसको स्वनियन्त्रण गर्ने बेला र परीक्षाको घडी पनि यही हो। त्यो क्षेत्र हो सामाजिक सञ्जाल। यो यस्तो क्षेत्र हो जो सही ढंगले प्रयोग गर्न सक्यो भने अमृत बन्छ र नजानेमा बिष! संकटको बेलामा यस क्षेत्रको उत्तरदायित्व अझ धेरै छ। तर, हामी यसको गलत प्रयोग त गरिरहेका छैनौँ? नबुझी वा हावाको भरमा फोटो वा समाचार सामाजिक सञ्जालमा राख्दा हामी अरु कसैको गोटीको रूपमा त काम गरिरहेका छैनौँ भन्ने आशंका जन्मिन्छ। देशको सुरक्षा र छिमेकी राष्ट्रहरूसँगको संवेदनशील विषयमा सामाजिक सञ्जालमा हल्का टिप्पणी गर्न पढेलेखेका मानिसलाई सुहाउँछ? यो संवेदनशील समयमा सामाजिक सञ्जालमा, हल्लाको पछाडि लागेर जे पायो त्यही लेख्ने वा अरुले लेखेकोलाई सेयर गर्ने काम नगरौँ। देशभक्ति आफू सुरक्षित हुनुमा र समाजलाई सही तथा सकारात्मक सूचना प्रवाह गर्नुमा बढी झल्कन्छ। अरुलाई जथाभावी गाली गर्दैमा कोही पनि देशभक्त हुँदैन। सही समय यही हो, 'म नेपाली नागरिकमात्रै हुँ कि म नेपाली हुँ' भनेर आफूलाई प्रमाणित गर्ने। यो कुराको छिनोफानो जब हामी यो समस्याबाट बाहिर आउँछौ तब यही समाजले गर्नेछ।
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  




प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस