संविधानले खलबलाएको दिमाग
३२ साउन २०७२
•
१४ मिनेट पाठ
संविधानले खलबलाएको दिमाग
जो आफ्नो विगतमाथि पेस्तोलले गोली चलाउँछ, भविष्यले उसमाथि तोपका गोला बर्साउनेछ– अबु निदाल (दागिस्तानी कवि)
आज नेपाल इतिहासको कठिन संघारमा छ। संविधान घोषणाको पूर्वसन्ध्या यस्तो संगीन मोडमा उभिएको छ कि, सत्ता परिवर्तन हुन चाहँदैन, समाज यथास्थितिमा बस्न मन्जुर गर्दैन। एकातर्फ विगतलाई पेस्तोल हान्ने अभ्यास भइरहेको छ भने अर्कोतर्फ आक्रोशित जनता परिवर्तन स्वीकार्ने लक्षण देखाइरहेका छैनन्।केही मान्छे भने नेपाली समाजलाई 'अल्जाइमर' (बिर्सने रोग) लागेको छ भनेर विगत बिर्साइदिने खेलमा सक्रिय छन्। त्यस्तै सोच र भूमिका निर्माण गर्न सञ्चारमाध्यमको सहारा लिइरहेका छन्। एकाध मान्छेले विगत बिर्संदैमा वा विगतको मर्म थेग्न नसक्दैमा समाजको चेतनाले इतिहासलाई कहिल्यै भुल्दैन। समाजमा किन हिजो आक्रोश र असन्तोष झाँगिएर विद्रोह भयो? फेरि पनि सत्ताका चरित्रमा फेरबदल भएन, जागृत चेत, पैदा भएको स्वाभिमान, देखिएका सपनामाथि प्रहार हुन थाल्यो भने नतिजा के होला!

म एउटा गाउँले हुँ, तर अहिले सिंहदरबारनजिकै डेरामा बस्छु। सिंहहदरबार चन्द्र शमशेर निर्मित १७ सय कोठाको एउटा ठूलो घरमात्रै नभई नेपाली सत्ता संस्कृतिको केन्द्र पनि हो। भित्र सयाँै वर्षदेखिको सत्ता संस्कृति छ, शासक वर्गीय चिन्तन छ। बाहिर भने जनआवाज घन्किरहेका छन्। बीचमा पर्खाल लागेको छ। बाहिरको सपना, आक्रोश, चिच्याहट र विद्रोहका स्वर भित्रकाले सुन्दैनन्। कुनै कालखण्डमा त्यस्तै विद्रोहको अग्निवर्षा गर्नेहरू पनि पर्खालभित्र पसेपछि बिर्सन्छन्। सिंहदरबारले गलहत्याएपछि मात्रै उनीहरूलाई पुराना दिनको हेक्का आउँछ। त्यसैले पर्खालबाहिर विद्रोह, आक्रोश र आन्दोलन बन्छ भने भित्र त्यसलाई कसरी नियन्त्रण गर्न सकिन्छ भनेर नियमकानुन बनाइन्छन् र हतियारमा साँध लगाइन्छ। त्यही समय हो अहिले अर्थात् संविधान घोषणा हुने पूर्वसन्ध्या।

अहिले देशैभरि परिवर्तन र प्रतिगामी स्वर छ्यासमिस भएर पोखिन थालेका छन्, यो एकदमै स्वाभाविक हो। अखण्ड, खण्ड र विखण्डनका आवेगले सडक गुन्जायमान छ। जातीय साम्प्रदायिकता र धार्मिक अतिवादले आवेगका रोटी सेकाँउदैछन्। दलका नेताहरू भने जिल्ला विकास समितिमा सभापति वा प्रधानपन्चको हैसियतबाट माथि उठ्न सकिरहेका छैनन्। त्यसैको परिणामबाट उब्जेको पीडा समाजले ब्यहोर्दैछ। सबै व्यक्ति, सोचविचार, अभियान जो, जेजस्तो छ त्यो छर्लंग देखिएको छ र सबै पक्षबीच आरोपप्रत्यारोप पनि त्यतिकै चलिरहेको छ। अन्धधार्मिक, अन्धजातिवाद र अन्धराष्ट्रवादको पछ्यौरी ओढेर खेलिने खेलका नियत पनि छरपष्ट भएका छन्। जनताको न्यूनचेत र यस्ता पात्रहरूको परिवर्तनप्रतिको आग्रहपूर्ण सोचले समाजमा केही भ्रम सृजना पनि हुन खोजेको छ। मिडियाको एउटा हिस्सा बैशाखी बनेको छ। तर, खुसीको कुरा जसरी यथास्थिति र प्रतिगमनले पत्यारलाग्दो नेतृत्व पाएको छैन त्यसरी नै अन्धधार्मिक तथा जातीय उन्माद वितरण गर्नेहरूले पनि पाएका छैनन्।

मिडियाले बनाउने धारणा

आज हामी जे सोचिराखेका छौँ, जस्तो धारणा बनाइरहेका छौँ, त्यसैअनुसार दैनिक व्यवहार गरिराखेका हुन्छाँै। के ती हाम्रो ब्रह्मले देखेका र आफैले बनाएका धारणा हुन् त भनेर कहिल्यै सोच्ने गरेका छौँ? धारणा र मान्यताहरू एकाएक बनेका हुँदैनन्। सामाजिक, आर्थिक, सांस्कृतिक र राजनीतिकलगायतका अनेकौँ कारण र समयावधिले त्यो तय गर्छ । बनिसकेका धारणा र मान्यता फेर्नु भनेको त चट्टान फोर्नुजस्तै हो। हरेक मान्यतामा हेरफेर आउनुमा वैचारिक हस्तक्षेप कारण हुने गर्छ। हाम्रो सोच निर्माण हुन र भत्किन अनि नयाँ जन्मनका लागि सूचना, समाचार र विचार प्रवाह गर्ने मिडियाले प्रभाव पारिरहेको हुन्छ। हाम्रो जीवनमा धारणा बनाउन मिडियाले केकस्तो प्रभाव पार्यो ? हाम्रा दिमागमा के राम्रो, के नराम्रो, के सुन्दर, के कुरुप, के नैतिक, के अनैतिक भन्ने सोच 'सिमेन्टेड' हुन्छन्। त्यसलाई भत्काउन एउटा ठूलो वैचारिक क्रान्तिको आवश्यकता हुन्छ। हामीले पहिल्यै हरेक देश, जाति, समुदाय, धर्म, राजनीति, रंग, स्वाद, आचरणसम्बन्धी सुन्दर र कुरूपताका मानक तय गरिसकेका हुन्छाँै। केलाई राम्रो, केलाई नराम्रो भनेर पहिल्यै धारणा बनाइसकेका हुँदा त्यस्तै दृश्य जीवन व्यवहारमा पनि देखिने गर्छ। आदर्श र सोचअनुसार नायक र खलनायक छुटिन्छन् पनि। त्यसलाई फेर्न समय लाग्छ, अर्को वैचारिक हस्तक्षेपको आवश्यकता पर्छ।

अन्धआस्था र रुढीवादी सोचबिरुद्ध तर्कवाद र वैज्ञानिक चेत प्रवोधनकालको युरोपेली मानवसभ्यताका लागि उपहार हो। जिज्ञासाको उत्तर तर्कका कसौटीमा तथा विज्ञानका प्रमाणित आधारमा सत्यको नजिक पुग्नु नै मिडियाचेत हो। अझ मिडिया विशेषज्ञ एवं विश्वग्रामका स्वप्नाकार हरमन म्याकलुहन भन्छन्– 'मिडिया हरपल नयाँ मान्छे बनाइरहेको हुन्छ। पछिल्लो सूचनाले उसका अघिल्ला धारणा भत्काइदिएर नयाँ र नौला विश्वास जन्मिन्छन्। सोहीअनुसार पहिलाभन्दा भिन्न भूमिका र आचरणमा मान्छे उभिन्छ।' मार्क्स भन्छन्– 'प्रविधिले संसार फेरिएको मान्छे आफ्नो स्वभाव पनि फेर्छ। प्रसिद्ध समाजवादी चिन्तक हेबरमासको भनाइ छ– 'अहिले मासमिडिया नागरिकको जीवनलाई निजीकरण गरिरहेको छ र उपभोक्तामा फेरिरहेको छ।'

मिडियाचेत भनेकै ज्ञान, सूचना, प्रोपोगान्डा र विज्ञापनको बीचमा हामी कति भिन्नता पाउछौँ भन्ने हो। 'प्रोपोगान्डाद्वारा शासकवर्ग जनताको इच्छााशक्तिलाई कमजोर बनाइदिन्छ र राजनीति छान्न सक्ने क्षमताबाट समेत बञ्चित गरिदिन्छ,' 'प्रख्यात भाषाशास्त्री एवं मिडिया विशेषज्ञ नोम चोम्स्की यसरी बुझ्छन्, 'पहिला मिथ्याचेतलाई तर्कपूर्ण तरिकाले सत्यापित गरिन्छ र कालान्तरमा त्यसैलाई कलामय खण्डन गरिन्छ।' फ्रेडरिक नित्से कार्ल मार्क्सको भनाइलाई खण्डन गर्नुपर्दा पहिला मार्क्सले भन्दै नभनेका कुरा स्थापित गराउँथे र पछि त्यसैलाई खण्डन गर्थे। अहिले विचारनिर्माता र अधिकांश मिडियाखेल नियाल्ने हो भने धर्मनिरपेक्षता र संघात्मक स्वरूपमा पनि अंशमा टेकेर समग्रमा आक्रमण कुटखेलमा त्यस्तै भयो।

माओवादीले शान्तियुद्धमा प्रवेश गर्नेबित्तिकै आफ्ना एजेन्डाको योजनाबद्ध मार्केटिङ गर्नु आवश्यक थियो। जहिले पनि आन्दोलनको राप र ताप भइन्जेल परिवर्तन संस्थागत गर्न मुस्किल पर्दैन, त्यो सेलाउने बित्तिकै कुनै आवेग खडा गरेर इतिहासले रछ्यानमा फयाँकेका शक्तिहरू परिवर्तनको सिकार खेल्न हौसिन्छन्। भारतीय सर्वोच्च अदालतका वरिष्ठ अधिवक्ता तथा प्रख्यात मानवअधिकारवादी वकिल कोलिन गोन्जालेजले ०६३ को अन्त्यमा नेपालगन्जमा आयोजित एउटा कार्यक्रममा बोलेको कुरा सम्भि्करहेको छु। उनले भनेका थिए– 'नेपाली जनताले परिवर्तनका लागि यति रगत बगाइसकेका छन् कि त्यही रगतले नयाँ संविधान तपाईंहरू बनाउन सक्नुहुन्छ। अझ सहमतिको दस्तावेज अन्तरिम संविधान पनि घोषणा भइसकेको छ। यसलाई छिट्टै वैधानिकता दिनु हुन्न भने क्रान्तिले विस्थापित गरेकाहरू सलबलाउने छन्। अन्य शक्तिको चलखेल पनि त्यतिकै हुनेछ,। कर्पोरेट मिडियाले परिवर्तनबिरुद्ध मिथ्या चेत फैलाउने छ भने परिर्वतन रूपमा संस्थागत हुन सके पनि गुणमा भने संस्थागत गर्न मुस्किल पर्र्नेछ।'

सकार होस् या नकार होस् जे भए पनि अहिले बहस भने जनस्तरमा पुगेको छ। साउनको बेलामा पनि मानिस सडकमा उत्रिएका छन्। सोच्न नचाहने र नसोचोस् भन्ने मान्छेको दिमाग अब भने खलबलिएको छ। बहसलाई जनस्तरमा पुर्याछउने पहिलो दायित्व माओवादीको हुन्थ्यो। ऊ आफै मनोयुद्धको चक्रब्यूहमा फस्दा दुश्मन खोज्न अन्त जानै परेन, आफ्नै हुर्मत काढ्दै फुट्दै गयो। अर्कातर्फ हामीले हुकुम दिएपछि जनताले आदेश तामेल गरिहाल्छन् नि भन्ने शासकीय चिन्तनको पनि अहिले मथिंगल खराब भयो। होस् नपुर्या एर ठालू पल्टनेको हविगत देखिएकै छ। इतिहास पढ्नुको अर्थ मुर्दाको कथा श्रवण गर्नु नभई अरुले गरेका गल्ती आफूले नदोहोर्यानउने हेक्का नराख्नेहरूलाई धमिलो पानीमा माछा मार्नेहरूले झापड दिएका छन्। अब सामान्यजन सोच्न र सोध्न थालेका छन्– यो अस्तव्यस्तताका कारण के हो? यसका जिम्मेवार कोको हुन्? किन यस्तो भइरहेको छ? कार्य, कारण र परिणाम पनि सोच्न बाध्य भएका छन्। के यो चुत्थो विकल्पले सामाजिक अन्तर्विरोधको समाधान गर्नुभन्दा अर्को द्वन्द्वको आधार त तयार गर्दैन? नयाँ कुरा कतिपयलाई काउसो बन्छ भने कतिपय सोच्ने ठेक्का अरुलाई दिएर आफू कारिन्दा हुँँ भन्नेमात्र मान्छन्।

भ्रमपूर्ण चेत फैलाएर समग्र परिवर्तनवादी आन्दोलनमाथि नै सिकार खेल्ने शक्ति, चिन्तन र अभियानको योजनाबद्ध खण्डन परिवर्तनका वास्तविक हकवालाहरूले पनि गर्न सकेनन्। अहिले धर्मनिरपेक्षता थाँती राख्ने, राज्यको संघात्मक चरित्र विकासक्षेत्रको रूपमा रहने, अदालतको चरित्र, कार्यकारिणीको प्रत्यक्ष चुनावी चरित्र सबैसबै थाँती राख्नाले विगतलाई कतै बन्दुक दागिएर भोलिको तोपगोलाको प्रतीक्षा गरिएको त होइन भन्ने आशंका पनि जन्माएको छ। त्यो भूमिका चिन्न हाम्रा मिडिया कति सजग छन्, हेर्न बाँकी छ।
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस