बाल नागरिकको सहभागिता
३१ साउन २०७२
•
१८ मिनेट पाठ
बाल नागरिकको सहभागिता
सन् १९७० भन्दा अगाडि विश्वभर नै बालबालिकालाई 'भविष्यका नागरिक' मानिन्थ्यो। नेपाली समाजमा आजसम्म पनि यही सोचले जरो गाडेेको छ। सन् सत्तरीको दशकमा केही समाजशास्त्रीय चिन्तक र सामाजिक तथा सांस्कृतिक विज्ञहरूले बालबालिकालाई 'वर्तमान नागरिक'का रूपमा परिभाषित गरे।सन् १९८९ मा पारित संयुक्त राष्ट्रसंघीय बालअधिकार महासन्धिले बालबालिकाको क्षेत्रमा विश्वभरि ठूलो हलचल ल्यायो। नेपालले उक्त महासन्धि सन् १९९० सेप्टेम्बरमा हस्ताक्षर गरेर बालअधिकारलाई प्राथमिकता दिने पहिलो २५ राष्ट्रभित्र आफूलाई उभ्यायो। बाल अधिकार महासन्धिको सिद्धान्त तथा धारा १२, १३, १४, १५ र १७ ले बालबालिकालाई सामाजिक, राजनीतिक र आर्थिक सरोकारका विषय तथा उनीहरूको योगदानका आधारमा वर्तमानकै नागरिकका रूपमा स्थापित गरेको छ। त्यसको सम्मान, संरक्षण र कार्यान्वयन गर्ने दायित्व राज्यका सबै निकाय र नागरिकको हो।

एकाइसौं शताब्दी बालबालिकाको शताब्दी हो। बालबालिका विश्वभर नै समाजका सक्रिय सरोकारवालाका रूपमा स्थापित भएका छन्। उनीहरू आफ्ना विषयहरू समाजमा राख्न सक्षम छन्। हाम्रा सामाजिक संरचना तथा प्रक्रियामा बालबालिकाको प्रतिक्रिया तथा विचार लिएर निर्धारण गर्ने प्रचलनलाई नियमका रूपमा स्वीकार गर्न थालिएको छ। बालबालिकाको विचार, भावना तथा आवश्यकता प्रौढकोभन्दा फरक हुन्छ। बालबालिका आआफ्ना व्यक्तिगत आचरण र विशेषता, आर्जित सीप, ज्ञान, दक्षता र अनुभवका आधारमा सामाजिक गतिविधिमा सहकार्यका लागि सहभागी र संलग्न हुन्छन्।

बालबालिकाको सहभागिता राज्यको सबै तहका निर्णायक निकाय र संरचनामा हुनु तिनको आधारभूत अधिकार हो। यस अधिकारको सम्मान, संरक्षण, प्रबर्द्धन र चरितार्थ गराउन पहल गर्नु राज्यको दायित्व र बालबालिकाको अधिकार हो। तसर्थ, बालअधिकार महासन्धिअनुरूप घर, परिवार तथा विद्यालयलगायत राज्यका निकायमा बालबालिका तथा बालक्लवको सहभागिता बालबालिकाको अधिकार प्राप्ति गर्ने माध्यम तथा आफैँमा एक उपलब्धि र गन्तव्य हो।

नेपालमा परिवार, समाज तथा निकायमा अझै पनि बालबालिका अदृश्य र पछाडिपारिएको समूहमा पर्छन्। बालबालिका, बालापन र बालअधिकारलाई अनौपचारिक तथा परिवारको विषयभित्र सीमित गरिएको छ। बालबालिका र उनीहरूको सवाललाई सार्वजनिक सरोकारको विषय र छुट्टै नागरिकका रूपमा कानुनमा उल्लेख गरिए तापनि कार्यान्वयन पक्ष कमजोर छ। तसर्थ १८ वर्षमुनिका सबै बालबालिका नागरिक हुन्, बालापन सामाजिक मान्यता हो र बालअधिकार राज्यले सम्मान, संरक्षण, प्रवर्द्धन र पूरा गरिदिनुपर्ने दायित्व तथा जिम्मेवारी हो।

बालबालिकाको जीवन रक्षा, विकास, संरक्षण र सहभागितालाई समष्टिगतरूपमा बालअधिकार भनिन्छ। बालबालिकाको बाँच्न पाउने, विकसित हुने र संरक्षित हुने अधिकारले क्रमशः समाजमा स्थान पाँउदै गए पनि बालसहभागिताले राज्यको नीति, कार्यक्रम तथा निकायमा संस्थागत र प्रक्रियागत प्रवेश पाइसकेको छैन। तर पनि नेपालको सन्दर्भमा बालअधिकार र बालसहभागिता सन् १९९० को दशकदेखि केही गैरसरकारी संस्थाहरूले आआफ्ना विभिन्न परियोजनामा समावेश गरी बहस र प्रयोगात्मक अभ्यास भैरहेको विषय हो। समावेशी लोकतान्त्रिक मूल्य र मान्यताको सम्मान र पैरवी गर्नेले कुल जनसंख्याको ४४ प्रतिशत बालबालिकाको आवाज र सहभागिता सुनिश्चितताविना नयाँ नेपाल सम्भव छैन र हुदैन भन्ने पनि स्वीकार गर्नुपर्छ।

बालसहभागिताका विभिन्न तह, ढाँचा तथा रूपहरू नेपालमा नै अभ्यास भइरहेको देख्न सकिन्छ। बालबालिकालाई गहना वा शोभाका रूपमा बैठक, कार्याशाला तथा छलफलमा भौतिक उपस्थिति देखाउनेदेखि विद्यालयको निर्णय प्रक्रियामा सहभागिता गराउने तथा कार्यक्रम आयोजनाको नेतृत्व दिने पनि गरिएको छ। बालबालिकाले नै नेतृत्व गरेका संस्था तथा संगठनहरू, स्थानीय सरकारका समितिहरूमा बालबालिकाको प्रतिनिधित्व, नीति तथा कार्यक्रम तर्जुमा गर्दा बालबालिकासँग गरिने परामर्श, राजनीतिक दलहरूको दस्तावेज तथा चुनावी घोषणापत्रमा बालबालिकाको विचार समाहित, स्थानीय युवा संसद् तथा नगरपरिषद्मा प्रतिनिधित्व, बालबालिकाका लागि, बालबालिकासित र बालबालिककाले नै सञ्चालन गरेको पत्रपत्रिका, रेडियो, टेलिभिजन तथा अन्य सञ्चार माध्यममार्फत् बालसहभागिताको अभ्यास नेपाललगायत दक्षिण एसियाका विभिन्न मुलुकमा भएको पाइन्छ।

बालबालिका आफैँले उनीहरूका लागि उपलब्ध सेवा तथा सुविधाहरूको नियमित अनुगमन तथा सामाजिक परीक्षणसमेत गर्ने गरेका छन्। विद्यालय तथा शैक्षिक संस्थाहरूले प्रदान गर्ने शिक्षा तथा तालीमहरू बालबालिकाको आवश्यकता, चाहना तथा क्षमताका आधारमा बालकेन्द्रित शिक्षण विधिमा सिकाइ क्रियाकलाप सञ्चालन भएको सिकाइ उपलब्धि राम्रो र दिगो हुने गर्छ। त्यसैलाई बालअधिकारमा आधारित बालमैत्री सिकाइ भनिन्छ। बालमैत्री सिकाइमा शिक्षक सहजकर्ता, बालबालिका अन्वेषक तथा सिकारु र समाज तथा बजार कक्षाकोठाभित्रको सिकाइका विषयवस्तु हुने गर्छन्।

बालबालिकाको सिकाइ तथा सामाजिकीकरणमा परिवार, साथी, साथी समूह, सञ्चार माध्यम तथा इन्टर्नसिपको भूमिका महत्वपूर्ण छ। विद्यालय शिक्षाभन्दा बाहिर बच्चाहरूले आफ्नै सहभागिता र सक्रियतामा धेरै सिक्ने तथा सिकाउने भएकाले जीवनपर्यन्त शिक्षाको अवधारणा विश्वव्यापी हुँदैछ। शिक्षक केन्द्रित ज्ञानमा आधारित शिक्षालयहरू क्रमशः सीप विकास तथा हस्तान्तरण, लोकतान्त्रिक मूल्य र मान्यताको अभ्यास, सकारात्मक सोच तथा मनोवृत्तिको विकास तथा प्रवर्द्धन, सामूहिक संस्कार तथा सहअस्तित्वको भावना विकासमा केन्द्रित हुनथालेका छन्।

गुणस्तरीय शिक्षाका लागि बालमैत्री विद्यालय राष्ट्रिय प्रारूप २०६७, २०६७ कै भयमुक्त सिकाइसम्बन्धी नीतिगत व्यवस्था, सामाजिक परिचालन निर्देशिका, २०६७, बालमैत्री स्थानीय सुशासन राष्ट्रिय रणनीति, २०६८, बालबालिकासम्बन्धी राष्ट्रिय नीति, २०६९, स्थानीय निकाय स्रोत परिचालन निर्देशिका, २०६९ तथा नेपालको संिवधान, २०७२ को प्रारम्भिक मस्यौदाले बालसहभागितालाई अधिकारका रूपमा स्थापित गर्दै नेपालका सबै निकाय तथा विषयगत क्षेत्रमा सुशासनका लागि मूलप्रवाहीकरण गर्न निर्देश गरेको छ।

सन् १९९० देखि सीमित क्षेत्रमा गैरसरकारी संस्थाका परियोजनामा अभ्यास गरिएको बालक्लब तथा बालसहभागितालाई हाल आएर सामुदायिक तथा जिल्लास्तरमा बालबालिका र बालक्लबको सहभागिता उल्लेखनीय रूपमा भइरहेको पाइन्छ। सन् २००० मा ३ हजार ५०० बालबालिका १० जिल्लाका सयवटा बालक्लबमा आबद्ध थिएभने २०१४ को अन्त्यमा ७५ रै जिल्लामा ४ लाख ३३ हजार बालबालिकाबीच १९ हजार ५ सय बालक्लब क्रियाशील छन्। औपचारिक तथा अनौपचारिकरूपमा बालबालिका र तिनको संस्थागत आवाज सुन्ने संरचना तथा निकायहरू नीतिगतरूपमा नै अभ्यास भएको छ। सर्वप्रथम सेभ द चिल्ड्रेन र केन्द्रीय बालकल्याण समितिको साझेदारीमा २४ जिल्लामा गाउँ तथा जिल्ला बालसंरक्षण समितिहरूमा सन् २००५ देखि बालक्लबका प्रतिनिधिलाई समाहित गरेको पाइन्छ। नेपाल सरकारले संयुक्त राष्ट्रसंघीय बालअधिकार समितिलाई बुझाउने बालअधिकारसम्बन्धी प्रारम्भिक तथा आवधिक प्रतिवेदनको तयारीका क्रममा बालबालिका र बालक्लबका प्रतिनिधिहरूसँग पनि क्षेत्रीय परामर्श गरिएका थिए। आवधिक प्रतिवेदन तयार गर्ने क्रममा सन् १९९५, २००२(३ तथा २०११(१२ मा विभिन्न जिल्ला तथा विकास क्षेत्रमा आयोजना गरिएका बालअधिकारको अवस्था विश्लेषण परामर्श कार्यशालाका क्रममा धेरै जिल्ला तथा गाविसमा बालबालिकाको क्षेत्रमा काम गर्ने गैरसरकारी संघसंस्थाहरूबीचमा बालक्लब खोल्ने प्रतिस्पर्धा नै देखिएको थियो। हाल आएर १५ हजार ६ सयभन्दा बढी विद्यालयका शिक्षक अभिभावक संघ र सबै गाविस र नगरपालिकामा गठित ३५ हजार ५ सयभन्दा बढी वडा नागरिक मञ्चमा बालबालिका तथा बालक्लबका प्रतिनिधिलाई नीतिगतरूपमै सहभागी गराइएको छ।

बालक्लबमा आबद्ध बालबालिकाले धेरै फाइदा भएको बताउँछन्। उनीहरूको आत्मविश्वास बढेको, व्यक्तित्व विकास र नेतृत्व लिने क्षमता बढेको, बोलक्कड भएको, नयाँ सूचना तथा जानकारी पाएको, समूहमा बसी योजना निर्माण, कार्यान्वयन तथा अनुगमन गर्ने सीप आर्जन भएको, विभिन्न व्यक्ति तथा संस्थासँग चिनारी तथा सहकार्य भएको मानिन्छ। त्यतिमात्र होइन बालक्लबमा आबद्ध बालबालिका आफ्नो अधिकार र कर्तव्यमा बढी सचेत, पढाइमा लगनशील, अतिरिक्त क्रियाकलापमा सक्रिय र सामाजिक कार्यमा जागरुक भएको पाइन्छ। बालक्लब गठन भएको विद्यालयमा शारीरिक दण्ड सजाय, बालबालिकामाथि हिंसा, शोषण र दुर्व्यवहार हटाई बालमैत्री शिक्षण क्रियाकलापको क्रमश : अभ्यास हुन थालेको छ।

शिक्षकहरूसँग यस पक्तिकारले अन्तर्क्रिया गर्दा बालक्लबमा आबद्ध बालबालिकामा मात्र होइन बालक्लब भएको विद्यालय समग्रमै सिकाइ उपलब्धि क्रमशः बढ्दै गएको दाबी गरिएको थियो। गैरसरकारी संस्थाहरूले प्रदान गर्ने तालिम तथा शैक्षिक सामग्रीबाट शिक्षक तथा विद्यार्थी दुवै लाभान्वित भएका छन्। बालक्लब भएका विद्यालयले सिकाइका चार स्तम्भहरूमा योगदान दिएका छन्। ती चार स्तम्भ हुन् : ज्ञानको सिकाइ, जीवनोपयोगी सीप सिकाइ, व्यक्तित्व विकास र सक्षमता अभिवृद्धिमा सिकाइ र समूहमा मिलेर बस्ने, काम गर्ने, सिक्ने र सिकाउने अभ्यास तथा संस्कार। व्यक्तिको सिकाइ र बालसहभागिता अभिवृद्धिमा व्यक्तिगत आचरण तथा चाहना, राजनीतिक व्यवस्था, आर्थिक अवस्था, सामाजिक तथा सांस्कृतिक परिवेश, शिक्षण सिकाइ क्रियाकलाप विधि तथा प्रक्रिया र सूचना प्रविधिको विकास तथा उपलब्धताले सकारात्मक तथा नकारात्मक असर गरेको पाइन्छ।

बालबालिका, शिक्षक, अभिभावक, सरकारी अधिकारी तथा बालअधिकारको क्षेत्रमा क्रियाशील सामाजिक कार्यकर्तासँगको छलफल, अन्तर्त्रि्कया तथा बहसबाट के निष्कर्ष निस्क्यो भने बालक्लबमा आवद्ध बालबालिकाले उनीहरूको जीवन र जीविकाको लागि पाँच सम्पत्तिहरूमा पहुँच प्राप्त गरी असल नागरिकको रूपमा समाजमा क्रियाशील हुन्छन्। ती पाँच वैयक्तिक सम्पत्ति हुन्ः आफ्नो संस्था, एकअर्कामा अन्तरनिर्भरता, सक्षमता र दक्षताका सीप, लोकतान्त्रिक संस्कारको अभ्यास र अधिकार कार्यान्वयनमा सशक्तीकरण। तसर्थ जुनसुकै संस्थाले बालबालिकाको सहभागिता र बालक्लबको प्रवर्द्धन गर्दा यी पाँच सक्षमता तथा सम्पत्तिमा सबै बालबालिकाको पहुँच हुने गरी सहकार्य गर्नु जरुरी छ।

अन्त्यमा, यस पंक्तिकारले सबै सरोकारवालासँग बालसहभागिता र बालक्लबको भविष्यका सन्दर्भमा विचार विमर्श गर्दा आगामी दिनमा सरकारी तथा गैरसरकारी संस्थाहरूले बढी समावेशी तथा संस्थागत विकाससहितको बालक्लब, बालबालिकाको प्राथमिकता, स्वतन्त्रता र स्वाधीनताको बढी अभ्यास र सम्मान हुनुपर्ने निष्कर्ष निस्केको थियो। यसैगरी सबै बालबालिकालाई समान अवसर तथा सचेतता, बालकेन्द्रित तथा बालमैत्री विद्यालय शिक्षाको सुधार तथा गुणस्तर अभिवृद्धिका साथै सबै विद्यालय, स्वास्थ्य चौकी, वडा तथा गाविसमा बालबालिकाको विचार र भावनाको कदर, सम्मान तथा प्रवर्द्धन योजनागतरूपमा कार्यान्वयन गर्न ढिला भइसकेको निष्कर्ष पनि निस्किएको थियो। आशा गरौँ, नेपालको नयाँ संविधान बालमैत्री र बालबालिकाको अधिकार चरितार्थ गर्ने आवश्यक आधारशीला खडा गर्न सक्षम रहनेछ।
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस