बिर्ताप्रथाको निरन्तरता
२८ साउन २०७२
•
१५ मिनेट पाठ
बिर्ताप्रथाको निरन्तरता
आजभोलि जान्नेसुन्ने भएको भ्रममा रहेकाहरू संविधानको मसौदाको राजनीतिक आधारबारे प्रश्न गर्ने गर्छन्। राजनीतिक प्रतिबद्धताविना गैरसरकारी संस्थाको विधान बनाउन सकिन्छ। उद्यम क्षेत्रका नियमावलीले समेत कम व्यापकता लिएका हुँदैनन्।राजनीतिक दलका विधान पनि उद्देश्य, नेतृत्व चयन प्रक्रिया, संगठन एवं कार्यविधिबारे स्पष्ट नै हुनुपर्छ। संविधान भने त्यस्ता सबै अवयवहरूका सँगसँगै संकल्पित समुदायलाई उत्प्रेरणा दिनुका साथै दिशानिर्देश गर्नुपर्ने हुन्छ। त्यस्ता विषय सिद्धान्त एवं आदर्श अभिप्रेरित हुनेगर्छन्। हाते पुस्तिका प्रक्रियाबारे खुलस्त भए हुन्छ। विधानले विधि निर्धारण गर्छ। राजनीतिक मान्यताबेगरको संविधानको अवधारणा भने अमिल्दो लाग्ने नै भयो। अहिले त्यही भइरहेछ।




जति नै खोजी गरे पनि मसौदा संविधानमा राजनीतिक आदर्श भेट्टाउन भने गाह्रो छ। सन् १९५० देखि थाती राखिएको कार्यसूची भनिए पनि संविधान सभाद्वारा संविधान निर्माण गर्ने संकल्पको अपरिहार्यता माओवादी विद्रोहले स्थापित गरेको हो। तर माओवादी विद्रोह संविधान सभाको चुनाव गराउनका लागिमात्र भएको थिएन। त्यस विद्रोहका अर्थराजनीतिक लक्ष्यहरू थिए। लाग्छ, त्यस्ता सबै वामपन्थी लफ्फाजी सार्वजनिक खपतका लागि उत्पादन गरिएका थिए।

शंका त सन् १९९० को दशकको मध्यतिरबाटै उठ्न थालिसकेको थियो। व्यापारमा छिटो उन्नति गर्न गैरकानुनी धन्दामा लाग्नु परेजस्तै छोटो बाटोबाट सत्ताको शिखरमा पुग्न हिंसात्मक तरिका उपयोगी ठहरिने रहेछ। स्वघोषित माओवादीहरू अन्ततः महŒवाकांक्षी एवं कार्यकुशल राजनीतिक उद्यमीमात्र रहेछन्। अर्जुन दृष्टि सत्ताको कुर्सीमा भएपछि आदर्श, प्रतिबद्धता, सहकर्मी एवं समर्थक जति सबै लक्ष्य प्राप्तिका साधन बन्न पुग्छन्। उपयोगिता सकिएपछि तिनको निसङ्कोच विसर्जन गर्ने गरिन्छ। अब आएर सत्य साबित भयो – सशस्त्र संघर्षको उद्देश्य सत्य र न्याय नभएर सत्ताको राप र तापको आकर्षण रहेछ।

हजारौंका बलिदान, लाखौंको विस्थापन एवं करोडौंका सपनाको अन्त्य दुई थान पूर्व प्रधानमन्त्रीको उत्पादनमा समाप्त हुनुलाई वामपन्थी राजनीतिको थप एउटा त्रासदीका रूपमा अंकित गर्नुपर्ने हुन्छ। माओवादीको आदर्शको 'अ'समेतको छाया मस्यौदामा परेको भान हुँदैन।

माग माओवादीको भएपनि संविधान सभालाई कार्यगतरूपमा लागु गराउने श्रेय स्वर्गीय गिरिजाप्रसाद कोइरालालाई जान्छ। अहिले आएर जसले जस्तो सुकै दाबी गरेपनि बसन्त विद्रोह एवं कम्तीमा दुई मधेस विद्रोहलाई सशस्त्र संघर्षको विसर्जनसँग समायोजन गरेर राजतन्त्रलाई इतिहासको पुस्तकलाई समर्पित गर्नु चानचुने काम थिएन। उनले त्यो गर्नै नसकिनेजस्तेा लाग्ने काम जम्माजम्मी दुई प्रतिबद्धताका आधारमा फत्ते गरे। पहिलो, जनसमर्थनमा आधारित राज्य व्यवस्था स्थापित भएपछि अब आउने पुस्ताले क्रान्ति गर्नु पर्नेछैन। दोस्रो, राष्ट्रिय एकताको आधार भविष्यमा समरूपताको साटो समावेशिता एवं संघीयता हुनेछ। उनका शब्द मस्यौदामा छन्। मर्म भने कतै फेला पर्दैन।

व्यापारिक समूह (कर्पोरेट) प्रारूपमा चल्ने नेकपा (एमाले) समर्थकले भने हर्ष बढाइँ गरे हुन्छ। समूहगत हित सुनिश्चित गर्न स्थायी सत्ताले आफ्नो स्वार्थ अनुकूल जसरी अर्थ्याए पनि मिल्ने अस्पष्टता न्ागरिकता र समावेशितालगायत अन्य थुप्रै प्रावधानमा विद्यमान छन्। पहिलो संविधान सभाले संघीयताका लागि निर्धाण गरेका पहिचान एवं सामर्थ्यका दुवै आधारलाई रद्दीको टोकरीमा मिल्काउन लगाएर एमालेका रणनीतिकारहरू संविधान जारी नहुँदै विजय पताका फहराउन सफल भएका छन्।

सम्मानको प्रश्न

भोकाएकालाई भात भए पुग्छ भन्ने मान्यता सामान्यतः हुने खानेमा अलि बढी नै पाइन्छ। एक हदसम्म त्यो सही पनि हो। अन्य जनावरमा जस्तै मनुष्य भनिने दुई खुट्टे जन्तुका जैविक एवं भौतिक आवश्यकता प्राथमिक हुने गर्छन्। तर, त्यो मानिस भने अजीवको जन्तु हो। सम्भि्कन त हात्ती र कुकुरले पनि सम्भि्कन्छन्, सोच्ने शक्ति डल्पि्कन माछामा पनि हुन्छ। स्याल छठ्ठु हुन्छ, बिरालो बाढो, काग चलाख र कोइली चंख। त्यस्ता सबै गुण थोरबहुत प्रत्येक व्यक्तिमा पाइन्छ। व्यक्तिलाई छुट्ट्याउने भने अरू जनावरभन्दा नितान्त फरक उसको सम्मानको चाहनाले हो। त्यसलाई व्याख्या गर्न भने सहज छैन।

सुन्दरता, कतर्व्यपरायणता, विद्वता, शिष्टता, वीरताजस्ता सबै लक्षण मूलतः सम्मान अभिप्रेरित हुने गर्छन्। औसत व्यक्ति भने आफ्नो स्वत्वको पहिचानमात्र भयो भने पनि सन्तुष्ट हुन्छ। स्वत्वका विभिन्न आयाम हुन्छन्। नाम कुकुरले पनि बु‰छ। माया गरेर भनिएको 'तँ काले' र हेपेर थर्काइएको 'तँ काले' बीचको फरक छुट्याउन कान काफी हुन्छ, शैक्षिक योग्यताको प्रमाणपत्र चाहिँदैन। सुन्दरता, बल, धन, विद्या, शौर्य, कौशलआदि व्यक्तिगत पहिचानका आयामले व्यक्तिलाई प्रतिस्पर्धात्मक बनाउँछ।

प्रगतिका लागि प्रतिस्पर्धा आवश्यक भएपनि व्यक्तिगत जठोटले मात्र सामूहिक उन्नति हुँदैन। सहकार्य, सहयोग एवं सहमतिका लागि परिवार एवं वंशजस्ता प्राकृतिक समुदायभन्दा ठूलो र व्यापक समदाय निर्माण गर्नुपर्ने हुन्छ। कुटुम्ब, टोल, छिमेक, कबिला, गाउँ, क्षेत्र हुँदै राष्ट्र र राज्य निर्माणसम्मको यात्रा मूलतः सामूहिक सम्मानको खोजी, स्थापना र प्रतिरक्षा हो भने मान्यता आधारहित होइन।

दुनियाँ भरका गरिब एकै हुने भए फ्रेडरिक एन्जेल्सले अनुमान गरेजस्तै राज्यको विघटन उहिल्यै भइसकेको हुन्थ्यो। धनीहरूको नियन्त्रणमा रहने राज्यको सुरक्षाका लागि गरिबहरू सुरक्षा फौजमा भर्ती भएर मर्न र मार्न तयार हुने थिएनन्। धर्मले मात्र जोड्ने भए संसारमा बौद्ध, इसाई, मुसलमान र हिन्दुका चार ठूला देशमा ९० प्रतिशतभन्दा बढीको बसोबास हुन्थ्यो। भाषाले जोड्ने भए अमेरिका वा अस्ट्रेलियालाई बेलायतको नियन्त्रणबाट मुक्त हुनुपर्ने थिएन। सामूहिक पहिचानका आधार भूगोल, इतिहास, समाज, संस्कृति एवं भूराजनीति सापेक्ष हुन्छन्। त्यसैले भूटान अझै पनि स्वतन्त्र राज्य छ तर त्यसभन्दा धेरै गुणा ठूलो तिब्बत भने स्वशाशित क्षेत्रमा सीमित हुन पुगेकोछ।

पहिचानलाई संघीयताको प्राथमिक आधारका रूपमा स्वीकार गरिँदा नेपाल राज्यको स्वरूपलाई ...गोर्खालीको ठूलो दुःखले आर्जेको मुलुक'लाई संविधानमार्फत् आधुनिक राज्यमा रूपान्तरण गर्ने उद्देश्य राखिएको थियो। नेपालमा सयभन्दा बढी भाषाभाषी छन्, ककसलाई राज्य दिन सकिन्छ र? ओँठे जवाफका रूपमा उच्चारण गरिने दम्भपूर्ण उद्घोषलाई मसौदा संविधानको आधारभूत सिद्धान्त ठहर्‍याइएको छ। भनिन्छ, दिन आउनका लागि रात सकिनु पर्ने भएजस्तै क्रान्तिले पूर्णता नपाएसम्म दिगो शान्ति स्थापना हुन सत्तै्कन। यति वा उति प्रदेश र यस्तो वा त्यस्तो सीमाङ्न तपसिलका विष्य हुन्। चुरो के हो भने प्रस्तावित संघीयताको प्रारूपले सम्मानको सान्दर्भिकतालाई पूर्णतः खारेज गरेको छ। अखण्ड र विखण्ड आन्दोलनहरू प्रायोजित तमासा हुन्। द्वन्द्वको आगो त मौनताको भूसभित्र सल्किरहेको हुनुपर्छ। भनिएकै छ, समय आइसकेकेा विचार जति शक्तिशाली दुनियाँमा केही छैन।

सामर्थ्यको बहस

संसारको सबभन्दा अविकसित, असमान एवं अन्योलपूर्ण देशमध्ये एउटामा समार्थ्यको राजनीतिक बहस उपहासपूर्ण लागे पनि सर्वथा असङ्गत भने होइन। सामर्थ्यको दृष्टिकोणबाट नेपाल सम्भाव्य स्वतन्त्र राज्य भई दिएको भए स्थापना कालदेखि नै निर्वाहका लागि छोटोकद, पुष्ट पिँडौला एवं बलिया पाखुरा भएका युवाको श्रम निर्यातमा भर पर्नुपर्ने थिएन। स्थिति अहिले पनि खासै फरक त छैन। एक तिहाइ जतिको राष्ट्रिय आय विप्रेषणबाट आउँछ। बाँकी दुई तिहाइ त्यही एक तिहाइको बीज लगानी एवं कारोबार सिञ्चनबाट फस्टाएको हो। नागरिकता लिनेभन्दा त्याग्नेको प्रतिस्पर्धामा राज्य र समाजका सम्रान्त सबभन्दा अगाडि छन्। त्यसो भए पनि नेपालको स्वतन्त्र रहिरहने मूलभूत सामर्थ्य कायमै छ। त्यो किनभने, यहाँका बासिन्दाले राज्यको स्वतन्त्रतासँग आफ्नो भविष्य गाँसिएको कुरालाई विश्वास गर्न छाडेका छैनन्। मसौदा संविधानले भने त्यो भरोसालाई जीवन्त राख्ने कुनै प्रयत्न गरेको छैन। निरन्तर छहारी खोज्नेले चाहिएका बेला बूढो रुखको जरामा पनि पानी हाल्नुपर्छ भने आवश्यकता बोध मसौदाकारलाई भएजस्तो लाग्दैन।

प्राकृतिक एवं भौतिक स्रोत अस्थायी हुन्छन्। समुदायको शक्ति सृजनशीलता हो। त्यो गुण आत्मविश्वास एवं जोखिम उठाउने क्षमताबाट आउँछ। नेपालको कम्तीमा दुई तिहाइ जनसंख्या आफ्नो मानिसक ऊर्जाको अधिकांश भाग 'जे आफू होइन, त्यो भएको साबित कसरी गर्ने' भन्ने उपक्रममा खर्चिन बाध्य छन्। आदर्श नेपाली – हिन्दु बाहुन, क्षत्री, नेपाली भाषी र पुरुष बन्ने ध्याउन्नामा बाँकी जति जम्मैलाई अल्झाएपछि गोर्खाली सम्रान्तले पुर्खाले गरेको राजनीतिक लगानीको ब्याज खाए पुग्छ। फलतः नेतृत्वका भूमिकामा रहेको असली नेपाली जमातले पनि रचनात्मकता देखाउनु पर्दैन। गौरवशाली परम्पराको चण्डी पाठ गरे पुग्ने रहेछ।

राज्य विस्तारको प्रारम्भिक चरणमा विजेताले युद्ध मैदानमा वीरता देखाउने लडाकुलाई विजित भूमिमा बिर्ता दिने गर्थे। बिर्ता सम्पति मूलतः निष्ठा र बहादुरीको पुरस्कार हो। अहिले पनि प्रस्तावित संघीयताको सीमाङ्न हेर्दा तीन ठूला दलका बाहुनक्षेत्री हर्ताकर्र्ताले आआफ्नाका लागि बिर्ता सुनिश्चित गरेका छन्। केही बक्सिस पाउने लोभ सायद साक्षी किनारामा सदरको औँठा छाप लगाउने थारु मधेसी नेतामा पनि होला। तर राजनीतिका त्यस्ता सस्ता हतकन्डा सान्दर्भिक रही रहेका भए अध्यक्ष ज्ञानेन्द्र शाहले कमल थापालाई नयाँ मुख्तियार बनाइसकेका हुन्थे। दलाधिपतिले जेजति गरेपनि संविधान सभा फगत भारदारी सभा होइन। त्यहाँ दलका सचेतकको शाब्दिक कोर्रा (ह्विप) काम लाग्दैन। आशा चाहिँ बाँकी छ। संघर्ष त अन्तिम विकल्प रही नै रहन्छ।
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  




प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस