आन्दोलन र विखण्डन
२५ साउन २०७२
•
१८ मिनेट पाठ
आन्दोलन र विखण्डन
विराटनगर सहरको दक्षिण पश्चिममा 'विराटनगरको राजविराज' नामले चिनिने नयाँ बस्ती छ। म त्यहाँ प्रदेशको सीमांकनबारे मधेसी समुदायको विचार बुझ्न पुगेको थिएँ। तर,स्थानीयवासीले उल्टै मेरै विचार पो के छ भनेर सोधे। म हतप्रभ भएँ र भने – 'मेरा लागि अत्यन्त श्रेष्ठ र उत्तम' छ । यस्तो प्रदेश मेरो कल्पनामा पनि थिएन।' एकजना पाका मिश्रले भने – त्यसो भए अब हाम्रो विचारको जरुरत छ र? उनले भने – 'आन्दोलनहरूले देश जोड्छन् र टुक्य्राउँछन् पनि। अब हुने आन्दोलन दोस्रो चरित्रको हुनसक्छ।' उनले औँला ठड्याए।मधेस आन्दोलनपछि बसाइँ सरी आएकाहरूको यस बस्तीमा अधिकांश उच्च जातिका मधेसीको बसोवास छ। यहाँ पत्रकार, लेखक, प्राध्यापक, विश्लेषक, गैरसरकारी संस्थामा काम गर्ने व्यक्ति, सरकारी कर्मचारीलगायत व्यापारी पनि छन्। 'बसाइँ सरी आउनेहरूको जीवनधारामा तीनवटा पक्षले प्रभाव पार्छ' एकजना मधेसी बुद्धिजीवीले प्रदेशबारे प्रतिक्रिया पन्छाउँदै मलाई सुनाए। पहिलो शान्ति सुरक्षा, दोस्रो केटाकेटीका लागि राम्रो शिक्षा र तेस्रो आफ्नो अग्रजलाई चाहिने राम्रो स्वास्थ उपचार। सुरक्षा, शिक्षा र स्वास्थ अर्थात् वर्तमान, भविष्य र जीवन यही यथार्थ हो।' दार्शनिक ढंगले मलाई बुझाए।




विराटनगरको कोसी अञ्चल अस्पताल राजनीतिको अखडामात्र भएको छ। त्यहाँ उपचार हुँदैन। अनि सार्वजनिक विद्यालय र कलेज पनि खण्डहरमा रूपान्तरित भएको देख्छु विराटनगरमा – मैले जिज्ञासा राखेँ। ती बुद्धिजीवी मित्रले विराटनगरमा राज्यको सुरक्षा व्यवस्था प्रभावकारी छ। अनि निजी क्षेत्रले शिक्षा र स्वास्थमा विश्वसनीय सेवा सुविधा दिएको छ भने। एकदशक अगाडिको मधेस आन्दोलनको राप र ताप आफ्नै नेताहरूले खरानी पारेको खिन्नता पनि उनले प्रकट गरे। मैले सप्तरीबाट विराटनगर आई बसोवास गर्ने मधेसीहरूको आफ्ना नेताप्रति निराशा देखे। मधेस आन्दोलनले बाटो बिरायो र नेताहरूले धोका दिए भन्छन् सबैजसो मधेसीहरू ।

सामान्य नागरिक आन्दोलनको ऊर्जा र सडकको शक्ति भएको मैले मधेस आन्दोलनमा नजिकबाट देखेको थिएँ। राजधानी काठमाडौंको २०६२/०६३ को आन्दोलनमा पनि नेताहरू सुरक्षाकर्मीसँग 'सेटिङ' गरेर ( कुरा मिलाएर) आन्दोलनमा उत्रिन्थे वा घरको बार्दलीमा बसी आन्दोलनको भविष्यबारे टीका टिप्पणी गर्थे। तसर्थ प्रदेशको खाका बारे बिचार बुझ्न मैले सर्वसाधारण अर्थात् विराटनगरका रिक्सावालाको धारणा बुझ्ने विचार गरे। यसै पनि विराटनगरलाई रिक्साको शहर भनिन्छ र यहाँका अधिकांश रिक्सा चालक तराईमूलका छन्।

तराईमूलका मधेसी, थारु, राजवंशीलगायत मुसलमान पनि विराटनगरमा रिक्सा चलाउने गर्छन्। यिनै रिक्सा चालक मधेस आन्दोलनपछि बढो गर्वका साथ भन्थे – 'मेरो पहिचान फोरम हो'। अनि थप भन्थे – 'गर्वसे कहो हम मधेसी हैँ'। फोरम भन्ने शब्दले मधेसवादीलाई आत्मविश्वास र गौरवको अनुभूति गराउँथ्यो केही वर्ष अगाडिसम्म। अधिकांश मधेसी ऐक्यबद्ध भएको फोरम मधेसी समुदायका लागि अधिकार र अवसरको ढोका खोल्ने चाबी मानिएको थियो।

कतिपय रिक्सा चालक तिनताका भन्थे – 'अहिले हामीलाई रिक्सा चढ्नेले र प्रहरीले पनि 'तँ' भनेर सम्बोधन गर्ने हिम्मत गर्दैनन्। किनभने फोरम भन्ने शब्दको मालामा हामी जोडिएका छौँ। म स्वयं पनि रिक्सा चालकलाई 'तँ' भनेर सम्बोधन गर्ने संस्कारमा हुर्किएको थिएँ। फोरम आन्दोलनपछि आजसम्म मैले तिनलाई त्यसरी हेपेर सम्बोधन गर्नसकेको छैन। मधेस आन्दोलन पछि क्रान्ति कसरी व्यक्ति, समाज र समुदायमा घटित हुन्छ भन्नै मैले विराटनगरका रिक्सा चालकमा देखेको थिएँ, हलो चलाउने र दैनिक ज्यालादारी गर्ने मधेसीमा देखेको थिएँ। पहिचान, अधिकार र अवसरको यस लडाइँमा मधेसीले विगतमा आफ्नोमात्र होइन नेपालका जनजाति, महिला, दलित र अल्पसंख्यकका लागि पनि लडे, अगुवाइ गरे।

अहिले ६ प्रदेश निर्माणको निर्णयपछि राजधानीका आफन्त र मित्रहरूले मलाई फोनमा 'विराटनगरमा प्रदेशको खाकाबारे कस्तो प्रतिक्रिया छ' भनी सोधेका छन्। मैले यहाँ कुनै उपद्रव छैन, शान्त छ भन्ने जवाफ दिएको छु। प्रस्तावित प्रदेशको खाकाविना अवरोध नयाँ नेपालको राजनीतिक नक्सा बन्नसके राजधानीमा धेरै सन्तोष अनुभव हुनेछ । पूर्वमा पहाडी संस्कृतिका हामी यो 'बेस्ट' प्रदेश निर्माण भयो भनेर दंग पर्नु स्वाभाविकजस्तो देखिन्छ। मधेसी समुदाय प्रतिक्रियाविहीन देखिएका छन्। नेकपा (एमाले)का खड्ग ओलीको कारण यस्तो सम्भव भयो भन्ने पहाडी मूलका व्यक्तिको कमी छैन। राजधानीमा कहिले आठ, कहिले छ, अनि कहिले बाह्र र चौध प्रदेशको लहडवाजीको अन्त्य गरेर सुदूरपश्चिमका शेरबहादुर देउवा र सुदूरपूर्वका खड्ग ओलीले आआफ्नो पौरख देखाउन सकेकाले मुलुकले निकास पायो भन्नेे चर्चा पनि यता व्यापकै छ। अर्थात् प्रदेश निर्माणको आधार पहिचान र आर्थिक सम्भावना नभएर नेताहरूको पाखुराको शक्तिबाट निःसृत भएको बुझेका छन् जनताले।

पाँच दशकअगाडि तत्कालीन राजा महेन्द्रको चौध अञ्चल र पचहत्तर जिल्ला तथा राजा वीरेन्द्रको पाँच विकास क्षेत्रलाई तीनवटा राजनीतिक आन्दोलनले पनि हल्लाउन नसकेको सगर्व दाबी गर्छन् पंचायती व्यवस्थाका चिन्तकहरू। अब राजा महेन्द्रलाई दूरदर्शी नै भन्नुपर्ने दिन बिस्तारै आउनेछ, मान्नुपर्नेछ। विसं २०४६ को जनआन्दोलन, ०६२/०६३ को जनआन्दोलन र मधेस आन्दोलनपछि पनि राजनीतिक व्यवस्थापन गर्न राजा महेन्द्रको सोच नसमाती अहिलेका नेता एककदम अगाडि बढ्न सक्तैनन् भने तिनलाई के भन्ने? सफा 'ब्ल्याकबोर्ड'मा नयाँ थालनी गर्नसकिन्थ्यो अहिले। यो अवसर खेर गयो। जनादेश ताजा व्यवस्थाका लागि थियो। तर अल्छी र समयको दबाबमा मात्र काम गर्ने संस्कारका नेताहरूले नेपालीको भविष्य 'फ्रेस स्लेट'मा कोर्न चाहेनन् बरु पंचायती अवशेषको निरन्तरता तिनका लागि रुचिकर भयो।

नेपाली कांग्रेस र एमाले सीमाङ्कनसहितको संविधान बनाउने कार्य अगाडि बढाउन सकेकोमा हर्षित हुनसक्छन्। संविधान निर्माण हतारमा गरेको भनी आरोपप्रत्यारोप लागे पनि नेपाली संस्कार यस्तै हो भनी ती अगाडि बढीरहेकै छन्। त्यही हतारमा त एक महिनाअगाडि नेपालको प्रस्तावित संविधानको मस्यौदा आयो, अनी अहिले प्रदेशको सीमाङ्कनमा पनि दलहरूले सहमति गरे। 'समय लम्यायो भने संविधान बन्दैन' सरकारमा बस्नेको टिप्पणी यस्तै छ। तसर्थ, एक दशकदेखि संविधान निर्माण प्रक्रिया सुरु भएको भनिए पनि संविधान हतारमा बन्दैछ।।

धेरैले संविधान निर्माणको हतारो एमालेका नेता खड्ग ओलीलाई मात्र छ भन्ने अनुमान गर्छन्। यो अनुमान हावादारी होइन, स्वाभाविकै हो। ओली भदौ १५ गतेसम्म नेपालको प्रधानमन्त्री हुने 'रोडम्याप'अनुसार काम गरिरहेका छन् अहिले। सम्भवतः उनको रोडम्याप प्रधानमन्त्री हुनेमा मात्र सीमित नहोला। प्रधानमन्त्री भएर विश्वासको मत लिए पछि दुई वर्ष कसरी राज्य संयन्त्रलाई पार्टीकरण गर्नुपर्छ भन्ने 'रोडम्याप' पनि धुमबाराहीमा बन्दैगरेको होला। अझ नयाँ संविधान निर्माणपछि भावी निर्वाचनको प्रपञ्च कसरी रच्ने भनी एमालेका रणनीतिकारले गृहकार्य थालिसकेको हुनसक्छ। एमालेका नेतामात्र होइन कांग्रेसबाट सरकार र संविधान निर्माणमा सहभागी 'ड्रिम टिम'ले पनि एमालेको यही प्रपञ्चलाई जानी नजानी सघाइरहेको देखिन्छ। हुन पनि कांग्रेससँग विकल्प नै पो के छ र अहिले?

सम्भवतः अब सबै कुरा हतारमा र नेपाली संस्कारअनुरूप अगाडि बढे भदौ १५ गतेसम्म ओली प्रधानमन्त्रीको पदमा आसीन हुनेछन्। यता हालका प्रधानमन्त्री सुशील कोइरालालगायत कांग्रेसका नेताले पनि पार्टीको तेह्रांै महाधिवेशनको तयारी र चुनाव लड्न एक महिनाको समय कम्तीमा जरुरी ठान्नसक्छन्। अर्थात्, कांग्रेसलाई महाधिवेशनको कारण संविधान जारी गर्न हतार भएको हुनसक्छ। संविधान जारी गरी त्यही सफलतामा टेकेर पार्टीको महाधिवेशनमा सभापति, उपसभापतिलगायतका पदमा जित्ने आधार बन्नेछ भन्ने अनुमान अहिले कांग्रेस वृत्तमा एकथरीले गर्दैछन्। देश र भावी पुस्ताका लागि गरिने संविधान निर्माणको यो ऐतिहासिक चरणमा प्रधानमन्त्री परिवर्तन र कांग्रेस महाधिवेशनको दबाब नेताहरूले थेग्नुपरेको छ। यी दुवै दबाबको व्यवस्थापन गर्नकै लागि संविधान हतारमा जारी गर्नुपरेको हो भन्ने चर्चा गाउँधर र सहरमा सामान्यरूपमा सुनिन्छ।

तर संविधान निर्माण प्रक्रियाबाट मधेसी भन्ने गरिएको नेपाली समाजको एउटा ठूलो हिस्सा अहिले निस्पृह हुनपुगेको छ। विगतमा एउटा फोरम शब्दबाट चिनिने मधेसी अहिले कैयौं फोरम र कैयौं सद्भावना भएका छन्। कैयौं लोकतान्त्रिकको पोस्टर झुन्ड्याएर बसेका छन्। यिनै मधेसी क्षेत्रीय दल कमजोर र टुटफुट भएका बेला संविधान निर्माण कार्य हतारमा सिध्याउन खोजेको आरोप एमाले कांग्रेसलाई नलागे पनि संविधान निर्माणमा मधेसी स्वामित्व भने छिन्नभिन्न भएको छ।

एकातिर मधेसीहरू संविधान निर्माणको ऐतिहासिक दायित्व निर्वाह गर्ने चरणमा दृश्यपटलमै देखिँदैनन् भने अर्कातिर कांग्रेस पृष्ठभूमिका विजय गच्छदार पनि प्रदेश निर्माणको अन्तिम नक्सांकन देखेर आफ्नो राजनीति धरापमा परेको अड्कल काटेर आत्तिएको हुनुपर्छ। विजय गच्छदार थारुका मात्र नेता होइनन् सम्भवतः लोकतन्त्रको आन्दोलनमा सबैभन्दा खरिएका नेतामध्येका पनि हुन्। संविधान निर्माणको साक्षी किनारामा उनको महŒव कांग्रेस एमालेले राम्रो गरी बुझेका थिए तर गच्छदार स्वयं भने सधैँ आफ्नो कद घटाउने कार्यमा लागिरहे। अहिलेको सीमाङ्कन स्वीकार्य भएमा त्यसको जस संभवतः सबैभन्दा बढी विजय गच्छदारलाई नै दिनुपर्ने हुन्छ, अस्वीकार्य भयो भने उनको राजनीति खुम्चिनेमात्र होइन समाप्तै हुनसक्छ।

झन्डै एक दशकदेखि अनेकौं अन्योल र अस्तव्यस्तता व्याप्त राष्ट्रमा अहिले संविधान जारी हुन थालेको छ। संविधान निर्माणमा अहोरात्र खटिएका राजनीतिकर्मी र कर्मचारीले माओवादी जनयुद्ध, शान्तिप्रक्रिया, संविधान निर्माण र मधेस आन्दोलनको राप र ताप अहिले बिर्सिसकेको हुनसक्छ। स्वयं 'जनयुद्ध'का नायक पुष्पकमल दाहाल 'प्रचण्ड' र मधेस आन्दोलनका नेता उपेन्द्र यादव पनि अहिले पछाडि फर्केर हेर्दा आफ्नो करामत र कद देखेर तीनछक पर्छन् होला। तर प्रचण्ड र उपेन्द्रको नेतृत्व क्षमतामात्रले नेपालमा यी ठूला आन्दोलन भएका थिएनन्।

नेपाली समाजको अर्थराजनीतिक वस्तुस्थिति र राज्यको भेदभाव तथा अन्यायपूर्ण चरित्रका कारण आन्दोलनहरू उठ्ने गर्छन्। माओवादी सशस्त्र विद्रोह र मधेस आन्दोलन नेपाली समाजको अर्थराजनीतिको दुश्चक्रमा फसेका र दबेकाको विद्रोह थियो। त्यो वस्तुस्थितिमा अझै पनि फरक परेको छैन। अर्थात् विद्रोहको परिस्थित विद्यमान छ र त्यसको लक्षण मधेसमा छर्लङ्गै देखिन्छ। हो, आन्दोलन गर्ने पुस्ता परिवर्तन हुनसक्छ, थाकेकाहरू बसाइँ सरेर घरजममा पनि रमाउन सक्छन्।

अन्त्यमा, कांग्रेस नेता गिरिजाप्रसाद कोइरालाले भन्थे- अब पटकपटक लोकतन्त्रका लागि आन्दोलन गर्नु नपरोस्, यही आन्दोलन निर्णायक र अन्तिम हुनुपर्छ'। नेपालमा संविधान निर्माणको नियति पनि त्यस्तै छ, पटकपटक। आशा गराँ, दोस्रो, संविधान सभाबाट जारी संविधानले पटकपटक संविधान बनाउने कार्यको अन्त्य गर्नेछ। तर के त्यो सम्भव होला? म खुसी भए पनि मेरा मधेसी मित्रले खुसी छु भन्न सकिरहेका छैनन्। यसले मलाई पनि चिन्तित बनाएको छ।
अर्को समाचार
संविधान लागू गर्ने आन्दोलन
२० असोज २०७२
•
९ मिनेट पाठ
संविधान लागू गर्ने आन्दोलन
नेपालमा लोकतन्त्र र गणतन्त्रलाई संस्थागत गर्न संविधान सभाबाट नयाँ संविधान बनेको छ। तर छिमेकीको प्रभुत्ववाद र पश्चिमा साम्राज्यवाद भने नेपालीलाई विभिन्न जात र भाषाका नाममा एकअर्कासँग लडाएर समाजिक र राष्ट्रिय विखण्डन गराउन प्रयत्नरत छन्।नेपाली समाजको विकासमा किराँत, शिव, बुद्ध र मोहमदका अनुयायीको ठूलो योगदान छ। यहाँ कोही मघेसी छैन, पहाडी छैन, जनजाति, खस, थारु व्ाा दलित छैनन्। सबै नेपाली हुन्। समग्र करिब ३ करोड नेपालीको आर्थिक विकास, रोजगारको सृजना, शिक्षा र स्वास्थको ख्याल गर्नुपर्ने र राष्ट्रको सर्वाङ्गीण विकास गरेर राज्यका सबै अङ्गमा सबै जात, भाषा धर्म र संकृतिका जनतालाई सहभागी गराउने काम आधुनिक युगमा जनताको प्रतिनिधित्व गर्ने दल र सरकारको हो। राजनीति गर्नेहरू पनि समग्र राष्ट्रिय भावना लिएर आर्थिक, सामाजिक, सांस्कृतिक तथा लैङि्गक शोषणको अन्त्य गर्न लाग्नुपर्नेमा क्षेत्रीय, जातीय दल र नारा लिएर मिलेर बसेका नेपाली समाजलाई विखण्डित बनाउन खोज्दैछन्। संघीयताको निर्माणमा सामर्थ्यलाई नहेरी खाली आफ्नो जातको 'क्लस्टर' हेरिँदै छ। यस्तो प्रवृत्ति देशको सन्तुलित विकास र जातीय अन्तरघुलनको सिद्धान्तविपरीत छ। यसले हाम्रो समाजको पटक्कै हित गर्दैन। मार्क्सले मानव सबैलाई एउटै जाति मानेका छन् । शिवले र बुद्धले पनि त्यही भने। जिजस र मोहमदले पनि त्यही भनेका छन्। संविधान त आयो तर यसलाई भूगोल र जात मिलेन भनेर समाजलाई ध्वस्त बनाउन सोझा जनतालाई उचालेर हिंसात्मक आन्दोलन सुरुगरेका छन्। यो आन्दोलनले स्वयं आन्दोलनकारी दल र तिनका समर्थकलाई पनि फाइदा गर्दैन। संविधान सभामा असहमति नराखी बाहिर आएर समाजको गन्तव्य दस्तावेजलाई लागु हुन नदिई चुनौती दिनु राम्रो होइन। बरु चित्त नबुझेका कुरा छलफल र वार्ताको माध्यमबाट त्यसलाई संशोधन गरेर समृद्ध बनाउन सकिन्छ। सत्तामा आज एउटा शक्ति छ भने त्यो भोलि परास्त हुनसक्छ। अर्काे शक्तिको उदय हुन्छ। बरु, मधेसवादी मानिने दलहरू सबै मिलेर यथास्थितिवादी दलका सट्टा राष्ट्रिय पार्टी निर्माण गरी अर्काे चुनावमा जितेर नयाँरूपले संविधान संशोधन गर्न सक्छन्। राष्ट्र निमार्णलाई अगाडि बढाएर देशमै रोजगारी सृजना गर्ने अभियान चलाउ सक्छन्। भ्रष्टाचार नियन्त्रण गरी विदेशी हस्तक्षेप रोक्न सक्छन्। हामी सबै नेपाली हौँ। त्यसैले आन्दोलनकारी पनि संविधानको बृहत्तर खाकाभित्र आउनैपर्छ। एउटा क्षेत्र र जातको मात्र हितमा आवाज उठाउनुको सट्टा सबै जात, भाषा र क्षेत्र र संस्कृतिका जनता, समाज र राष्ट्रको हि तगर्ने विचार लिनु हिमाल, पहाड र तराई सबैतिर बस्ने नेपालको कतर्व्य हो। अब बन्द गरौँ आन्दोलन र लागौँ समृद्धिको अभियानमा।




नेपालको प्राकृतिक स्रोत अपार छ। एउटै गाउँमा शीतोष्ण ( ट्रपिकल ) सब समशीतोष्ण (ट्रपिकल) र उष्ण (टेम्पेरेट) क्षेत्र छन्। अर्थात्, एउटै गाँउमा ३ प्रकारको हावापानी पाइन्छ। ती हावापानीअनुसार फरकफरक बाली हुन्छन्। पहाड, गुफा, सदाबहार नदी, सम्म मैदान, ठूला लेकाली उपत्यका, विभिन्न जातका वनस्पति, जनावर र मन्दिरै मन्दिर भएको विश्वको सबैभन्दा पुरानो सभ्यता र सम्पदा पाइन्छ यहाँ। राष्ट्रिय एकताको आधारमा दलहरु, बुद्धिजीवी, किसान, मजदुरलगायत सबै वर्गका जनता एक हुने हो भने हाम्रो देश युरोपेली मापदण्डमा पुग्न धेरै समय लाग्दैन।

आज भारतले नेपालकै एउटा समुदायलाई उचालेर समग्र देशमा नाकाबन्दी लगाएको छ। यसको जति विरोध गरे पनि कम हुन्छ। भारतीय एकाधिकार पुँजीवादले नेपाललाई भुटान बनाउन बसांर्ैैदेखि कोसिस गरेको छ। दुर्भाग्य, २०२७ साल, २०४५ सालको नाकाबन्दीबाट हामीले पाठ सिकेनौ। भारतको चाकरी गर्न हिजो र आजको तथाकथित उदारवादी आर्थिक व्यवस्थाका नीतिकारले हाम्रो आत्मनिर्भर कृषि अर्थतन्त्रलाई विस्थापित गरेर नेपाली युवालाई खाडी राष्ट्र र मलेसियामा पुग्नुपर्ने अवस्था उत्पन्न गराए। नेपालमा १९ लाख हेक्टर बाँझो जग्गामा सरकारी अनुदान दिएर सजीवन खेती गर्ने हो भने डिजेल सजिलै विस्थापित भएर हामी भारत निर्भर हुनबाट जोगिन्छौ। त्यसबाहेक राज्यले नै एउटा संयुक्त पुँजी कम्पनी खोलेर नेपालमा जनतालाई सेयर बेच्ने २० खर्ब रुर्पैया जम्मा हुन्छ र त्यो २० खर्बले २० हजार मेगावाट बिजुली निकाल्न सकिन्छ। त्यति बिजुली भयो भने पहाडमा केबलकार र रोप वेबाट आवागमन र ढुवानी गर्न सकिन्छ। कृषि जन्य, खानीजन्य र अन्य उद्योग खोल्न सजिलै सकिन्छ। मुस्ताङमा भएको युरेनियम, रामेछापको फलामखानी, कर्णालीको जडिबुटीमा सघन विकास गर्न बजेट विनियोजन गर्ने हो भने नेपालीलाई त के विदेशीलाई पनि रोजगारी दिन सकिन्छ। पहाडको पानीले तराईको मैदानमा सिँचाई गर्न सकिन्छ। नेपालमा अर्ग्ाानिक कृषि उपज उत्पादन गरेर युरोप निकासी गर्न सकिन्छ।

आज ढुङ्गा हानेको भरमा डराएर वार्ता गर्ने र जे पनि दिने मनोविज्ञान नेपाली राज्य सत्तामा छ। समग्र देश र समाजको कायापलट विकास गर्ने दृष्टिकोण राखियो भने कसैले सुन्दैन। अब मेचीदेखि महाकाली, चीनको सिमानादेखि भारतको सिमानासम्मका किसान एकजुट भएर उत्पादन आन्दोलन नगर्ने हो भने यो राष्ट्र अझ परनिर्भर भई बिस्तारै यसको सार्वभौमिकता गुम्नसक्छ। आजको मधेस, पहाड, जात, धर्म र जातिका नारा साम्राज्यवादका अभीष्ट हुन्। तिनको प्रतिकार नगरी हाम्रो समाज चल्नै सत्तै्कन। यसबाहेक पश्चिमा तथा कथित उदारवादी अर्थतन्त्रले मानिसको रक्तरक्तमा भ्रष्टाचार, घुसखोरी, अराजकता र जात भाषाको क्यान्सर ल्याएको छ। त्यसको विरुद्ध आन्दोलन निर्माण गर्दै सबै नेपाली एक भएर सामाजिक सहकारीको माध्यमबाट एकले अर्कालाई सहयोग गर्दै देशभित्रै पुँजी निर्माण गरेर उत्पादन र न्यायोचित वितरणसमेतको आन्दोलन निर्माण गर्नु अनिवार्य छ। अनिमात्र संविधान कार्यान्वयन भई लोकतन्त्रको संस्थागत विकास गर्न सकिन्छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस