राष्ट्रको परिपक्वता
२१ साउन २०७२
•
१३ मिनेट पाठ
राष्ट्रको परिपक्वता
व्यक्तिको बालापन हुन्छ र अनि ऊ परिपक्व हुँदै जान्छ। उसको परिपक्वता देखाउने केही लक्षण पनि हुन्छन्। एउटा राष्ट्रको बालापन हुन्छ कि हुँदैन होला? मानिसको जस्तै एउटा राष्ट्रको परिपक्वता झल्काउने कुनै विशेषता होलान् कि नहोलान्?jlकुनै बेला कतै पढेको थिएँ – कुनै पश्चिमा देशको एउटा कलिलो बच्चालाई अभिभावकले बच्चैदेखि कठोर शारीरिक व्यायामको बानी बसाइदिएका रहेछन्। तस्बिरमा हेर्दा उसका मांसपेशीहरू उसको उमेरका निम्ति बिल्कुल नसुहाउँदो र अस्वाभाविक रूपमा 'पुष्ट' देखिन्थे। उमेर र शरीरका विभिन्न अंगका बीचमा आँखाले खोज्ने स्वाभाविक लयात्मकता गुमेझैं देखिन्थ्यो त्यस बच्चाको तस्वीरमा। त्यस्तै, हाम्रै छिमेकी देशकी एउटी बच्चीलाई पनि उनका पिताले प्रत्येक दिन अत्यन्त लामो दूरीको दौडमा लिएर जाने गर्थे रे! ती फुच्चीले कसरी पचासौं किलोमिटर दगुर्ने होलिन्? अचम्म लागेको थियो। बच्चाहरूको 'भविष्यका निम्ति' भनेर उनीहरूमाथि 'साधना'का नाममा थोपरिएका यस्ता नसुहाउँदा कठोर अभ्यास शारीरिकमात्र हैन मानसिक पनि हुने गर्छन्। बच्चैदेखि कठोर अनुशासनमा राखेर पढाउने पुरानो परिपाटी अझै पनि कायमै छ। ससाना नानीहरू बुझीनबुझी वेदाश्रममा मन्त्रोच्चारण गरिरहेका हुन्छन्। गुम्बामा बच्चाहरू आँखा मिच्दै, झुपुझुपु निदाउँदै पाठ गरिरहेका हुन्छन्। मदरसाहरूमा त्यसै हुँदो हो। अझ अत्याधुनिक भनिएका आवासीय विद्यालयहरूमा समेत बच्चाका स्मृतिमा जबर्जस्ती अटेसमटेस हुने गरी, सूचना कोचाइराखेका हुन्छन्। यसैलाई 'शिक्षा' भनिरहेका हुन्छन् मानिसहरू। हाम्रा आधुनिक भनिने स्कुलहरूले गर्ने गरेको वार्षिक कार्यक्रममा ससाना नानीहरूलाई उनीहरूको उमेरसँग बिल्कुल नसुहाउने गीतमा त्यस्तै नसुहाउने भावभङ्गीमामा नचाइएको प्रायः देखिई नै रहने दृश्य हो। थरीथरीका पार्टीहरू आआफ्नै निहित स्वार्थका निम्ति अबोध बालबालिका र किशोरकिशोरीलाई जुलुस, हड्ताल, बन्द आदि निषेधात्मक तथा हिंस्रक गतिविधिमा उतार्छन्। अझ हतियारसमेत बोकाइरहेका हुन्छन्। बच्चैदेखि राजनीतिक 'चेतना' जगाउन यसो गरेको भन्ने कुतर्क गर्छन् ती।

वयस्कका चाहनाअनुसार बच्चाहरूलाई जबर्जस्ती गराइने थरीथरीका यस्ता अभ्यासले उनीहरूको स्वास्थ्यमा कस्तो प्रभाव पर्ला? सोचाइमा कस्तो प्रभाव पार्लान्? समयभन्दा अघि नै प्रतिस्पर्धा र तुलनाको कुचक्रमा फस्न बाध्य पारिएका यी बच्चा वयस्क हुने बेलासम्ममा कस्ता नागरिक बन्लान्? बच्चैदेखी अरूप्रति द्वेषभाव राख्न सिके भनेपछि कस्ता मानिस बन्लान् ती? सामाजिक उत्तरदायित्वबोध लिएर यी गम्भीर प्रश्नहरूलाई मनमा राखेका भए ती अभिभावकले, गुरुहरूले पक्कै यसो गर्ने थिएनन् होला। कलिलो उमेरका बच्चाहरूको आफ्नै उमेर सुहाउँदा गतिविधि हुनुपर्ने हो, खेलहरू आफ्नै उमेर सुहाउँदा हुनुपर्ने हो, त्यो उमेरको कल्पनाशीलतासँग मेल खाने किसिमका मनोरञ्जन र शिक्षाका तरिका हुनुपर्ने हो। तर समय पुग्नुअघि नै पटक्कै नसुहाउने शारीरिक व्यायाम, पठनपाठन, अनुशासनआदिमा बच्चाहरू धकेलिइने गरेका छन्।

अचेल बेलाबेलामा मनमा प्रश्न उठ्छ – हाम्रो यो कलिलो गणतन्त्र पनि कतै यस्तै अस्वाभाविक व्यायामतिर धकेलिएको त छैन? हामीले अहिले नै सामना गरिरहेका हाम्रा साँच्चैका जल्दाबल्दा समस्या र चुनौतीलाई सम्बोधन गर्ने यत्न गरिरहेका छौँ कि 'अन्तराष्र्ट्रिय' फेसनबाट प्रभावित भएर अरूका प्राथमिकताबाट बढी निदेर्शित भइरहेका छौँ? हाम्रो कलिलो गणतन्त्रको 'अभिभावक' हुने अभिलाषा लिएका जोरीपारी, छरछिमेकी, पराइका अभीष्ट बोकिरहेकाछौँ कि हाम्रो आफ्नै प्राथमिकतालाई केलाइरहेका छौँ?

गणतन्त्रका रूपमा त हामी कलिलो बालक छौँ नै एउटा सभ्य देशका रूपमा पनि हामी हुर्किइसकेका छैनौ। एक्काइसौं शताब्दीको दोस्रो दशकमा आइपुग्दासम्म पनि हाम्रो देशमा 'बोक्सी'को आरोपमा महिलाहरूमाथि जघन्य दुर्व्यवहार भइरहेको छ। निरीह बृद्धाहरू, गरिब असहाय विधवाहरू अझै बढी यस अपराधको सिकार हुने गरेकाछन्। 'झाँक्री'का सनकमा बच्चाहरूको 'बली चढाउने' सम्मका आदिम अन्धविश्वासको लज्जाजनक आतङ्कले समेत ठाउँ पाइरहेको रहेछ। छुवाछुतको अत्यन्त लाजमर्दा अमानवीय असभ्य उदाहरण अझै हामी भोगिरहेका छौं। 'संस्कार', 'संस्कृति' र रीतिरिवाजका नाममा शरीरलाई, मनलाई, समाजलाई, मानवीय सम्बन्धलाई, वातावरणलाई बिगार्ने विभिन्न कुरूप गतिविधिलाई छुट दिइरहेकाछौँ।

यी यस्ता व्याधि हुन् जो देशबाट निर्मूलै पार्नुपर्छ भन्नेमा त अलिकतिमात्रै चेत भएका कुनै पनि समूहका नागरिकको कुरा मिल्छ नि! अधिकांश विकट गाउँहरूमा अझै सामान्य स्वास्थ्य सेवा नपाएर महिला, बालबालिका र साधारण नागरिकहरूले मृत्यु वरण गरिरहेका छन्। विकास निर्माणका निम्ति नभई नहुने न्यूनतम पूर्वाधारको लाजमर्दो अभाव छ। हाम्रा सपना, चाहना र लालसा भने 'अन्तर्राष्ट्रीय स्तर'का छन्। विदेशीका सामु, छिमेकीका सामु अलि इज्जत राख्न सके हुन्थ्यो भन्ने चाहना पनि त साझा चाहना होला नि (कम्तीमा अलिकति चेत भएकाका निम्ति!)। यी समान चासोका विषयहरूमा प्रवेश गरेर पहिले तिनको सम्बोधन र समाधान गर्न हामी किन नलाग्ने?

समस्या अनगिन्ती छन्। जसले जुन समस्या भोगीरहेकोछ उसका निम्ति त्यही समस्या संसारको सबभन्दा ठूलो समस्या लाग्न सक्छ। तर अरूका आँखामा त्यो त्यति ठूलो नहुन पनि सक्ला। विभिन्न आँखाहरूले देखेका समस्या एकै पटक सबैको चित्त बुझ्ने गरेर समाधान हुनसत्तै्कन। 'प्राथमिकता' भन्ने अवधारणाको आवश्यकता व्यावहारिक जीवनको लामो अनुभवकै उपज हो।

गन्तव्य र बिसौनीहरू प्रायः महत्वपूर्ण देखिन्छन्। तर कुनै पनि महान यात्रामा जस्तै लोकतन्त्रको यात्रामा दिशा र गति ज्यादा महत्वपूर्ण हुन्छ। हामी हिँड्नुपर्ने दिशाका बारेमा स्पष्ट भएर अघि बढ्दा हरेक बिसौनीको उत्तिकै महत्व भए पनि एकैचोटि सबै बिसौनीमा पुग्न सकिन्न। यात्राको सुरुवात महत्वपूर्ण हो, यात्राको दिशा महत्वपूर्ण हो र यात्राको गति महत्वपूर्ण हो। हाम्रो यात्रा सुरु भएकै हो भने राष्ट्रिय बेइज्जतीका दागहरूलाई अहिल्यै मेट्न थाल्नुपर्योप। अब बोक्सीका नाममा कोही प्रताडित हुनुभएन। छुवाछुतजस्तो असभ्यताको कुनै दाग बाँकी रहनु भएन। स्वास्थ्यलाई नागरिकको नैसर्गिक अधिकार भन्नेहरूले स्वास्थ्यसेवा किनबेचको कुरा हुनुहुन्छ कि हुँदैन भनेर छलफल गर्न लजाउन पाइँदैन। 'संस्कृतिको रक्षा' जीवनका निम्ति हुनुपर्योा, 'संस्कृतिका'निम्ति जीवन हैन। परम्पराका नाममा वातावरणको विनाश हुन दिनु भएन। तत्कालै गर्नै पर्ने काम धेरै छन्।

उज्यालो भविष्यको अग्लो धरहरा बनाउन फराकिलो जग हुनु आवश्यक छ। ठोस, स्थिर जमिन हुनु जरुरी छ। र त्यो फराकिलो जग भनेकै सद्भावना हो। त्यो स्थिर जमिन भनेको सम्यक्ता हो जसले अरूका आँखाले देखेको दृश्य देख्न सिकाउँछ, अरूका कानले सुनेको आवाज सुन्न सिकाउँछ, अरूका पीडालाई पनि अनुभूत गर्नसक्ने, मानिसमा कतै न कतै उज्यालोको झिल्को हुन्छ भनेर बुझ्नसक्ने, आफ्ना आग्रहहरूलाई पनि यथार्थको कसीमा जाँच्न सक्ने बनाउँछ। यही सद्भाव र सम्यक्तामा हामीले 'राष्ट्र'को नयाँ परिभाषा खोज्नु आवश्यक छ। यही सद्भाव र सम्यक्ताको जगमा राष्ट्रिय सदाचार (नेसनल इथिक्स) को निर्माण गर्नु आवश्यक छ। हाम्रो राष्ट्र, हाम्रो गणतन्त्र परिपक्वताको कुन चरणमा छ भन्ने यही राष्ट्रिय सदाचारले देखाउने हो।

मृत विगतको भूतबाट वशिभूत भएर वा जन्मिंदै नजन्मिएको आगतबाट त्रस्त भएर बस्दा सबै शत्रु देखिन्छन्। आजकै यथार्थमा टेकेर उज्यालोतर्फको यात्रामा अघि बढ्ने प्रतिबद्धता हुँदा धेरै मित्र भेटिनेछन्। आजको विश्वमा जति पनि राष्ट्र छन्, ती कुनै न कुनै कालखण्डमा शासकका हिंसाबाटै सीमाङ्कित भएका हुन्। 'वसुधैव कुटुम्बकम्' को नारा असल मानिसहरूले उहिल्यैदेखि लगाउँदै आए पनि हतियारले सीमा कोर्नेहरूकै प्रभुत्व भइरह्यो। अहिले हामी गणतन्त्रका नागरिक भएका छौँ। अर्थात्, अब देश कुनै वंशको सम्पत्ति रहेन। नागरिक कसैका रैती रहेनन्। तर नागरिकका निम्ति यो 'राष्ट्र'को आवश्यकता हिजोका शासकहरूका निम्तिभन्दा अझै बढेको छ। कसैको, कुनै वंशको, कुनै जाति र सम्प्रदायको, कुनै वर्गको सम्पत्तिको रूपमा हैन, एउटा आदर्श विश्वको परिकल्पनालाई साकार पार्नकै निम्ति पनि स्थिर राष्ट्रको आवश्यकता छ जहाँ आदर्श मानव समाजको खाका कोर्न सकियोस्। वसुधैव 'कुटुम्बकम्'को उद्देश्य प्राप्त गर्नाकै निम्ति पनि यसरी परिभाषित राष्ट्रले मात्र 'स्पेस' दिनसक्छ।
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस