खुमबहादुर भर्सेज नरबहादुर
२० साउन २०७२
•
१५ मिनेट पाठ
खुमबहादुर भर्सेज नरबहादुर
खुमबहादुर खड्का राजनीतिक वृत्तमा बारम्बार चर्चामा आइरहने नाम हो। दुई दशक यता नेपाली कांग्रेसको केन्द्रीय तहमा महत्वपूर्ण भूमिका खेल्दै आएका खड्काको राजनीतिक ध्येय भने कांग्रेसभित्र आफ्ना समर्थक बढाउनु र त्यसैका बलमा आफ्नो पक्ष सशक्त बनाउनु रहेको देखिन्छ।पार्टीको इलाका, जिल्ला, सभासद् र केन्द्रीय समितिमा आफ्ना मान्छेको बलियो उपस्थिति जनाउने राजनीतिमा उनी केन्द्रित हुन्छन्। उनको यो विधि पार्टीभित्रका गुटहरूबीचको चलखेलमा काम लाग्छ र त्यही बलमा आफ्ना लागि 'बार्गेनिङ्ग' गर्ने शक्ति पनि मिल्छ।

गृह मन्त्रीलगायत पटकपटक विभिन्न मन्त्रालयको जिम्मेवारी लिइसकेका खुमबहादुर कांग्रेसको १२ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य हुन्। उनको पछिल्लो 'मिसन' भने नेपाल हिन्दु राज्य हुनुपर्छ भन्ने हुन पुगेको छ। भ्रष्टाचारको अभियोगमा जेल सजाय काटेपछि हिन्दु अभियानमा होमिएका खड्काले यसैलाई मलजल गरिहरहेका छन्। उनले चलाएको 'हिन्दु जागरण अभियान, नेपाल' ले आकार लिँदैगएको देखिएको छ।

खुमबहादुरको यस अभियानले मुलकुको राजनीतिमा कस्तो अर्थ हुने हो र कांग्रेसको आसन्न तेह्रौं महाधिवेशनमा कस्तो प्रभाव पार्ने हो? नेपाल धर्म निरपेक्ष रहनुपर्छ वा हिन्दु राज्य हुनुपर्दछ भन्ने बहसले राजनीतिकरूप लिएकाले यसको लेखाजोखा हुँदैजाला।

राप्रपा नेपालका नेता, कार्यकर्ताबाट 'आदरणीय' नेताको पगरी पाउने गरेका उनको यात्रा कसरी बढ्ने हो? गृह जिल्ला दाङकै कांग्रेस राजनीतिमा उनको धरातल कमजोर भएको अवस्थामा उनले चलाएको हिन्दु अस्त्र कसरी अगाडि बढ्छ र यस अभियानबाट खुमबहादुरले कस्तो राजनीतिक लाभ लिने हुन् त्यो पनि समयले देखाउला।

साउन पहिलो साता, संविधानको प्रारम्भिक मस्यौदाबारे मध्यपश्चिमका नागरिकको धारणा बुझने उद्देश्यले दाङलगायतका जिल्लाको भ्रमणका क्रममा त्यस क्षेत्रको सामयिक अवस्थाबारे जानकारी लिने मौका मिल्यो। दाङमा नेपाल हिन्दु राज्य कायम हुनुपर्छ र धर्म निरपेक्ष राज्य चाहिन्छ भन्ने आवाज ठूलै स्वरमा सुनिए। खुमबहादुरको गृह जिल्ला भएको नाता र अन्य हिन्दुवादी संघसंस्थाले पनि सघन कार्यक्रम चलाएकाले हिन्दु स्वर चर्कोे भएको होइन रहेछ। खुमबहादुर दाङकै भएकाले उनको अभियानको आंशिक प्रभाव परेको छ। उनका समर्थकहरू दिलोज्यानले हिन्दुत्वका पक्षमा होमिएका भए पनि दाङका सामान्य कांग्रेसजनलाई खुमबहादुरको धार्मिक अस्त्र आकर्षक बन्नसकेको पाइएन। भ्रष्टाचारको कालो दाग पुछ्न उनले धर्मको आड लिएको ठान्दा रहेछन कतिपय कांग्रेसजनले।

खुमबहादुरको अभियानलाई एकातिर पन्छाएर हेर्दा पनि दाङको सामाजिक राजनीतिक जीवनमा धर्मराजनीति विवादको विषय बनेको देखिन्छ। नेपाल हिन्दु राज्य हुनुपर्ने कि धर्मनिरपेक्ष? यही प्रश्नको उत्तर खोज्दै जाँदा त्यहाँको सामाजिक राजनीतिक जीवनमा गहिरिएको इसाईकरणको चित्र अगाडि आउँछ। यही क्रममा भेटिए – नरबहादुर शाह। आजभन्दा ३५ वर्षअघि नै दाङमा संभवतः पहिलो इसाईका रूपमा इसाई धर्म अँगालेर त्यसको अनुसरण गर्ने व्यक्ति हुन् शाह। शाहकै शब्दमा उनी पनि कांग्रेसै हुन्। 'म पनि कांग्रेस हुँ' शाहले भने 'तर झन्डा नबोक्ने।' बीसको दशकमा खुमबहादुर र आफू घोराहीको पद्मोदय माध्यमिक विद्यालयमा अध्ययन गरेको स्मरण गर्दै शाह भन्छन् – ' मभन्दा, २ – ३ कक्षा माथि हुनुहन्थ्यो। स्कुले जीवनमै उहाँ राजनीतिमा लाग्नु भएको थियो। म पनि साथैमा थिएँ।' नेपाली कांग्रेसको झन्डामा अङि्कत चार तारामध्ये एउटाले 'घार्मिक स्वतन्त्रता' बुझाउने भएकाले आफू अहिलेसम्म त्यही मान्यतामा रहेको शाहको कथन छ। 'पहिला पहिला हाम्रो झन्डा एउटै थियो' शाहले भने 'उहाँ (खुमबहादुर)ले अहिले भाखा बदल्नु भएको छ, बोली फेर्नु भएको छ।'

सरसरी हेर्दा दुवैजना कांग्रेस। दुवै जेल परेका। खुमबहादुर पञ्चायत कालमा कांग्रेस भएबापत जेल परे। रणबहादुर पंचायतकै बेला इसाई धर्म अँगालेबापत जेलमा पुगे। दाङका यी दुई पात्र कांग्रेस हुँदाहुँदै पनि अहिले एक अर्काका विपरीत चरित्रजस्ता देखिन्छन्। खुमबहादुर हिन्दु अभियानमा छन्। नरबहादुरको चाहिँ घोषितरूपमा त कुनै अभियान देखिँदैन तर उनले अपनाएको इसाई धर्मले आकार फैलाउँदै गएको छ। रणबहादुरहरूको 'धन्यवाद' सम्बोधन, मीठो बोली र सद्भावयुक्त व्यवहारकै कारण इसाई धर्मपट्टि मानिस ओइरिएका हुुन् त? प्रश्नको सहज उत्तर भेटिदैन। दाङकै कुरा गर्दा २०३५ सालमा रणबहादुर एक्ला इसाई थिए। विसं २०४८ अघिको राष्ट्रिय जनगणनामा इसाईको संख्या शून्यबराबर थियो। विसं २०५८ को गणनामा ६४० जना इसाई थिए भने २०५८ को जनगणनामा ७ हजार ४ सय ३१ जना पुगे। पछिल्लो एक दशकमा इसाई जनसंख्या १ हजार ६१ प्रतिशतले बढ्यो। दाङ क्रिश्चियन समाजको पछिल्लो गणनाअनुसार उनीहरूको संख्या १२ हजार पुगेको छ।

दाङ त एउटा उदाहरणमात्र हो। मुलुकभर इसाईको संख्या ह्वात्तै बढेको छ। विसं २०५८ को जनगणनामा १ लाख १ हजार हाराहारी रहेको इसाईको जनसंख्या एक दशकका अवधिमा २०६८ मा ३ लाख ७५ पुगेको देखिन्छ।

यसरी बढिरहेको इसाईकरणले सामाजिक, राजनीतिक जीवनमा कस्तो प्रभाव पारेको छ त? दाङ यसको दृष्टान्त हुनसक्छ। त्यहाँको सामाजिक जीवनमा इसाईकरणले समाजमा भय सृजना गरेको जनसाधारणले अनुभव गर्न थालेका रहेछन्। हिन्दु धर्मविरुद्धका आवाजमात्र सुनिदैन त्यहाँ। धार्मिक असहिष्णुताका कारण भएका घटनाका विवरण पनि सुनाउँछन् भुक्तभोगीले। त्यस्तो त धर्म परिवर्तनको भयकै कारण मध्यपश्चिमका मुसलमानहरूले खुलेरै नेपाल हिन्दुराष्ट्र हुनुपर्छ भन्न थालेका छन्। हिन्दु राष्ट्र माग गर्ने जुलुसमा मुसलमानहरूको सहभागिताको गहिरो अर्थ देखिन्छ। मुस्लिम नेताहरू हिन्दु, बौद्ध समाजमा भएजस्तै इसाई आक्रमण आफ्नो समुदायमा नहोस् भन्ने चाहन्छन्। अर्थात्, मुसलमान समुदायमा इसाईकरणको बीउ नरोपियोस् भनेर सचेत छन्। समाजमा इसाईकरणको एक किसिमको भय व्याप्त भइसकेको छ।

इसुको पाउमा पुगेपछि हिन्दु धर्मअनुसार गर्नुपर्ने जन्म, मृत्यु, विवाहजस्ता कतिपय परम्परागत संस्कार गर्नुपर्दैन भनेर पराई धर्म अगाल्नेहरू पनि रहेछन्। महँगा जातीय संस्कार र धार्मिक अनुष्ठानका नाममा हुने प्रर्दशनले कतिपय मध्यमवर्गीय परिवारको रोजाइ इसाई धर्म बनेको देखिन्छ। यो धर्म अपनाएपछि 'केही पनि गर्नुपर्देन रे' जस्ता भनाइ धेरै सुनिन्छ गाउँघरमा।

विकासका कामलाई पनि धार्मिक चस्माले हेर्न थालिएको छ। विकासका नाममा कतै धर्म परिवर्तनका खेल त भैरहेका छैनन्? एक प्रकारको संशय देखिन्छ स्थानीय अगुवाहरूमा। एउटा उदाहरण – २०७० सालको बाढीले तहसनहस पारेको देउखुरीमा सहायताको 'प्याकेज' लिएर एउटा संस्था आयो। सबै बाढीपिडितलाई घर बनाइदिने र देउखुरीका सबै गाउँमा एकएकवटा सामुदायिक भवन बनाइदिने प्रस्ताव लिएर आएको त्यस संस्थालाई सिसनियाका केही राजनीतिकर्मीले फर्काइदिए। फर्काउने अभियानमा सक्रिय स्थानीय अगुवा भन्छन् – 'सामुदायिक भवनका नाममा चर्च बनाउने योजना रहेछ, हामीले फर्काइदियौं।' सिसनियाको यो घटना त एउटा उदाहरणमात्र हो। विकासका कार्यक्रम कसले किन ल्याइरहेको छ? प्रश्न गर्न थालेका छन् दंगालीहरू। विवाद हुन थालेको छ, दंगालीबीच विकास, सामाजिक र धार्मिक मामलामा।

दाङको एक चौथाइ जनसंख्या अझै पनि गरिबीको रेखामुनि छ। मुक्त कमैया, सुकुम्बासी र विपन्नहरूको ठूलो संख्या रहेको छ दाङमा। शिक्षा र चेतनाको अभाव पनि उत्तिकै छ। रोल्पाबाट झरेका मगर र दाङका आदिवासी थारुहरू विकासको सूचकांकमा पछाडि छन्। के देखिन्छ भने दाङमा इसाई बढ्नुका पछाडि हाम्रो राजनीतिक र हिन्दू धार्मिक व्यवस्था उत्तिकै दोषी छन्।

खुमबहादुरको घोषित राजनीतिक आदर्श लोकतान्त्रिक समाजवाद हो। बीपीको समाजवादलाई खुमबहादुरहरूले गरिब र विपन्नको घर आँगनमा पुर्याकउन सकेनन्। प्रजातान्त्रिक कालमा दाङ कांग्रेस र एमालेको जिल्ला थियो। लोकतान्त्रिक गणतन्त्र आएपछि पहिलो संविधान सभा निर्वाचनमा सबै क्षेत्र एमाओवादीको हातमा पर्योम। संविधान सभाको दोस्रो निर्वाचनमा नेपाली कांग्रेस पाँचै निर्वाचन क्षेत्रमा विजयी भयो। दुईवटा निर्वाचनमा दुई प्रकारका पार्टीलाई जिताउने तिनै गरिब हुन्। राजनीतिक समीकरणमा परिस्थितिअनुसार यताउता लाग्ने गरिबीको रेखामुनिका जनताको गणितमा फरक आएको देखिँदैन।

दाङमा संस्कृत विश्वविद्यालय छ। त्यहाँ ठूल्ठूला पण्डितको बसोबास छ। उनीहरू शास्त्रार्थ गर्न सिपालु छन्। इसाई धर्मविरुद्धमा आगो ओकल्ने विद्वान्हरू हिन्दु धर्मले उत्पन्न गरेको जातपात, छुवाछुत र ठूलोसानोको विभेदमा भने मौन बस्न रुचाउँछन्। श्रीमद् भागवतका प्रशस्त अनुष्ठान हुन्छन् दाङमा। भागवत वाचकहरू ठूला स्वरमा जातपात र छुवाछुतको खेती गरिरहेका भेटिन्छ।

गम्भीर आरोप छ, कतिपय अन्तर्राष्ट्रिय र स्थानीय गैरसरकारी संस्थाप्रति। उनीहरूले इसाईकरण फैलाएको आरोप लगाउनेको संख्या पनि ठूलो छ। तर राजनीतिकर्मी र हिन्दु धर्मका समर्थकहरूले समस्याको जड गरिबी, पछौटेपन र चेतनाको अभाव हो भन्ने बुझ्न चाहिरहेका छैनन्।

नेपाली कांग्रेसको झन्डाको एउटा तारा धार्मिक स्वतन्त्रताको प्रतीक हो। त्यही स्वतन्त्रताको जगमा रणबहादुरहरू विपन्न बस्तीमा पुगेका छन् बाइबल बोकेर। कांग्रेसको राजनीतिक आदर्श लोकतान्त्रिक समाजवाद भने भाषण र लिखतमा खुम्चिएको छ। खुमबहादुरहरू लोकतान्त्रिक समाजवाद तिलाञ्जली दिएर धार्मिक प्रचारमा जुटेका छन्- कमल थापासँगै। तर मुलुक पेचिलो अवस्थामा छ। खुमबहादुर भर्सेज रणबहादुरहरूका अभियानले मुलकलाई धार्मिक हिंसातर्फ उन्मुख गराउने त होइन? खतरा सामुन्ने नै छ।
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस