प्रत्यक्ष निर्वाचनमै आरक्षण
०५ साउन २०७२
•
१५ मिनेट पाठ
प्रत्यक्ष निर्वाचनमै आरक्षण
संविधान निर्माण सम्बन्धमा चार प्रमुख दलबीच सहमति भएर मूल कानुनको मस्यौदा सार्वजनिक छलफल तथा सुझावका लागि बाहिरिइसक्यो। लामो समयदेखि देशको संविधान हेर्न लालायित जनतामा उक्त खबरले खुसी सञ्चार गर्नु अस्वाभाविक भएन।राजनीतिक परिस्थिति हेर्दा संविधान जारी हुनेबित्तिकै एउटा ठूलो जत्थाले मूल कानुन च्यात्ने अवस्था देखियो। नियमानुसार लेखिएको संविधान कुनै पक्षको विरोधकै कारण जारी हुन रोक्नुपर्छ भन्ने हुँदै होइन। र, त्यसो गरिँदा मुलुक झन अराजकतामा धकेलिन्छ। तर सबैभन्दा महत्वपूर्ण पक्ष नवीन संविधानले सीमान्तकृत समूह तथा वर्गलाई राष्ट्रको मूल प्रवाहमा ल्याउन सक्ला/नसक्ला, मुलुकमा राजनीतिक तथा प्रशासनिक स्थायित्व कायम गर्ला/नगर्ला तथा विकास निर्माणले गति समाउला/नसमाउला भन्ने कुरामा भने ध्यान दिनैपर्छ। स्वास्थ्य तथा उमेरका कारण कुनै व्यक्तिलाई अमूर्त पदमा छिटो स्थापित गर्नाका लागि अविलम्ब संविधान जारी गर्न खोज्ने हो भने मुलुकले भविष्यमा फेरि पनि गिरिजाप्रसाद कोइरालालाई छिटोभन्दा छिटो राष्ट्रपति बन्न र बनाउन भएका अनैतिक तथा अवैधानिक सम्झौताको मूल्य राष्ट्रले हालसम्म तिरिरहेको जस्तै हुनेमा द्विविधा देखिन्न।

स्वास्थ्य विज्ञानको भाषामा भन्नुपर्दा समस्याको पहिचान जति राम्रो गर्न सकिन्छ, समाधान पनि त्यत्तिकै गतिलो हुन्छ। चुनौती पहिल्याउन सक्ने हो भने अबल दर्जाको संविधान जारी गर्न नसकिने होइन। मुलुकलाई मार्गदर्शन गर्नुपर्ने नागरिक समाज थलिएको अवस्था अनि नेताहरुलाई छिटोभन्दा छिटो उपल्लो पदमा उक्लन लालायित भएको देख्दा दूरगामी संविधानको बदला एक थान संविधान पो जारी होला कि भन्ने डर भयो। सार्वजनिक भएको संविधानको स्वरूपसमेत त्यतै परिलक्षित देखिन्छ।

अबल दर्जाको संविधानले तत्कालीन समस्या समाधान गर्नुका अतिरिक्त दूरगामी भविष्यको खाकासमेत तोक्न सक्नुपर्छ। राज्यका सबै तप्का र पक्षका बासिन्दाले देशको संविधानमा आफ्नो मुहार देख्न सकेनन् भने उक्त संविधानले देशको भविष्य सुनिश्चित गर्न सक्दैन। तसर्थ, संविधानमा सबै जनताले स्थान पाएका छन्/छैनन् हेरिनुपर्छ। नेपाल अहिले तराई, हिमाल, पहाड, जनजातिलगायतका विभिन्न क्षेत्रियतामा विभक्त छ। पहाडे, मधेसी, जनजाति तथा दलित एकापसमै शंकित छन्। र, पारस्परिक शंकाको निवारण संविधान निर्माणको पूर्वसर्त हुनुपर्छ। एक पक्ष तथा वर्गको मात्र प्रभुत्व हुने गरी संविधान बन्दा अन्ततः मुलुकको विखण्डन रोक्न सकिन्न भन्ने वास्तविकता हेर्न तत्कालीन सोभियत संघ र युगोस्लाभियाको इतिहास हेर्दा पुग्छ। जबसम्म मेचीदेखि महाकाली तथा हिमालदेखि तराईमा बस्ने आमजनताले नेपाललाई आफ्नो देश ठान्ने अवस्था आउँदैन तबसम्म मुलुक मजबुत हुन सक्दैन।

अहिलेको अवस्था हेर्ने हो भने देशको उच्चतम पद राष्ट्रपति र उपराष्ट्रपति मधेसी मूलका छन् भने सभामुख जनजाति। कर्मचारी तथा संवैधानिक नियुक्तिहरुलाई समावेशी बनाउन नियम/कानुन बने। लागु पनि हुँदैछन तर देशमा विखण्डित मानसिकता झन्झन् बढ्दो छ। राज्यका पद विभिन्न जाति तथा वर्गका नाममा विभाजन गर्दै जाँदा मुलुकमा स्थायी शान्ति स्थापना हुने भए लेबनान संसारकै सबैभन्दा सुन्दर मुलुक हुनुपर्ने थियो तर छैन। क्रिश्चियन तथा सिया र सुन्नी मुसलमानको मुख्य बसोबास भएको लेबनानमा सबै जातिले राजनीतिक हिस्सा पाउँदा मुलुकमा स्थायित्व हुन्छ भन्ने ठानियो। र, त्यसै सोचअनुसार राष्ट्रपति क्रिश्चियनमात्र हुने, संसदको सभामुख हुन सिया मुस्लिम नै हुनुपर्ने अनि प्रधान मन्त्री बन्न सुन्नी मुसलमानमात्र योग्य हुने कानुनी व्यवस्था गरियो। हँुदाहँुदा अन्त्यमा संसदको सिट पनि मुस्लिम र क्रिश्चियनबीच आधाआधा बाँडियो। राष्ट्रसेवक कर्मचारी संख्या पनि धर्मका आधारमा बाँडियो। तर त्यस्तो प्रावधान राखिएको केही वर्षमै लेबनानको दुर्दशा सुरु भयो। अरबको युरोप भन्ने लेबनान झन विखण्डित भयो, तहसनहस बन्यो। अन्यथा नेपाली सेनाले लेबनानमा शान्ति स्थापना गर्न युनिफिलको नेतृत्व सम्हाल्नुपर्ने थिएन। तसर्थ, राजनीतिक तथा प्रशासनिक पदलाई कानुनीरूपमा बाँडेर देशमा शान्ति स्थापना पनि हुँदैन, विकासले फड्को मार्दैन भन्ने पाठ हामीले लेबनानसँग सिक्नैपर्छ। अर्को कटु यथार्थ के हो भने राष्ट्रको हरेक तप्कामा प्रत्येक पक्षको सहभागिता हुन सकेन भने पनि देश एकीकृत रहन सक्दैन। तसर्थ पद विभाजन गरेर होइन बरु सबैलाई राष्ट्रको मूल प्रवाहमा ल्याउने संवैधानिक समाधान आजको आवश्यकता हो।

संविधान निर्माण प्रक्रियामा राष्ट्रको सबै पक्ष तथा वर्गको सहभागिता हास् भनेर नै संविधान सभामा समानुपातिक मनोनयन प्रक्रिया अपनाइयो। त्यसले विगतमा सीमान्तकृत रहँदै आएका पक्षहरुलाई राष्ट्रको मूल प्रवाहमा ल्यायो तर उक्त समानुपातिक प्रावधानबाट प्रतिनिधित्व गरेका सभासदहरु राष्ट्रको संविधान बनाउनमा लाग्न सकेनन्। बरु आ–आफ्नै भूगोल र जातजातिको वकालत गर्न थाले। मधेसको वकालत गर्न मधेसी नै हुनुपर्ने, दलितको व्यथा कहन हरिजन सभासद नै हुनुपर्ने अनि जनजातिको समस्या बोध गराउन उनीहरु स्वयम् नै तत्पर हुनुपर्ने अवस्था बन्यो। अर्को पक्षले आफ्नो व्यथा बकिदिने अवस्था नभएपछि त्यसो गर्नु उनीहरुको बाध्यता पनि भयो होला। समावेशी व्यवस्थाले संविधान सभामा निम्सरो वर्गको राष्ट्र निर्माणमा सहभागिता त भयो तर राष्ट्र भने झन् कमजोर भयो।

प्रजातन्त्र स्थापनापछिको प्रत्यक आमनिर्वाचन हेर्ने हो भने समावेशीको हिसाबमा तराई सबैभन्दा उदार देखियो। ९० प्रतिशतभन्दा अधिक मधेसीको बसोबास रहेको निर्वाचन क्षेत्रबाट समेत पहाडेले चुनाव जिते, जनजाति जनप्रतिनिधि बने तर पहाड तथा हिमालबाट कुनै पनि मधेसीले चुनाव जित्नु त बेग्लै कुरा, ठूला दलहरुले मधेसीलाई उक्त भेगमा उमेदवारसमेत बनाएनन्। यदि विगतमा ठूला राजनीतिक दलले मधेसीलाई लगेर पहाडबाट जिताएर काठमाडाँै पठाउन सकेको भए पहाडे मधेसी दुई विपरित कित्तामा पुग्ने थिएनन्। विगतमा त्यसो हँुदो हो त मधेस आन्दोलनको कुनै गुञ्जायस नै हुने थिएन। आज पहाडे र मधेसीको अस्तित्वको बदला सबैको पहिचान नेपाली बन्थ्यो। उक्त तथ्य दलित र जनजातिको हकमा पनि त्यत्तिकै सत्य रहेको वास्तविकता भनिरहनै परेन। समष्टिगतरूपमा भन्ने हो भने बहुदल तथा गणतन्त्र स्थापनापछि पनि देश एकीकृत हुन सकेन। बरु समाज झन असहिष्णु बन्दै गयो। जबसम्म तराईले पहाडलाई आफन्त ठान्दैन, हिमालले तराईलाई अपनत्व दिँदैन, तागाधारीले जनजाति र दलित चिन्दैन तबसम्म नेपाललाई राष्ट्रका रूपमा स्थापित गर्न सकिन्न। तसर्थ आगामी संविधानको सबैभन्दा ठूलो चुनौती भनेको राष्ट्र एकीकृत गर्नु हुनेछ।

अहिलेको प्रस्तावित संविधानअनुसार केन्द्र र प्रान्तमा गरी ८ सय ७० सांसद हुने देखियो। सांसदका लागि प्रत्यक्ष र अप्रत्यक्षरूपमा खर्च हुने रकम मुलुकको सञ्चित कोषमा ठूलो बोझ हुने भएकाले त्यसको संख्यामा व्यापक कटौती गर्नुपर्ने देखियो। वर्तमान संविधान सभा जस्तै प्रत्यक्ष निर्वाचित र अप्रत्यक्ष हिसाबमा प्रतिनिधित्व गर्ने समानुपातिक दुवै प्रावधान समेटेर आगामी संसद् गठन गरिँदा कुनै पनि एक दलले संसद्मा बहुमत पाउन नसक्ने कुरा विगतको अनुभवले देखाइसक्यो। त्यसमाथि संविधानमा अहिले प्रस्ताव गरिएको समानुपातिक निर्वाचन प्रणाली लागु गर्नै सकिन्न भन्ने पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलको हालैको अभिव्यक्ति स्मरणयोग्य छ। संसद्मा कुनै पनि दलले स्पष्ट बहुमत नपाउँदा मुलुकले भोग्ने दुर्गति सबैले देखेकै हो। तसर्थ सबै पक्ष तथा समूहले अपनत्व महसुस गर्न सक्ने छरितो जनप्रतिनिधिमूलक संसद् कसरी गठन गर्ने, त्यता हेरौँ।

जतिसुकै आलोच्य भए पनि निर्धा वर्गलाई राष्ट्रको मूल प्रवाहमा ल्याउन राष्ट्रिय निर्वाचनमा केही निश्चित अवधिका लागि आरक्षण व्यवस्था आवश्यक छ। तर विगतको अनुभव हेर्दा बन्द सूचीबाट आउने सभासदहरु अक्षममात्र सावित भएनन् कि निर्वाचन क्षेत्रबिहीन भएकाले उनीहरुको ध्याउन्न आफ्नो क्षमता प्रदर्शनी गर्नेभन्दा आफूलाई मनोनीत गर्ने नेताहरुको पिछलग्गु बनेको देखियो। आरक्षित कोटाका सांसदहरु पनि प्रत्यक्ष निर्वाचित हुने व्यवस्था गर्न सके उनीहरु थप उत्तरदायी हुनुका अतिरिक्त राष्ट्रको मूलधारमा आउने थिए। उदाहरणका लागि, २५ प्रतिशत संसद्को स्थान उत्पीडित जातजाति तथा सीमान्तकृत कित्तामा रहेकालाई आरक्षण गर्ने हो भने कायम रहेका सम्पूर्ण निर्वाचन क्षेत्रलाई प्रत्येक समूहमा एक चौथाई निर्वाचन क्षेत्र पर्ने गरी चार समूहमा विभक्त गर्ने। अनि आवधिकरूपमा एक समूहमा एक पल्ट आरक्षित कोटाको निर्वाचन गर्ने व्यवस्था गर्न सकिन्छ। त्यस्तो व्यवस्था गर्दा चार आवधिक निर्वाचन हुँदा देशका सबै निर्वाचन क्षेत्रले आरक्षण मतदानको अवसर पाउँथे। र, समानताको प्रत्याभूति पनि हुन्थ्यो। यस्तो प्रावधान अंगाल्न सके जम्बो आकारको संसद्बाट छुटकारा पाउनुका अतिरिक्त संसदमा बहुमतको सरकार गठन हुन सक्ने अवस्था पनि रहन्थ्यो। त्यसका अतिरिक्त जनताको मत नपाएका र निर्वाचन क्षेत्र नै नभएका व्यक्ति जनप्रतिनिधिमा दरिने संस्कार सदाका लागि अन्त्यसमेत हुन्थ्यो।

एकमना सरकार बन्दा देशको विकास पनि हुन सक्थ्यो। आलोपालो प्रथामार्फत आरक्षित निर्वाचन हुँदा हिमालको शेर्पाले तराईबाट चुनाव जित्ने अनि एउटा धनुषाको मधेसीले रोल्पाबाट प्रतिनिधित्व गर्ने अवस्था आउन सक्छ। महन्थ ठाकुरले सोलुखुम्बुबाट चुनाव जित्ने अनि समथर भूभागको अनुभूति गर्न नपाएको कान्जी शेर्पाले मध्य महोत्तरीबाट चुनाव जित्ने अवस्था आए देशको राष्ट्रियता कस्तो हुन्थ्यो होला? निर्वाचनको यस्तो संवैधानिक प्रावधानले देश सबैको साझा भन्ने वाक्यांशलाई यथार्थमा उतार्नुका अतिरिक्त सानो तर समावेशी संसद् गठन हुनुका साथै एकमना सरकारसमेत गठन हुन सक्ने भएकाले तदनुरूपको संविधानमा सुझाव आज आवश्यक देखिन्छ।
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस