दिशाहीन नेपाली कांग्रेस
३२ जेष्ठ २०७२
•
१९ मिनेट पाठ
दिशाहीन नेपाली कांग्रेस
चारदलको सोह्र बुँदे सहमतिले संविधान निर्माणको ढोका खोल्यो। संविधान सभाको पर्याप्त मतादेशबाट संविधान निर्माण प्रक्रिया अगाडि बढ्नु खुसीको कुरा हो। संविधान असारमै जारी भएर नयाँ सरकार तत्कालै बन्ने अनुमानले अहिले राजनीतिक बजार तातेको छ। नेपका (एमाले) नेतृत्वको सरकार बन्दैछ भनेर त्यस पार्टीका कार्यकर्ता, समर्थक र शुभेच्छुक निकै उत्साहित देखिन्छन्। अर्कातिर सुशील कोइराला नेतृत्वको वर्तमान सरकारलाई अनेकौं असफलताको पगरी भिराएर र खलनायक बनाएर बिदा गर्ने अभियानै चलेको देखेर कांग्रेसजन अलमलमा परेका छन्।कांग्रेसजनको अलमल र चिन्ता संविधान ‘फास्टफुड' जस्तो ‘फास्ट ट्रयाक' र ‘सर्टकट मेथड'बाट बन्न थालेर भएको हो। हिजोआज ‘फास्ट ट्रयाक'बाट पैसा बनाउने चलन छ। भ्रष्ट र दुस्साहसीहरूले त्यसो गर्छन्। संविधान पैसा कमाउने व्यापार त होइन। बच्चालाई गर्भबाट ९ महिना पहिले बाहिर ल्याउन मिल्दैन। ल्याउनै पर्योव भने अनेकौं कृत्रिम सहायता (सपोर्ट) जरुरी हुन्छ। सामान्य संक्रमण हुँदा पनि ‘एन्टिवायोटिक'को पूरै मात्रा नखाए त्यसको असर हुन्न। 
झन्डै तीन करोड नेपाली जनताको वर्तमान र भविष्य निर्धारण गर्ने संविधान हतारमा जारी गर्दा आउने जोखिम र देशले भोग्नुपर्ने राजनीतिक स्थिरता बारे अहिले नै सोच्नुपर्ने होइन र? भन्न खोजेको के भने न्यूनतम भएपनि केही समय जनतासँग संवाद र छलफलै नगरी संविधान सभा सदस्यलाई तिनको मत राख्नै नदिई र नागरिक समाजमा बहसै नचलाई सत्ता परिवर्तन गर्नेमात्र नियतले जारी भए त्यस्तो संविधान टित्तै्कन। 
अहिले संविधान सत्ता परिवर्तनका लागि बन्दैछ। यो कटुसत्य हो। यही सन्देश जनतामा गएको छ। संविधान निर्माण र भावी सत्ताको व्यवस्थापन एमाले र एनेकपा (माओवादी) गर्दैछन्। यो पनि कांग्रेसले स्वीकार गर्न नसक्ने सत्य हो। नेपालको विपत् व्यवस्थापन र नवनिर्माणको नेतृत्व आउने दिनमा कांग्रेस बाहिरबाट हुनेछ। यो अर्को सत्य हो। स्थानीय निर्वाचन पनि अब ओली सरकारको प्राथमिकतामा पर्नेछ। नेपालको भावी राजनीतिक दिशा र त्यसको प्रक्रिया कसरी अगाडि बढ्नेछ भन्नेमा प्रधानमन्त्री सुशील कोइरालालगायत सम्पूर्ण कांग्रेसजन अहिले अनभिज्ञमात्र छैनन्, हराएका छन्। देशको कमाण्ड एमाले र एमाओवादीको हातमा जो सुम्पिइएको छ। 
सोह्र बुँदे सहमतिपत्रमा हस्ताक्षर गर्ने बेला प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापतिले दुई ठूला कम्युनिस्ट पार्टीका अध्यक्षबाट हप्कीदप्की सहनु पर्योन बहुलवादको विषयमा। प्रधानमन्त्री कोइरालाले बुझेर वा नबुझेर ‘बहुलवाद' सोह्र बुँदे सहमतिपत्रको विषय बनोस् भनी राखेको प्रस्तावलाई उनका आफ्नै सहयोगीले पनि सहमतिपत्रमा राख्न लगाएर कोइरालाको वचनको सम्मान गर्नसक्थे। यसोहुँदा प्रधानमन्त्री र कांग्रेस सभापतिको गरिमा झर्ने थिएन जनताको नजरमा। तर दुई ठूला कम्युनिस्ट पार्टीका नेताजस्तै आफ्नै भन्नेहरू पनि प्रधानमन्त्री कोइरालालाई अक्षमताको पगरी गुथाएर पदमुक्त गर्न चाहन्छन्। यसैले उनीहरू मौन रहे। यो कांग्रेस राजनीतिमा मञ्चन भइरहेको अर्को तीतो सत्य हो। 
कुनै समय थियो कांग्रेसजन गर्व गर्थे आफ्ना नेता बीपी कोइरालाले राणा प्रधानमन्त्री मोहनशम्शेरलाई पनि गतिलो जवाफ फर्काउन सके भनेर। लोकतन्त्र नेपालको जग त्यहीँबाट निर्माण भएको थियो। राजनीतिमा सानो सन्देशको पनि ठूलो महत्व हुन्छ। एकदशक अगाडिमात्र गिरिजाप्रसाद कोइरालाले तत्कालीन राजा ज्ञानेन्द्रलाई हप्काएर दरबारबाट फर्केको कुरा महाराजगन्ज निवासमा सुनाउँदा हामी गौरवान्वित हुन्थ्यौँ। गणतन्त्र नेपालको जग निर्माण भएजस्तो लाग्थो। तर अहिले कांग्रेस फेरिएको हो कि? गलित र थाकेकाबाट सञ्चालित भएर यस्तो भएको हो? अहिले त जुझारुपनको साटो संस्कारमै समर्पणभाव व्याप्त देखिन्छ। 
कम्युनिस्टहरू बहुलवादका व्यापक आयामसँग असहमत हुनु अस्वाभाविक होइन। लोकतन्त्रमा राज्य र समाज बहुलवादमा आधारित हुने भएकोले स्वाभाविक छ कम्युुनिस्ट ‘ट्याग' भिरेका पार्टीहरू समाजको लोकतन्त्रीकरणसँग सहमत हुनसक्तैनन्। जनताको सार्वभौमसत्तासँगै प्रत्येक नागरिक शक्तिका स्रोत हुन्, सत्ताका स्रोत हुन् र समाजको मूल चरित्र बहुलवादी हुन्छ भन्ने मानिन्छ लोकतन्त्रमा। बहुलवाद त्यसैलाई समेट्ने राजनीतिक शब्दावली भएकाले कम्युनिस्ट दर्शनले स्वीकार गर्दैन। सत्ता राज्यको मात्र हुँदैन नागरिकको पनि हुन्छ। समाज, सामाजिक संस्था र सामाजिक कार्यको स्वीकृति बहुलवादको पहिचान हो। सत्ता त्यहाँ पनि छ। माओ र स्टालिन मूलतः यिनै र यस्तै कुरामा विमति राख्थे। अहिले उत्तर कोरियाका नेता त्यही गरिरहेका छन्। कुनै पनि पूर्व र वर्तमान कम्युनिस्ट देशमा वास्तविक नागरिक समाजको अस्तित्व छैन। स्वतन्त्र नागरिकको सोचमै प्रहार गर्दा सार्वभौम नागरिक उदाउनै सक्तैन। उदाहरण अहिले पनि व्लादिमिर पुटिन नेतृत्वको रुस हो, चीन, कम्बोडिया र भियतनाम हुन्। 

नेपालमा कम्युनिस्ट पार्टी अझै प्रभावशाली छन्। तिनले व्यवहारमा माओ र स्टालिनलाई त्यागे पनि सिद्धान्तमा त्याग्न सकेको देखिँदैन। तसर्थ यिनको लोकतन्त्रप्रतिको प्रतिबद्धता शंकारहित छैन। अनि यस्तो अवस्थामा सुशील कोइरालाले बेठीक कुरा उठाए भनेर कसरी भन्ने? नेपालमा लोकतन्त्रको आन्दोलनमा सक्रिय भूमिका खेलेका र लोकतन्त्रीकरणको अभ्यासमा लागेका कम्युनिस्ट पार्टीहरूको नियतमै शंका गर्नु उचित नहोला तर सतर्क हुनु चाहिँ जरुरी छ। विविधतायुक्त देशमा बहुलवाद भन्ने शब्द राख्नै पर्दैन भनी प्रधानमन्त्री कोइरालालाई हप्काउने वा सम्झाउने कि कम्युनिस्ट नेताहरूलाई बहुलवाद शब्द राख्नुको औचित्य बुझाउनेतिर लाग्ने हो कांग्रेसका नेताले?
भनिन्छ, नेपालको राजनीति पर्दा पछाडिबाट तय गरिन्छ। पर्दा पछाडिबाट खेलिने राजनीतिमा षड्यन्त्र धेरै हुन्छ, भइरहेकै छ। अहिले नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी) का अध्यक्ष खड्गप्रसाद ओली र एकीकृत नेपाल कम्युनिस्ट पार्टी (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालबीच राजनीतिक मिलाप भएको छ। मिलाप हुनु त राम्रो हो। अझ मिलाप भएर संविधान निर्माणले तीव्रता पाउनु झनै राम्रो हो। तर यो मिलाप अस्वाभाविक देखिएको छ। अहिले केले र कसरी यी दुई पार्टीका अध्यक्षलाई मिलाप गरायो बुझ्नुपर्ने रहस्य यही हो – खासगरी नेपाली कांग्रेसले। 
नेपालको भावी राजनीतिक दिशा अर्थात् संविधान निर्माण, सत्ताको बाँडफाँटदेखि नेपालको नवनिर्माणसम्म पार्टीहरूबीच भएको सहमतिको जानकारी जनतालाई एमाओवादी अध्यक्ष प्रचण्डले दिए। एमाले अध्यक्ष ओली पनि आफ्ना कार्यकर्तालाई असारमा लड्डु बाँड्न तयार हुन भन्दैछन्। कांग्रेसका प्रधानमंत्री र मंत्री भने आफ्नै पार्टी, कार्यकर्ता र सभासद्सँग पनि सबैकुरा लुकाएर बसेका छन्। कांग्रेसमा केहीबीच ‘भारदारी साउती संस्कृति' विकास भएको छ। तसर्थ ती आफ्ना कसैलाई विश्वासमा लिन जरुरत ठान्दैनन्। कांग्रेस कार्यकर्ता कम्युनिस्ट नेताका मुखबाट देशको भावी राजनीति सुन्ने र टाउको हल्लाउने अवस्थामा पुगेका छन्। 
मैले सरकारमा भएर सोह्र बुँदे सहमतिपत्र निर्माणमा सक्रिय केही मित्रलाई ओली–प्रचण्ड मिलापको रसायन के हो बुझ्नु भएको छ भनेर सोधको थिएँ। के आधारमा अचानक यी दुईको सम्वन्धले ‘यु टर्न' लियो र सुशील कोइरालाको सरकारलाई असफल बनाएर तत्काल फाल्नुपर्ने निर्णयमा यी पुगे भनेर अनेक कोणबाट जान्ने इच्छा व्यक्त गरेँ। तर बुझ्न पाइन। कसैले बुझाउन सकेनन्। एकातिर कोइराला नेतृत्वमा एमाले सत्तामा बराबरको अंसियार छ। अर्कोतिर त्यही पार्टीका अध्यक्ष ओलीको प्रचण्डसँग साँठगाँठ भएपछि प्रचण्ड बढी गतिवान् र ऊर्जावान् भएका छन्। उनी राष्ट्रपतिदेखि प्रधानमन्त्रीसम्म नाम तोक्दै पदै बाँड्दै हिँडेको दृश्य कम रोचक छैन। 
प्रधानमन्त्री सुशील कोइराला सरकार चार पक्षमा असफल भयो भन्ने आधारमा सत्ता परिवर्तन र सरकार निर्माण कार्य अहिले अगाडि बढेको बुझिन्छ। पहिलो ६ महिनाभित्र स्थानीय निर्वाचन गराउन नसक्नु, दोस्रो एक वर्षभित्र संविधान जारी गर्न नसक्नु, तेस्रो वैशाख १२ गतेको महाभूकम्पपछि उद्धार, सहायता र पुनर्स्थापना गर्न असफल हुनु र चौथो कूटनीतिक नियोगलाई चित्त बुझाएर राज्य संचालन गर्न नसकेकाले अन्तर्राष्ट्रिय समुदाय प्रधानमन्त्री कोइराला प्रतिकूल हुनु। यी सबै आरोप निराधार पनि छैनन् होला। तर के यिनमा कोइराला एक्लै जिम्मेवार हुन्? निसन्देह हैनन्। प्रधानमन्त्री पदमा अब त्यो शक्ति पनि छैन जस्ले यत्रो असफलता धान्न सकोस्। 
माथिका सबै आरोप चुपचाप शिरापर गरेर संविधान निर्माणपछि वर्तमान प्रधानमन्त्री कोइराला शितल निवासमै पुगे पनि कांग्रेस पार्टीका लागि हर्षित हुने ठाउँ कहाँ छ? 
कोइराला सरकारको नेतृत्व गर्न असफल भए भनियो। तर एमाले चाहिँ असफल भयो भनिदैन। प्रधानमन्त्रीबाहेक कांग्रेसबाट मन्त्री भएका सवै सफल ठान्नुपर्ने विडम्बनापूर्ण अवस्था छ देशमा अहिले। कोइरालालाई विभिन्न कूटनीतिक नियोगले नरुचाएको कुरा बाहिर आयो। खासगरी नेपाल सहायता समूहको बैठक स्थल चयनदेखि बेलायती हेलिकप्टर रोक्ने काममासमेत कोइरालाको नाम जोडियो। सबै अपयशजति प्रधानमन्त्री कोइरालाले चुपचाप लिएको कारणले नै उनलाई तत्कालै हटाउन लागिपरेको जस्तो पो देखिन थाल्यो त अहिले।
किन भूकम्पपछि सरकारको प्राथमिकता विपत् व्यवस्थापन र पुनर्स्थापनामा नगएर संविधान निर्माण र त्यसभन्दा पनि बढी सत्ताको भागबन्डामा गयो भन्ने कांग्रेसको आगामी महाधिवेशनको महत्वपूर्ण विषय बन्नुपर्छ। 
कोइराला सरकारमा रहेका कांग्रेस मन्त्रीहरू देशमा महाभूकम्प गएको बेला जनताको घरदैलामा सहायता र पुनःर्स्थापना कार्यक्रम लिएर जानुपर्नेमा एमाले र एमाओवादीका नेताका घरमा सत्ता हस्तान्तरणको विवरण लिएर किन गए? महाधिवेशनमा यो गम्भीर बहसको विषय बन्नुपर्छ। 
के राजनीति भनेको संविधान निर्माण र सत्ताको भागबन्डामात्र हो? विपत्मा परेका जनतालाई व्यवस्थित नगरी ६ महिना वा एक वर्ष सबैकुरा थाती राखेर अगाडि बढ्नुपर्ने जिम्मेवारी र नैतिक दायित्व थिएन कोइराला सरकारको? किन कोइराला सरकारलाई यसतर्फ अभिमुख गरिएन? 
उता कोइराला सरकारको सत्ता सहयात्री एमाले पार्टी संरचनाबाट उद्धार, सहायता र पुनर्स्थापनामा प्रभावशालीरूपमा क्रियाशील थियो र छ। एमाले नेताहरू सरकारमार्फत् भूकम्पबाट प्रत्यक्ष प्रभावित साठी लाख जनतालाई सेवा पुग्दा कांग्रेसले राजनीतिक फाइदा लिने हो कि भन्ने शंकालु मानसिकता थिए। कोइराला नेतृत्वको सरकारले आफ्ना सत्ता सहयात्रीको रणनीति बुझेन, विपक्षीको चलाखीसँग अनभिज्ञ रह्यो र राष्ट्रिय विपत्तिमा पनि आफ्नो प्राथमिकता निर्धारण गर्न नसकेका कारण अन्तर्राष्ट्रिय समुदायको पनि आरोप र असहयोग भोग्नु पर्यो ।
अहिले राज्यको पहिलो प्राथमिकतामा विपत् व्यवस्थापन, दोस्रोमा स्रोत र साधनको परिचालन गर्न नेपाल सहायता समूहको बैठक, तेस्रोमा संविधान निर्माण र अन्त्यमा सत्ता परिवर्तन हुनुपर्ने थियो। विपत्मा परेका नागरिकलाई बेवारिसे छाडेर सरकार परिवर्तनमा सहमत हुनु त सरकार चलाउन अक्षम भएको सकार्नु नै हो। जनताप्रति संवेदनशील हुनुपर्ने समयमा चुक्ता कांग्रेसको भविष्य आगामी दिनमा कसरी राम्रो होला? भनिन्छ, दोस्रो विश्वयुद्ध जितेर पनि बेलायतले सबैथोक गुमायो। तर हारेर पनि जर्मनी र जापानले राष्ट्रको नवनिर्माण गरे। संविधान आए पनि कांग्रेसको अवस्था बेलायतको जस्तो हुने भयो सबै गुमाउने!
कांग्रेस समयको पदचाप सुन्न र बुझ्न नसकेर दिशाहीन भयो। दस वर्ष पनि नबित्तै कोइराला परिवारमा राष्ट्रपति दिने भन्ने इतिहास दोहरियो नेपालमा। संविधान बन्ला तर कांग्रेसको राजनीति हार्नेछ। बीपी भन्नुहुन्थ्यो – ‘राष्ट्रिय संकटका बेला हाम्रा प्राथमिकता पनि परिवर्तित हुन्छन्'। तर कांग्रेसमा अब बीपी कोइरालाको कुरा कस्ले बुझ्ने? सबैथोक फास्टफुडको संस्कारमा जो गएको छ। कांग्रेस पनि फास्टफुडको स्वादमा रमाएको देखिन्छ। भावी सरकार निर्माण अब हुने नै छ । तर भविष्यतर्फको यात्रा कांग्रेसको लागि भने सहज देखिँदैन।
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस