विवेकसँग वैरभाव
३१ जेष्ठ २०७२
•
२० मिनेट पाठ
विवेकसँग वैरभाव
पुनर्निर्माण र संविधान लेखनको परस्परमा सकारात्मक सहसम्बन्ध होला न होला तर कथित राष्ट्रिय सरकार र अन्तर्राष्ट्रिय सहयोगबीच भने त्यस्तो कुनै सम्बन्ध हुनु नपर्ने हो। दाताको नियत नराम्रो नभए सहयोग विधिको शासन र सरकारी संयन्त्रको प्रभावकारितामा बढी निर्भर हुनुपर्छ। त्यसो त, अन्तर्राष्ट्रिय समुदाय भनिने बहुपक्षीय र दुईपक्षीय दाताको सहयोगले मुलुकको सधैँ हित नै गर्छ भन्ने पनि छैन। कतिपय मुलुक र समाजमा अन्तर्राष्ट्रिय 'एड' ले पनि 'एडस'लेजस्तै प्रतिरोधक क्षमता क्षय गराएको उदाहरण बग्रेल्ती भेटिन्छन्।अहिले नै पश्चिमका सञ्चार माध्यममा नेपालका बारेमा आधारहीन र अतिरञ्जित प्रचारवाजी बढी नै गरिएको छ। प्रायोजित अतिरञ्जनामा तिनले भारतका टीभी च्यानललाई पनि माथ गर्छन्। अन्तर्राष्ट्रिय सञ्चार माध्यमको अनुगमन गर्ने र तिनमा उठाइएका प्रश्नलाई सम्बोधन गर्ने चलन नेपालमा छैन। सरकारी कर्मचारीले धेरै गरे भने सम्बन्धित माध्यमको स्थानीय प्रतिनिधिलाई बोलाएर हप्काउने गर्छन्। पश्चिमा सहयोगको प्रचारवाजी धेरै र उपलब्धि थोरै हुन्छ। ठूला भनिएका अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको काम गर्ने शैली पनि त्यही हो। पहिले त उनीहरू नेपालको पीडा बेचेर पैसा सँगाल्नैमा बढी लाग्छन्। त्यसपछि यताको औपचारिकता सुरु हुन्छ। यही मौकामा नयाँ गाडीलाई भन्सार छुट दिलाउने, कर्मचारीलाई भत्ता थप गर्ने र विदेश भ्रमण तथा तालिममा त्यही पैसाबाट पठाउने गर्छन्। तिनले सरकारमा प्रभाव भएका स्थानीय गैरसरकारी संस्थाका पदाधिकारी र सरकारी कर्मचारीको विदेश भ्रमण पनि प्रायोजन गर्छन्। ठूला होटलमा गरिने गोष्ठी, कार्यशाला, तालिम त त्यस्ता संस्थाको मूल प्रवृत्ति नै भयो।

गएको शुक्रवार गुगल एलर्टको नेपाल इन न्युजमा इन्टरनेसनल एलर्ट नामको एउटा बेलायती संस्थाले लन्डनमा 'नेपाल बहस' आयोजना गर्ने समाचार छ। आयोजक संस्थाका नेपालका लागि राष्ट्रिय निर्देशक एलिजावेथ ड्रेउले लेखेको यससम्बन्धी लेख बेलायती पत्रिका गार्डियनमा छापिएको छ। लेखसँगै एउटा जानकारी पनि छापिएको छ। 'गार्डियन ग्लोबल डेभलपमेन्ट' लाई बिल तथा मेलिना गेट फाउन्डेसनबाट सहयोग प्राप्त छ। लेखमा – 'भुइँचालोपछि आर्थिक–राजनीतिक विभाजन अझ खराब हुन नदिन सरकारी अधिकारी र विदेशी सहयोग दाता मिलेर काम गर्नुपर्छ' भनिएको छ। यस भनाइमा विमति जनाउन नपर्ला तर यो संस्थाले थुप्रैवटा सरकारी विकास संस्थाबाट सहयोग पाउने रहेछ। तिनले नेपाललाई दिनेे भनिएको पैसा र कतै न कतै बिल एवं मेलिना गेट फाउन्डेसनको कुनै सहयोगमा नेपालका नाम पनि बेचिएको हुनसक्छ। समग्रमा यस संस्थाले नेपालको भुइँचालो पीडितलाई सहायता गर्ने नाममा उठाउने कुल रकमको कति प्रतिशत नेपाल आइपुग्ला? अहिलेसम्म यस्तो जानकारी खोज्ने चलनै छैन।

संयुक्त राष्ट्र विकास कार्यक्रम र इन्टरनेसनल अर्गनाइजेसन फर माइग्रेसनले सिन्धुपाल्चोकमा भत्केका संरचना हटाउन सम्झौता गरिसकेका छन्। सरकारलाई सोधेरै गरेका त होलान्! तिनले गर्ने खर्चभन्दा धेरै कममा अरूले गर्नसक्छन्। यिनमा दाता त कुनै पनि हैन। अरूबाटै नेपालका लागि छुट्टयाइएको पैसा लिने हुन्। अनि, आफू काम गर्ने पनि हैनन्। खर्च हुने पैसामा 'ओभरहेड' लिएर 'तर मार्ने' मात्रै हुन्। अर्थात्, हाइटीलाई विफल बनाउने यस्तै संस्था र अभ्यास हुन्।

पूर्वाग्रहको कालो चस्मा
अधिकांश गैरसरकारी संस्थाका कर्मचारी नेपालको आर्थिक–सामाजिक सम्पूर्ण प्रणालीप्रति पूर्वाग्रह राखेर प्रस्ताव लेख्न थाल्छन्। पूर्वाग्रह राखेर लेखिएका परियोजना प्रस्ताव यथार्थमा आधारित हुँदैन। फलस्वरूप, कार्यान्वयन जटिल बन्दै जान्छ। कर्मचारीलाई फाइदा हुने जति सबै काम हुन्छन् तर जनतालाई फाइदा हुने काम नथालिँदै वा नसकिँदै पैसा नभए परियोजनाको समय सकिन्छ। यस्ता संस्थाका भरमा मुलुकको पुनर्निर्माण गर्न खोज्नु नै मूर्खता हुन्छ।

अन्तर्राष्ट्रिय समुदाय भनिने ठूला दाताका भरमा पनि पुनःनिर्माण हुँदैन। सम्भवतः मार्सल प्लानबाहेक अरू त्यस्ता योजना सफल पनि भएका छैनन्। (मार्सल प्लान अन्तर्राष्ट्रिय वा बहुपक्षीय नभएर अमेरिकी नेतृत्वको रणनीतिक योजना थियो। कम्युनिज्म र रुसी प्रभाव रोक्न त्यो अमेरिकाको एक प्रकारको बाध्यता थियो।) विदेशी पैसाकै भरमा विकास हुन्थ्यो भने पाकिस्तान आज दक्षिण एसियाको सबैभन्दा विकसित मुलुक हुनुपर्थ्यो।

मुलुक बनाउन र बिगार्न बाहिरका कसैले सत्तै्कन तर दुवै काममा सहयोग गर्न सक्छ। दुर्भाग्य, सरकार र अन्तर्राष्ट्रिय समुदायको अहिलेको सोच र कार्यशैलीले नेपाललाई बनाउने सम्भावनाभन्दा बिगार्ने जोखिम धेरै देखिन्छ।

व्यक्तिलाई उपेक्षा!
व्यक्तिलाई दिने भन्नेबित्तिकै धेरैले नाक खुम्च्याउँछन् तर राष्ट्र त व्यक्तिकै समष्टि हो। व्यक्ति सबल भए न राष्ट्र बलियो हुने हो। यही कारणले जनताको शिक्षा र स्वास्थ्यजस्ता आधारभूत आवश्यकतामा राज्यले लगानी गर्ने हो। र धेरै मुलुकको अनुभवले व्यक्तिलाई शिक्षा र स्वास्थ्य सेवा उपलब्ध गराउन गरिएको लगानीको प्रतिफल दिगो र उच्च रहेको देखाएको छ। भूकम्पपीडित जनतालाई पनि राज्यले आफ्नो अमूर्त क्षमताका आधारमा हैन जनताको मानवोचित जीवन यापन गर्न पाउने अधिकार चरितार्थ गर्न आवश्यकताअनुसार सहायता उपलब्ध गराउनुपर्छ। सरकारले केही ठाउँमा केही दिन सघाए पनि खानेकुराका लागि सायद लामो समयसम्म कोही पनि सहायतामा निर्भर हुनेछैनन्। अहिलेको समस्या गाउँका सार्वजनिक संस्था विद्यालय र स्वास्थ्य चौकीको पुनःनिर्माण तथा व्यक्तिगत आवास नै हो। सरकारले साँच्चै नै २ लाख रुपियाँ दिने हो भने धेरैले सजिलै उपयुक्त घर बनाउनेछन्। त्यसभन्दा बढी खर्च गर्न चाहने र सक्नेलाई बैंकहरूमार्फत् सरकार जमानी बसेर सस्तो ब्याजदरमा ऋण दिलाउनुपर्छ। अहिले नभत्केको तर गाउँमा सबै नयाँ घर बनेपछि थोत्रो र जोखिमपूर्ण देखिनसक्ने घर वा सार्वजनिक संरचना भत्काएर नयाँ बनाउन चाहनेलाई पनि सरकारले सहयोग गरे राम्रै हुन्छ। घर बनाउन अनुदान दिनु अन्याय होइन र व्यक्तिका घर बलिया भए भने राष्ट्रलाई पछि बोझ नपर्ने रहेछ। अहिले भूकम्पमा नभत्केका घर त बनाइदिन परेन नि! अपाङ्गता भएका व्यक्तिको परिवारले अब बन्ने घरमा अपाङ्गता हुनेलाई सजिलो हुने सुविधा राख्न चाहे भने सरकारले थप लाग्ने खर्च अनुदान दिनुपर्छ। त्यति गर्नमात्रै सके पनि नेपाली समाजको ठूलो हिस्सालाई पहुँचयोग्य बनाउन सकिनेछ। सार्वजनिक भवनहरू त यसै पनि अपाङ्गता हुनेहरूका लागि सुविधाजनक बनाउनै पर्छ।

सरकारले व्यक्तिका घर बनाउने योजनालाई प्राथमिकता दियो भने राज्य र नागरिकबीच पहिलो पटक भयको साटो स्नेहको सम्बन्ध विकास हुनेथियो। नेपालमा राज्य र नागरिकको सम्बन्ध अहिलेसम्म स्नेहपूर्ण छैन। व्यक्ति सबैको घर बनाउन सरकार एक्लैले एकै वर्षमा पैसा पुर्या उन सत्तै्कन भने अन्तर्राष्ट्रिय समुदायसँग यसका लागि पैसा मागे हुन्छ र कार्यान्वयनका क्रममा सामाजिक संघसंस्थालाई पनि त्यसमा संलग्न गराए हुन्छ। धेरै जनाले त घर आफैँ नै बनाउनेछन् सहायता पाएपछि। नसक्नेका लागि घर पनि बनाएरै दिनसके राम्रै हुन्छ। विशेषगरी अपाङ्गता भएका, बूढापाका, एकल महिला र बालबालिका घरमुली भएका परिवारको घर राज्यले बनाइदिनु पर्ने हुनसक्छ। स्थानीय संघसंस्थाले यसमा सघाउन सक्छन्। गाउँ नै स्थानान्तर गर्नुपर्ने ठाउँमा त यसै पनि घरसमेत बनाएर पुनर्वास गराउनु उचित हुन्छ।

सहअनुदानको नीति
विद्यालय र स्वास्थ्य चौकी पुनर्निर्माणमा सामाजिक संघसंस्था अग्रसर भए भने सरकारको बोझ धेरै हलुङ्गो हुन्छ। सार्वजनिक संरचना निर्माणमा विदेशमा बस्ने नेपालीलाई सहयोग गर्न आग्रह गर्न सकिन्छ। स्थानीय तहमै योजना बनाएर कुन गाउँ वा सहरमा केकस्ता सार्वजनिक संरचना विशेषगरी विद्यालय र स्वास्थ्य चौकी निर्माण गर्नुपर्छ? कति रकम लाग्छ? सघाउन चाहनेले कोसँग सम्पर्क गर्नुपर्छ? भन्नेजस्ता प्रश्नको उत्तर सरकारले स्पष्टसँग दिन सक्यो भने सहयोग गर्न चाहनेहरू अगाडि सर्नसक्छन्। सरकार सहयोग आफूमार्फत् होस् भन्ने चाहन्छ। यो स्वाभाविक पनि हो। सार्वजनिक निर्माणका लागि कसैले पैसा पठाएमा सरकारले उत्तिकै रकम सहअनुदान (म्याचिङ ग्रान्ट) दिने घोषणा गर्ने हो भने धेरैवटा विद्यालय पहिलो वर्षमै बनाउन सकिनेछ। विद्यालयका पुराना विद्यार्थी देशविदेशमा छरिएका हुनसक्छन्। तिनीहरूसँग आग्रह गरेमा केही न केही सहयोग कसो नगर्लान्? यिनले पठाएको पैसा हिनामिना हुने जोखिम पनि कम हुन्छ। तिनका आफन्तले निगरानी जो गर्नेछन्।

भारत र चीनको सहयोग
नेपालको हित हेर्ने हो भने पुनःनिर्माणमा नेपाल स्वयं अग्रसर हुनुपर्छ र भारत र चीनलाई मुख्य पात्र बनाउनुपर्छ। दुवै मुलुकलेसहयोग गर्ने तत्परता पहिले नै प्रकट गरिसकेका छन्। नेपालको सफलतामा उनीहरूको स्वार्थ जोडिएको छ। पश्चिमा राष्ट्रहरूको बढ्दो उपस्थिति र गतिविधि तिनका लागि टाउको दुखाइको विषय बन्नसक्छ। नेपालकै लागि पनि पश्चिमा ठस्सा र हल्लाले असुविधा र विसङ्गति नै बढाउँछ। त्यसमाथि सांस्कृतिक भिन्नताले गर्र्दा पनि तिनले नेपाल र नेपालीलाई राम्ररी बु‰न सत्तै्कनन्। दाता कहलिएका मुलुक र बहुपक्षीय संस्थालाई 'जे दिने हो नगदै देऊ' भन्न सरकारले सक्नुुपर्छ। तोकेकै खातामा पैसा हाल भन्दा नमान्न सक्छन् तर स्थानीय तहमा पैसा दिने प्रक्रिया र संरचना स्पष्ट एवं भरपर्दो हुने हो भने नियत नराम्रो नहुनेहरू सबै सहर्ष सहमत हुनेछन्। त्यसका लागि सरकारले पुनर्निर्माणमा अग्रसरता देखाउनसक्नुपर्छ र योजना निर्माण गरिसक्नुपर्छ। भूकम्पको डेड महिना हुँदासम्म पनि अस्थायी टहराका लागि पीडितलाई दिने भनिएको १५ हजार वितरण गर्न नसक्ने सरकारले सबै पार लगाउला भनेर कसरी पत्याउने?

मूलतः जापानले दाता सम्मेलन गरिदिने प्रस्ताव गरेको थियो। नेपालले आफैँ सम्मेलन आयोजना गर्ने भनेपछि अन्तर्राष्ट्रिय समुदाय अलि उदासीन भएको खासखुस चल्न थालेको छ। जापान सम्भवतः सबैभन्दा भरपर्दो र उपयोगी मित्र हुनसक्छ पुनर्निर्माणमा। उता चीनले पनि रुचि देखाइसकेको छ भने भारत पुनर्निर्माणमा सघाउन तत्परै छ। प्रधानमन्त्री नरेन्द्र मोदी सम्मेलनमा नआए पनि उनको सद्भाव प्राप्त भइसकेको छ। पश्चिमा मुलुकको मूल ध्याउन्ना भने यहाँको पुनर्निर्माणभन्दा आफ्नै गैरसरकारी संस्था र विशेषज्ञलाई काम दिलाएर पैसा उतै फर्काउनु रहेको देखिन्छ। यसैैले दाता सम्मेलनका लागि खर्च गरिएको समय र दौडधुप भारत र चीनलाई एकै ठाउँमा राखेर नेपालको पुनर्निर्माणको खाका कोर्न र सहायता जुटाउन लगाइएको भए बढी फलदायी हुनेथियो। (जति नै मन नपरे पनि छिमेकी फेर्न सकिँदैन क्यारे! झगडा गर्दै गरौँला। छिमेकको झगडा कहिले पो सकिन्छ र?)

अहिले राजनीतिक र प्रशासनिक नेतृत्वमा विवेक र मानवीय संवेदनशीलता बढी आवश्यक छ। स्थानीय तहका कर्मचारीमा पनि मानवीय विवेक उत्तिकै आवश्यक छ। दुर्भाग्य, घर भत्केका जनतालाई साना संस्थाले उपलब्ध गराएको वा गराउने जस्ता पाताको पैसा कट्टा गर्ने निर्देशन गृह मन्त्रालयबाट पठाइएको छ रेे! कतिपय जिल्लामा ससाना स्वयंसेवी संस्थाले दिएको २ बन्डल जस्ता बाँड्न पनि सरकारी अधिकारीले रोकिदिएका छन्। कति विवेकहीन काम गरेका होलान्? सरकारले १५ हजार अझै धेरैलाई दिएको छैन। दिएकै ठाउँमा पनि त्यसले अस्थायी छाप्रो बन्दैन। ठूला भनिएका दाता र संस्था नेपालीको बिजोग बेच्नैमा व्यस्त छन्। यस्तोमा केही स्वःस्फूर्त स्वयंसेवी संस्था र व्यक्तिले सामान्य एकाध बन्डल जस्ता घर भत्केकाहरूलाई दिए भने सरकार त खुसी पो हुनुपर्ने! सरकारले पनि यही बेलामा पैसा दिएर सहयोग सजिलो बनाइदिन्छ पो भन्नुपर्ने! यस्तै अविवेकी र मानवीय प्रवृत्ति भएकाले पो आफ्नै नागरिकले समेत सरकारलाई नदेऊ भनेका रहेछन्। यस्तो संकीर्ण सोच राखेर राज्यलाई प्रभावकारी बनाउन सकिएला? राज्य प्रभावकारी हुने मूल आधार जनसमर्थन हो। असारको मुखमा पाउनै लागेको छाना पनि खोस्नेको समर्थन जनताले कुन मनले गर्ने?

सरकारका उच्चपदस्थ कर्मचारी र राजनीतिक नेतृत्वले व्यक्तिगत स्वार्थका लागि आफ्नै विवेकको वैरी हुन नछाड्ने हो मुलुकलाई पतनको बाटोमा जानबाट रोक्न पनि सकिनेछैन। भूकम्प नआएकै भए पनि यही कर्मचारीतन्त्र, यिनै राजनीतिकर्मी र यही कार्यशैली रहँदासम्म देश उँभो लाग्ने लक्षण थिएन। विडम्बना, भूकम्पले पनि यिनलाई तह लगाउन सकेको देखिएन। आफैँमाथि विपत्ति नपर्दासम्म निर्णयकर्ताहरू मानवीय संवेदना र विवेकको वैरी भइरहने हो?

Twitter@agovinda
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस