नयाँ समीकरणमा प्रतिपक्षी को?
३० जेष्ठ २०७२
•
१४ मिनेट पाठ
नयाँ समीकरणमा प्रतिपक्षी को?
संविधान निर्माणपछिको सत्ता समीकरणमा ‘सहमत' भएपछि चार राजनीतिक दलले १६ बँुदे सहमति गरेका छन्। यस सहमतिले संविधान सभामा अवरुद्ध रहेको संविधान निर्माण प्रक्रिया अगाडि बढाउन थालेको छ।दलबीच सहमति बन्न नसकेको संघीयताका प्रश्नलाई नामाङ्कन र सीमाङ्कनलाई थाती राखेर संविधान निर्माण प्रक्रिया अगाडि बढाउन एनेकपा (माओवादी) पहिले नै सहमत भएको भए संविधान सभाको दोस्रो निर्वाचन गर्नै पनि आवश्यक पर्ने थिएन। अनि, संविधान सभामा तोडफोड गरेर वितण्डा मच्चाएर दनियाँ हसाउनु पनि पर्दैनथियो। जेहोस्, भूकम्प एमाओवादीलाई आफ्नो, हठ, दम्भ त्यागेर सहमतिको टेबलमा आउन सहज हुन परिस्थिति निर्माण गरिदियो। त्यसो त, भूकम्प नआएकै भए पनि एमाओवादीका सामु हठ त्यागेर संविधान निर्माणमा न्यूनतम सहमति गरेर अगाडि जानुको विकल्प सायद बाँकी थिएन। यस अर्थमा भूकम्प एमाओवादीका लागि ‘नाक जोगाउने' मौका बनेर उपस्थित हुन पुग्यो। 
संविधान निर्माणपछि देशको पुनर्निर्माण अभियान थाल्ने र त्यसका लागि राष्ट्रिय सरकार निर्माण गर्ने भन्ने कर्णप्रिय प्रस्ताव अगाडि सारेर एमाओवादीले जनादेश नभए पनि सत्तामा पुग्नेे वातावरण पनि बनाएको छ। एमाओवादीका लागि सबैभन्दा ठूलो सफलता यही नै हो। संविधानका अन्तर्वस्तुमा उसका प्रस्ताव बहुमतका लागि स्वीकार्य भएनन्। तैपनि, एमाओवादीका लागि सत्तारोहणको चाहना खुलेरै प्रकट गर्ने परिस्थिति भूकम्पले बनाइदियो। एमाओवादी सबै छाडेर यस परिस्थितिको उपयोग गर्न अग्रसर देखियो। उसको यो अग्रसरताले संविधान निर्माणको आधार तयार हुनपुगेको छ। अब सिंगो राष्ट्रले यस आधारको उपयोग गरी संविधान निर्माण गरेर देशलाई पुनःनिर्माणको महाअभियानमा होम्न जरुरी छ। अब एमाओवादीको खिसी पनि नगरौँ। बरु राष्ट्र निर्माणको योजना बनाउने र कार्यान्वयन गर्ने संयन्त्रका बारेमा सोच्ने तथा योजना कार्यान्वयनमा ककस्को भूमिका कस्तो हुने भन्ने विषयमा गंभिरतापूर्वक छलफल गर्न थाल्नुपर्छ। सबै दल र व्यक्तिले समेत राष्ट्र निर्माणको अभियान चल्दै गर्दा मेरो भूमिका के हुन सक्छ भनेर सोच्नु आवश्यक छ। 
राष्ट्रपति नेपाली कांग्रेसलाई, प्रधानमन्त्री नेपक (एमाले)लाई र सभामुख एमाओवादीलाई भागबन्डा गरेर अन्य पदमा अरू दललाई पनि सहभागी गराई राष्ट्रिय सरकार निर्माणका विषयमा दलहरूबीच ‘भद्र सहमति' भएको चर्चा अहिले व्यापकरूपमा सुनिएको छ। शक्तिको बाँडफाँट गरेर मुलुकलाई एउटा दिशा दिने सहमतिलाई अन्यथा भनिहाल्न पनि नमिल्ला। तर, भूकम्पवाट बेहाल भएको मुलुकको पुनर्निर्माणको समयमा सबै दल सत्तामा सहभागी हुने र संसद्मा प्रभावशाली प्रतिपक्षको उपस्थिति नहुने हो भने त्यतिबेला पुनर्निर्माणको अभियान प्रभावकारी नहुन सक्छ। आर्थिक बेथितिले प्रश्रय पाउँछ र पुनर्निर्माणमा बदमासी गर्नेले सजाय हैन संरक्षण पाउनेछन्। यसकारण पनि यतिबेला अब बन्ने सत्ता समीकरणमा प्रतिपक्षको भूमिकालाई प्रभावशाली कसरी बनाउन सकिन्छ भनेर पनि सोच्न जरुरी छ। 
भूकम्पपछिको पुनर्निर्माण अभियानलाई कुन मोडेलमा अगाडि बढाउने भनेर धेरै बहस भएका छन्। जापानको मोडेल कि हाइटीको मोडेल भनेर बहस भएका छन्। यो बहस, दुईमध्ये एक रोज्ने भन्ने हिसाबले गरिएको थिएन। यो त हामीले राम्रो गर्न खोज्दाखोज्दै हाइटीको जस्तो अवस्था निम्तिन्छ कि भनेर आफैँलाई सचेत गराउन भएको हो। त्यहाँ भूकम्पको १० वर्षपछिसम्म पनि पुनःस्थापना र सहायताको काम सकिएको छैन। सहायता र पुनर्निर्माणका नाममा खर्बौंै रुपिँया दुरुपयोग भएको छ। भ्रष्टाचार व्यापक भएको छ। भूकम्पपीडित भने अझै पनि पालमै बस्नुपर्ने अवस्था छ। हाम्रो मुलुकमा यस्तो स्थिति नआओस् भन्नेमा समयमै सबै सजग हुन जरुरी छ। यस्तो सजगताका लागि संसद्मा प्रभावशाली प्रतिपक्षीको आवश्यकता हुन्छ। राष्ट्रिय एकताका आधारमा पुनर्निर्माणको महाअभियान थाल्ने मीठा गफ गर्दै सत्ताको बाँडफाँट गरिरहेका नेताहरूले महाअभियानलाई प्रभावकारी बनाउन आवश्यक प्रभावशाली प्रतिपक्षको खाँचो महसुस गरेको खै त? यसले उनीहरूको ध्यान पुनर्निर्माण अभियानमा भन्दा पनि सत्तास्वादमा केन्द्रित रहेको निष्कर्ष सहजै निकाल्न सकिन्छ। प्रतिपक्षीविनाको पुनर्निर्माणको अभियानले जापान हैन हाइटीतर्फ उन्मुख गराउने हो।
संसदीय पद्धतिको महत्वपूर्ण पक्ष र सुन्दरता वैकल्पिक सरकारका रूपमो प्रतिपक्षको सशक्त उपस्थिति हो। संसदीय पद्धतिका पक्षधरले संसद्को प्रतिपक्षीलाई ‘आउनै लागेको सरकार' अर्थात् ‘इनकमिङ गभर्मेन्ट' भन्ने पनि गर्छन्। सरकारका काम कारबाहीलाई गलत बाटोतर्फ जान नदिएर खबरदारी गर्ने तथा देश र जनतालाई सर्वोपरी ठानेर आवश्यक विषयमा रचनात्मक सहयोग गर्ने प्रतिपक्षका कारण नै मुलुकले सही गति लिन्छ र समृद्धितर्फको यात्रा तय गर्छ। संसदीय व्यबस्थामा आवधिक निर्वाचन गर्ने अनिवार्य प्रावधान राखिनुको महत्वपूर्ण कारण सत्ता र प्रतिपक्षको जनताले मूल्याङ्कन गरुन् र मतका माध्यमवाट तिनलाई दण्ड सजाय गर्नसकून् भन्ने नै हो। यस मान्यताले पनि संसद्मा प्रतिपक्षीको महत्व दर्शाउछ। संसदीय व्यवस्थाका पक्षमा दलहरुबीच सहमति भएर संविधान निर्माणको काम अगाडि बढिरहदा वर्तमान संसद्मा पनि बलियो प्रतिपक्षी आवश्यक पर्छ भन्नेमा सबैभन्दा पुरानो र संसदीय व्यवस्थाका पक्षधर दल नेपाली कांग्रेसले बढी ध्यान दिनुपर्ने हुन्छ। सत्ता बाँडफाँटका क्रममा राष्ट्रपति आफ्नो भागमा पारेको कांग्रेसले अब अरूको नेतृत्वको सरकारमा सहभागी भएर किनाराको साक्षी बस्नुभन्दा बलियो प्रतिपक्षी भएर पुनर्निर्माण अभियानलाई गतिशील बनाउने बाटो रोज्नु उपयुक्त देखिन्छ। 
कांग्रेसको नेतृत्वमा संविधान निर्माण भइसकेपछि सत्ता छाड्नु भनेको प्रतिपक्षमा बस्नु हो। संसदीय व्यवस्थामा प्रधानमन्त्रीले राजीनामा दिनु र अर्को दलको प्रधानमन्त्री बन्नुलाई एउटा व्यक्तिको राजीनामामात्र मान्न मिल्दैन। यो त सिंगो दलकै सत्ताबाट बहिर्गमन हो। सुशील कोइरालाले संसदीय दलको नेताबाट राजीनामा दिएमा सत्तामा रहिरहने हक कांग्रेसलाई हुनेछ तर प्रधानमन्त्रीबाटै राजीनामा दिएमा सत्ताबाहिर बस्नु नै नैतिक आधारमा उचित हुनेछ। यतिमात्र हैन, आफूले वकालत गर्दैआएको संसदीय पद्धतिमा बलियो प्रतिपक्षको क्रियाशीलतालाई सुनिश्चित् गर्न पनि ऊ प्रतिपक्षकै भूमिकामा बस्नुपर्ने हुन्छ। प्रमुख दलहरू सत्तामा बसेर काम गर्दा र प्रतिपक्ष बलियो नहुँदा भ्रष्टाचारले झनै प्रश्रय पाउने हाम्रो समाजको चरित्र छ। उदाहरणका लागि स्थानीय निकायमा जनप्रतिनिधि नहुँदा सर्वदलीय संयन्त्रमा सबै राजनीतिक दललाई राखियो। अहिले स्थानीय निकायमा भ्रष्टाचार व्याप्त छ र विकास योजना आवश्यकता र सम्भावनाका आधारमा नभएर नेताहरूको चाहनामा बाँडफाँट हुनेगरेका छन्। प्राथमिकताका आधारमा विकास आयोजना छनोट हुनसक्ने अवस्था छैन। यसैगरी राष्ट्रिय सरकारका नाममा सबै सत्तामा जाने हो भने केन्द्रको हालत पनि यस्तै हुनेछ। किनभने हामी अझै पनि विकास चोरेर भोट बढाउने संस्कृतिबाट माथि उठ्न सकेका छैनौ। आवश्यकता र प्राथमिकताका आधारमा विकास गर्ने बानीको विकास हुनसकेको छैन। यस्तो बेला सबै संलग्न संयन्त्र बन्नु भनेको भ्रष्टाचार र बेथितिलाई प्रश्रय दिने संरचना निर्माण गर्नु हो। यसमा कांग्रेस अरूभन्दा बढी गंभीर बन्नुपर्छ। संविधान निर्माणको नेतृत्व गरेको कांग्रेस अब विश्रामका लागि पनि सरकारमा सहभागी हुनुहुँदैन। उसले बलियो प्रतिपक्षीको भूमिकामा आफ्नो प्रभावकारी हैसियत देखाएर स्थानीय निर्वाचनको तयारीमा जुट्नु आवश्यक छ। कांग्रेसका कार्यकर्ता पुनर्निर्माण अभियानमा स्वयमसेवकका रूपमा खटिएर जनतासँगको संबन्धलाई अझ प्रगाढ गराउन सक्लान्। सत्तामा रहेका बेला कांग्रेसले जनतासँगको सम्बन्ध सुमधुर बनाउन नसकेको उदाहरण पटकपटक देखिएको छ। कांग्रेस आफ्नैका लागि पनि सरकार बाहिर बस्ने निर्णय उत्तम हुनेछ। कांग्रेसको यस्तो निर्णयले संसदीय संस्कृति पनि बलियो हुन्छ। संसद्ले कसरी सरकारलाई सहयोग र खबरदारी गर्न सक्छ भन्ने नयाँ पुस्तालाई देखाउन सकिन्छ। वास्तविक संसदीय अभ्यास हुन नपाएको १४ वर्षभन्दा बढी भइसकेको छ। यसबीचमा संसदीय पद्धतिको बदनाम गरेर यसलाई नेपालका लागि अनुपयुक्त भन्ने प्रचार कम्युनिस्टहरूले निकै गरेका छन्। यो पद्धति नै नेपालजस्तो मुलुकमा उपयुक्त हुन्छ भन्ने व्यावहारिक जवाफ दिएर यसका पक्षमा जनमत निर्माणका लागि पनि संसद्मा बलियो प्रतिपक्षीको उपस्थिति अनिवार्य हुन्छ। नयाँ पुस्ताले संसदीय अभ्यास देखुन् र यस पद्धतिले मात्रै राज्य सञ्चालनका सबै संयन्त्रका काम कारबाहीमा जनताको ध्यानाकर्षण गराउन सक्छ भन्ने महसुस गरुन् भन्नेमा कांग्रेस गम्भीर हुनुपर्छ। किनभने नेपालको सन्दर्भमा संसदीय पद्धतिका पक्षमा सिद्धान्ततः उभिएको राजनीतिक दल नेपाली कांग्रेसमात्रै हो। त्यसकारण संसदीय पद्धतिका विषेशता बचाई राख्न पनि अब कांग्रेसले सत्ता छाडेर प्रतिपक्षमा बस्नुपर्छ। उपयुक्त समयमा उपयुक्त निर्णय गर्नसक्ने कांग्रेसको चरित्र फेरि पनि प्रदर्शित हुन जरुरी छ।
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस