सहायतामा भ्रष्टाचार
२८ जेष्ठ २०७२
•
१३ मिनेट पाठ
सहायतामा भ्रष्टाचार
यही जेठको पहिलो साता सरकारले भूकम्पबाट घर भत्केका परिवारका लागि तत्काल अस्थायी टहरा बनाउन दुई अर्ब ५० करोड रुपियाँ प्रभावित जिल्लामा पठायो। सहायताको आशमा रहेका नेपाली नागरिकका लागि यो खबर आफैंमा सकारात्मक थियो। तर यसरी रकम निकासा गरेसँगै एकपछि अर्को गर्दै सो रकममा भ्रष्टाचार तथा अनियमितता भएका समाचार सार्वजनिक भए। सहायता सामग्री कर्मचारीले आफ्नै लागि प्रयोग गरेको, पीडितको लागि भनेर खरिद गरिएको त्रिपाल तथा अन्य सामाग्री कम गुणस्तर भएका जस्ता घटना सार्वजनिक भइरहेका छन्। यस्ता घटनाले पीडितका लागि भनेर निकासा भएको रकम वास्तविक पीडितसम्म पुग्छ र तिनले सहयोग पाएको ठान्लान् भन्नेमा पर्याप्त सन्देह गर्ने ठाउँ उब्जाएको छ।सामान्य अवस्थामा पनि नेपाल भ्रष्टाचारको उच्च जोखिममा रहेको देश हो। ट्रान्सपरेन्सी इन्टरनेनलले हरेक वर्ष सार्वजनिक गर्दैआएको ‘करप्सन परसेप्सन इन्डेक्स'मा नेपाल निकै बढी भ्रष्टाचार हुने देशको सूचीमा रहेको छ। हरेक वर्ष भ्रष्टाचारको समस्या झन् झन् बढ्दै गइरहेको छ। झन् विपत् तथा संक्रमणको समयमा कुनै पनि समाजमा भ्रष्टाचारको जोखिम अझ बढ्ने विद्वान्हरूको निष्कर्ष छ। यस्तो अवस्थामा सहायता तथा पुनर्निर्माणको लागि ठूलो रकम निकासा गर्दा त्यसलाई दुरुपयोग हुनबाट रोक्ने र सदुपयोग गर्ने स्पष्ट र ठोस किसिमको कानुनी, संरचनात्मक र संस्थागत व्यवस्था नै नगरीकन रकम निकासा गर्दा त्यसले पीडितलाई सहायताभन्दा बढी आहत दिने सम्भावना धेरै छ। यसका खास कारण छन्। 
पहिलो, नेपाल सरकारसँग पीडितलाई सहायता वितरण गर्ने प्रभावकारी संयन्त्र तथा व्यवस्था छैन। उदाहरणका लागि गत वर्ष साउन १७ गते सिन्धुपाल्चोकको जुरेमा गएको पहिरो पीडितका लागि निकासा भएको रकम अझै पनि सबै पीडितले पाउन सकेका छैनन्। यसैगरी २०७० साल असार ३ गते महाकालीमा आएको बाढीले दार्चुलाको सदरमुकाम खलंगा बगायो। उक्त बाढी पीडितका लागि तत्कालीन सरकारले ५ करोड रुपियाँ निकासा गर्ने सार्वजनिक प्रतिबद्धता गरेको थियो। तर सो रकम समयमा वितरण हुन सकेन। न त गत वर्ष गएको बाढीले घरबार विहीन बनाएका बाँके, बर्दिया, सुर्खेत जिल्लाका बाढी पीडितका लागि निकासा भएको सम्पूर्ण रकम समयमै प्रभावकारीरूपमा वितरण हुन सक्यो। स्पष्ट र प्रभावकारी नीतिको अभावमा विगतमा भोगेका विपत्का पीडितले समयमै सहायता पाउन सकेका छैनन। यसबीचमा सरकारले केही पनि नीतिगत सुधार गरेको छैन न त कुनै संस्थागत सुधारै गरेको छ। त्यसैले सो रकम व्यवस्थितरूपले समयमै पीडितले पाउँछन् भन्ने विश्वास गर्न सकिने आधार कमै छ। रकम वितरणको संयन्त्रले प्रभावकारीरूपले काम नगरेपछि त्यहाँ भ्रष्टाचारको जोखिम बढ्छ। अहिले यहाँ यही भइरहेको छ। 
दोस्रो, नेपालको सरकार तथा प्रशासनिक संयन्त्रको प्रभावकारिताको अवस्था कस्तो छ भने स्थानीयस्तरमा भ्रष्टाचार झन् संस्थागत भएको छ। गाउँ विकास समितिले उपलब्ध गराउने सामाजिक सुरक्षा भत्तामा समेत भ्रष्टाचार व्यापक छ। वृद्धवृद्धा तथा एकल महिलाका लागि सरकारले उपलब्ध गराउँदै आएको महिनाको पाँच सय रुपियाँसमेत सदुपयोग गरेर सम्बन्धित व्यक्तिले नै पाउन सकिरहेका छैनन्। वर्षौंदेखि यस्तो रकममा भ्रष्टाचार तथा अनियमितता भइरहेको घटना सार्वजनिक भइरहेका छन्। सम्बन्धित मन्त्रालयले नै गरेका विभिन्न अध्ययन तथा अनुगमनले समेत यस्तो रकममा व्यापक अनियमितता भइरहेकाले त्यसको नियन्त्रणका लागि स्पष्ट र ठोस कदम चाल्नुपर्ने सिफारिस भएको छ। सामाजिक सुरक्षा भत्ता पाउने व्यक्तिको नाम, आवश्यक विवरण उपलब्ध छ। तथापि सरकारले वास्तविक व्यक्तिलाई भत्ता उपलब्ध गराएर अरू रकम दुरुपयोग हुनबाट जोगाउन सकेको छैन। यसक्रममा लाखौं रकम गाविस सचिव तथा अन्य व्यक्तिले भ्रष्टाचार गरिरहेका छन्। यसमा न त सरकारी निकायले नियन्त्रणको काम गर्न सकेको छ न त प्रभावकारीरूपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नै काम गर्न सकेको छ। स्थानीयस्तरमा फँैलदै गएको भ्रष्टाचारलाई नियन्त्रण गर्न प्रचारात्मक, प्रवर्द्धनात्मक र उपचारात्मक तीनवटै उपाय निष्प्रभावी देखिएको अहिलेको अवस्थामा भूकम्प पीडितका लागि भनेर पठाइएको रकमको सदुपयोग गर्ने अन्य थप व्यवस्था नै नगरीकन रकम निकासा दिदँा त्यसले कस्तो परिणाम ल्याउँला? 
यसैगरी, नेपालको विद्यमान कानुनी व्यवस्था अनुसार ६० लाख रुपियाँसम्मको काम स्थानीय लाभान्वित व्यक्तिहरूकोे उपभोक्ता समिति बनाई खर्च गर्न सकिन्छ। यसरी बनाइएका उपभोक्ता समितिलाई व्यवस्थित गर्न सकिएको छैन। खासगरी स्थानीय सरकारको आवधिक निर्वाचन हुन नसक्दा स्थानीयस्तरमा भ्रष्टाचार बढ्दै गएको छ। कानुनी व्यवस्था परिवर्तन गरेर सार्वजनिक विकास र निर्माणमा स्थानीय व्यक्तिको सहभागिता सुनिश्चित बनाउँदै गर्दा भ्रष्टाचारको पनि डरलाग्दो विकेन्द्रीकरण भएको छ। यो भ्रष्टाचारको जरा समाजका धेरै क्षेत्र र निकायमा फैलिइसकेको छ। यसैगरी नेपालको सार्वजनिक निर्माणमा पनि अत्यन्तै धेरै भ्रष्टाचार छ। यस्तो अवस्थामा भूकम्प पीडितका लागि भनेर निकासा गरिएको रकम के कसरी खर्च गर्ने भन्ने व्यवस्थामात्रै गरिएको छ। उक्त रकम दुरुपयोग हुनबाट रोक्न कानुनी तथा नीतिगत व्यवस्था बलियो पार्ने कुनै सरकारी प्रयास देखिँदैन। यस्ाले भोलिका दिनमा थप भ्रष्टाचार बढाउने र समस्या निम्त्याउने निश्चित छ। 
यतिखेर स्थानीयस्तरमा डरलाग्दो किसिमले भ्रष्टाचारको विकेन्द्रीकरण भएको छ। राजनीतिशास्त्रका विद्वान् स्यामुएल हन्टिङ्गटन भन्छन् – ‘समाजमा जति आधुनिकीकरण बढ्दै जान्छ समाजका अंगहरूमा भ्रष्टाचार उत्तिकै फैलिँदै जान्छ।' यसरी हेर्दा नेपालमा खासगरी, कानुनी व्यवस्था, शासन व्यवस्था र विकास निर्माणका काममा भइरहेको आधुनिकीकरणले भ्रष्टाचारलाई थप फैलाउँदै लगेको छ। समाजको बदलिँदो परिवेशसँगै भ्रष्टाचार नियन्त्रणको कानुनी र संस्थागत व्यवस्थालाई परिवर्तन गर्न नसक्दा केन्द्रदेखि स्थानीयस्तरसम्म भ्रष्टाचारको जोखिम बढ्दै गइरहेको छ। यस्तो अवस्थामा स्थानीयस्तरमा पुग्ने रकमको दुरुपयोग रोक्न स्पष्ट र ठोस व्यवस्था गर्नु आवश्यक छ। 
विपत् व्यवस्थापनको काममा भ्रष्टाचार नियन्त्रणको लागि प्रभावकारी व्यवस्था गर्नुको साटो सरकारले यही जेठ ४ गते सार्वजनिक खरिद ऐनका महत्वपूर्ण प्रावधानलाई निलम्बन गर्दै नेपाली सेनालाई परिचालन गर्ने निर्णय गर्योक। सरकारको यस निर्णयले भूकम्प पीडितका लागि भनेर निकासा गरिएको रकमको दुरुपयोग हुनसक्ने जोखिमलाई दुई किसिमले बढाएको छ। पहिलो, सार्वजनिक खरिदमा बढ्दै गएको अनियमितता नियन्त्रण गर्न २०६३ मा जारी सार्वजनिक खरिद ऐनलाई दफा ६७ अनुसार निलम्बन गरिएको छ। यसले खरिद प्रक्रियामै भ्रष्टाचार बढाउन सक्छ। दोस्रो, भ्रष्टाचार नियन्त्रण ऐन, २०५९ तथा अख्तियार दुरुपयोग अनुसन्धान ऐन, २०४८ मा नेपाली सेनामा भएको अनियमितता तथा भ्रष्टाचारको बारेमा छानबिन गरी अभियोग दर्ता गर्न अख्तियारलाई कुनैपनि अधिकार दिइएको छैन। यसले विपत्पछिको समयमा नेपालमा भ्रष्टाचार थप संस्थागत हुने आशंका गर्नेलाई बल पुर्यायएको छ। 
विपत् व्यवस्थापनका क्रममा हुनसक्ने भ्रष्टाचार नियन्त्रण गर्न केही काम गर्नु आवश्यक देखिन्छ। यसका लागि पहिलो प्रधानमन्त्रीकै मातहतको राष्ट्रिय सर्तकता केन्द्रलाई सहायता तथा पुनर्निर्माणका कामसँगै सरकारी तवरबाटै संस्थागत किसिमले नियमित अनुगमन गर्ने व्यवस्था मिलाउनु आवश्यक छ। दोस्रो, अख्तियारले सहायता तथा पुननिर्माणका क्रममा हुनसक्ने भ्रष्टाचारलाई नियन्त्रण गर्न विशेष रणनीति बनाएर लागु गर्नु आवश्यक छ। कतिखेर उजुरी पर्ला र समातौँला भनेर बकुल्लाले माछा कुरे जसरी कुर्दा समय घर्किसकेको हुन्छ। तेस्रो, नागरिक पनि थप चनाखो र सक्रिय हुनु जरुरी छ। यो काम खासगरी गैरसरकारी संघसंस्थाले गर्न सक्छन्। भ्रष्टाचारविरुद्धको अभियानलाई विकेन्द्रित गर्ने, स्थानीयस्तरमा नागरिक खवरदारी र अनुगमन गर्ने र सूचनाको हकको कानुनी व्यवस्थालाई प्रभावकारी रूपमा प्रयोग गर्न सचेतना अभिवृद्धि गर्ने काम गर्नु आवश्यक छ। नत्र विपत्पछिको व्यवस्थापनको समयमा भ्रष्टाचार थप संस्थागत हुनेछ। भन्नै नपर्ला यसो भयो भने हामी विपत्को सही व्यवस्थापन गर्न त सत्तै्कनौ नै लोकतन्त्रमा पनि प्रतिकूल प्रभाव पर्नेछ।
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस